Skip to main content

बोलाउँ भने तिमीलाई बात लाग्ने डर… [Manushi Series]

“बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर…” बद्रि दुर्गा खरेल को आवाज मा रहेको कर्णप्रिय गित, धुलिखेल देखि काठमाडौँ सम्म, मोबाइल को हेडसेट मार्फत निरन्तर कान मा गुन्जिरह्यो । तिम्रो कुरा र तिम्रो सम्झनाले मात्र हैन मलाई त गित ले पनि एकोहोरो बनाइदिन्छ, अनि त्यही गित भित्रै कै शब्द र संगितहरु बिच कहीलेकाँही अनायासै तिमीलाई खोज्न पुग्छु । तिमीलाई सम्बोधन गरेर लेखिएको पछिल्लो पोष्ट मा धेरै प्रतिक्रिया पाएँ, अनि सबैले ‘मानुषी’ नाम भएकाहरु सँग मेरा नाम जोडिदिएछन् । संसार अचम्म को छ है, नसोचेको कुरा भइदिन्छ, अनि नसोचेको स्थिति बाट पनि गुज्रिनु पर्छ ।

हुन त मेरो नाम, उहिले सानो मा ‘एल के जी’ पढ्दा देखि नै एउटी सँग जोडिदिएका थिए, साथीहरु ले । स्कुल सँगै गइन्थ्यो, त्यही भएर पनि, नाम जोडेर जिस्क्याउँथे । अलि ठूलो भएर, अर्को स्कुल जान थालियो, त्यहाँ पनि नाम जोडेर, मलाई बिल्ला हान्ने साथीहरु को कमी थिएन । अंग्रेजी मा पढ्नु पर्ने, पहिलो पाठ देखि नै, सर आफैँले जोडी बनाइदिएपछि, केटाहरु ले नाम जोड्नु पनि स्वाभाविक नै थियो, अहँ तर मैले त्यस्ता कुराहरुलाई खासै महत्व दिइँन । र दिनु पनि हुँदैन भन्ने मेरो धारणा थियो, तर केटाहरु उसको घर अगाडि पुगेपछि मलाई झनै जिस्क्याउँथे, तर मुस्किल ले ५-६ पटक भन्दा म उ सँग बोलिन होला भन्दा फरक पर्दैन । जब कलेज पढ्ने भइयो, त्यहाँ नि नाम जोड्ने कुरा सबैभन्दा पहिले भयो ।

कलेज सँगै इन्टरनेट को गति मा आफू पनि चल्न थालियो, ब्लग, फेसबुक, ट्विटरमा भुल्न थालियो । यहाँ त झन् सबैलाई नाम जोड्न साह्रै सजिलो भयो, अनि जोडिएको नाम तोड्न मलाई धेरै गाह्रो पर्यो, तर आफूले चाहेको सँग चाँही नाम जोड्न कहिले सकिएन । मान्छेहरु किन अन्धा भएका होलान्, मेरो नाम जोडिदिएर, कति आफ्नाहरु टाढा भए रे, कति आफ्नाहरु पराइ भए रे ! जो सँग नाम चाहेर पनि जोड्न सकिन, त्यो कसैले थाहा नै पाएन तर  अकारण आफ्ना नाम अरुसँग जोडिँदा मलाई भन्दा पनि उनीहरुलाई गाह्रो पर्यो रे, अनि उनीहरु सबै टाढिए । अनि आफूलाई पनि कहिले काँही त यी सम्बन्ध का साँङ्लोहरु सबै चुँडाइदिएर, एकान्त मा एक्लै बसौँ झैँ लाग्छ । rose

“बोलाउँ भने तिमीलाई बात लाग्ने डर” भएकै कारण, मानुषी तिमीलाई म तिम्रै नाम ले सम्बोधन गर्न समेत म सक्दिन ।  अस्ति साथीभाइहरु सँग भेटघाट कार्यक्रम थियो, त्यहाँ नि ‘मानुषी’ खै भन्ने कुरा निस्केको थियो । म के जवाफ दिन सक्थेँ र, उनीहरुलाई । अनि तिमीलाई थाहा छ मानुषी, देशमा के हुँदैछ । खै तिमीलाई के थाहा छ होला र, तिमी कता व्यस्त छौ कता । देशमा कहिले नसक्किने या भनौँ ‘नेभर इन्डिङ’ सहमति र सहकार्य को गफ चलेको छ, हाम्रा देशका पार्टिहरु बिच । मेरो कुरा मा अलि बिचार गर है, ‘नेभर इन्डिङ’ सहमति’ भनेको हैन है फेरि, सहमति गर्छु भन्ने निर्णय गर्छौँ भन्ने ‘डाइलग’ चैँ ‘नेभर इन्डिङ’ डाइलग भनेको हो है ।अनि समय मा संविधान पनि नबानाउलान् जस्तो छ, के गर्ने होला है अब ?

मानुषी, चाहेर जोड्न नसक्ने र नचाहेर नाम जोडिने सम्बन्ध साँच्चै अजिव को हुन्छ है । नाम मा के राखेको छ र ? भन्ने गर्छन तर त्यही नाम कै कारण ठूला काण्ड मच्चिन्छन् । थाहा छ मानुषी, नाम मा केही हुँदैन भन्छन् तर हिजोआज सबै नाम कै पछि त दौडिरहेका हुन्छन् नि हैन ! यहाँ त कसैको नाम लिनै हुँदैन, बात लागिहाल्छ, कोही सँग बोल्नै नहुने जस्तो । जो सँग बोल्यो, उसै सँग ‘लभ’ पर्‍यो जस्तो गर्दिन्छन् । भन्नेहरु भन्दै गर्छन्, आफ्नो सुर छोड्नु हुँदैनजस्तो पनि लाग्छ तर पनि कहिले काँही ठट्टा पनि ठूलो भइदिन्छ । तिललाई पहाड बनाइदिनेहरु को कमी छैन भन्दा पनि हुन्छ यहाँ । यही तिमीलाई सम्बोधन गर्दा त, कति धेरै कुराहरु सुन्नु परिरहेको छ । “आँखा भरि तिम्रो माया, मुटुभरी माया, जताहेर्‍यो त्यतै देख्छु तिम्रै तिम्रै माया, कहाँ राखौँ कता सजाऔँ यति धेरै माया…गित बनाइ गाइरहौँ कि तिम्रा सबै माया”

लोडसेडिङ को मौसम, तर अचम्म भरहेछ विगत ४८ घन्टा देखि लाइन गएको छैन । धारा बाट पानी चौबिसै घन्टा आइरहेको छ । हिजोआज त यो बिजुली नगएको कुरा, धारामा पानी आएको कुरा सपना जस्तो लागिरहेछ । तर खै, तिमीलाई भेट्न सकिरहेको छैन । तिमी समय समय मा रुप बदलेर मेरो छेउछाउ घुमिरहेको छौ जस्तो पनि लाग्छ कहिलेकाँही । मेरो वरिपरि नै हुँदा पनि, मैले नदेखेको, नचिनेको हो कि भने जस्तो पनि लाग्छ । अनि बोलीहाले, बात लाग्ला भन्ने डर पनि सँधै रहन्छ । साँची यो बोल्ने बित्तिकै किन बात लागेको होला है ? बोल्नै नहुने पनि त होइन ! कहिलेकाँही फेरि लाग्छ, तिमी पनि बोल्न डराइरहेछौ, तिमीलाई पनि बात लाग्ला भन्ने नै डर त होला नि, हैन मानुषी ! एउटै बाटो पनि कति पटक हिँडियो होला, सँगै यात्रा पनि गरियो होला तर पनि मानुषी किन यस्तो अजिव लाग्छ आफैँलाई ।

हुन त सहर भन्ने ठाउँ पनि अचम्म को हुँदो रै’छ । एउटै फ्ल्याट मा बसेका सँग पनि अपरिचित भइदिँदो रहेछ । हाम्रा गाउँतिर त, ३-४ गाउँसम्म सबैलाई चिनिन्छ, फलानो भनेर भन्ने बित्तिकै याद आउँछ । यस्तो सहर मा त, कसैलाई नचिने हुँदो रहेछ, छिमेक मा को छन् भन्ने पनि थाहा नहुने । कहिले काँही त पल्लोघर मा बस्ने सँग पो च्याट गरिदोँरै’छ ठूला ठूला गफ दिँदै । कति ले यसै गरिरहेका होलान्, म सँग पनि, कहिले काँही त डर पनि लागेर आउँछ । अहिले नै पनि हेरन, मेरो छिमेक मा कति धेरै जना अनलाइन मा चिनेका साथिहरु हुनुहुँदोरहेछ, तर छिमेक मै भएर पनि भेटघाट छैन, को कहाँ छ थाहा छैन, मात्र थाहा छ हामी छिमेकी हौँ । कहिलेकाँही यस्तै कुरा ले नि दिक्क लाउँछ । अझ आफ्नो बानी त ‘भर्चुअल संसार’ मा सोसोलाइज हुने छ, अरुबेला त एकान्त नै प्रिय लाग्छ। हुन त एकान्त मै त आउँदो रहेछ नि, तिम्रा यादहरु ! एकान्त, म र तिम्रा यादहरु । सँधै तिम्रा यादहरु आउँछ, तर कस्तो याद आफैँ छक्क पर्छु, हाम्रो त भेट नै भएको छैन, बोलचाल नै भएको छैन, हामी एक अर्का देखि अपरिचित नै छौँ, तर फेरि कहिलेकाँही हामी यति धेरै परिचित छौँ कि, हाम्रो एक अर्का को परिचय नै माग्नुपर्दैन जस्तो लाग्छ ।

आज फेरि एउटा पुरानो कुरा सुनेँ । ओसामा विन लादेन मारिए भनेर पाचौँ पटक सुनियो । खै, आफूलाई त विश्वास लागेको छैन, तर उनीहरुले भनेपछि मारिए पनि होलान् भने झैँ लाग्छ । १-२ दिन मै ओसामा को नाम मा वक्तव्य आयो भने आश्चार्य नमाने पनि हुन्छ है मानुषी । चाँडै भेट्ने वाचा सहित आजलाई यत्ति है त !

क्रमश…

यो पनि : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

Comments

  1. nice aakar ji ..! keep it up...manushi series provides different test....aaba ma pani Astha series thalu kyara (being inspired by you)...hamro ta chijan chha...bhadkelin ki bhanera darai ra chhu...hope to see other posts with different test !!!!

    ReplyDelete
  2. Aakar ji thanks a lot its really nice बोलाउँ भने तिमीलाई बात लाग्ने डर Keep it up

    ReplyDelete
  3. मलाई चाही बबाल लाग्यो , जोडी लाई सुभकामना ! 

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post