मोबाइलमा इन्टरनेट डाटा बचत गर्ने सजिलो तरिका


फेसबुक, ट्विटर, युट्युब लगायतका साइटहरु मोबाइलमा चलाउनेको संख्या दिनहुँ बढ्दो छ। भन्ने नै हो भने, नेपाल लगायत एसियाली देशहरु मोबाइल 'फस्ट' भनेर चिनिएकाछन् । हामीकहाँ कम्प्युटरमा इन्टरनेट चलाउनेको भन्दा मोबाइलमा इन्टरनेट चलाउनेको संख्या धेरै छ, र यही ट्रेन्ड नै जारी रहनेछ । नेपालमा ६० लाख भन्दा धेरै प्रयोगकर्ताहरुले फेसबुक चलाउँछन् । नेपालका अधिकांश भेगमा मोबाइल डाटा उपलब्ध छ, कहीँ राम्रो चल्ला, कहीँ नेटवर्क कमजोर होला, तर देशमा टुजी र थ्रिजीको राम्रो पहुँच छ भन्दा फरक नपर्ला । तर एनसेल, एनटिसी लगायतका डाटा प्रयोगकर्ताहरुको एउटै गुनासो हुन्छ, डाटाले पैसो स्वाहा पार्‍यो, केही चलाएकै हुन्न, त्यही नि पैसो जान्छ आदि इत्यादि ।

त्यसो त नेपालका अन्य इन्टरनेट सेवा प्रदयाक (आइएसपी)हरुले पनि 'भोल्युम बेस्ड' इन्टरनेट सेवा दिइरहेकाछन्, डाटा हुन्जेल छिटो चल्ने फेसबुक, ट्विटर, युट्युब आदि, हाइस्पिड डाटा सक्किएपछि ढिलो चल्न थाल्छन् । वाइफाइ प्रयोगकर्ताहरु पनि मोबाइलमा विभिन्न साइट र एप्सहरु चलाइरहेका हुन्छन्, तर प्रयोगकर्ताहरु वाइफाइ चलाउँदा, मोबाइल डाटा चलाउँदा जस्तो चनाखो देखिन्नन् । अत: इन्टरनेटको हाइस्पिड डाटा छिटो सकिन्छ, अनि इन्टरनेट धिमा गतिमा चल्न थाल्छ ।


मोबाइल डाटा तथा भोल्युम बेस्ड वाइफाइ इन्टरनेट चलाउँदा, यी निम्न तरिकाहरु अपनायौँ भने, इन्टरनेट डाटा बचत गर्न सक्छौँ ।

१) ब्याकग्राउन्ड डाटा बन्द गर्ने
एन्ड्रोइड फोनको ब्याकग्राउन्डमा विभिन्न एपहरु चलिरहेका हुन्छन् । कुनैले नयाँ ईमेल चेक गरिरहेका होलान् भने कुनैले फेसबुक वा ट्विटरको नयाँ नोटिफिकेसन । अत: हामीले मोबाइलमा डाटा कनेक्ट गरेर कुनै एप् चलाएका छैनौँ भने पनि ब्याकग्राउन्डमा भइरहेका गतिविधिले हाम्रो डाटा घटिरहेको हुन्छ, पैसो गइरहेको हुन्छ । अत: मोबाइलमा डाटा बचत गर्नको लागि फोनको सेटिङबाट डाटा प्रयोगमा गएर ब्याकग्राउन्ड डाटा अफ गर्न सकिन्छ ।
२) प्लेस्टोरको अटो अपडेट बन्द गर्ने
मोबाइलमा राखिएका एप्सहरुमा दिनहुँ नयाँ अपडेट आइरहेका हुन्छन् । अब एप्सहरुको नयाँ संस्करण नै आउने भएपछि त अपडेट गर्नै पर्‍यो, तर मोबाइल डाटा जोगाउनको लागि प्लेस्टोरको अटो अपडेट बन्द गर्न सकिन्छ । या भनौँ, वाइफाइमा मात्र एप्स अपडेट हुने सेटिङ्स गर्न सकिन्छ, प्लेस्टोरको सेटिङस्‌बाट।
३) ओपेरा म्याक्स
पहिले पहिले, इन्टरनेट चलाउनलाई 'ओपेरा मिनी' राख्ने सल्लाह दिइन्थ्यो, हिजोआज चाँहि मिनीको सट्टा ओपेरा म्याक्स चलाउने सल्लाह दिने गरेको छु । ओपेरा सफ्टवेयरले मोबाइल डाटा बचत गर्नको लागि 'ओपेरा म्याक्स' एप ल्याएकोछ, जसलाई अन गरेपछि ५० प्रतिशत सम्म डाटा बचत हुने, ओपेराको दावी छ । ओपेरा म्याक्स मोबाइल डाटा र वाइफाइ दुवैमा प्रयोग गर्न सकिन्छ । ओपेरा म्याक्स प्लेस्टोरमा उपलब्ध छ । (ब्याकग्राउन्ड डाटा बन्द गरेको खण्डमा ओपेरा म्याक्स नचल्न नि सक्छ, अत: ओपेरा म्याक्स प्रयोग गर्दै हुनुहुन्छ भने, ब्याकग्राउन्ड डाटा चल्नदिनुहोला)
४) क्रोम ब्राउजरमा डाटा सेभर अन गर्ने
गुगलको क्रोम ब्राउजरमा डाटा सेभ गर्नको लागि 'डाटा सेभर' भन्ने अप्सन छ । 'डाटा सेभर' अन गरेको खण्डमा गुगलले, हामीले क्रोममा हेर्ने साइटहरुलाई मोबाइलको लागि अप्टिमाइज गरिदिन्छ । क्रोम ब्राउजरमा डाटा सेभ गर्नको लागि क्रोमको सेटिङस्‌बाट डाटा सेभर अन गर्न सकिन्छ ।
बोनस: क्रोम डाटा सेभर, डेस्कटपमा पनि उपलब्ध छ । यदि तपाई डेस्कटप ब्राउजरमा धेरै साइटहरु हेर्नुहुन्छ र भोल्युमबेस्ड इन्टरनेट छ भने, गुगलको क्रोम वेबस्टोरबाट डाटा सेभर एक्सटेन्सन आजै राख्नुहोस् । डाटा सेभर क्रोममा राख्नै पर्ने एक्सटेन्सन हो ।


0 प्रतिक्रिया :

Post a Comment