फुच्चे घुस्याहा र म लाचार जन्तु [कथा]

'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने।

'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए।
'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ'

'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन'

----------

अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म। हुन पनि म निकै फ्रस्टेड भैसकेको थिएँ, केहि महिना अघि अप्रत्यासित रुपमा घर फर्केको थिएँ। घर आउने खासै योजना नहूँदा नहूँदै कम्पनिले आकस्मिक निर्णय गरेर घर पठाएको थियो। त्यसैले मलाई केहि खल्लो लागि रहेको थियो, म’मा घर फिर्तीको जुन उमङ्ग हुनुपर्ने हो त्यो थिएन। कम्पनिले जनवरीमा कन्ट्रयाक्ट पायो भने बोलाऊँछ भन्ने गाइगुईं सुनेर झिनो आशा त थियो, तर भर लागेको थिएन।

hopelessशुरुका लाहुरे दिन कलेज पढ्दा ताकाका दशैं छुट्टीका दिन जस्ता थिए, बिहान अबेरसम्म कुम्भकर्णको झैँ सुत्यो, दिनभर पँधेरीका आइमाई जसरी कुरा काट्दै बस्यो, फुस्केको साँढेको जस्तो दिनचर्या, संबिधान सभाको बैठक जस्ता बेतुकका मिटिंग जसलाई हामी 'पर्यटन बोर्डको मिटिंग' भन्ने गर्थ्यौं जुन देवदास जसरी झ्याप भएपछी बल्ल सकिन्थ्यो। तर यी दिन लंग लास्टिंग नहूँदा रहेछन, पकेट हल्का भएपछी आम नागरिकको जस्तो निरस जिबन सुरु हुने रहेछ, घर देश जस्तै लथालिंग लाग्ने रहेछ।

लाहुरे दिन सकिएपछी कहिले विदेश फर्कौं जस्तो फिल हुने रहेछ । म छटपटाइ रहेको थिएँ, मेरा दिन पनि लाखौँ नेपाली युवाहरु जसरी दैनिकमा छापिएका बैदेशिक रोजगारका बिज्ञापन हेर्दै बित्न थाले। जनवरीमा कम्पनिले बोलाउने आश झिनो थियो । त्यो भन्दा अघि डिसेम्बर क्रिसमस र न्यु इयर लिएर आऊँदै थियो, घरबाट कसरी दस्ती उम्काउने होला भन्ने पीर थियो, त्यसमाथि बाइकमा तेल, मोबाइल रिचार्ज, जाडोको मौसम, केटाहरु भेटेपछी हल्का हानम न त भन्छन... खर्च असिमित आम्दानि शुन्य।

मलाइ विदेश नगई भएको थिएन। केहि दलालहरु पनि भेटें, पैसाको भाउ घटेर खतम, दलेको रेट बढेर हैरान, जहाँ जान्छु भने पनि छोई साध्य नाइँ। मोसफलमा हुनुको बेफाइदा, लोकल दलेको भर पर्नुपर्ने। काठमाडौँ सम्झिदा दिक्दार लागेर आऊँछ, त्यत्रो लामो यात्रा, जाम, धुलो, फोहोर, महंगी, होटेल, होटलका खाना, होटलका ट्वाइलेट, माइक्रो, टेम्पु, फलाना र ढिस्काना मन्त्रालय, त्यहाँका सिस्टम, त्यहाँका कर्मचारी र तिनको 'सौहार्दपूर्ण' ब्यबहार.....। तर विदेश जानलाइ पुलिस रिपोर्ट अनिवार्य, त्यतिकै लागि भए पनि जानैपर्यो । काठमाडौँ जाउ, रत्नपार्क पुग, आकाशे पुलमुनि बसेर पैसा सोहोर्दै गरेकाहरुलाइ पासपोर्ट देउ, फारम बनाउ, पार्कमा बसेर बदाम खाउ या हाइ काडेर दुइ बजाउ, अनि भीत्र जाउ, लाइन बस, रसिद काट, अनि बीचमा सार्बजानिक बिदा परेन भने ३ दिनपछी नत्र ४-५.. दिन पछी परराष्ट्र मन्त्रालय गएर दुइटा लाइन बसेर एउटा नाथे कागज पाएपछी बल्ल विदेश जान पाउने रे ।

जसोतसो गएँ राजधानी, रिपोर्ट बनाएँ, साथै क्रिसमस इभ र न्यु इयरको खर्चको जोहो पनि गरें। हाम्रा पोखराँ बिदेशी चाडबाढ बडा उल्काले मनाइन्छ । अंग्रेजी नया बर्ष २०१२ लाइ ०० बजेर ०१ सेकेन्ड जाँदा तोंग्वा र च्वाँचेको सितनले स्वागत गरियो। जनवरी शुरु, कम्पनिको वेबसाइट चेक गर्ने सिलसिला पनि शुरु भो। तर साइटमा केहि अपडेट थिएन। यसो गर उसो गर अनि घुमाइ फिराइ बिहे गर भनेर दवाब आऊँथे घरबाट, तर त्यसमा बाह्य शक्तिको पनि हात छ भन्ने मलाइ पूर्ण बिश्वाश थियो। आफ्नो चैं लाइफको त के, दिनभरको एजेन्डा केहि थिएन। डाँडाको टुप्पामा जक्सन थियो, पर्यटन बोर्डको मिटिंग त्यहीं हुने गर्थ्यो, साथमा चियापान पनि। चियापानमा चिया र पान चाहिं हुन्थेन। दिन यसरी नै बिती रहेका थिए।

त्यत्तिकैमा संगै काम गरेको एउटा साथीले फेसबुक स्ट्याटस पोस्ट गर्यो, 'मलाइ मेरो पुरानो कम्पनिले पुन बोलाएको छ, म जाऊँ कि बसूँ?' मलाइ औडाहा भएर आयो। उसलाई मेल आयो, मलाइ किन आएन? दश ठाऊँमा इन्क्वाइरी गर्थें। साथमै काम गरेका मेरा साथीहरुलाइ पनि फोन आइसकेछ। म पछी परें। हतार हतार सबै डकुमेन्ट एट्याच गरेर 'म नि आऊँछु' भनेर इमेल गरिदिएँ। त्यसको भोलि पल्ट अनिलको फोन आयो, 'कम्पनिले भिसा र टिकट पठाइदिन्छु भनेर फोन गरेको थियो' अब साथीको काम बन्यो भनेर खुशी होउँ कि आफ्नो भएन भनेर दुखि होउँ, अन्योलमा थिएँ। तेस्रो दिन बिनोदको फोन आयो, उसले पनि आऊँछु भनिदिएछ। आफ्नो भने केहि नाम निशान थिएन। दुखि थिएँ म, साँझ खल्लो लागि रहेको थियो, त्यसमाथि लोड सेडिंग, मोबाइलमा जम्मा १ लाइन चार्ज बाँकी, ल्यापटपमा चार्ज थिएन, भीत्र अँध्यारो, बाहिर जाडो, मनमा छटपटी। बोन जोवीको 'आइ'ल बि देर फर यु' शुरुको 'ट्याऊँ ट्याऊँ ट्याऊँ' बज्यो, हात गोजीमा पुगे, नम्बर बिदेशी थियो, एकछिन टोलाएँ, त्यसपछि 'हेलो..'

- - - - - - - -

५ बजे नै तयार भएर बाइक लिएर निस्कें, तेत्रो टाढाको बाटो, बाइक लिएर नजा त भन्दै थिए घरमा। ३ बजेसम्ममा प्रोफेसन चेन्ज गरेर पठाईसक्नु पर्ने थियो, बसमा जाँदा त्यो सम्भव थिएन। हिऊँदमास पोखराको हुस्सु, बाटो त ठ्याम्मै देखिने होइन। चस्मा खोलूँ त चिसोले बरर आँशु झर्थे, लगाऊँ त मास्कको बाफले भीत्रबाट, बाहिरबाट हुस्सु टाँसिएर केहि नदेखिने। २०-३० को स्पीड्मा कहिले हो कुन्नी काठमाडौँ पुगिने? त्यत्तिकैमा एउटा प्राइभेट कारले उछिन्यो, त्यसैको ब्याक लाइट फलो गर्दै पछी पछी कुदाएँ।

स्पिड बढेपछी आइडिया आयो, टक्क एउटी च्वाँक केटी काठमाडौँ जानलाइ लिफ्ट मागे हुन्थ्यो नी ...'  ट्राउजर, जिन्स, रेनकोट लगाऊँदा पनि घूँडा कठ्यान्ग्रिएका थिए, हात त्यस्तै, तेत्रा कपडा लाऊँदा पनि काँ'बाट हावा छिर्ने हो कुन्नी। अनि त्यस्तो चिसोमा हल्का न्यानो आइडिया आउनु त स्वाभाविक नै हो। तर मेरो अगाडी भएको प्राइभेट कारले भिलेन खेल्दियो, रोक्दै मान्छे चढाउन थाल्यो, मेरो लिफ्ट दिने सपना तुहियो।

कुहिरोले मध्यमान्चल पुग्ने बेलासम्म छोडेको थिएन। ८ बजे कुरिनटार चिया खान रोकें। तारमा झुन्डेका केबुलकारका डब्बाहरुलाइ हेर्दै हातले हेल्मेटको निधारमा र छातीमा ३ पटक छोएँ। काम बन्यो भने स्योर आऊँछु, डेट चैं अहिल्यै भन्दिन भनेर कसम खाएँ। यता चैं कुइरो घट्यो, ट्राफिक बढ्यो। जेन तेन ११ बजे थानकोट काटें। म काठमाडौँका बाटोमा हराऊँछु, सात चोटी रोकेर बाटो सोध्नु पर्छ। परराष्ट्र जाने बाटो बिर्सेर रत्नपार्क पुगें, टुँडिखेलको २ पटक परिक्रमा लगाएपछी बल्ल दरबार मार्ग हूँदै परराष्ट्र छिचोलें। दरबारमार्गमा के.एफ.सी.देखें, भोको पेट, मुख रसायो। परराष्ट्रमा बाइक पार्क गर्ने ठाऊँ नहुने रहेछ। ह्वाँ जमल पुगेर एउटा ग्यारेज जस्तोमा बाइक लक् गरेर परराष्ट्र फर्कें। गेटमा पुलिसलाइ सोधें, पहिला फर्म भरेर भित्र जानु भन्यो, मैले घरबाटै फारम ल्याएको थिएँ, देखाएँ। हेल्मेटतीर हेर्दै सोध्यो,
'काँबाट आको?'
'पोखारा'ट'
'बाइकाँ आका हौ?'
'अँ'
'बेल्का पोखारै फर्किन्चौ'
'अँ भ्याएँ भने',
'उसो भए जानी बेलाँ मलाइ यहाँ भेटेर मत्र जानु'
'हस' भनेर म हिंडें, के लाइ भेट्न भनेको हो कुन्नी, मलाइ डर लाग्यो।

----------

'यो प्राइमको सर्टिफिकेट कहाँ बाट किन्या? कसले बेच्ने गर्याछ?' प्रोफेसन चेन्ज गर्ने अफिस कि केटी झर्किई
मलाइ झनक्क रिस उठ्यो, 'के को किन्नी हो? ओर्जिनल हो, अरु नि सर्टिफिकेट देखाम?'
'पर्दैन, यसमा हाकिम सा'बको साइन लेर आउनु'
शुरुमा त हल्का च्वाँक नै लागेको थियो, तर ठाडो बोली सुनेपछी थोपडा हेर्न नी मन लागेन। सहि लिएर आएपछी भौचर भर्नु र रसिद लिएर २ बजे आउनु भनी।

भूतपूर्व दरवारको गार्डेनमा झोला बिसाएर एकछिन सुस्ताएँ, खुट्टा खुब दुखे। भोक लागि रहेको थियो। फेरी त्यो पुलिसले किन बोलाएको होला भनेर सोच्न थालें। स्व. राजा रानी पनि यहाँ टहल्थे होलान भनेर कल्पना गरें। बल्ल तल्ल २ बजाएँ, रसिद देखाएर पासपोर्ट लिएँ। पासपोर्टको दोश्रो पेजमा धमिलो छाप हानेसी प्रोफेसन चेन्ज हुँदो रहेछ। बाइक लिन गएको, २ घण्टाको पार्किंग चार्ज १०० ठटायो। स्क्यान गर्ने ठाऊँ खोज्न निस्कें, तर कतै भेटिन। ठमेल जस्तो ठाऊँमा समेत मैले स्क्यान गर्ने ठाम भेट्टाइन, सीधै गोंगबु हान्निएँ। एउटा फोटो स्टुडियोमा स्क्यानर रहेछ, इन्टरनेट अनि बिजुली पनि । स्क्यान गरेर पठाएँ। ३ बज्न लागेको थियो। भोकले मर्न आँटेको थिएँ। १ प्लेट चाउमिन, १ प्लेट मम अनि हाफ थुक्पा खाएपछि बल्ल प्राण आयो। होटेललाइ बेकार किन पैसा बुझाउनु भन्ने लाग्यो, घर तिर फर्किने निधो गरें। अनिललाइ भेट्नु पर्ने, फोन त गरेको थिएँ तर नभेटी फर्कें। मलेखुमा २ किलो क्वाँटी किने, १० बजे घर पुगें।

----------

अनिलले फ्लाइट भोलि (१७ जनवरी) लाइ कन्फर्म भयो, भनेर फोन गर्यो। बिनोद को पनि ‘भरे भोलि’ जस्तो भएको थियो, मेरो चाही केहि थाह पत्तो थिएन। डुल्दै खाँदैमा दिन बित्दै थिए। भोलिपल्ट अनिललाइ फोन मैं बिदाबारी गरें। अब मेरो कहिले हो आउने होला भनेर कौतहुलता जागेको थियो। बेलुका एकपटक अनिल गयो गएन कन्फर्म गर्न अनिलको नम्बरमा फोन गरें, फोन अनिलले नै उठायो। 'फ्लाइट भएन यार, इम्म्रिगेसनको मान्छेले पैसा नखाई जानै दिएन'

उसको कुरा सुनेर म छक्क परें । सक्कली भिसा, टिकट छ, किन जान नदिने? अध्यागमनका मान्छेलाई किन पैसा तिर्नु पर्ने?
'अब के गर्ने त अनिल?'
'अर्को टिकट पठाउछु भनेको छ उताबाट, भोलि अलि-अलि पैसा दिएर जानुपर्ला'
'कोइ मान्छे छ र चिनेको?'
'अँ मेरो एक जना चिनेको मान्छे छ, १५ हजार भनेको छ'
'ल अब त्यति खर्च गर भो, के गर्नु आफ्नो देशको सिस्टम नै यस्तै छ'
'अँ यार त्यस्तै गर्छु'
'ल ब्रो भोलिको लागि बेस्ट अफ लक्' भनेर फोन राखी दिएँ।
भोलिपल्ट बिनोदको फोन आयो, उसको २१ जनवरीको लागि कन्फर्म भएछ। मैले अनिलको बारेमा सुनाएँ, उसले पहिल्यै थाह पाएको रहेछ, उसले एयरपोर्टमा 'सेटिंग मिलाइदिने' मान्छे चिनेको छु भन्यो। अनिलको अर्कै लिंकबाट सेटिंग मिलिसकेको थियो, टिकट नआऊँदै मेरो सामुन्ने एयरपोर्ट कट्ने दुइटा अप्सन आइसकेका थिए, केहि राहत महसुश गरें। बेलुका अनिललाइ फेरी फोन ट्राइ गरें, यसपाली मोबाइल अफ थियो, उ गैसकेछ भन्ने गेस गरें, मन खुशी भयो।

----------

दिनभरी कल्ब्रेकमा हार्दा हार्दा हद्दु भैसकेको थिएँ। तर जित्नेले खाजा खुवाउने शर्त भएकाले हारेको पैसाको खाजा खाइन्छ भनेर खासै मनखत लागेको थिएन । जाने जाने बेलामा फोन बज्यो, बिदेशी नम्बर, 'यस सर.... ओके सर... थ्यांक यु सर' भनेको सुन्ने बित्तिकै केटाहरुले मेसो पाइहाले अनि पार्टी पार्टी भनेर चिच्याउन थाले, खाजा खाने प्रोग्राम अब ट्वाँक खाएर मनाइने भो। मेरो फ्लाइट पनि बिनोदसंगै २१ जनवरीको लागि कन्फर्म भएछ, टिकट भिसा आइपुग्छ भरेसम्ममा, मेल चेक गर्दैगर्नु भनेर फोन आएको थियो। २१ भनेको पर्सिपल्ट थियो, भोलिको दिनभित्र बिदाबारी भएर काठमान्डौ पुगेर ट्राभल चेक, सपिंग, एयरपोर्ट सेटिंग सबै गरिसक्नु पर्ने थियो। त्यसैले ह्यांगओभर हुने डरले केहि नपिई थुक निल्दै बसें।

भोलिपल्ट छोरो फेरी लाहुर हिंड्यो, वरिपरी कसैलाई थाह नदिई टाप। बिनोदले एयरपोर्ट सेटिंग १० हजारमा मिलाउछु भनेको थियो। कति खेर काठमाडौँ पुगौंला जस्तो भएको थियो। बल्ल तल्ल काठमाडौँ पुगेको, सारा शहर नै अन्धकार, पहिले बिजुली कता छ भनेर खोज्दै हिंड्दा हैरान, त्यसपछि साइबर। बल्ल तल्ल साइबर भेटियो, मेलमा भिसा टिकट आएको रहेछ, खुशी लाग्यो, टक्क लाएर भिसा टिकट प्रिन्ट गरेर हीँडियो, टन्न धोकेर सुतियो। टिकट २२ को रहेछ, सजिलै भयो। बैंकको काम र सपिंग सकेपछी एयरपोर्ट जानु पर्ने थियो, सेटिंग मिलाइदिने मान्छेले अनुहार हेर्ने रे।

एयरपोर्ट गयौं, एयरपोर्ट अगाडी मनि चेन्जर चलाउने मान्छे मिडल म्यान थियो, उसैले कुरा मिलाइदिएको रहेछ। हामी उसैको मनि चेन्जर अगाडी बसेर आउने जाने मान्छे हेरेर टाइम पास गर्थ्यौं। ढाका टोपी र कोट लगाएर कोइ बुढा खाडा आउने बित्तिकै 'यै होला घुस्याहा' भन्दै गेस गर्थेम। कुर्दा कुर्दा थाकिसकेम तर आएन। आउदै हुनुहुन्छ भाइ आउदै हुनुहुन्छ सर निस्किसक्नु भयो भनेर सान्त्वना दिन्थ्यो मनि चेन्जरवाला। धेरैबेर पछि हाम्रै उमेरको एउटा केटो भित्र पस्यो, मनि चेन्जर वालाले हाम्लाई भीत्र बोलायो। कत्रो न सर आउने होला भन्ने सोचेको त त्यही केटो रहेछ हाम्लाई इम्रिगेसन कटाउने 'सर', मलाइ त्यत्ति कलिलो भ्रस्टचारी देखेर टिठ लागेर आयो। 'तपाइँहरु चेक इन् टाइममा आउनुस, गेट भीत्र छिर्नु अघि मलाई फोन गर्नुस, म तपाईंहरुलाइ रिसिभ गर्छु, म रहेनछु भने पनि म सबै सेटिंग मिलाई राखेको हुनेछु, सिभिलमा कहिले काहिँ पुलिस हुन्छन, तीनले केहि सोधे भने डकुमेन्ट र ट्राभल चेक देखाइदिनु होला। तर केहि फरक पर्दैन, ढुक्कसंग आउनुस।' यति भनेर उ फर्क्यो। अनिलको भन्दा सस्तोमा परियो भन्दै खुशी हूँदै फर्क्यौं। त्यसबेला हामीलाइ देशको समस्या भन्दा आफ्नो समस्या ठुलो थियो, इमानले अपराध गर्दै छस भन्दै थियो, विवसताले इग्नोर गर इग्नोर गर भन्न थाल्यो, ह्या जाम अब सेलिब्रेट गर्नुपर्छ भनेर ट्वाँक खान हीँडियो।

भोलिपल्ट चट्ट सेभ गरेर चिकना बनेर रेडी भैयो। मोबाइलमा टन्नै ब्यालेन्स रहेछ, सबैलाई बाइ भनें, कतिले पत्त्याएनन् पनि । एयरपोर्ट टाइममा पुग्यौं, पुग्नु अघि देशको कनिस्ठ घुस्याहालाई फोन ट्राइ गरेको, लागेन। जे त होला भनेर गयौं एयरपोर्ट, भीत्र पस्यौं, कसैले केहि भनेन। लाइन बसें, त्यहाँ एउटी केटी थिई, पेपर भिसा र पेपर टिकट देखेर अकमकिई, आडमा एउटा कोट लाको केटो थियो, हिरो पल्टिंदै आयो, भिसा र टिकट माग्यो। ‘कागजपत्र शंकास्पद छ तपाईंको, इन्भिटेसन लेटर देखाउनुस’ भन्छ बा । अब काँबाट ल्याउनु इन्भिटेसन लेटर, आफु आफैले आफैलाई इन्भाइट गरेर जान लागेको हूँ।

झनक्क रिस उठ्यो, यसो हेरेको कम्पनिले टिकट र भिसा पठाएको मेल पनि प्रिन्ट गरेको रहेछु, त्यही देखाऊँदै भनें 'ल हेर्नुस, मसंग भएको डकुमेन्टहरु यहि हो, कम्पनिले बोलाएको भएर जान लागेको हूँ, पुरानो सर्टिफिकेट हेर्नु हुन्छ भने ब्यागमा छ, निकालेर हेर्नुस' केटो झन् टेढो टेढो कुरा गर्न थाल्यो, मेरा कन्सिरी ताते, 'हेर्नुस मैले आबश्यक कागजपत्र देखाएको छु, म इलिगल्ली कहीं जान लागेको होइन, केहि गरि मेरो फ्लाइट छुट्यो भने त्यसको जिम्मेबार तपाईंहरु हुनुपर्नेछ'। बिनोद त्यसै केहि नबोल्ने मान्छे, झन् त्यहाँ बोल्ने सवालै आएन, चुप लागेर हेर्दै थियो हामीलाई। त्यतिकैमा केटीले 'ट्राभल चेक देखाउनुस' भनी, अनि झोलामा ट्याग लगाएर पासपोर्टमा स्टिकर टाँसीदिई।

लिफ्ट चढेर माथि अध्यागमन हलमा गयौं, हाम्रो 'सेटिंग वाला' त्यहाँ पनि देखिएन। बालै भएन जाम भनेर हामी काउन्टर तीर लाग्यौं। यसो हेर्दाखेरि अली सोझो जस्तो भएको काउन्टरमा गएर ठडीएँ। ढाका टोपी लगाका भलाद्मी टाईपका अंकल थिए। यी चाहिं घुस्याहा होइनन कि भन्ने लाग्यो। अंकलले हल्का इन्टरभ्यु लिए, मैले सहजै जवाफ दिएँ। बिनोद अर्कोपट्टि एउटा बुढा भएको काउन्टरमा थियो, उसंग के कुरा गर्दै थे कुन्नी, बुढाले अलि जोडले बलजफ्ती खोके अनि मेरो काउन्टरमा भएका अंकलतीर हेर्दै भने, 'सर के छ खबर?', अंकलले जवाफ दिए, 'ठिक छ सर'। त्यसपछि उनि एकछिन टोलाए अनि उठेर म भएको काउन्टरमा आए अनि अंकलका कानमा खुस्खुसाए, 'बिनोद बोहोरा, नाम छ कि छैन हेर्नु त?' मैले फ्याट्ट सुनीहालें। अंकल टेबलमा फाइल मुनि लुकाएर राखेको पेपरमा नाम हेर्न थाले। 'बिनोद बोहोरा... हँ.... छ सर', त्यसपछि हामी दुबैको पासपोर्टमा छाप हानेर जान दिए। खड्को कटेकोमा हामी खुशीले गदगद भयौं। घुस दियौं, अपराध गर्यौं भन्ने हीनताबोध पटक्कै भएन।

सर्बसाधारणको सुबिधाको लागि राखिएको फ्री फोन सायद नेपालमा त्यो एउटै फोन होला, त्यो पनि सद्धे। त्यसैबाट हाम्रो सफलताको सुसमाचार एयरपोर्ट बाहिर कुर्नु भएका दाजुहरुलाइ दियौं। ड्युटी-फ्री पसल अघिल्तिर हुने अन्तिम चेकिंग कटेर झोला साइड लगाएर बेल्ट लगाऊँदै थिएँ, अगाडी निच्च दांत देखाएर एउटा मान्छे उभिएको थियो, कम्मरमा रेडियो भिरेको थियो। ‘यो मान्छे मलाई देखेर किन हाँसेको होला....???’ म सोचमा परें। 'कतै केहि अप्ठेरो त परेन?' उसले मुस्कुराऊँदै सोध्यो। बल्ल चिने, उ त त्यही हिजो हाम्ले घुस दिएको जोशिलो नव भ्रस्टचारी।

उ हामीसंगै वेटिंग रुम तीर हिंड्यो, मैले ‘सहयोगको लागि धन्यबाद’ भनें। 'ल जानु अघि एउटा चुरोट खुवाउनुस न त' भन्यो, ल जाऊँ भनेर स्मोकिंग रुममा गयौं। अरु कुरामा जति पछी परे पनि नेपालको अन्तरास्ट्रिय विमानस्थलको स्मोकिंग रुम चाही दामी रहेछ। वेटिंग रुममा बरु चाक दुखाउने चिसा अनि साह्रा कुर्सि होलान, स्मोकिंग रुममा चाहिं दामी लेदर कभर भएका सोफा। उभिंदा उभिंदा थाकिसकेको थिएँ, साँप्रा पसारेर बसियो। पटमुर्खहरु, चुरोट खाने ठाममा त हत्तपत्त आगो नलाग्ने फलामका कुर्सि पो राख्नुपर्छ, ह्या हाम्लाई बाल मतलब भन्ने सोचें। ‘कोइ साथीहरु जाँदै हुनुहुन्छ भने मेरो नम्बर दिनु ल, अलि सस्तोमा गरिदिऊँला’ भन्दै घुस्याहा सोल्टी गए।

३० नकाटेको केटो, आजै यस्तो छ, भोलि गएर कस्तो हुने होला यो भन्ने लागि रह्यो। हातमा औंठी थियो, ‘केटो एयरपोर्टमा काम गर्छ, टन्न कमाउछ’ भनेरै त छोरी दिएका होलान भनेर गेस गरें। अध्यागमनको त्यो पेपरमा म र बिनोद जस्ता अरु कतिका नाम थिए होलान….? यीनले दिनमा टोटल कति कमाउछन होला…..? अनुमान लगाऊँदै टाइम पास गर्यौं। फ्लाइट अनाउन्स भयो, लाइन लागेर पुराना आर.एन.ए.सी.का बस चढेर प्लेनतीर लाग्यौं। अनि अर्को लाइन लागेर प्लेनमा गएर बस्यौं। प्लेन ठडीइ रहेको थियो, त्यतिकैमा बस मान्छे लिएर फेरी प्लेन नजिक आयो, बिनोद चिच्यायो, ओइ हेर त उ त्यो निर्मल दाइ होइन? नभन्दै निर्मल पनि आउनु भएको रहेछ। भित्र आएपछी कुरा भयो, 'साला इम्रिगेसनको मान्छेले पैसा नखाई त आउनै दिएन यार। जे सुकै पर्ला, पैसा त मरेकाटे नी दिन्न, बरु जान्न भन्देको त ट्वाइलेटमा बोलाएर १०० डलर ठटाइ छाड्यो। तिमारुलाइ त त्यस्तो परेन होला नी?'

मनमनै लाग्यो, धत्तेरिका २ हजार बढी तिरिएछ, डाइरेक्ट एयरपोर्ट आएर बार्गेनिंग गर्नु पर्दोरहेछ। मन कहिल्यै सुध्रिने भएन, जहिले घुस दिन मात्र खोज्छ।

----------

म जस्ता एकथरी घुस तिरेरै नथाक्ने भयौं, अर्काथरि घुस लिएरै नथाक्ने भए। अनि फेरी हामी आँफै देश खत्तम भयो, भ्रस्टाचार बढ्यो भन्दै फलाक्दै हिँडछौं। तर हामी जन्मे हुर्केको समाज नै यस्तै छ। हामीले घुस प्रवृतिलाइ अपनाईसक्यौं, घुस नदिई केहि काम हूँदा पनि हूँदैन, होला भनेर चिताउन पनि छोडीसक्यौं। केहि नया काम गर्नुपर्दा घुसका लागि पहिल्यै बजेट छुट्टयाऊँछौँ। ‘यस्तो काम नगर, घुस दिनु गलत कार्य हो सामाजिक अपराध हो,’ भन्ने कोइ निस्किन्नन। बरु हरेकका कोइ न कोइ ‘चिनेका मान्छे’ हुन्छन, सस्तोमा मिलाइदिने सान्त्वना दिन्छन। यो मेरो जीबन को अन्तिम घुस त अबश्य होइन होला, किनकि म नेपाली हूँ र मलाइ नेपालाँ जुनी काट्नु छ। तर जसले जे साक्षी राखेर कसम खाओस, म पत्त्याउने वाला छैन, घुसको मामलामा नेपालाँ कोहि पनि चोखो छैन।

- निशांक N®B

(हाम्रो दिनहुँ’को बाध्यता र घुस नख्वाइ केही काम नहुने आफ्ना तिता अनुभवहरु यहाँ लेख्नुभएको छ । उहाँले विगतमा पनि केही कथाहरु लेखिसक्नुभएको छ, उहाँले लेख्नुभएका केही कथाहरु’को लिंक तल दिइएकोछ ! लेखक निशांकलाई ट्विटरमा @being_nrb फलो गर्न सकिन्छ! – आकार)

१) मेरो आत्मकथा [Story] Part-1

२) मेरो आत्मकथा [Story] Part-2

३) मेरो आत्मकथा [Story] Part-3

४) मेरो आत्मकथा [Story] Part-4

५) गोडा तीन मिनेटे कुरा [STORY]

0 प्रतिक्रिया :

Post a Comment