घडि ले साँढे ८ बजाइसक्यो, स्टप बाट अझै गाडी हिँडाउने चालचुल छैन । ८ बजे हिँड्ने भनेको टाटा सुमो, करिब ९ बजे रिङरोड, बल्खु छोडेर फर्पिङ जाने बाटो समाउँछ । २०० मिटर जति मात्र हिँडेको हुँदो हो, ड्राइभर ले गाडि घ्याच्च रोक्छन्, कर तिर्नु पर्ने रहेछ, बल्खु मै ! गाडि मा ड्राइभर समेत गरेर १२ जना छन् । पछाडि को सिट मा ४ जना, बिचको सिट मा ४ जना अनि ड्राइभर सँगै अगाडि ३ जना ! यो यात्रा मा आफू चाँहि खलासी बनिएको छ । म नओर्लिसम्म, गाडि का कोही ओर्लिन पाउँदैनन् अनि म नै अन्तिम मा चढ्नुपर्छ । बल्खु बाट हेटौँडा निस्कने यो बाटो म हिँडेको धेरै वर्ष नै भइसक्यो । टाटा सुमोहरु चल्न थालेदेखि, म प्राय: यही बाटो बाट हिँड्न थालेको छु, एक त बाटो छोटो छ, अनि चाँडो पुगिन्छ, त्यसमाथि बाटो छेउछाउ का डाँडाकाँडा पनि रमाइला छन् । अहिले को सिजन मा बाटोभरि नास्पाती फलेका देखिन्छन, अनि आरु पनि पाकिरहेको हुन्छन् । सुन्तला को सिजन मा सुन्तलाहरु ले नै भरिए झैँ लाग्छन सबै डाँडाहरु नै ! यो कति औँ यात्रा हो भन्न त सक्दिन, तर पनि आज रमाइलो लागिरहेको छ, सायद आफ्नो जन्मदिन को दिन मा यात्रा गरिरहेको भएर पनि यस्तो लागेको होला !