"पोखरा बजार टुरिस्ट हजार" त जम्मैले सुनेकै होलान्। हामी त्यहिँ हुर्केम् बढेम्, नानाथरि उपद्रो र उट्पट्याङ गरेम्, व्यक्तित्व त त्यस्तै हो तर ‘साइज’ले चैं ठुला भएम्, अब बिस्तारै बुढाहरुमा पनि गनिन्छौँ होला। 'होला' के भन्नु, लक्षण आजकलै देखा परिसकेकोछ, कसैले साइड हान्दैनन्, आफुले हानेका साइडको रेस्पोन्स पाइन्नन्। कताकता मन खिन्न हुन्छ। जे होस् टुरिस्ट बढेका बढ्यै छन् पोखरामा। ‘ट्रेकिङ’, ‘साइट सिईङ’, ‘बोटिङ’ले त प्रख्यात नै थियो पोखरा, ‘एभिया क्लब’का स्याना जहाज अनि ठुल्ठुला रंगीचंगी बेलुनमा मान्छेहरु उड्न आऊँथे, अहिले झन् ‘प्याराग्लाईडिङ’ र ‘जिप फ्लायर’ले गर्दा आन्तरिक र बिदेशी पर्यटक ह्वात्तै बढेका छन्। अझै केबुल कार र अरु धेरैकुरा खुल्दैछन् भन्ने सुन्नमा आइरहेको छ। हामी स्याना हूँदा यतिका धेरै पर्यटक हूँदैनथे, जे होस् फाट्टफुट्ट चाहिँ देखिन्थे। टुरिस्टलाइ हामी कुइरे भन्थेम्, बसमा देखिए भने 'टाटा', साक्षात देखिए भने 'नमस्ते' गर्नु भनेर हामीलाई सिकाइएको थियो। अझ दुईतले बसमा कुइरे आएको देखेम् भने टाटा गर्दै च्याँठ्ठिदै उफ्रिन्थेम्। अचेल त्यो दुइतले बस कत