केही टुक्राहरु

अर्को दूर्घटना, मैले कारण सोधेँ ! अनि सरसर्ति आँखा दौडाएँ, पत्रिका मा उसको मृत्यु को खबर छापिएको रहेछ ! हुन त अघिल्लो दिन नै, इन्टरनेट मा त्यही खबर पढेको थिँए, तर मैले याद गरेको थिइन, सायद अरु नै कोही थियो होला, मेरो सरोकार भन्दा बाहिर को भनेर ! तर जब थाहा पाएँ, मैले उसलाई केही भन्न सकिन, फोन समाएर म बसिरहेँ, मलाई त्यो सानोroad भाइ को याद आयो, मलाई त्यो सानी बहिनी को पनि याद आयो, मैले केही भन्न सकिन ! मैले सम्झेँ, त्यो सानी बहिनी सँग म कति धेरै बोल्थेँ, मैले भेटेको छैन, देखेको पनि छैन, तर उ मेरी साथी कि बहिनी  (नजिक को नातेदार) हो । उनीहरु प्राय: साथै हुन्छन् । कहिलेकाहिँ साथिलाई फोन गर्दा उसकी बहिनीले उठाउँथी !

आज धेरै दिन पछि मैले साथिलाई फोन गरेँ, फोन को अर्को छेउ बाट त्यही बहिनी को परिचित आवाज आयो, सुरुमा के भनौँ के भनौँ भयो ! बहिनी ले भनि, लोडसेडिङ ले गर्दा, फोन मा ब्याट्री छैन, उसले आफू सँग पनि मोबाइल छ भन्दै नम्बर टिप्न भनि, मैले उसलाई मिसकल गर्न सुझाएँ । उसले भनि, म मिसकल गर्छु है मेरो मोबाइलबाट, पछि फेरि भनि मेरो बाबा को मोबाइल !

मलाई गाह्रो भएर आयो, उसले बाबा को मोबाइल भन्दा, त्यो बहिनी को बाबु अब जिवित छैनन्, केही महिना अघि उनी मोटर दुर्घटना मा बिते ! मन एकछिन अत्तालियो, मैले के भनेर फोन गर्नु उसलाई ! त्यही नि फोन गरेँ, नम्बर कन्फर्म गर्ने बाहान मा, उसले भनि ‘दादा, एकछिन पछि फोन गरिस्योस  है’ । पछि फोन गरेँ, कुरा हुँदै थियो, मोबाइल नेटवर्क ले दु:ख दिन थाल्यो, अनि मैले सबै कुरा सिध्याउने हिसाब ले सोधेँ । बाँकि सबै राम्रो छ नि हैन ? उसले भनि, ‘यति धेरै नराम्रो भइसकेपछि पनि के को राम्रो हुनु नि अब?’ । मोबाइल एक्कासी काटियो, फेरि ट्राइ गरेँ तर लाग्दै लागेन, म सोच्दै रहेँ !  म सोच्दै रहेँ, त्यही बहिनी को कुरा, अनि म सँग जवाफ पनि त छैन, उसलाई उत्तर दिन को लागि !

****************************************************************

कहिलेकाँहि सोच्छु, ‘जिवन’ के हो ? सायद ‘किशोर’ अवस्था मा हुँदा प्राय: ‘रियालिटि’ र ‘भर्चुआलिटि’ मा फरक छुट्याउन सकिँदैन । जति नै ‘दर्शन’ छाँट्न खोजेपनि, कमजोरी प्राय: ढाकिँदैन । दही खानेलाई भक्तपुर को ‘जुजु धौ’ नै चाहिन्छ, जुत्ता मा कन्भर्स र पाइन्ट मा जिन्स नै लाइन्छ अनि सिनेमा हेर्नलाई जयनेपाल र कफि खानलाई ‘जाभा’ नै गइन्छ । यो आफ्नो स्वभाव हो, आफ्नो जिवन हो, किशोर अवस्था को उपज हो, अनि यही नै रियालिटि हो हामी युवाहरु को । युवा मात्र नभनौँ, आम मानिस कै स्वभाव यही हुन्छ, जिवन को कुनै न कुनै मोड मा पुगेपछि उ टक्क रोकिन्छ र आफ्न कुराहरु एकएक गरि केलाउन थाल्छ । तर यी कुराहरु जिवन का अन्तिम क्षण मा मात्र लागु हुन्छन्, आफ्ना कमि कमजोरीहरु आफूले देख्न थाल्छन् र धर्मकर्म मा लाग्न थाल्छन् ।

समुन्द्र को गहिराइ मा पाइने, ‘शिल्पी’ र वनस्पतिहरु राम्रा हुन्छन् । तर त्यही समुन्द्र मा अन्य कुराहरु पनि पाइन्छन् जुन ‘सेता’ भइकन पनि सुन्दर हुँदैनन्। अस्ति ‘थिएटर’ को क्लास मा, गरिएका कुराहरु साह्रै सान्दर्भिक लागेका थिए । त्यहाँ भनिँदै थियो, ‘कलाकार त्यो बन्न सक्छ, जसले धेरै कुराहरु भोगेको छ, जसले जिवन बाँचेको छ’ ! टुप्पा बाट पलाएका मान्छेहरु कलाकार बन्न सक्दैनन्, किनकी उनीहरुमा अनुभव को कमीहुन्छ, उनीहरु अभिनय गर्नु भन्दा पनि अभिनय गरेर देखाउँछन् । नाट्यकर्मी, कलाकार ‘राजन’ दाइ का यी कुराहरु मलाई धेरै हदसम्म सहि र साँचो लाग्यो । यही २१ वसन्त पार गर्दा पनि, धेरै कुरा देखियो र भोगियो । यहाँ कोही साँच्चै अभिनय गरिरहेका थिए भने, कोही अभिनय गरेको जस्तो गरिरहेका थिए, जुन कुरा उनीहरु को व्यवहार बाट झल्किरहेको थियो ।

****************************************************************

हामी पुर्वियहरु पश्चिमीहरु को बानी अंगाल्दै छौँ भने, पश्चिमीहरु हाम्रो पुर्विय दर्शनलाई अँगालिरहेकाछन् । ‘लियोनार्दो दा भिन्चि’ ले हवाइजहाज को चित्र बनाउनु र ‘राइट दाजुभाइ’ ले हवाइजहाज उडाउनु भन्दा धेरै पहिले नै, पुर्विय ग्रन्थहरु मा ‘पुष्पक विमान’ को चर्चा गरिएको थियो । रावण ले ‘सिता’लाई हरण गरेर लैजाँदा विमान नै चढाएर लगेका थिए भने, ‘सञ्जय’ महाभारत को लडाईमा ‘धृतराष्ट्र’का दुत थिए, ‘सञ्जय’ ले सबै कुरा बसिबसि लडाइ मा के भइरहेछ भन्ने कुरा ‘धृतराष्ट्र’लाई बताउँथे । पश्चिम का विद्वान र वैज्ञानिकहरु ले यही कुरा को आधार मा नै विभिन्न चिजहरु को निर्माण गरे । यस हिसाबले हेर्दा, पुर्विय या पश्चिमी समाज कुन अघि रहेछ भन्ने सोच पक्कै आउँछ । जुनकुरा अहिले पश्चिमीहरु ले निर्माण गरिरहेका छन्, ती कुराहरु धेरै पहिले नै पुर्विय ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ, चाहे त्यो हवाइजहाज होस् या अन्य केही !

भर्खरै पनि, हलिउड मा ‘अवतार’ भन्ने चलचित्र बन्यो, जुन पुर्विय सिद्धान्त बाट नै प्रेरित छ । रामायण का पुच्छर सहित का मान्छेहरु ‘हनुमान’ बाटै प्रभावित भएर हुनुपर्छ ‘जेम्स क्यामरुन’ ले ‘अवतार’ मा पुच्छर सहित का मान्छे को कल्पना गरे । कलाकार र विव्दानहरु ले भगवान ‘कृष्ण’ अनि ‘महादेव’लाई ‘निलो वर्ण’ का भनेर चित्रित गरिएकै कारण, ‘अवतार’ मा मान्छेहरु सबै ‘निलो वर्ण’ का थिए । चलचित्र मा प्यान्डोरा नामक ग्रहलाई हामीहरुले भन्ने गरेको ‘स्वर्ग’ जस्तो बनाइएको थियो । जहाँ रुखबाट दैवि शक्ति लिन्थे, जनावर र चराहरु माथि चढेर हिँड्थे ।

****************************************************************

यस्ता यावत कुराहरु सोच्दैजाँदा, निकै टाढा पुगिन्छ । तर पुर्विय र पश्चिमि संस्कृति को फ्युजन भने भइरहेको छ । अनि केही यस्ता कुराहरु पनि हुन्छन्, जुन प्रश्न को उत्तर हामी कहिले भेट्दैनौँ । प्रश्न हाम्रो जन्म सँगै सुरु हुन्छ, नाम बाटै सुरु हुन्छ, आफ्नो वर्ण बाटै प्रश्न सुरु हुन्छ तर उत्तर हत्तपत्त भेट्न सकिँदैन । जस्तो तपाइको नाम ‘फलानो’ भनेर राखिनु को कारण हुन्छ, तपाई को स्वभाव यस्तो, हुनु को पनि कारण हुन्छ तर हामीलाई ती केही कुरा थाहा हुँदैन । किन तपाईलाई मनै नपर्ने मान्छे, अरुहरु को प्रिय हुन्छ ? तपाई किन, रातो मनपराउनुहुन्छ जबकी मलाई सेतो मनपर्छ । यी यावत धेरै कुराहरु छन्, जसको उत्तर त्यति धेरै सहज छैन । तपाई मोटो हुनु को पनि कारण हुन्छ, तपाई पातलो हुनु को पनि कारण हुन्छ । तर ती मोटा र पातलाहरु ले हत्तपत्त जवाफ भेट्दैनन्, किन भन्ने कुरा को ?

****************************************************************

केही मान्छेहरु झुटो बोलेर पनि झुटो बोल्न जान्दैनन्, कोही मान्छेहरु ‘प्रिटेन्ड’ मात्र पनि गर्छन् । तिनीहरु किन ‘प्रिटेन्ड’ गर्छन् थाहा छैन, सायद उनीहरु अरुलाई देखाउन चाहन्छन् । संसारलाई देखाउन चाहन्छन् तर यथार्थ मा त्यसको ठिक विपरित हुन सक्छ । कोही भने, सबै कुरा गोप्य राख्न चाहन्छन्, मैले यस्तो ब्लगहरु पनि भेटेको छु, जुन नितान्त व्यक्तिगत छ, जहाँ आफ्ना भोगाइहरु शिलशिलाबध्द रुपमा लेखिएको हुन्छ । मैले फेला पारेका ती व्यक्तिगत ब्लगहरु नियमित पढ्ने गर्छु, जहाँबाट मलाई धेरै कुरा को ज्ञान भइरहेको हुन्छ, संसारका केही वास्तविक जिवन भोगाइ को सम्मिश्रण पाइन्छ ।

केही मान्छेहरु आफ्ना अगाडि ठिक्क पार्छन तर पछाडि पछाडि कुरा काटिरहेका हुन्छन् । त्यस्तो केही उदाहरण पनि भेटेँ, जहाँ लहै लहै मा मान्छेहरु लागेका रहेछन् । जो हल्ला कै पछि दगुरिरहेका रहेछन्, सायद उनीहरु ले बिर्सिए अस्ति सम्म तिनीहरु पनि म जस्तै सोच्थे, ठिक त्यसै तरिका ले गुनासो पोखिरहेका थिए । तर एक्कासी उनीहरु को मन परिवर्तन भएको छ, तर किन हो थाहा छैन । सायद उनीहरु ले मेरो बारेमा आफ्ना ‘धारणा’ बनाए होलान् । यहाँ अरुलाई खलपात्र बनाएर आफु हिरो हुन धेरै सजिलो छ, कुनै बेला सायद मैले पनि त्यसै गरेको थिँए तर अहिले लाग्छ मैले बेक्कार मा उनीहरुलाई खलपात्र बनाएछु, केही सिमित व्यक्तिहरु को लहैलहै मा लागेर !

****************************************************************

देश को बारेमा सोच्दा पनि, दिक्क लागेर आउँछ कहिलेकाँहि ! देश जनता को नभइ नेताहरु को हो जस्तो गर्छन्, तर ती नेताहरु बिर्सन्छन्, जनता नभए उनीहरु नेता रहँदैनन् तर फेरि उनीहरु किन आफ्नो स्वार्थ्य मात्र हेर्छन् ? २ वर्ष भन्दा धेरै समय दिइयो, संविधान बनाउन तर अहिले सम्म को उपलब्धि शुन्य छ, अब त १ वर्ष म्याद थप्ने पो भनिरहेकाछन् है, सबै टाउकेहरु ! आर्थिक भार, जनतालाई नै थपिने हो, रजाइँ गर्ने उनीहरु रजाँइ गरिरहन्छन् । त्यो भन्दा ठूलो कुरा त दलहरु आपस मा दोष दिएर बसिरहेकाछन् । फेसबुक मा एउटा ग्रुप थियो, ‘जेठ १४ गते टुंडिखेल मा सबैलाई सिस्नो लाउनुपर्छ’ भन्ने, सायद त्यसै गर्नुपर्ने हो कि क्या हो, यी सबैलाई ! कोही कुर्सी जोगाउन, कोही संविधान नबनाउन लागिपरेकाछन् । जसोगरे पनि आफैँलाई दु:ख !

****************************************************************

(- विभिन्न समय मा मन मा आएका आपस मा ‘अमिल्दो’ गन्थनहरु समेटेर लेखिएको ब्लग का पहिलो र तेस्रो सन्दर्भ का केही कुराहरु आफूले सहभागिता जनाएको ‘थिएटर’ वर्कसप बाट  लिइएको हो ! )

9 comments :

  1. यति धेरै नराम्रो भइसकेपछि पनि के को राम्रो हुनु नि अब?
    Some reality are true and hear touching! and definitely they are dissapointing too.

    Presentation is great as well!

    ReplyDelete
  2. म सब्द सानो भएनि सबै भन्दा ठुलो छ म संसारमा. सबै म कै लागे बचेका छ, म र मेरैका लागि मरिमेत्छन्. अच्युर सरले बुलबुल को 37th epsiode मा भनेको जस्तै एउटा व्यक्ति कहिले पनि गलत छैन. उसलाई गलत बनाउने समय, परस्थाती र समाज हो.
    अफ्नो अफ्नो सोच विचार भोगाई गराई हो मान्छे येस्तै छ आफु जति ठुलो र आफु जस्तो राम्रो उसले कसैलाई नि देख्दैन. आतिनु पर्ने केही छैन म पनि त्यही मान्छे मध्ये को मान्छे हु मेरो नि येस्तै विचार छ म ठिक छु म वनेक अरु गलत....

    anyways nice piece of writing .... totally agree with u ........ the most important thing in life is ones attitude towards things ........... enjoyed reading ........ keep up ur work :)

    ReplyDelete
  3. nice piece of writing. i agree with your opinion. keep it up!!!

    ReplyDelete
  4. AnuragFromDhulikhelMay 23, 2010 at 4:43 PM

    साह्रै राम्रो अनी रमाइलो मनोबाद.... यि हरफहरु पढेर निक्कै मज्जा लिएँ मैले त । Keep writing yaar!

    ReplyDelete
  5. यथार्त चिन्तनमनन सहितको मन छुने लेख। सबल पक्षको मनोगत विश्लेषण मिठो छ।

    ReplyDelete
  6. विचार प्रधान टुक्राहरु रहेछन । सबै टुक्राहरु जीवन दर्शनको झलक भेटिन्छ ।

    ReplyDelete
  7. AnuragFromDhulikhelNovember 12, 2010 at 4:05 AM

    साह्रै राम्रो अनी रमाइलो मनोबाद.... यि हरफहरु पढेर निक्कै मज्जा लिएँ मैले त । Keep writing yaar!

    ReplyDelete