Skip to main content

साझा बस क्रेज

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो ।
साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो रोजाइमा पर्छ । साना गाडी ती पहाडका साना घुमौरा बाटाका लागि उपयुक्त छन् । रुट मिलेसम्म काठमाडौँमा नेपाल यातायात रोजाइमा पर्नेगर्छ अहिले साझा यातायात  पनि लिस्टमा थपिएकोछ । काठमाडौँ - धुलिखेल रुटमा चढ्ने गाडीहरु पनि राम्रा र स्तरिय लाग्छन् ।

सुन्धारा जानुथियो । घरैछेउबाट भैँसेपाटी रत्नपार्क गाडी चल्ने भएपनि, एकान्तकुना चोक देखि जावालाखेल सम्म हिँडेरै जाने योजना बनाइयो । भैँसेपाटी चल्ने गाडीहरुमा उभिन मात्र होइन, बस्न पनि समस्या हुन्छ यद्दपि अफिस जाँदा अनि हतारमा त्यही बसहरु नचढि सुख चाँहि छैन ।मन लागेर वा नलागेर भएपनि तिनै साना बसहरु चढ्नुपर्छ । जावालाखेल सम्म हिँड्दा चाँही कम्तिमा विकल्प पाइन्छ भन्ने लाग्छ, भलै एकान्तकुना देखि जावालाखेल पुग्न निकै संघर्ष गर्नुपर्छ धुलो र धुँवासँग ।

चर्को घाम छल्ने र साझा कुर्ने मनसायले जावलाखेलको बसस्टपमा बसियो । माइक्रोबस, टेम्पुहरु सुन्धारा - रत्नपार्क, वानेश्वर - कोटेश्वर भन्ने नारा लगाइरहेकाथिए, बाटो हिँड्नेलाई पनि तानेर गाडी भित्रै हालुला झैँ गर्थे । काठमाडौँमा माइक्रोबस प्राय: सबैको बाध्यता हो, म नि प्राय चढ्छु । सिटभरि चढाउँदा त राम्रो लाग्छ, तर १०-१२ जना चढ्ने माइक्रोबसमा २०-२५ जना कोचेपछि, अनि कोचिन आइपुगेपछि भने 'इरिटेड' नै भइन्छ, श्वास पनि राम्रोसँग फेर्न पाइँदैन ।

बसस्टपमा म सँगै अरु एक दर्जन जति बटुवाहरु बसिरहेकाथिए । सायद घाम छल्न बसेका होलान् जस्तो लाग्यो ।एकैछिनमा साझा बस आइपुग्यो, बसस्टपमा बसिरहेकाहरु साझाको पछिल्लो ढोकातिर दौडिए । पछाडि फर्केर हेरेँ, अघिको भरिभराउ बसस्टप खालि भएकोथियो । उता माइक्रोबसका खलासी भन्दैथिए, "यो पनि साझा नै हो, सबैको साझा"! साझाबसका सबै सिट भरिभराउ थिए, उभ्भिनेहरु पनि प्रशस्तै थिए । कम्तिमा उभिन त राम्रोसँग पाइन्छ भनेर चढ्नेहरु पनि भेटियो । 
बेङ्लोर बस्दा यस्तै गाडीमा कहिलेकाँही यात्रा गरिन्थ्यो । लाग्थ्यो यस्तै बसहरु नेपालमा कहिले गुड्छन् होला । बेङ्लोरको एउटा रमाइलो अनुभव छ । लक्ष्मीदाइ र म सायद एचएएल रोडमा एरोस्पेस संग्राहलय हेर्न जाँदैथियौँ (वा कुनै सिनेमा हल तिर जाँदैथियौँ) । मुर्गेसपाल्यमबाट बस चढियो, बस चढ्ने बित्तिकै टिकट काट्नुपर्ने, टिकट काटियो । बसमा अघिल्लतिर दुईटा सिट खालि देखेँ । हतार हतार गरेर, अघि बढ्दै सिटमा गएर बसियो, बस गुढ्यो । बसमा उभिनेहरु प्राय: सबैले आफूतिर हेरिरहे झैँ लाग्यो, आफूलाई हेरिरहेको भएको भएर उनीहरुबाट ध्यान हटाउन यताउता हेर्दै थिँए, झ्याल छेउमा "महिला" भनेर लेखिएको रहेछ । बल्ल कुरो बुझियो, महिलाको लागि छुट्टयाइएको सिटमा बसेको देखेर त्यसरी सबैले अचम्म मानेर हेरेका रहेछन् । आफ्नो गल्ति थाहा भएपछि सरक्क उठियो, दुईजना महिला आएर सिटमा बसेँ । त्यो दिन देखि बेङ्लोरमा बस चढ्दा सिटमा बस्नु पहिले कसैको लागि सिट छुट्याइएको छ कि भनेर सावधानी अपनाउन थालियो ।

नेपालमा चल्ने सबै सार्वजनिक यातायातमा महिला/बृद्ध/अपांग भनेर सिट छुट्याइकोहुन्छ । तर यहाँ नियम कसैले मान्दैनन्, आफू पनि जहाँ मिल्छ त्यहीँ बसिन्छ,  बृद्ध अनि बच्चा बोकेका महिलाहरुलाई भने सिट छोड्ने गरिन्छ ।साझा बसमा भने केही हदसम्म यो नियम लागू गर्ने कोशिस गरिएकोछ र सफल पनि हुँदैछ । साझाका कारण यात्रुहरु बसस्टपमा चढ्ने र बसस्टपमै झर्ने बानी बसाउँदैछन्, अन्यत्र त बस रोकिँदैन पनि । साझा आएको देखेपछि, परैदेखि हात हल्लाउँदै, कुदेर बसस्टप आएर बस चढ्ने गर्न थालेकाछन् । साझा बसका स्टपहरुमा साझा बस भनेर सानो साइनबोर्ड पनि राखिएकोछ ।

साझाबस चढेको अनुभव गर्दा गर्दै र अरुका अनुहारका खुशी नियाल्दा नियाल्दै झर्ने स्टप पनि आइसकेछ । बसबाट सुन्धारा पेट्रोल पम्प अगाडि ओर्लिएर सिभिल मलतिर लागियो ।

साझाबसको क्रेज बढ्दै जाओस् । शुभकामना ।

Comments

  1. Sajha Bus ma route ko Number rakhi diyeko bhaye ajha ramro hune thiyo hola.

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post