Thoughts on Twitter, Facebook #Technology #LifeStyle

३-४ वर्ष अघिसम्म सिमित व्यक्ति का हातमा हुने मोवाइल फोन, अहिले प्राय: सबै नेपाली को पहुँच मा पुगिसकेको छ । ईमेल हेर्न र च्याट गर्न साइवर धाउने जमातहरु अहिले आफ्नै मोबाइल बाट संसार नियालीरहेकाछन् । नयाँ कम्पनीहरु को आगमन सँगै कम्पनीहरु विच बढ्दो प्रतिस्पर्धाका कारण, नेपालीहरुले सस्तो मा इन्टरनेट सेवा उपभोग गर्न पाएका छन् । ती अधिकांश मोबाइल प्रयोगकर्ताहरु फेसबुक मा रमाइरहेका भेटिन्छन् । आफ्ना हरेक गतिविधिहरु अपडेट गरिरहेका हुन्छन् ।twitter logo

हालै को तथ्यांक अनुसार नेपाल मा सबैभन्दा धेरै “फेसबुक” साइट हेरिन्छ भने दोस्रो मा “गुगल” । विश्वभरी नै चर्चा मा रहेको फेसबुक को नेपाल मा पनि चर्चा हुनु र प्रयोग हुनु कुनै नौलो कुरा त होइन । हामीले हल्काफुल्का रुपमा लिइरहेको फेसबुक विश्वप्यापी भइसकेको छ । अब फेसबुक र ट्विटर जस्ता साइटहरु ‘हाइ’ र ‘हेल्लो’ भन्ने अनि फोटो र भिडियो हेर्ने साइटहरु मात्र रहेनन् ।

फेसबुक र ट्विटर त आमनागरिक को जिवनशैली बनिसकेको छ । फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल का साइटबाट नै ट्युनिसिया, इजिप्ट लगायत देशमा आन्दोलन सुरु भएको थियो ।

पहिले नोकिया को ‘ब्ल्याक एन्ड व्हाइट’ सेट मा रमाउनेहरु अब ‘सिम्बायन’ छाडेर ‘एन्ड्रोइड’ र ‘आइफोन’ जस्ता स्मार्टफोनहरु तर्फ बढिरहेका छौँ । प्रविधि मा नयाँपन भित्रिएसँगै, हामीहरुको जीवनशैली मा परिवर्तन हुँदै गइरहेकोछ या भनौँ हामी नयाँ प्रविधिहरुलाई छिटो छिटो आत्मसाथ गरिरहेका छौँ । अझ अहिले त हामी एप्पल आइप्याड, मोटरोला जुम, सामसुङ ग्यालेक्सी जस्ता ‘ट्याबलेट’ हरुमा पुगिसकेका छौँ । ती नयाँ ‘ट्याबलेटहरु’ ले केही समयपछि ल्यापटप विस्थापित गरिदिए भने पनि अचम्म मान्नुपर्दैन ।

हामी बिहान फेसबुक, ट्विटर सँगै उठ्छौँ अनि आधारात सम्म यसैमा रम्दै बस्छौँ । च्याट गरेर र फोटो हेरेर बस्ने जमातहरु, फेसबुक ट्विटर मा उपलब्धिमुलक कामहरु गरिरहेका भेटिन्छन् । फेसबुक का फ्यानपेज, ’कज’  ग्रुप पेज र इभेन्ट पेजहरु यसैका उदाहरण हुन् । यदि कहिँ कसैले कुनै कार्यक्रम गर्दैछ भने, त्यो कार्यक्रम को विवरण फेसबुक मा भेट्न सकिने सम्भावना धेरै नै हुन्छ ।

देशमा कुनै महत्वपूर्ण घट्छ या कुनै कुरा मा बहस हुँदैछ भने, सबैभन्दा सुरुमा ट्विटर र फेसबुक मै ती कुराहरु फैलिन्छन् । बरु ‘न्युज पोर्टल’ मा लेखेका कुराहरु मानिस पत्याउन तयार हुँदैनन् तर फेसबुक र ट्विटर मा कुरा चलिसकेपछि, त्यो हल्ला नै मात्र भएपनि सही नै ठहरिन्छ । नेपाल मात्र नभइ विश्व कै सन्दर्भ मा हेर्ने हो भने पनि, कहिँ कुनै महत्वपुर्ण घटना घट्यो भने सबैभन्दा पहिले ब्रेकिङ ‘टविटर’ मा पाइन्छ, अनि मात्र ‘न्युज पोर्टलहरु’ मा त्यसका विवरण भेटिन्छ । चाहे बिबिसी होस् या सिएनएन, उनीहरुले दिने ब्रेकिङ न्युज पहिले ‘टविटर’ मा आउँछ । हो उनीहरु, ट्विटर को भरपुर उपयोग गरिरहेकाछन् अनि हामीलाई फाइदा भइरहेको छ । हामी तत्काल खबर थाहा पाइरहेका छौँ । हामी अब साइटहरुका ‘आरएसएस फिड’ भन्दा ट्विटर का ‘अपडेट’लाई नै पच्छ्याउने भएका छौँ। फेसबुक र ट्विटर चलाउन कै लागि भनेर सयौँ ‘एप्स’ हरु इन्टरनेटमा भेटिन्छन् ।

हाम्रो देशमा ट्विटर भन्दा फेसबुक चलाउने को जमात बढि छ । ट्विटर चलाउने आग्रह गर्दा सबैको जवाफ हुन्छ, ‘ट्विटर’ चलाउनै आउँदैन, ट्विटर भन्ने कुरा बुझ्न सकिन । तर पनि हिजोआज नेपाली युवाजमातहरु को ट्विटर प्रति आकर्षण बढ्दो छ । ट्विटर चलाउनेहरु फेसबुक पनि चलाउँछन् तर पनि सबैमा फेसबुक प्रति नजाँनिदो वितृष्णा उत्पन्न भइरहेको छ । कुनै महत्वपुर्ण घटना घट्दा ट्विटरमा निकै वादविवाद र ट्विटरहरु हुने गरेको छ । उनीहरु आफ्ना धारणा राखिरहेका हुन्छन्, छलफल गरिरहेका हुन्छन् । केही पहिले सम्म सामान्य छलफल गर्न पर्दा ‘ग्रुप च्याट’ गर्थ्यौँ तर अब ट्विटर मै 'ग्रुप च्याट’ झैँ छलफल चल्ने गरेको छ । झन् लोडसेडिङ भइरहने हाम्रो मुलुक मा त साथीहरु सँग छलफल गर्न ट्विटर निकै उपयोगी सावित भइरहेको छ । कसैलाई खबर छोड्नु छ या केही विषयमा छलफल गर्नुछ भने ट्विटर मा ‘मेन्सन’ गर्यो । अनि साथीहरु आफूलाई पायक परेको समय मा ‘ट्विट’ हेर्छन्, अनि आफ्ना कुरा राख्छन् । सायद यही ट्विटर मा हुने ‘ग्रुप’ छलफल र ट्विटहरु रमाइलो लागेर होला, कान्तिपुर दैनिक को ‘हेल्लो शुक्रबार’ ले केही हप्ता पहिले देखि, नेपाली का ट्विटहरु पत्रिका मा नै छाप्न थालेको छ । यसले पक्कै पनि नेपाली युवाहरु को बदलिँदो जिवनशैली को प्रतिनिधित्व गर्छ ।

twitterविश्वकप क्रिकेट चलिरहेको छ, हामी स्कोर हेर्न ‘क्रिकइन्फो’ मा पुगिरहँदैनौ, ट्विटरमै ‘क्रिकेट को स्कोर’ हेर्न पाइन्छ । आज युनुस अन्सारी माथि जेल भित्रै गोली प्रहार भएछ । अनि नेपाली जमात ट्विटरमा यही कुरा मा छलफल गर्दैछन्, आफ्ना धारणा राखिरहेका छन् ।  न्युजपोर्टल मा न-आएका कुराहरु ट्विटर मा छताछु्ल्ल भएर आइरहेका छन् । भन्ने नै हो भने, यदि हाँस्न मन लागे, ट्विटर मै छिर्दा हुन्छ, कुनै अन्य साइटमा जोक्स पढ्न धाइरहनु पर्ने बाध्यता टरेको छ । 

ट्विटर ले पार्ने प्रभाव खोज्न धेरै टाढासम्म पनि पुग्नुपर्दैन । ब्रायन एडम्स आएका बखत, ब्रायन ले ट्विटर मा नेपाल सम्बन्धि कुरा गरे, भनेकै भरमा धेरै नेपालीहरु ट्विटर मा झूम्मिए । ब्रायन एडम्स कै कन्सर्ट को बारेमा ट्विटर बाटै फोटो र ट्विटहरु लिएर, कन्सर्ट को ‘लाइभ अपडेट’ त हामीले यही ब्लग मै गरेका थियौँ । ब्रायन को कन्सर्ट का खबर मा भौँतारिएका हजारौँ मान्छहरु ले तत्काल ती अपडेटहरु यसै ब्लग मार्फत पाएका थिए । तर हामीले ती सबै अपडेटहरु ट्विटर बाट नै लिएका थियौँ । ट्विटर मै भेटिएको फोटो र ट्विटहरु लिएर अर्को पोष्ट Nepali Bands Performed For FREE in Bryan Adams Concert :( लेखेका थियौँ । ब्लग मा पढ्नेहरुका लागि सम्भवत यी कुराहरु नौला रहे, त्यही किसिम का प्रतिक्रियाहरु प्राप्त भइरहे । उता ट्विटरमा हामी यसै विषयमा छलफल गरेर बसिरह्यौँ । छलफलबाट अरु केही नभएपनि, आफू स्वयम ले धेरै कुराहरु बुझ्ने मौका पाइयो । सोच परिवर्तन गर्न यस्ता छलफलहरु निकै सहयोगी हुने गरेका छन् ।

ट्विटरमा लोडसेडिङ को सेड्युल पनि उपलब्ध छ । अनि हिजोआज ट्विटर का साथिहरु घर कहाँ हो भनेर सोद्धैनन् । पहिलो ले अब लोडसेडिङ हुन लाग्यो भनेर ट्विट गर्यो भने, दोस्रो ले सोध्छ, तपाई को ‘समूह फलाना’ हो कि क्या हो । समूहका हिसाब ले नै उनीहरु ठेगाना अड्कल गर्छन् । कुरा गर्न कुनै ठूलो ‘इस्यु’ चाँहिदैन तर सामान्य लाग्नेकुराहरु पनि ट्विटरमा मज्जा ले जमिरहेका हुन्छन् । ट्विट, रिट्विट, रिप्लाइ र मेन्सन भन्ने शब्दावलीहरु ट्विटर चलाउने ले जान्नुपर्ने आधारभुत शब्दावलीहरु हुन् ।

नेपालमा ट्विटर मार्फत बारक्याम्प जस्ता अत्यन्त सफल कार्यक्रमहरु आयोजना भइसकेका छन् । त्यसबाहेक हप्ता दिन, महिना दिन आदि समय को अन्तराल मा साथिहरु विच हुने भेटघाट ले पनि सानोतिनो ‘ट्विटमिट’ को ट्याग पाउन थालिसकेको छ । ट्विटर बाट नै साथि बनिएको र भेटघाट भएको उदाहरणहरु  पनि प्रशस्तै छन् । जुनसुकै विषयमा पनि ट्विटरमा छलफल गर्न अघिसरी हाल्ने, नेपाली युवाहरु को रोजाइ मा ट्विटर पर्नुलाई अत्यन्त सकरात्मक मान्नुपर्छ ।

2 comments :

  1. रुचीपूर्ण ।

    पहिलो अनुच्छेदको मोवाईल सम्बन्धी कुराले सबैको प्रतिनिधित्व नगर्ला र धरातलमा टेकिएर हेर्दा त्यो स्वभाविकै हो । गए अक्टोबरसम्मको (जस्तो लाग्छ) नेपाल दूरसन्चार प्राधिकरणको तथ्याङ्क अनुसार सन् २०१० मा नेपालमा इन्टरनेट प्रयोगकर्ताको स‌‌‌ङ्ख्या दोब्बर बढेर ११ लाख पुग्यो जसमध्ये नौ लाखले जीपीआरएस प्रविधिमार्फत मोवाइल फोनमा चलाउछन् । त्यस्तै त्यतिबेलै सम्ममा नेपालमा एक करोड मोवाइल प्रयोगकर्ता थिए र प्रतिमिहना तीन लाख नया मोवाइल प्रयोकर्ता थपीइरहेका छन् । त्यस हिसावले लगभग तीन करोड जनस‍ङ्ख्यामा चानचुन ३५ (?) प्रतिशतले मात्रै मोवाइल चलाउछन् । त्यतिबेलाको प्रक्षेपण अनुसार आगामी दुइ बर्षमा मात्र है-बल्ल ६० प्रतिशत नेपालीका हातमा मोवाइल फोन पुग्ने अनुनमान छ । अब किनेर नचलाइएका सीमकार्डको कुरै छाडुम् जो मैले सुनेसम्म निकै नै छन् । त्यसैले खास मोवाइल प्रयोगकर्ता दिइएको स‌ङ्ख्या भन्दा पनि निकै कम हुन सक्छ । फेरी त्यो टाउकै दुखाउने जीपीआरएसबाट इन्टरनेट चलाउनु भनेको केटाकेटीको गुच्चा खेलाइ मात्रै हो । न त्यसको गती प्रयोग योग्य छ न अधिकाश प्रयोगकर्तामा गम्भीररुपले इन्टरनेट चलाउन मिल्ने मोवाइल सेटहरु नै छन् । त्यस्तो इन्टरनेट सेवा दिएर अनि त्यसलाई चलाउदैमा नेपालीमा इन्टरनेटको पहुँच भएको भन्नु (विशेषत नेपाल टेलिकमको) झुट सरह हो । अनि दुइचार जनाले ट्याव चलाउन थाले भन्दैमा हामीहरु ट्यावको जमानामा पुग्यौ भन्नु पनि राजाले रोल्स रोयस चढ्न थाल्दा सबै गोर्खे रोल्स रोयसको जमानामा पुगे भन्नु सरह हुन जान्छ ।

    अनि इन्टरनेट प्रयोगको कुरा गर्दा के विर्सनु हुन्न भने देशका लाखौ जनता त्यसबाट बन्चित छ । शहरी भेगका र केही प्रविधिप्रति सजक युवाहरु र उनीहरुको सिको गर्दै थोरै परम्परागत इन्टरनेट प्रयोगकर्ताले ले चलाउने ट्वीट्टर जस्ता साइटले त समाजको कुनै पनि दृष्टिले प्रतिनिधित्व गर्दैनन् । यी हाम्रालागि खासै भन्नु पर्दा उपस‌स्कृती (सब कल्चर) जस्तै हुन् । उदाहरणाका लागि काठमान्डूका भूमीगत या हेभीमेटल व्यान्डहरु । तर महत्वपूर्ण कुरा के भने यो उपस‌स्कृती धीमै गतीमा भएपनि फैलिदो छ । त्यसैले यस्ता उपसस्कृतीहरुले समाजमा भएका नयाँ र नौला परिवर्तनबारे चासो राख्ने पत्रिकाका पन्नाहरुमा स्थान पाएका हुन् ।

    ReplyDelete
  2. धन्यवाद दिनेश दाइ, सच्याइदिनु भएको मा ! तपाईका सबै कुराहरु सँग पूर्ण सहमत छु । आगामी दिन मा यी कुराहरुलाई सम्झने प्रयास गर्नेछु ।

    इन्टरनेट कै कुरा गर्ने हो भने २ वर्ष अघि को तथ्यांक अनुसार २ प्रतिशत पनि इन्टरनेट को पहुँचमा छैनन् भनिएको थियो । ट्याबलेट र स्मार्टफोन ले सबैको प्रतिनिधित्व नगरेपनि, हामी त्यसतर्फ चाँही कुनै न कुनै रुपमा अग्रसर छौँ, आकर्षित छौँ र हामी त्यसलाई सकेसम्म छिटो आफ्नो जिवनशैली बनाउन चाहन्छौँ भन्ने कुरा मा कुनै दुईमत नरहला ।

    ReplyDelete