Suscribe via RSS

Wednesday, January 25, 2012

Bulbul : Episode - 126

|
Listen to Bulbul Episode-126

आजको अंकमा मध्य पश्चिमका गजलकारहरु को आवाजमा रेकर्ड गरिएको गजल प्रस्तुत गरिएकोछ !

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Bulbul is a Radio Program (a gajal program).

Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download Bulbul : Episode-126
>>read more...

Saturday, January 21, 2012

म नेपाली चलचित्र किन हेर्छु? [Opinion on Nepali Movie]

|

चलचित्र किन हेरिन्छ? भन्ने कुराको निश्चित जवाफ म सँग छैन ! कहिले के बहानामा हेरिन्छ, कहिले के बहानामा हेरिन्छ ! कहिले फ्लप भएको चलचित्र पनि राम्रो लाग्छ, कहिले अत्याधिक सफल भएको चलचित्र पनि मन पर्दैन ! कुनै चलचित्रको प्रोमो हेरेर, चलचित्र हेर्न जाउँ जाउँ लाग्छ भने कहिले आफूलाई मनपर्ने कलाकारले अभिनय गरेकोछ भनेर हेर्न गइन्छ !

भर्खरै पनि हलसम्म पुगेर नेपाली चलचित्र ‘लुट’ दोहोर्याएर हेरियो ! नेपाली चलचित्र कि त टिभीमा आउँदा कहिलेकाँही हेर्ने गर्छु, कि त आफूलाई पहिले नै मन खायो भने मात्र हलसम्म गएर हेर्छु ! टिभीमा पनि पुराना नेपाली चलचित्र आयो भने मात्र हेर्ने गर्छु, बिच तिरका चलचित्र खासै हेर्दिन र हेर्न मन पनि लाग्दैन ! नेपाली मात्र होइन, नब्बे दशकको हिन्दी चलचित्र पनि खासै हेर्न मन लाग्दैन ! कि त पुराना हिन्दी चलचित्र हेर्छु, कि त नयाँ हेर्छु ! अहिले पनि पुराना हिन्दी चलचित्र खोजेर हेर्छु, अझ राज कपुर, गुरु दत्तको चलचित्र त खोजी खोजी नै हेर्छु, त्यसबाहेक अमोल पालेकरका कमेडी चलचित्र पनि निकै मन पर्छ !

नेपाली चलचित्रको हकमा भने, अहिले बन्ने नेपाली चलचित्र भन्दा पहिलेका चलचित्र नै मनपर्छ ! माईतीघर अहिले पनि उत्तिकै राम्रो लाग्छ ! यसो भन्दैमा अहिलेका नेपाली चलचित्र हेर्दै नहेरिएको भने होइन, तर पनि हिन्दी र अंग्रेजी चलचित्रको दाँजोमा हलसम्म पुगेर नेपाली चलचित्र विरलै हेर्ने गरिएकोछ, यद्दपी नेपालमा बर्षैपिच्छौ दर्जनौँको सङ्ख्यामा चलचित्रहरु बन्ने गरेकाछन् ।

विगत २ वर्षको अन्तरालमा केही नेपाली चलचित्रहरु पनि हेरियो, कुनै चलचित्र “हिट” सावित भए भने, कुनै चलचित्र राम्रो चलेनन् ! कुनै चलचित्र राम्रो लागे, कुनै चलचित्र बेक्कार हेरिएजस्तो लागे! कुनै चलचित्र हेर्छु भन्दा भन्दै पनि हेरिएन, कहिले समय मिलेन, कहिले रिभ्यु राम्रो लागेन !

dasdhunga-nepali-movieसायद डेढ/दुई वर्ष पहिले मनोज पण्डित निर्देशित ‘दासढुंगा’ हेरेको थिँए ! दासढुंगा व्यापारिक रुपमा सफल भयो भएन, कतिलाई मन पर्यो, कतिलाई मन परेन आफ्नो ठाउँमा छ ! तर पनि मैले हेरेका र मलाई राम्रो लागेको चलचित्र मध्ये ‘दासढुंगा’ पनि हो । कमरेड मदन भण्डारीको निधन हुँदा म सानो ५/६ वर्षको फुच्चे थिँए, त्यसबेलाको नेपाल टिभीको समाचारको दृश्यमा पार्टिको झण्डा ओढाएको झल्याक झुलुक, कता कता याद आउँछ !  अनि कहिलेकाँही कसैको घरमा जाँदा क्यासेटमा दोहोरी गित घन्किएको हुन्थ्यो, मुङगलिनबाट हिँडेको गाडि, अम्बर लामाले त्रिशुलीमा हाल्दियो, यस्तै यस्तै के के शब्द थियो ! आफूले अलि बुझ्ने हुँदा, दासढुंगा काण्ड पुरानो भइसकेको थियो र बुझ्ने प्रयास पनि गरिएन !

अपिल विष्टको निर्माणमा मनोज पण्डितले ‘दासढुंगा’ बनाउनु भयो ! मलाई चलचित्रको अभिनेता, निर्देशक सँग कुनै सरोकार थिएन, यद्यपी अनुप बराल, सौगात मल्ल भएका कारण केही फरक होला, अभिनयका हिसावले भन्ने लागेको थियो ! मलाई ईतिहासबारे जान्नु थियो, एक हिसाबले दासढुंगा मेरो लागि नयाँ थियो, अघि पछिका कथा थाहा थिएन, मात्र थाहा थियो, मदन भण्डारीको निधन जिप दुर्घटनामा भयो, अम्बर लामाको केही वर्ष पहिले हत्या गरियो! दासढुंगा हेर्नुको लोभ भनेको, इतिहासका केही कुरा जान्नु थियो ! दासढुंगाबारे केही कुरा थाहा पाइयो, अत: मेरो लागि यो चलचित्र राम्रो सावित भयो ! त्यसमाथि चलचित्रमा अभिनय, निर्देशनको हिसाबले पनि राम्रो थियो ! मेरो जस्तै कौतुहलता हुनेले दासढुंगा हेर्नुपर्छ भनेर हेरे होलान्, बाँकीले के हेर्नु यस्तो फिल्म भनेहोलान् ! दर्शकले यही हेर्छन् भन्न कठिन छ तर पनि मेरा लागि यो राम्रो र हेर्नै पर्ने चलचित्र हो !batch no 16

त्यसपछि सायद मैले ‘ब्याच नम्बर १६’ हेरेँ ! ब्याच नम्बर १६ को प्रोमो, त्यसमाथि त्यस चलचित्रको ‘वेवसाइट’ बाट प्रभावित भएर, चलचित्र राम्रो नै होला भन्ने अनुमान गरेर हेर्न गएँ ! उक्त चलचित्रमा मलाई, कथा कस्तो छ, सन्देश के दिन्छ भन्ने कुरा हेर्नु थिएन ! मलाई ब्याच नम्बर १६ हेर्नु थियो, कारण त्यसको प्रोमो फरक थियो, फिल्म पढेर आएका पिताम्वर पाण्डेले निर्देशन गरेका थिए ! पुरातन शैलीभन्दा अलि पृथक तरिकाबाट चलचित्र निर्माण गरिएको जस्तो लागेको थियो, त्यो समयमा यो चलचित्रको धेरै कुराकानी हुने गरेको थियो ! अत: यो चलचित्र म नेपाली चलचित्रले ‘टेक्निकल्ली’ कति प्रगति गरेछ, कसरी निर्माण गर्दा रहेछन्, संवादहरु कति सरल छन्, अभिनय कत्तिको छ भन्ने हिसावले हेर्न गएको थिँए !

चलचित्र चलिसकेपछि, प्राय:ले यो चलचित्रले झूक्यायो, झुर भनेर कमेन्ट गरे, तर पनि आफ्नो लागि भने यो चलचित्र राम्रो नै लाग्यो ! ‘टेक्निकल्ली’ मैले सोचेँ भन्दा राम्रो पाएँ ! नायक ‘अर्पण थापा’को भविष्य राम्रो छ झैँ लाग्यो ! अहिले पनि प्रायले यो चलचित्रलाई राम्रोको कोटिमा राख्दैनन् तर मेरा लागि भने यो पुरातन शैलीको चलचित्र भन्दा फरक थियो ! कथा जति फितलो भएपनि, जति वटा निर्देशकिय कमजोरी भएपनि, कति हुनै नसक्ने कुरा भएपनि मलाई आम नेपाली चलचित्र भन्दा राम्रो लाग्यो, मैले खूलेर यो चलचित्रको प्रशंसा गरेँ !sick city nepali film

‘अर्पण थापा’को अभिनयबाट प्रभावित भएर, साथै प्रोमो र रिभ्यु पनि राम्रो लागेर ‘मुर्रे केर’को चलचित्र ‘सिक सिटी’ हेरियो ! त्यतिबेला चर्चै चलेको थियो, ड्यानी बोयलले ‘स्लमडग मिलिनयर’ मार्फत मुम्बईको अर्को पाटो देखाए, त्यसरी नै मुर्रे केरले ‘सिक सिटि’ मार्फत काठमाडौँको अर्को पाटो उदाङ्गो पार्छन् ! ठमेलको वरिपरि घुम्ने चलचित्रको कथा राम्रो थियो, हामीले सोचे जस्तै अर्पण थापाको अभिनय पनि उत्कृष्ट थियो, टेक्निक्ली पनि राम्रो लाग्यो ! तर पनि मलाई चलचित्र ‘स्लो’ लाग्यो, हलमा डेढ घन्टा बस्न पनि सकस भए झैँ भयो ! सायद मैले चलचित्र सोचेको भन्दा फरक पाँए ! सबैले राम्रो भनेको चलचित्रले मलाई खासै प्रभावित गर्न सकेन, भलै मलाई ठमेलको एउटा पाटोको बारेमा जान्ने मौका मिल्यो !

भक्तराज आचार्यको गितहरु धेरै सुन्ने गर्छु तर पनि मलाई भक्तराजको जिवनबारे थाहा थिएन ! उनको जिवन कस्तो थियो, के कस्ता कामहरु गरे, कसरी गित गाउन नसक्ने भए भन्ने बारेमा म पुर्णत अनभिज्ञ थिँए ! मैले कहिले भक्तराज बारे खोतल्ने गरिँन, हुन त नारायण गोपालको बारेमा नि थाहा छैन तर पनि कहिलेकाँही नारायण गोपाल बारेका चर्चाहरु पत्रिकामा पढ्न पाइन्छ ! भक्तराज जिउँदै छन्, अत: मैले उनको बारेमा पत्रिकामा पढ्न पाउँदिन ! चलचित्र जसले बनाएको होस्, ज-जसले अभिनय गरेका हुन्, आफूलाई खासै मतलब थिएन ! दासढुंगा जसरी नै मलाई आचार्य हेर्नु थियो, त्यसमाथि चलचित्र पक्कै राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता थियो !

चलचित्रको सुरुमा बज्ने ‘जहाँ छन् बुद्धका आँखा…’ ले नै एउटा बेग्लै किसिमको झट्का लाइदेको’थियो ! चलचित्र हेरेँ, मलाई राम्रो लाग्यो ! सत्यराजको अभिनय राम्रो छ, उनी गायक मात्र होइन अभिनेता पनि रहेछन् भन्ने मलाई लाग्यो ! चलचित्र राम्रो भएर पनि खासै चलेन भन्ने गरिन्छ, सायद होला पनि ! उनीहरुले राम्रो बजार व्यवस्थापन गर्न सकेनन् ! चलचित्र राम्रो भएपनि, भक्तराजको जिवन सतही रुपमा मात्र देखाइएकोले खासै चित्त बुझेन, मैले भक्तराज बारे केही जानकारी त पाएँ तर पनि केही अपुरो नै लाग्यो ! चलचित्रको एकदृश्यमा बारम्बार ‘फोकस’ गरेर भारतको झण्डा देखाइएको पनि चित्त बुझेन ! तर पनि मेरो लागि आचार्य राम्रो चलचित्र थियो !

स्वर्गिय गोपाल प्रसाद रिमालको कृती ‘मसान’मा निर शाहले चलचित्र निर्माण गरेका थिए ! साँचो कुरा, मैले मसान पढेको थिईन तर पनि कथा भने थाहा थियो ! कृतीमा बनेको चलचित्र राम्रो होला भन्ने आशा राखेर चलचित्र हेर्न गएँ, भलै प्रोमो खासै चित्ताकर्षक थिएन ! ‘मसान’ आफैँमा एउटा राम्रो कृती तर निर शाहले कृतीलाई न्याय गर्ने सकेनन् ! उनले चलचित्र बनाउनु पर्ने ठाउँमा स्टेजकै नाटक झैँ चलचित्र प्रस्तुत गरे ! चलचित्रले जुन सन्देश दिन खोजेको थियो, या भनौँ ‘मसान’को जुन मुलमर्म थियो, त्यो त कहीँ पनि देख्न पाइएन, कतै “फिल” नै गर्न पाइएन ! ऐतिहासिक कृती भएकोले चलचित्र हेर्न गइएको थियो, हेरियो ठिकै लाग्यो तर चित्त बुझेन ! यति हुँदा हुँदै पनि केकी अधिकारी, निता ढुंगाना आदिको अभिनयबाट भने प्रभावित भएँ !

यश कुमारले बनाएको चलचित्र भनेर ‘बाटो मुनिको फूल’ हेर्ने मन थियो तर ‘रेखा’ अभिनित भनेको भएर खासै हेर्न जान मन लागेन ! मैले युट्युब तिरै झल्याक झुलुक दृश्य हेरेँ, कथा भन्ने शैली राम्रो नै लाग्यो ! पत्रिकामा खासै राम्रो रिभ्यु थिएन तर पनि युट्युबमा झल्याक झुलुक दृश्य हेर्दा  हलमै गएर हेरेको भए हुने रहेछ जस्तो पनि लाग्यो ! अहिले सम्म पनि मैले ‘बाटो मुनिको फूल’ हेरेको छैन तर अब मौका मिल्यो नै भनेपनि हलसम्म गएर हेरिँदैन होला, कारण पत्रिकामा खासै राम्रो रिभ्यु थिएन !

म केकीको अभिनयबाट प्रभावित छु ! गित र विज्ञापनमा केकीले गरेको अभिनय राम्रो लाग्छ ! यसको साथै फेसबुकमा नियमित रुपमा उनको अपडेट पढ्न पाइन्छ । प्रसन्न पौडेलले ‘स्वर’ नामक चलचित्र बनाएका थिए ! स्वर टोली देश दौडाहामा गएको थियो, अनि केकीले स्वरमा अभिनय गरेकीथिइन् ! अत: मेरो लिस्टमा स्वर पनि थियो तर चलचित्र रिलिज भएपछि पत्रिकामा आएको रिभ्यु देखेर हलसम्म जाने आँट गरिन ! मैले ‘स्वर’ हेरिँन !

अहिले पछिल्लो पटक ‘लुट’ हेरेँ ! लुटले यति प्रभावित गर्यो कि दोहोर्याएर नै चलचित्रहल सम्म पुगेँ ! माथि पनि भनिसकेँ कुनै चलचित्रको कथा मन पर्यो, कुनै चलचित्रको प्रविधि मनपर्यो ! तर लुटमा सबैकुरा मन पर्यो, यो चैँ भएन है भन्ने ठाउँ नै भेट्न मुश्किल भयो ! मैले फरक फरक विधाका चलचित्र हेरेँ, विधागत रुपले हेर्दा चलचित्र राम्रो नै लागेपनि समग्र चलचित्रको रुपमा भने ‘लुट’ निकै मनपर्यो !

Highway Nepali Movie

अब ‘हाइवे’, ‘गुडवाई काठमाडौँ’ आदि चलचित्रहरु आउँदैछन् ! हाइवेलाई दिपक रौनियारले निर्देशन गरेकाछन् भने, गुडवाई काठमाडौँ नविन सुब्बाले ! हाइवेको प्रोमो हेरेका कारण चलचित्र हेर्ने हुटहुटि जागेकोछ, यस बाहेक दिपक रौनियार निर्देशित ‘पुजा’ र ‘चौकैठ’ हेरेको भएर, पनि ‘हाइवे’, जसरी पनि चलचित्र राम्रो बनेको हुनुपर्छ भन्ने मलाई लाग्छ ! चलचित्र सबै आ-आफ्नै किसिमका हुन्छन् ! ‘लुट’ले जस्तै ‘हाइवे’ले सबैलाई तान्ला नतान्ला भन्न सकिन्न तर पनि ‘हाइवे’ आफ्नो ठाउँमा सफल हुन्छ भन्ने मलाई लाग्छ ! त्यस्तै नविन सुब्बाको चलचित्र ‘नुमाफुङ’ र टेलिसिरियल ‘दलन’ हेरिएको भएर, उनले बनाएको ‘गुडबाई काठमाडौँ’ राम्रो नै हुनुपर्छ भन्ने मेरो मान्यता छ ! जस्तो कि, निश्चल बस्नेतले कुनै चलचित्र बनाए भने, मैले निश्चलको चलचित्र हेर्ने सम्भावना बढि हुन्छ !

‘मिस यु’, ‘काठमाडौँ’, ‘आइ एम सरी’ लगायतका चलचित्र अब रिलिज हुने क्रममा छन् ! ‘मिस यु’ लगायतका केही चलचित्रका राम्रा प्रोमो र गितहरु युट्युबमा राखिएकाछन् । यी चलचित्रहरु राम्रो भएपनि मैले हलसम्म गएर यी चलचित्र हेर्ने सम्भावना एकदम न्युन छ ! कारण, मलाई लभस्टोरी हेर्न मन लाग्दैन ! ‘मिस यु’ लभस्टोरी जस्तो लाग्छ, पुरातन ढर्राबाट माथि उठेर चलचित्र निर्माण गरिएको दावी निर्माण टोलीले गरेकोछ, तर पनि मलाई यो चलचित्र हेर्न जाने जाँगर छैन, एउटै कारण मलाई लभस्टोरी मन पर्दैन ! आकाश अधिकारीको यो भन्दा पहिलेको चलचित्र ‘पन्छि’ हेरेको थिँए, अत मलाई “काठमाडौँ” हेर्न जान मन लागेको छैन ! सायद पछि राम्रो रिभ्यु आएछ भने हेर्न गइएला हैन भने, अहिलेलाई मेरो लिस्टमा यी चलचित्रहरु छैन !

मलाई लाग्छ चलचित्रको किसिम र चलचित्रको प्रोमोबाट नै नेपाली दर्शकहरुले चलचित्र हेर्न जाने/नजाने निर्णय गर्छन् ! अनि मलाई चाँही नेपालका चल्तिका भनिएका नायक/नायिकाको चलचित्र हेर्न जान मन लाग्दैन ! टिभीमा देखिन प्रोमोबाट पनि, मुलधारको प्रतिनिधित्व गरेर चलचित्र बनाइरहेकोछु भन्नेहरुको चलचित्र हेर्न हलसम्म जाँदिन ! जस्तो कि अहिले “बजार” नामक चलचित्र चलिरहेकोछ ! चलचित्रले राम्रो व्यापार गर्यो भनिएकोछ तर पनि मलाई उक्त चलचित्र हेर्न जानु छैन ! चलचित्रको पोस्टर, प्रोमोबाट नै म थाकिसकेकोछु, “बजार”बाट ! यति लामो ब्लग त लेखेँ तर पनि म किन नेपाली चलचित्र हेर्छु भन्ने कुरामा, म आफैँ प्रष्ट हुन सकिरहेको छैन !

Trailer of Nepali Movie Highway


>>read more...

Friday, January 20, 2012

सोपा, मेरो ट्विट र ट्रेन्डिङ टपिक

|

जनवरी १८ लाई इन्टरनेटमा कालो दिनको रुपमा मनाइएकोछ ! “पाइरेसी रोक्न” अर्थात “स्टप अनलाइन पाइरेसी” (Stop Online Piracy Act –SOPA) “सोपा” नामक विधेक अमेरिकी संसदले “पास” गर्न लागेका कारण, इन्टरनेटका हजारौँ साइटहरुले, “सोपा” को विरोध गर्दै उक्त दिनलाई कालो दिनको रुपमा मनाएका थिए ! विरोध स्वरुप विकिपेडिया, रेडिट, बोइबोइङ लगायतका साइटहरुले आफ्नो पेजलाई कालो बनाएका थिए भने अन्य हजारौँ साइटहरुले “स्टप सोपा” सहितका व्यानर आफ्नो साइटमा राखेका थिए !

wikipedia-blackout-day-sopa-pipaइन्टरनेटका कारण गितसंगित, चलचित्र लगायतका कुराहरुको पाइरेसी बढिरहेको कुरामा दुइमत नहोला ! यसर्थ अमेरिकी सरकारले ल्याउन लागेको कुरा, “पाइरेसी” का विरुद्ध भनेकाले राम्रो झैँ देखिएपनि, यथार्थमा यो नियम लागु भएको खण्डमा प्राय सबै साइटहरु बन्द हुनेछन् ! साइटहरु बन्द भएको खण्डमा इन्टरनेट कस्तो हुन्छ भन्ने कुरा त, हिजो गरिएको “इन्टरनेट ब्ल्याकआउट” ले पनि प्रस्ट पारेकोछ ! खोजेका सबै कुराहरु पाइने, विकीपेडियाका पेजहरुमा हिजो केही भेटिँदैन थियो ! बोइङबोईङ नेट, वायर्ड म्यागजिनहरुमा लेखिएका कुराहरु पढ्न पाइएको थिएन ! सोपा लागु भएको खण्डमा, विकिपेडिया, फेसबुक, ट्विटर र युट्युब जस्ता साइटहरु पनि चल्न पाउनेछैनन् ! अत: यही सोपा/पिपा नामक विधेकहरुको विरोधमा विकीपेडिया लगायत सयौँ साइटहरुले हिजो विरोधस्वरुप इन्टरनेट ब्ल्याकआउट गरेका थिए ।

सोनी, सिबिएस र हलिउडका मनोरञ्जन उद्योग आदि केही कम्पनीहरु सोपाको पक्षमा रहेपनि गुगल, फेसबुक, ट्विटर, विकीपेडिया, रेडिट लगायतका ठूला टेक्नोलोजी कम्पनीहरु ‘सोपा’को विपक्षमा रहेकाछन् ! 

नेपाली समयअनुसार हिजो बिहान १०:४५ देखि इन्टरनेटमा “ब्ल्याक आउट” सुरुभएको थियो ! “इन्टरनेट ब्ल्याक आउट” हुँदा विकिपेडिया, गुगल कस्तो चाँही देखिँदोरै’छ भनेर जान्ने कौतुहलता थियो ! अत: आफ्नो घडिमा १०:४५ हुने बित्तिकै विकिपेडिया र गुगल हेरेँ ! विकिपेडियाको पेज कालो बनाइको रहेछ भने, गुगलले चैँ सर्चबक्स तल 'प्रयोग कर्तालाई सोपाको विपक्षमा साइन गर्न अनुरोध गरिएको रहेछ! आफ्नो ट्विटर चलाउने बानी भएका कारण तत्काल दुईवटा ट्विट गरेँ, पहिलो विकिपेडियाको बारेमा, दोस्रो गुगलको बारेमा !

aakarpost-tweet

ट्विट गरेर आफ्नै धुनमा काम गर्न लागेँ ! एकछिन पछि हेर्दा, मेरो ट्विटरक्लाइन्ट “सिल्भर बर्डमा” धेरै मेन्सनहरु देखाइरहेको थियो ! धेरै मेन्सन आएको देखेर चकित पर्दै मेन्सन हेरेँ, छक्क परेँ, गुगल बारेको मेरो ट्विट त धमाधम रिट्विट भइरहेको रहेछ । हेर्दा हेर्दै आधा घन्टा भित्र नै सय पटक भन्दा धेरै रिट्विट भयो, आफूलाई अचम्म पनि लाग्यो, खुशी पनि लाग्यो ! तत्काल केही साथिहरुलाई ट्विटरमा म्यासेज पनि पठाएँ ! आफू काममा व्यस्त भएँ, सिल्भरवर्डमा नोटिफिकेसनहरु आएको आएकै थियो !

अफिसबाट घर फर्कने बेला, आफ्नो ट्विट फेरि हेरेँ ! रिट्विट भइरहेको थियो, अचम्म मान्दै मनमनै खुशी हुँदै घर फर्केँ ! बाटोमा मोबाइलबाट पनि हेरेँ, यतिन्जेल “टप ट्विटस्”ले मेरो त्यो ट्विट ‘फेवरेट’ पनि गरिसकेको रहेछ ! ‘टप ट्विट्स’ ले फेवरेट गरेका कारण, ट्विट धेरै पटक रिट्विट भएको कुरामा त शंका रहेन ! अत: आफूलाई निकै नै खुशी लाग्यो, कहिलेकाँही हाम्रा कुरापनि ट्विटरमा परालको आगो झैँ सल्किँदा रहेछन् जस्तो लाग्यो !

top-sopa-pipa-tweets

सायद मेन्सन अस्ति  आएको थियो तर दिउँसो मात्र एउटा मेन्सन हेर्दा थाहा पाएँ, मेरो उक्त ट्विट त ‘टप ट्विट’ नै भएको रहेछ ! अस्ति ‘इन्ड पाइरेसी’ (End Piracy) नामक शब्द विश्वभरी नै १६ घन्टाको लागि ट्विटरमा ट्रेन्डिङ भएको थियो, अनि आज थाहा भयो, उक्त ट्रेन्डिङ टपिकको लागि मेरो ट्विटले महत्वपुर्ण योगदान दिएको रहेछ ! आफ्नो ट्विटको कारण विश्वभरि ‘इन्ड पाइरेसी’ ट्रेन्डिङ टपिक रहेको थाहा पाउँदा खुशी नलाग्ने कुरै भएन, तपाई ट्विटर चलाउनुहुन्छ भने, ट्रेन्डिङ टपिक के हो भन्न बुझ्न धेरै गाह्रो छैन ! जुन कुरा ट्विटरमा धेरै पटक गरिन्छ, त्यही शब्द नै ट्विटरको ट्रेन्डिङ टपिक बन्छन् ! (‘ट्विटर’को आधिकारिक तथ्याकं नभइ ट्विटरकै ट्विटलाई लिएर अर्को साइटले दिएको तथ्यांकको आधारमा)

@aakarpost's worldwide top trending tweets

End Piracy Twitter trending topic historyट्विटर चलाउने क्रममा धेरै पटक विश्वमा ठूला ठूला घटनाहरु घटेकाछन् ! तर आफ्नै ट्विटले यति धेरै रिट्विट पाएको, ट्रेन्डिङ टपिक नै बनाएको भने, मेरो लागि पहिलो घटना थियो ! इन्टरनेटमा भएको ठूलो विरोध कार्यक्रमलाई आफ्नो ट्विटले त्यति धेरै रिट्विट पाउनुलाई, मैले सकरात्मक तरिकाले हेरेकोछु ! आज सोच्दा लाग्दैछ, हिजो सही समयमा, सही ट्विट गरेछु ! ट्विटर सही तरिकाले चलाएको खण्डमा, यस्ता कुराहरु पनि हुने रहेछन् भन्ने कुरा हिजोको घटनाले थाहा भयो ! आजलाई यत्ति, बाँकी ट्विटर अनुभवहरु अर्को ब्लगमा लेख्नेछु !

>>read more...

Wednesday, January 18, 2012

Bulbul : Episode - 125

|
Listen to Bulbul Episode-125

आजको अंकमा मध्य पश्चिमका गजलकारहरु को आवाजमा रेकर्ड गरिएको गजल प्रस्तुत गरिएकोछ !

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Bulbul is a Radio Program (a gajal program).

Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to:bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download Bulbul : Episode-125
>>read more...

“सोपा”को विरोधमा विकीपेडिया बुधबार २४ घन्टाको लागि बन्द गरिने #SOPA

|

आफ्नो माग पुरा गराउन नेपाल बन्द, उपत्यका बन्द गर्ने गरिएको कुरा त हामीले देख्दै र भोग्दै आएकाछौँ ! अब “सोपा” [Stop Online Piracy Act (SOPA)] नामक विधेक अमेरिकी संसदले पास गर्न लागेका कारण, इन्टरनेटमा पनि आन्दोलन सुरु भएकोछ ! आन्दोलन स्वरुप “इन्टरनेट सेन्सरसिप” (SOPA/PIPA) को विरोध गर्दै ‘विकीपेडिया’ बुधबार (१८, जनवरी २०१२) १ दिनका लागि बन्द गरिने भएकोछ ! (हेर्नुस् English Wikipedia anti-SOPA blackout) नेपाली समय अनुसार आज दिउँसो १०:४५ बजे (05:00 UTC) देखि भोलि बिहिबार दिउँसो १०:४५ बजेसम्म २४ घन्टाको लागि साइट बन्द हुनेछ !

wikipedia-blackout-sopa-pipaविकीमिडिया फाउन्डेसनका सहसंस्थापक जिम्मी वेल्सले ट्विटर मार्फत, “सोपा” को विरोधमा ‘विकिपेडिया’ को अंग्रेजी संस्करण २४ घन्टाका लागि संसारभर बन्द गरिने बताएकाहुन् । ट्विटमा ठट्यौलो पारामा विद्यार्थीहरुलाई गृहकार्य समयमै गरिहाल्नु भन्दै, “Student warning! Do your homework early. Wikipedia protesting bad law on Wednesday!” ट्विट गरेका थिए !

jimmy wales -tweet-wikipedia go darkविरोधका लागि २४ घन्टाभर साइट डाउन गर्ने निर्णय प्रति ईन्टरनेटमा मिश्रित प्रतिक्रिया व्यक्त गरिएकोछ । विकीपेडियाको निर्णय मूर्खतापुर्ण रहेको, ट्विटरले जनाएकोछ! उता, गुगलका सर्च इन्जिनियरहरुले भने ‘सोपा’ को विरोधमा कसरी साइट डाउन गर्ने भन्ने आशय सहितका अपडेट गुगलप्लसमा राखिरहेकाछन् ! विकीमिडियाका सहसंस्थापक जिम्मी वेल्सले, साइट बन्द गर्ने निर्णयमा अरुहरुको पनि समर्थन रहेको जनाएकाछन् !

विकिपेडियाको यो कदममा, रेडइट, वर्डप्रेस, मोजिल्ला फाउन्डेसन आदिले पनि समर्थन गर्दै १ दिनका लागि “ब्ल्याक आउट” गर्ने भएकाछन्  ! अत: आजको दिन केही कुरा खोज्नको लागि विकिपेडिया धाउँदै हुनुहुन्छ भने, तपाईले जानकारी होइन, बरु दु:ख चैँ पाउनुहुनेछ!

WIKIPEDIA-BLACKOUT

के इन्टरनेटमा भएका साइट बन्द गरेर, निकास निस्केला त? “सोपा” को विरोध गर्ने कि, साइट बन्द गर्नेहरुको बिरोध गर्ने, अलमलमा परियो ! हुन त, सोपा पनि पास भएमा भविष्यमा साइटहरु बन्द नै गरिनेछन्, अत: अहिले विरोध स्वरुप विकिपेडियाले चालेको कदमलाई नै समर्थन गर्नुपर्ने देख्छु !

>>read more...

Sunday, January 15, 2012

Loot – Nepali Movie [Review] #Nepal #NepaliMovie

|

‘म सँग बैंक लुत्ने मास्तर प्लान छ’ –  जब पनि आफ्नो लुटेरा समूह बनाउनको लागि हाकु काले ले नयाँ केटाहरु भेट्छ, उ यही संवाद दोहोर्याउँछ ! नेवारी लवजमा हाकुले यस्तै अन्य संवादहरु दोहोर्याउँदा हलमा हासोँ फैलिन्छ !

Loot -  Nepali Movieनिश्चल बस्नेत निर्देशित  नेपाली चलचित्र ‘लुट’ (Loot – A Nepali Movie) अहिले देशभरिका विभिन्न सहरहरुमा प्रदर्शन भइरहेको छ! “लुट”को कथा नौलो होइन ! कथा साधारणछ, हाकु काले नामक व्यक्तिले चाँडै धनि बन्ने सपना बुन्छ, र बैंक लुट्नको लागि अन्य सहयोगीहरु खोज्छ र एउटा लुटेरा समूह बनाउँछ ! आफ्नो योजनाअनुसार उसले ती चार पात्रहरुलाई बैंक लुट्न तयार पार्छ र बैंक लुट्न कसरी सफल हुन्छ भन्ने कुरा नै चलचित्र लुटको मुख्य कथासार हो । यही “बैंक लुट्ने” कथामा हलिउड र बलिउडमा दर्जनौँ चलचित्रहरु बनिसकेकाछन् तर पनि “लुट” ले आफ्नो छुट्टै छाप छोड्न सफल भएकोछ ! कथालाई मौलिक बनाइदिएकोछ !

कथा सामान्य भएपनि, चलचित्रको प्रस्तुतीका कारण चलचित्रले दर्शकहरुलाई सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल भएकोछ ! चलचित्रमा हाकु (सौगात मल्ल), पेशाले भट्टि साहु हुन्छ, जो चाँडै पैसा कमाउनको लागि बैंक लुट्ने योजना बनाउँछ ! नेवारी लवजमा नेपाली बोल्ने, हाकु चलचित्रमा मज्जाले जमेकाछन् ! नरे बनेका कर्मा, पेशाले बाउन्सर हुन्छ र छिटो पैसा कमाउनकै लागि हाकुको बैंक लुट्ने योजनामा सामेल हुन्छ ! खत्री बनेका प्रतिक, ठमेलमा ड्रग र हतियार सप्लाइ गर्ने व्यक्ति हुन्छ ! बैंक योजनामा हाकुले, खत्रीलाई पनि सामेल गर्छ ! चलचित्रमा कहिँकहिँ खत्रीको अभिनयमा खोट लगाउने ठाउँ भेटिन्छ । गोपाल र पाण्डेको रोलमा क्रमश दयाहाङ राई र सुशिल छन् ! गोपाल वा “गोफ्ले” को रुपमा दयाहाङ जमेका छन्, उनका प्रत्येक संवाद रमाइला लाग्छन् ! उनको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन, सुशिल पनि आफ्नो रोलमा ठिकैछन् तर पनि उनले सुधार गर्नुपर्ने अझै ठाउँ भने छ ! पाण्डेको “गलफ्रेन्ड” को रुपमा “आयसा” अर्थात ऋचा शर्मा रहेकी छिन् ! ऋचाको अभिनय आफ्नो ठाउँमा ठिकै छ ! डान्सबारको एउटा गित “उध्रेको चोली”मा एकछिन सुस्मिता कार्की देखा पर्छिन् !

चलचित्र अभिनय, छायांकन, कथानक, निर्देशन सबै हिसाबले राम्रो छ ! साँच्चै भन्ने हो भने, मैले ती कुराहरुमा खोट लगाउने ठाउँ देखेको छैन ! रमाइला संवादहरुमा “समाजमा अपाच्य शब्द” राखिएको भनेर केहीले गुनासो गरेकाछन् तर मलाई लाग्छ संवादले हाम्रो आफ्नो वास्तविक धरातल देखाइदिएकोछ, यसअर्थमा संवाद कुनै पनि हिसावले वनावटि लाग्दैन ! चलचित्रमा अन्यकेही गितहरु विचविचमा व्याकग्राउन्डमा राखिएको भएपनि, “उध्रेको चोली” बाहेक अरुकुनै गित अहिले आफूलाई याद छैन !

नेपाली चलचित्रहरु विच प्रदर्शनको लागि अस्वस्थ प्रतिस्पर्धा चलिरहेको कारण, यो चलचित्रले यति नै व्यापार गर्ला, यति नै चल्ला त भन्न सकिन्न तर पनि समग्रमा भन्दा चलचित्र धेरै राम्रो बनेको छ !  चलचित्र भवनमा हिजो हामी चलचित्र हेर्न पुग्दा, हल खचाखच भरिएको थियो!

चलचित्र हेरिसकेपछि लाग्यो, यस्तो चलचित्र पनि नेपालीले बनाउन सक्दारै'छन् ! नेपाली चलचित्रमा नयाँपन केही छैन, नेपाली चलचित्र राम्रा हुँदैनन् भन्दै नेपाली चलचित्र हेर्नुभएको छैन भने पनि, “लुट” चाँहि एकपल्ट हेर्नै पर्छ भनेर सुझाउँछु !


Trailer of Nepali Film Loot

Loot–Nepali Movie Trailer


सोसल मिडियामा लुट

मैले हिजोपनि ट्विट गरेको थिँए, सायद यो नै पहिलो नेपाली चलचित्रहोला, जसको सोसलमिडियामा यतिधेरै कुराकानी भएकोछ ! ट्विटर, फेसबुक र ब्लगमा यही  चलचित्र लुटको चर्चा भइरहेकोछ! हामीले फेसबुक र ट्विटरमा भएका कुराकानीहरु यहाँ समेट्ने प्रयास गरेका छौँ !

loot-nepali-movie-review

loot-movie-fb

loot-movie-twitterLoot-Nepali-Movie-Facebook-Reactionloot-nepali-movie-twitterloot-twitterloot-twittr-rxn

Movie: Loot (Nepali Movie)

Director: Nischal Basnet

Producer: Madhab Wagle, Narendra Maharjan

Starring: Saugat Malla, Karma, Dayahang Rai, Prateek Raj Neupane, Sushil Raj Pandey, Reecha Sharma, Srijana Subba, Sushma Karki

Rating: 4.5/5 (AakarPost’s Rating)

(हामीले फेसबुकको लिमिडेट पोष्ट पनि यहाँ नसोधिकनै प्रकाशन गरेकाछौँ, कसैलाई आपत्ति छ भने, खबर गर्नुहोला!)

Cross Post on Aakar Tech: Loot Gets Social Media Love #Loot #NepaliMovie #Nepal #SocialMedia

>>read more...

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^