ठूला भूकम्पको सम्भावना न्युन हुँदै : USGS

म भूकम्पविद होइन तर आज बिहानबाट भारतिय अनलाइनहरु हिन्दु, हिन्दुस्तान टाइम्स आदिमा प्रकाशित भएका ठूला भूकम्प जानसक्ने भन्ने व्यहोराको समाचारका कारण फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालहरुमा भय व्याप्त भएको देखिएपछि यो ब्लग लेख्दैछु ।

हामी सबैलाई थाहा भइसक्यो, भूकम्पको भविष्यवाणी वैज्ञानिक, ज्योतिष लगायत कसैले पनि गर्न सक्दैनन् । बैशाख १२ तथा बैशाख २९ मा भुँइचालो गएका कारण त्रसित भएका हामी सामान्य जिवनमा फर्कन कोशिस गर्दैछौँ । तर च्याउसरी उम्रिएका अनलाइनमा प्रकाशित हुने सामाग्रीहरुका कारण हामी अझै भयभित छौँ। अघिल्लो हप्ता ज्योतिषहरुले गरेको भविष्यवाणीले हामीलाई भयभित बनायो, ज्योतिष विज्ञान फेल खायो, हामीले राहतको महसुस गर्यौँ ।


भूकम्प पछिका आफ्टरसक / पराकम्पन, सामान्य हो भनेर बुझिसकियो, यो अझै केही हप्ता, महिनासम्म आउन सक्ने रहेछ भनेर पनि बुझियो । तर अहिले फेरि विभिन्न मिडियामा USGS को 'आफ्टरसक' रिपोर्टको हवाला दिँदै प्रकाशित समाचारहरुका कारण भयभित देखिएका छौँ। भूकम्प गएदेखि USGS ले आफ्टरसकको सम्भाव्यता देखाउने किसिमका रिपोर्टहरु प्रकाशित गरिरहेकोछ, गतहप्ता मे १३ मा पनि प्रकाशित भएको थियो, हिजो मे २० मा पनि प्रकाशित भएकोछ ।

मे १३ र मे २० मा प्रकाशित USGS का दुई रिपोर्टहरु हेर्दा, ठूला भूकम्पको सम्भावना न्युन हुँदै गएको देखिएको छ। यसको मतलब ठूलो भूँइचालो जाँदै जाँदैन भन्ने होइन, जान पनि सक्छ, तर USGS को नयाँ रिपोर्टको कारण भयभित हुनुपर्ने कुनै कारण भने छैन।


अघिल्लो हप्ता ६ देखि ७ म्याग्निच्युडको भूकम्प जाने सम्भाव्यता १५% थियो, अहिलेको हप्ता ६% मा घटेको छ। त्यस्तै ५ देखि ६ म्याग्निच्युडको भूकम्प जाने सम्भाव्यता ८०% थियो, जुन घटेर ४१% मा आएको छ । ७ म्याग्निच्युडको भूकम्प जाने सम्भावना त झन् १% बाट घटेर ०.६% मा आएको छ।
भूकम्प कुन बेला, कहिले, कत्रो जानसक्छ भनेर भन्न सकिँदैन, USGS को अनुसार ठूला भूकम्पको सम्भावना न्युन हुँदै गएको छ । सुरक्षित रहनुस्, फैलाइएका भ्रामक समाचारहरुको विश्वास नगर्नुस् । भूकम्प पछिका गतिविधि नियाल्न सरकारी निकायहरुलाई ट्विटरमा फलो गर्नसकिन्छ । भूकम्प र USGS का बारेमा थप कुरा जान्नको लागि ऋषिराम पराजुली (@rrp447) को यो ब्लग हेर्नुहोला।

तस्विर स्रोत: पहिलो तस्विर सिस्मोब्लगबाट साभार 

0 प्रतिक्रिया :

Post a Comment