पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१] #SarlahiToRaxual

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्क मा ओर्लन नपाइ एउटा टाङ्गावाला ले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहान को ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिम को भिर्ने ब्याग थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मन मा कुनै किसिम को डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा शकुसल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि बाल छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो ।

नयाँरोड मा आएर बस चढियो, जनकपुर बिरगंज को । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्की मा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थिति मा थिँए । घरमा ममी ले नै भन्नुभएको थियो, ब्याग सँगै राख्न दिएन भने के गर्छौ ? मैले हिम्मत का साथ भनेको थिँए, जसरी पनि ब्याग आफूसँगै राख्छु । यसै त ब्याग ठूलो थियो, भारि थियो, डिक्की मै राख्ने किसिम को । तर ब्यागभित्र ल्यापटप भएकोले ब्याग को औधि जतन गर्नुपर्ने थियो । फेरि बस का डिक्कीहरु औधि फोहोर हुन्छ, धुलो र ग्रिज को कालो लाग्ने सम्भावना ! म खलासी र कन्डक्टरलाई जितेर नै ब्याग भिरेर भित्र छिरेँ । भित्र के सम्हाल्न सकिन्थ्यो र ब्याग, मान्छेलाई खुट्टा अटाउन पनि गाह्रो थियो । त्यही पनि मरे झैँ भएर ब्याग बोकेर पछाडि सारेँ, अनि अरुका सिटमाथि झोला को पिँध टेकाएँ । झोला को फित्ता ले अलिकति छोएछ एउटी बुढीलाई, खै के के भन्न थाली मैथली मा ! मैले ‘सरी’ भन्दै अलि मिलाए झैँ गरेँ ।

म गाडि मा चढेको, झोला आफूसँग राखेको कुरा पहिले देखि नै एउटी ले हेरिरहेकी रै’छ । काली-काली हिस्सी परेकी केटी रै’छ, बाग्मती नपुग्दै मुसुक्क हाँसेर झोला दिनु म राख्दिन्छु भनी । गाडी साह्रै भिड भएका कारण उसको सिट सम्म पुग्न पनि मलाई महाभारत थियो, एकछिन पछि दिन्छु है भने । उसले इशारा ले टाउको हल्लाइ, मुसुक्क हाँसी र चाउचाउ खान थाली । चपुर पुग्दा सम्म उसका र मेरा आँखा दर्जन पटक जुधिसकेका थिए, उ मुसुक्क हाँसीदिन्थी, म नि मुसुक्क हाँसे । झ्याल छेउको सिटमा बसेकी उसले, कानमा एयफोन जोडेकी थिइ, घरिघरि मलाई हेर्थी, झोला देउ भनेर भन्थी । गाडी अलि खुकुलो भएपछि झोला अझै पछि सारेँ, उसलाई झोला भारी छ भनेँ, हुन्छ केही हुँदैन भनेर उसले झोला लिएर आफ्नो काखमा राखि, उ आफ्नै सुरमा झ्याल बाहिर हेर्दै बसिरही, कतिखेर कतिखेर यसो हेरेर मुसुक्क हाँस्थी । काली काली उ तराइवासी हो भनेर अड्कल काट्न मलाई कुनै गाह्रो थिएन । छोटो ३ घन्टा को यात्रा मा नै साथि भेटिसकेको थिँए, आफैँलाई अचम्म लागिरह्यो ।

पथलैया देखि चैँ उ सँगै को सिटमा गएर बसेँ । जनकपुर घर, बिरगंज घुम्न हिँडेकी भन्थी । उसले कहाँ सम्म भनेर सोधी, मैले नि बिरगंज सम्म हो, अंकल हुनुहुन्छ भनिदिएँ, कारण खासै विश्वास गर्ने अवस्थमा म पुगिसकेको थिइन । रक्सौल भन्दा न पछि पो लाग्ने हो झैँ लागिरहेथ्यो । बिरगंज पुग्नै लाग्दा उसले डेरी मिल्क निकाली र एउटा टुक्रा म तिर तेर्स्याई, मैले टाउको दुखेको झैँ गरि, टाउको दुखेको छ, नखाने भनेँ । घरबाट हिँड्दा जो पायो, नचिनेको ले दे’को खानेकुरा नखानू, लट्टिपट्टि बना’र लैजान्छन् भनेर भनेका कुरा गुञ्जीरहेको थियो । सँगै बसेर आइरहेको भएपनि, उसको हाउभाउ को कारण उसलाई विश्वास गर्न सकिरहेको थिइन । तर मनमनै भने सोच्दै थिएँ, यही छोटो यात्रा मा त यस्तो साथी पाइयो भने, पछि पनि पाइएला । तर अब मलाई रक्सौल कसरी पुग्ने, रक्सौल बाट पटना कसरी जाने हो भन्ने कुरा ले सताइरहेको थियो ।

अघि खासै वास्ता नगरेको टाङ्गावालालाई आफैँले बोलाएँ । रक्सौल सम्म जाने हो भने, कति लाग्छ सोधेँ ? उसले भन्यो २० रुपैया । मैले सोधेँ एनसी कि आइसी, उसले भन्यो आइसी । टाङ्गा चढेर हिँडेपछि घरमा बुवा ले भनेको सम्झेँ, रिक्सा मा जानु, टाङ्गा मा नजानु, ठग्छन् तिनीहरुले, बुवा केयौँ पटक रक्सौल आउनु भएको थियो पहिले, अहिले पनि पटना सम्म पुर्याउनु जान्छु झैँ गर्नुभएको थियो तर मैले पर्दैन म आफैँ जान सक्छु भनेको थिँए । तर अघि मलाई बसपार्क मा होसै भएन, रिक्सा मा जानुपर्छ भन्ने । उसले सोध्यो पटन बसपार्क जाने हो ? मैले भने हो हो, पटना बसपार्क तक जाएगें, मुझे पटना जाना हे, दोस्त के सादी के लिए । मैले त्यसलाई सुनाउन फेरि भनेँ, मेरा दोस्त रहेता है पटना मे, त्यति भने’छि अलि हिम्मत बढे झैँ भयो ।

birgunj gate
जब जब म बोर्डर नजिक पुगेँ, गाडिहरु को भिड थियो, कस्टम मे जाम होता है, उसले भन्न थाल्यो । मेरो ठूलो ब्यागमा के छ भनेर सोध्यो, मैले भने कपडाहरु छन् । उसले टाङ्गा को अगाडिपट्टि झोला राख्दिन्छु भन्यो, नभए झन्झट् गर्छन् बोडर मा । टाङ्गा को अगाडिपट्टि झोला राखियो, घोडा आफ्नो तालमा हिँडिरह्यो । बोडरमा भएको गेटमा निकै भिड थियो, धुलो उडिरहेको थियो । बोडरमा मलाई कसैले केही सोधेनन्, कसैले मेरो झोला चेक गरेनन् । मलाई अचम्म लागिरह्यो ! जब बोडर को गेट (शंकराचार्य गेट) कटेर, सिर्सिया खोला को पुल तरेर टाङ्गाले भारतिय भुमी टेक्यो, तब मेरो मन कता-कता अमिलो भएर आयो । साँच्चै एक किसिम को अपठ्यारो महशुस भयो, म पहिलोपटक नितान्त नयाँ ठाउँ मा छिर्दै थिँए । आफैँलाई प्रश्न गर्न मन लाग्यो, म किन आज हिँडिरहेको छु ? उपलब्धि के हुन्छ ? यस्तै यस्तै । मातृभुमी छोड्दा एक किसिम को अप्ठ्यारो लागिरह्यो । सडक धुलो ले भरिएको थियो, ट्रकहरु को घुँइघुइँ को आवाज आइरहेथ्यो, अगाडि पछाडी टाँगाहरु थिए, रक्सौल र त्यहाँ का मानिसहरु, सडकहरु, पसलहरु एकदमै नौलो लागिरहेथ्यो, टाङ्गा अघि बढिरहेथ्यो,  मन मा कता कता विरानो मुलुक हो भन्ने अनुभुति ले मन कटक्क खाइरहेथ्यो । मोबाइल मा सिग्नलहरु क्रमश घट्दै गएका थिए, एकैछिन मा ‘नो नेटवर्क’ भनेर मोबाइल ले देखाउन थाल्यो ।

क्रमश…


पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१] #SarlahiToRaxual
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२] #FirstTimeAtRaxual
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर [भाग-३] #Raxual To #Patna
चौथो भाग : पट्ना मै बित्यो दिन [भाग-४] #OneDayAtPatna
पाँचौ भाग : अनि पट्नाबाट ट्रेन चढियो [भाग-५] #Train #Patna
छैठौँ भाग : रेल मा ४८ घन्टा ! भो-नकुरागरम !!! [ भाग-६] #PatnaToBangalore
तस्विर : panoramio

9 comments :

  1. Cudn't help smiling..:)..[rememberd my experiences of the sme year '011 Raxaul-Patna]

    ReplyDelete
  2. aafno ghar birgunj bhayeko le hola, ekdumai romanchak laagyo!

    ReplyDelete
  3. impressed from your journey expressions : i had started writing about my trekking experiences too...in my blog . @ www.horizonkshiteej.blogspot.com  

    ReplyDelete
  4. Life is a journey.

    Good Luck!

    ReplyDelete
  5. I had visited India once frm school in a tour a decade ago .... but we had taken very comfortable bus ride till Birgung n equally convenient Train ride till Delhi. Yours seemed to b quite different journey with a different purpose ...anyway it was very interesting to read...keep writing.

    ReplyDelete
  6. Why you make it To be continue....we don't have strong enough memory power to visit your site again,,,So make it complete...

    ReplyDelete
  7. milan good man  you is verry confedent parsan ,right now you r patan and ktm?

    ReplyDelete
  8. Best of luck for your journery abroad.........

    ReplyDelete
  9. I'm reading it again...and remembering that day. ;)

    ReplyDelete