धरहरा मा २ घण्टा

धरहरा सँगै को पार्क मा आइपुगेको छु । मध्यान्न को १२ बजेको छ । फागुन महिना भएर होला, गर्मी को आभास भै’रहेको छ । केही वर्ष अघि सम्म हेर्न मात्र पाइने धरहरा केही वर्ष देखि चढ्न मिल्ने भै’सकेको छ । त्यही भएर, यहाँ धरहरा चढेर काठमाडौँ हेर्न खोज्नेहरु को भिड छ ।

एउटा कुना को बेन्च मा म बसिरहेको छु, प्लान केही छैन । त्यही पुल्चोक देखि हिँडेर आएको थकाइ मार्न बसिरहेको छु । “पल्पसा क्याफे” को अडियो पेनड्राइभ मा राखेर ल्याँए भर्खरै, अच्युत दाइबाट, कति खेर सुनौँ जस्तो भै’रहेको छ । म कसैलाई पर्खिरहेको पनि छैन पार्क मा, तर पनि म बसिरहेको छु, विनाकाम पार्क मा । बाहिर होहल्ला छ, गाडि को घ्यारघ्यार को आवाज आइरहेको छ । थकाइ मार्ने पार्क त हो, तर शान्त छैन । सबै आ-आफ्नै पारामा छन्, कोही एक्लै छन्, कोही ग्रुपमा छन्, कोही साथिहरु सँग छन् त कोही सपरिवार आएका जस्ता देखिन्छन् ।

त्यसै बस्न अल्छि लाग्यो, एउटा फ्यान्टा ल्याएँ, सेल्फ सर्भिस रहेछ । त्यो सानो बोतल को फ्यान्टा पनि १ घन्टा लाएर सिध्याँए, सायद म अझै केहिबेर यही पार्क मा बस्ने वाहाना खोज्दैथिँए । मान्छेहरु को आगमन बाक्लिएको जस्तो लाग्छ । सबै बेन्च र कुर्सीहरु भरिएका छन्, कोही चिया को चुस्कि लिँदैछन् त कोही गफ मा मस्त छन् ।

धरहरा चढ्न जानेहरु को भिड छ, धरहरा को टुप्पा मा पनि भिड नै छ । टिकट लिँदै शरीर जाँच गराउँदै मान्छेहरु धमाधम भित्र जाँदैछन् । केही धरहरा चढेर फर्किरहेकाछन्, आफ्नो अनुभव वयान गरिरहेकाछन् । म चाँहि विनाकाम सबैतिर नजर पुर्‍याइरहेको छु, सबैलाई हेरिरहेको छु, अनि केही लेखे झैँ गर्दैछु । कोही चिनिएका अनुहार देखिन्छन् कि खोज्दैछु ।

मेरो छेवैमा केही घरजग्गा किनबेच को गफ गर्दैछन्, उनीहरु ब्रोकरहरु हुन् । केही मान्छेहरु चाँहि मलाई नै हेर्दैछन्, मैले यो लेख्दैगरेको नोटबुक तिर आँखा तन्काउँदैछन् , सायद भनिरहेका होलान्, कस्तो खुस्केट रहेछ । म थाहा नपाएझैँ गर्दैछु, म पनि कसैलाई पर्खिरहे झैँ बेला बेला मा घडि हेर्दैछु । पर्तिरको टेवलमा केही विदेशीहरु छन्, म सोच्दैछु, यी गोरीहरुलाई यस्तो ठाउँ अनि यति अस्तव्यस्त देखेर के लाग्दो होला तर सोध्न मन लागेको छैन ।

अर्को पर्तिर को टेबलमा एक युवती छिन्, सायद उनी पनि कसैलाई पर्खिँदैछिन् । टाउको मा सनग्लास अड्याएकी उनको गलामा मोति को माला देखिन्छ, अनि आँखा माथि खै के-के हो, लागएकी छिन् । निकै निडर जस्तो देखिने उनी सोचमा डुबेकी जस्तो लाग्छ । तर उनी पनि आफ्नो नजर सबैतिर डुलाउँदैछिन् । अनि अरुलाई हेरेर उनको अनुहार को एक्सप्रेसन पनि बद्लिरहेको छ ।

एउटा टेवलमा एकजोडि आइपुगेकाछन्, नाता त म भन्न सक्दिन, जो पनि हुन सक्छन् । केटा र केटि हुँदैमा कोही कसैको प्रेमी नहुन सक्छ तर हाम्रो सडेको मानसिकता मा प्राथमिकतामा रहेको छ, केटा र केटी सँगै देखिए प्रेमी-प्रेमीका । ती दुइजना पनि जो पनि हुनसक्छन्, दिदीभाइ, दाजुबहिनी आदि इत्यादि ! सायद उनीहरु आत्मिय मित्र पनि हुनसक्छन्, सँगै भए भन्दैमा प्रेमी-प्रेमिका हुन्छन् र ? यही हाम्रो सडेको मानसिकता का कारण पनि केटा र केटी साथी बन्न नसकेका हुन् कि ? नियालेर हेरेँ, युवकलाई, उ प्रहरी सेवा को तालिम मा भएजस्तो लाग्यो । उसको पोशाक, उसको कपाल कटाइ आदिकुराहरुले यस्तै कुरा को छनक दिँदै छ । मोवाइल मा आएको एसएमएस ले मेरो ध्यान खल्बल्याइदियो ।

एक हुल केटाहरु आइपुगेकाछन्, उनीहरु सँगै को बेन्चमा बसेका छन् । उनीहरुको कुरा ले थाहा पाएँ, त्यसमध्ये एउटा अमेरिका उड्ने तरखर मा रहेछ, सायद रमाइलो गर्न हिँडेका छन् । उनीहरुले चुरोट सल्काए, सबै १८-२० का जस्ता देखिन्छन् तर सबैको हातमा चुरोट सल्किरहेको छ । लाग्यो, आधुनिक सहरिया युवाहरु हुन्, जो आफ्नो जिवन यही धुँवा सँगै उडाइरहेकाछन् । चुरोट को धुँवा मेरो नाकमा ठोक्किन आइपुग्यो । म चुपचाप लेखिनैरहेको छु, उनीहरु धुँवा उडाइरहेकाछन्, नजानेरै मलाई समेत डिस्टर्व गर्दैछन् । एउटा सुरक्षा गार्ड आइपुगे । उनले विनम्र सँग केटाहरुलाई भन्दैछन् –“दाइ, त्यो माथि को बोर्ड हेर्नुस् त !” केटाहरु “सरी है, दाइ” भन्दै उठेर पार्क बाहिर गए, एउटा बेन्च खालि भयो । मैले आउने वित्तिकै त्यो बोर्ड देखेको भएपनि, मलाई लेखेको मात्र होला जस्तो लागेको थियो तर हैन, कार्यान्वायन पनि भएको रहेछ । बोर्डमा लेखिएको छ, “धुम्रपान निषेधित पार्क” ।



ती अघिकि कसैको पर्खाइ मा रहेकी युवतीसँगै को कुर्सीमा एउटा युवक आइपुगेको छ, उ पनि प्रहरी सेवा कै तालिमे जस्तो देखिन्छ, प्रजातन्त्र दिवस को विदामा तालिमकेन्द्र बाट बाहिर आएको हुनुपर्छ । २ बज्न लागिसकेछ, मलाई एउटा साथि भेट्न जानु छ, ठ्याक्क २ बजे नै । अब उठौँ क्यार, थकाइ मरिसकेको छ, एउटा साथिलाई भेटेर आज नै धुलिखेल फर्किनुपरेको छ ।

-सुन्धारा, ०६५ फागुन ७ गते
प्रजातन्त्र दिवस

14 comments :

  1. Ramailo din...
    Ramailo sanga biteko pal...

    ReplyDelete
  2. धरहरा घुमाउनु भएकोमा धन्यवाद, यो लेखले पुराना दिनहरुको याद आयो ।

    ReplyDelete
  3. साह्रै रमाईलो प्रस्तुति! कहिलेकाहीं यसरी मान्छेहरुको अवलोकन गर्न मलाई पनि खुब मन पर्छ।

    ReplyDelete
  4. आकार जी रमाइलो संग बितेछ त्यो दिन ।
    केटा र केटि हुँदैमा कोही कसैको प्रेमी नहुन सक्छ तर हाम्रो सडेको मानसिकता मा प्राथमिकतामा रहेको छ, केटा र केटी सँगै देखिए प्रेमी-प्रेमीका ।
    यो चाहि धेरै नै मन पर्यो मलाई ।

    ए साच्चै अनि कता हराउनु भाको आजसम्म?

    ReplyDelete
  5. kunai bisaya nai nabhaye pani yeti mitho tarikale prastut garnubhayeko rahecha paddha ekdam ramailo lagyo aakar jee.

    ReplyDelete
  6. आकार जी को पोस्ट मा फेरी पोस्ट हुन थालेछ .....म आकार जी को गफ मज्जाले सुनिरहे ....
    ..तर उहा त उठेर अन्तै पो गइ सक्नु भएछ ।
    प्रजातन्त्र दिवस को शुभकामना .... छिटै नेपाल ....ले दिगो शान्ति र विकाश पाओस ।

    ReplyDelete
  7. केहि छिन म पनि त्यतै वरिपरि घुमेको जस्तो भयो ।

    ReplyDelete
  8. कहिले कांही रेलमा पढ्ने कुरा केही नभए वा iPod को battery सकेको बेला मैले गर्ने काम पनि त्यस्तै हो
    यो टांसो पढे पछी मलाई पनि त्यस्तै लेख्ने idea फुर्यो

    ReplyDelete
  9. अनि त्यो पार्क बसुञ्जेल लेख्नुभएको यहि हो कि अर्थोकै हो ? यो चैं त गजबै लेख्नु भएछ रमाईलो लाग्ने गरेर । र पल्पसा क्याफेको ब्यग्र प्रतिक्षामा भएँ है म त ।

    ReplyDelete
  10. अाकारजी तपाइँको धरहरा यात्राले मलाइ पनि धरहराको छेउ गएर एकछिन भने पनि उभिन मन लाग्यो हुनत धेरै चोटी यो सँग छेउ मागेर हिडियो तर यसलाइ हेरेरै सोचिएन अब सोचेर बस्न मन लाग्यो अझ विषेश चाहि त्याहाँ हिडने मान्छेहरू बारेमा सोच्न मन लाग्यो ।

    ReplyDelete
  11. dharahara ko bhraman gare jasto bho, aaha!

    ReplyDelete
  12. मलाई नि राम्रो लाग्यो

    ReplyDelete
  13. तपाँइको धरहरायात्राले मलाइ केहि पुराना दिनहरुको झझल्को दिलायो ! म गहनापोखरिको चौरमा त्यसरि नै बसेर लेख्थेँ ! मान्छेहरुलाइ हेर्दै ! बडो गजबको स्मृति छन ति ! म ति उड्ने केटाहरुझैँ चुरोटमा उडाउँथे आफुलाइ ! पढेर निकै राम्रो लाग्यो !

    ReplyDelete
  14. आहा ..कति राम्रो ..

    ReplyDelete