Skip to main content

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो । 

दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो ।


अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, हामी उनीहरु बस्ने होटल तिर लाग्यौँ। घर कता हो भनेर लोप्साङलाई सोधेँ, काठमाडौँ नजिकै भन्ने जवाफ आयो। मैले फेरि सोधेँ, सिन्धुपाल्चोक? होइन । काभ्रे? हो । उसलाई गाइडले पाउने भत्तामा उसलाई गुनासो थियो, उसलाई आफ्नै वेवसाइट भए केही हुन्थ्यो कि जस्तो पनि लागेको रहेछ । खाना खानेबेला, भोलि बिहान सँगै निस्कने प्लान बन्यो ।

बिहान खाजा खाएर, लाङटाङ खोला किनारै किनार हामी चार जना पूर्वतिर लाग्यौँ । लाङटाङ खोला एकोहोरो सुसाइरहेथ्यो, बाटोमा अन्य समूहरु पनि भेटिन्थ्यो, बाटोमा भेटिएका गाइडहरुसँग विवेक दाइ कुरा गर्नुहुन्थ्यो, म अलि कम नै बोल्थेँ। कहाँसम्म जाने भनेर सोध्दा, घोडा तबेला पुगिएला कि भन्थ्यौँ । लोप्साङले हिँड्ने बेला पनि भनेको थियो, धेरै माथि जानुहुन्न 'हाइ' लाग्छ, बिस्तारै उकालो चढ्नुपर्छ, लामा होटल बस्नुस् । तर लाङटाङ खोला माथिको पहिलो झोलुंगे पुल तर्नेठाउँसम्म पुग्दा लोप्साङ तर्किन थालेको आभाष भएकोथियो । सायद, लाउराले हामीसँग कुरा गरेको उसलाई चित्त बुझेको थिएन । सिस्नु, चराचुररुङ्गी र वनस्पतिहरुको नाम समेत हामी नेपाली, अंग्रेजी र जर्मन भाषामा सोधखोज गरिरहेका हुन्थ्यौँ । पुल तर्नेबेला एकछिन हामी थकाइ मार्ने भयौँ, लोप्साङलाई छुटकारा मिलेजस्तो भयो होला सायद, हामी अगाडी जाँदै गर्छौँ तपाईहरु बिस्तारै आउँदै गर्नुस् लोप्साङले भन्यो,'सि यु लेटर' भन्दै लाउरा पनि अघि बढिन् । दाइ र म मुखामुख गरेर हास्यौँ, लोप्साङ अगाडि कुदेको देखेर ।


पहिरो पुगेर चिया खान रोकिदाँ लोप्साङ र लाउरासँग फेरि भेट भयो । होटलवाली दिदीले अंग्रेजीमा सोधिन के खाने भनेर, दाइले नेपालीमा जवाफ फर्काउँदा, उनी छक्क परिन् । प्राय:ले दाइलाई युरोपियन र मलाई भारतिय सोच्दा रैछन्, हामी त नेपाली हो, नेपाली रेटमा चाहिन्छ भन्दा उनीहरु छक्क पर्थे र बारम्बार सोध्थे तपाईहरु नेपाली नै हो भनेर। लामा होटलमा चिया पिउन बस्दा, शेर्पा होटलको दाइले गनेरै पाँच पटक सोधेका थिए, हैन तपाई त ठ्याक्कै विदेशी जस्तो लाग्छ भनेर । पहिरोमा, पल्लो टेबलमा चिया पिउँदै गरेका व्यक्ति परिचय गर्न आइपुगे, बंगलादेशका मिथुन।

बंगलादेशी मिथुनको यो दोस्रो नेपाल भ्रमण रहेछ, उनी अघिल्लो वर्ष अन्नपुर्ण सर्किट गर्न नेपाल आएका थिए । मिथुन भन्ने बित्तिकै हामीले भारतिय नायक मिथुन चक्रवर्तीको कुरा निकाल्यौँ । उसको नाम पनि उनै हिरोबाट प्रभावित रहेछ । उसको घर ढाकामा, उ जन्मने समयमा घरमा एउटा भिसिआर रहेछ, जहाँ उसका परिवार तथा छिमेकीहरु दिनरात मिथुनकै मात्र फिल्म हेर्दा रहेछन् । उसको बुवा मिथुनका फ्यान भएका कारण, उसको नाम मिथुन राखिएको रहेछ। हामीले पनि उसलाई मिथुन दा' भनिदियौँ ।

पहिरोमा पनि लोप्साङले हल्का अलमल गर्दै, हामी बिस्तारै आउछौँ, तपाईहरु जाँदै गर्दा हुन्छ भन्यो । लोप्साङको कुरा बुझ्न हामीलाई गाह्रो थिएन । क्रिकेट, राजिनिती आदि इत्यादिको कुरा गर्दै, विवेक दाइ, मिथुन र म उकालो लाग्यौँ।


एघार बजे बाम्बु पुगियो, दाइले सुरुमै हामी नेपालीलाई नेपाली रेट चाहिन्छ भन्नु भो, होटलवाला ले ५० प्रतिशत छुट हुन्छ तपाईहरुलाई भन्दा, म एकछिन त छक्क परेँ । बाम्बुमा रोटी र तरकारी खाएर, फेरि उकालो लागियो । उकालो लाग्दै गर्दा मलाई चाँहि ४ वर्ष पहिलेको आफ्नो एकल बेङ्लोर यात्राको याद आइरहेथ्यो, बिरगंज, रक्सौल, पटना हुँदै ट्रेन चढेर बेङ्लोर पुग्दा बाटोमा जसरी साथीहरु भेटिएका थियो, लाङटाङमा उकालो चढ्दैगर्दा त्यही कुरा नै रिपिट भइरहे झैँ लाग्दैथियो ।

लाङटाङ खोला सुसाउँदै, गर्जदैँ बेगले तल झर्दैथियो, हामी भने असिन पसिन हुँदै बिस्तारै बिस्तारै उकालो चढ्दै थियौँ । विवेक दाइ अघि अघि, त्यसपछि म अनि मिथुन । बाटोमा देखिएका हरेक गुँरासका फूल फरक लाग्थे, हरेक घुम्ती नौला लाग्थे, सकेजती सबैको फोटो र भिडियो खिच्दै अघि बढ्यौँ। घान्द्रुक, घलेगाउँ भन्दा यो बाटो फरक लाग्दैथियो, घान्द्रुक, घलेगाउँ जाँदा एउटै पहाडमा फनफनी घुमेर उकालो चढ्नुपर्थ्यो तर यहाँ बिस्तारै बिस्तारै खोलाको किनारै किनार हिँड्दै उचाइ लिइरहेकाथियौँ । हामीहरु बारम्बार जिपिएस डिभाइसमा हेर्दै, यती हाइटमा आइयो, अब यतिमा जानुपर्छ भन्दै हिँड्थ्यौँ ।


रिम्चे कटेर अगाडि गएपछि सिमसिम पानी पर्न थाल्यो । लामा होटल आइपुग्दा दुई बजेको थियो, पानी सिमसिम परि नै रहेको थियो । करिब आधाघन्टा कुरेपछि मिथुन पनि आइपुग्यो भिज्दै । हाम्रो टेबलमा अघि नै लाउरा र लोप्साङ आइसकेका थिए, अब मिथुन पनि थपिएको थियो । लेमन टि, बिस्कुट र घरैबाट लगिएको भुटेको मकै खायौँ । पानी रोकिए, घोडा तबेला, पानी नरोकिए लामा होटलकै बास थियो, हामी (विवेक दाइ, मिथुन र म) लाई केन्जिङ सम्म पुग्नुथियो भने लाउरा गोसाइकुण्डसम्म (फर्केर) पुग्ने गरि हिँडेकी थिइन् । लोप्साङ र लाउराको आजको बास लामा होटलमा तय भइसकेको थियो, पानी परिरहेका कारण हाम्रो योजना तय भएको थिएन तर लोप्साङ भन्दैथियो, यो पानी रोकिन्छ, तपाईहरु घोडा तबेला पुग्नुसक्नुहुन्छ । मैले लाउराको ईमेल माग्दा, लोप्साङ झनै उग्र भएकोथियो ।


पानी केहीबेर रोकिए झैँ भयो । चिया खाएर, ब्याकप्याक तयार गर्‍यौँ । एकैछिनमा फेरि पानी फुसफुस झर्न थाल्यो । पानी पर्दैन, यस्तै हो, यतातिर, रेनकोट ओढेर बाटो लाग्दा हुन्छ, लोप्साङले फेरि दोहोर्‍यायो । रेनकोट त के हुनु, बिहान स्याफ्रुवेसीमा किनिएको निलो प्लाष्टिक थियो, त्यसैलाई रेनकोट झैँ ओढियो । ब्याकप्याप बोक्यौँ, अनि माथिबाट प्लाष्टिक ओढायौँ, फुसफुस परेको पानीलाई तर्काउन सकियो । 

करिब ३ बजे हामीले लामा होटलमा लोप्साङ र लाउरालाई छोडेर उकालो लाग्यौँ । विवेक दाइ अघि अघि, त्यसपछि म अनि, मेरो पछाडि मिथुन । मिथुन एकदमै बिस्तारै हिँडिरहेको थियो, एकछिन उकालो चढ्दै टक्क रोकिन्थ्यो, म पनि उसै गर्थेँ, तर उ भन्दा अलि कम । हामीले सल्लाह गर्‍यौँ, अब आज बास बस्न घोडा तबेला पुग्नै पर्छ । ढिलो पुगियो भने बास नपाइएला । हामी ३ जना मध्ये जो पहिले घोडा तबेला पुग्छ, उसले बस्ने बन्दोबस्त गर्ने सहमति गर्‍यौँ । विवेक दाइ अगाडि लाग्नुभयो । मिथुन र म पछि पछि ।


जति जति उकालो लाग्दै गयो, त्यति त्यति खुट्टा अगाडी सर्न मान्दैन । गति धिमा हुन थाल्यो । फुसफुस गर्दै झरेको पानी, अलि कस्सेर आउन थाल्यो । रेनकोटले ब्यागमा बोकेका लुगा जोगाइदिएपनि, लाएरै हिँडेको लुगा जोगाउन सकेन । धन्न टाउकमा लगाइएको क्यापले पानी सिधै आँखामा भने पर्दैनथियो, तर पानी विस्तारै घाँटिबाट भित्र छिर्नथाल्यो । ज्याकेटले पानी थेग्न सकेन । हातबाट बिस्तारै पानी कुइनो सम्म पुग्न थाल्यो । जुत्ता र मोजा भिजिसकेको थियो । पानी परेका कारण जंगलमा भिजिबिलिटि कम थियो । एकछिन हिँडेपछि अगाडी हेर्छु परसम्म कसैलाई देख्दिन, पछाडी हेर्छु मिथुन पनि छैन । पानी परिरहेको छ, बसेर मिथुनलाई पर्‍ख्यौँ भने झन् अन्धकार थपिएला, हिँड्नु पर्ने नै छ भनेर सोच्छु । नपर्खौँ त अगाडि अब मैले कोही भेट्नेवाला छैन, दाइ धेरै अगाडि पुगिसक्नु भएकोछ । दाइलाई त अगाडि जानु भनेकै हो, फेरि बस्ने ठाउँ नै नपाइएला भनेर ।

अलि पहिले नै भएको भए त 'टि-हाउस' थियो, तर त्यहाँ नबसी उकालो लागेँ । फुसफुस गरेको पानी, पछि ठूलो पर्ला भनेर सोचिएन । अर्को कुरा, फुसफुस पानी त रेनकोटले थेगिहाल्छ नि भन्ने लाग्यो । आखिर हिँड्नै पर्ने छ भनेर, म विस्तारै माथि तिर नै पाइला सार्दै अघि बढेँ । हिँड्नु के थियो र, पाइला माथि सर्नै नमान्ने, त्यसमाथि चिप्लो बाटो, अनि माथिबाट बर्सीरहेको पानी । बाटो छेवैमा बडेमानको ढुंगा रहेछ, सानोतिनो ओढार नै भन्न मिल्ने । त्यहाँ पुगेपछि हल्का सास आएझैँ भो, कम्तिमा चिसो पानीमा रुझ्नु त पर्दैन । ढुंगा मुनि एकछिन टुक्रुक्क बसेर मिथुनलाई पर्खिएँ, एउटा चकलेट बार खाएर पानी पिँए । 

एकछिनमा मान्छेहरुको आवाज सुनियो, लौ मिथुन आउँदैछ भन्ने लाग्यो । अघि आवाज मात्रै आएथ्यो, अब मान्छेहरुका टाउका देखिन थाले, उकालो लाग्दै गरेका । आर्मीका ४ जना मान्छेहरु रहेछन् । उनीहरु सिभिल ड्रेसमा थिए । लामा होटल सम्म उनीहरु अघि पछि भेट भइरहेका थिए । एकजना चैँ अलि ठूला अफिसर जस्ता देखिन्थे, अनि बाँकी चाँहि उनका सिपाहीहरु होलान् भन्ने लख काटेँ । उनीहरु त लमक लमक, पानीको पर्वाह नगरी हिँडिरहेका थिए । मैले ती आर्मीलाई एकजना साथी बाटोमा देख्नुभो भनेर सोधेँ, उ आउँदैछ, अब त नजिकै आइपुग्यो होला भन्ने जवाफ पाएँ । केहीबेर ढुंगामा सुस्ताउँदै कुरेरै बसेँ, पानी हल्का कम भएझैँ भो । आफूलाई सकेसम्म चिसोबाट जोगाउने प्रयत्न गरेँ ।


मिथुन पनि नजिकै आइसक्यो भनेर म त्यो ओढार छोडेर अघि लागेँ । बारम्बार, एकछिन हिँड्छु र घडि हेर्छु, खै अझै घोडा तबेला भन्ने ठाउँ आइपुगेन भन्ने जस्तो लाग्छ । माथि अलि तेर्सो जस्तो बाटो देखियो भने, ए ल पुग्न लागेछु भनेजस्तो लाग्छ, तर घोडा तबेला आउँदैन । हिँड्नेका लागि डेढ दुई घन्टामा पुगिन्छ भन्थे, आफूले लामा होटल छोडेको ३ घन्टा भइसक्यो, घोडा तबेलाको नाम निशाना छैन, न वरिपरि कुनै मान्छे नै छन् । एक्लै उकालो लागिरहेछु, एउटा ठाडो भिरमा त चिप्लिएर झन्डै तल पुगिएन । अर्को खुट्टोले अलि बलियो नटेकेको भए, के हुन्थ्यो भन्न सक्दिन । सायद तल खोलामै पुगिन्थ्यो होला । खुट्टा चिप्लिँदा जिउभरि काँडा उम्रियो, एकछिन जिउ पनि थरर भएर काप्योँ । भिर कटेर एकछिन तल तिर हेर्दै सुस्ताएँ । माथि तिर हेर्दा घोडा तबेला देखिएला भन्ने आश, तल तिर हेर्दा मिथुन आइपुग्ला र सँगै हिडौँला भन्ने आश । तर खै, कतै केही देखिन्न ।


हिँडेको ३ घन्टा भइसक्यो भनेपछि, घोडा तबेला टाढा चैँ नहोला भन्ने मनमा लागिरह्‍यो । जंगलमा अब हिँड्नेबाटो मात्र सेतो देखिन्थ्यो, छेउछाउ पुरै अन्धकार । मोबाइलको फ्ल्यास लाइट बालेर हिँड्न थालेँ । अलिबार तेर्सो बाटो हिँडेपछि पर बत्ति बलेको देखियो । मान्छेहरु देखिए, घरहरु देखिए । ए लौ, आइपुगियो भनेर खुसी भइयो, तर एकैछिनमा घरहरु छोपिए, बादलले । हेर्दा हेर्दै बादलले घर छोपिए तर अब आफू घोडा तबेला आइसकेको छु भन्ने भएर होला, बादलले घरहरु छोपिएको रमाइलो लाग्यो ।

विवेक दाइ एकघन्टा अघि नै घोडा तबेला पुगेर ३ जनाको लागि सबै बन्दोबस्त गरिसक्नुभएको रहेछ । घोडा तबेलाको पल्लो पट्टिको होटलमा लगेर ब्याग बिसाएपछि, धन्न यहाँ आइयो भन्ने लाग्यो । होटलमा विदेशीहरु टन्नै थिए, कोही खाँदै, कोही आगो ताप्दै त कोही तास खेल्दै । बाटोमा देखिएका केही गाइडहरु पनि त्यहीँ भेटिए । घोडा तबेला पुगेको १ घन्टा जति हुनलाग्यो, मिथुन आइपुगेन । घोडा तबेलामा एकजनाको स्काइ फोन खोजेर सम्पर्क'को प्रयास गरियो, फोन लागे पो । फोनको नेटवर्क भए पो लाग्नु ।

मिथुन अबेरसम्म पनि नआइपुगेपछि, गाइडहरु यो बाटोमा भएका दूर्घटनाहरु बारेका कथा भन्न थाले । विदेशी, त्यो पनि एक्लै, यति राती न कतै लड्यो कि, न कहिँ कतै त्यस्तै व्यक्तिहरुको फन्दामा पर्‍यो कि, भन्ने अनेक तर्कना हुनथाल्यो । मैले त उसलाई तलै छोडेर आएको हुँ । मलाई आफू चिप्लिएको भिरको याद आयो । म आउँदा पो उज्यालै थियो, र कसो कसो त्यो भिरमा चिप्लिएर पनि जोगिँए । मिथुन त्यहिँ पो चिप्लियो कि भनेर नराम्रो तर्कना आउन थाल्यो । गाइडहरुको अनेक अड्कलहरुले गर्दा आफूलाई झन् झन् चाहिने नचाहिने कुराहरु दिमागमा आउनथाल्यो ।

म अलि तलसम्म मिथुनलाई खोज्न निस्किएँ । घोडा तबेला अघि उकालो चढेको बाटो, अहिले त एकदम छोटो लाग्दै थियो। घोडा तबेलाको चौर छोडेर म तल जंगलतिर पसेँ, मोबाइल बाल्दै । अलि अघि बढेपछि धेरै तलजान पनि डर लाग्यो, अन्धकार छ, जंगल छ, बाटो फेरि चिप्लो छ, अनि चिसो स्याँठ चलिरहेको छ । मैले त्यहीँ उभिएर मोबाइल यता र उता बाल्दै, उसलाई बोलाइरहेँ, 'मिथुन, मिथुन, मिथुन... मिथुन दा... कतैबाट उत्तर आइहाल्छ कि भन्दै एकछिन चुप लागेर बसेँ, लाइटले बाटोतिर देखाँए, कतै उसले उज्यालो देखिहाल्छ कि भनेर । तर मिथुनबाट उत्तर आएन । अब यति राती के गर्ने, धेरैबेर म त्यहाँ बसेर गर्न नै के सक्थेँ र । 

एकछिन फेरि जोड जोडले उसको नाम चिच्याएँ, 'मिथुन' । आवाज कतैबाट केही आएन । म डराइ डराइ, अनेक कुरा सोच्दै होटलमा फर्किँए । सायद उ लामा होटल फर्कियो होला, विवेक दाइले ढाडस दिनुभयो । अघिल्लो वर्ष एबिसी जाँदा यस्तै गरि एक्लै भएपछि, ढिलो हुने भो भनेर उ पहिले कै स्टपमा फर्किएको कुरा दिउँसो हामीलाई सुनाएको थियो । विवेक दाइले यो कुरा दोहोर्‍याएपछि, सायद लामा होटल नै फर्क्यो होला भन्ने लाग्यो । मिथुन आएन, न त उसको बारे कुनै खबर नै आयो । एकछिन आगो तापेर हामी सुत्न गयौँ, बिहानको ब्रेकफास्ट के कतिबेला हुन्छ भन्ने बुझेर ।

क्रमश...
हामी (म र विवेक दाइ) २०१५ को मार्च महिनामा लाङटाङ पदयात्रामा गएका थियौँ । लाङटाङबाट फर्किएर यो नियात्रा लेख्न थालेको थिँए, तर यो ब्लग लेखि नसक्दै भूँइचालो गयो । उक्त भूँइचालोमा परेर, लाङटाङ गाउँ नै सखाप भएपछि, यो ब्लग पुरा गर्ने र प्रकाशित गर्ने मन भएन । ड्राफ्टहरु खोज्दै जाँदा यो अप्रकाशित ब्लग भेटेँ । भूँइचालो गएको ६ वर्ष भइसक्यो, यसविच लाङटाङ पदमार्ग फेरि सुचारु भइसकेको छ । अत: अहिलेलाई लाङटाङ यात्राको सम्झनामा, यो पहिलो ब्लग प्रकाशित गरेको छु । फेरिएको लाङटाङ हेर्न, फेरि छिट्टै एकपटक लाङटाङ पदयात्रामा जाने मन छ ।

Comments

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post