एनिमेसन च्यालेन्जका अन्तिम प्रतिस्पर्धाका लागि मनोनयन सार्वजनिक [3D Animation Challenge]

माया एनिमेशन एकेडेमीको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको छोटो एनिमेटेड चलचित्रहरुको प्रतिस्पर्धा वान फिल्म थ्री-डी एनिमेसन च्यालेन्ज २०११ को तयारी अन्तिम चरणमा पुगेको छ।

कमलपोखरी स्थित कुमारी क्युएफएक्स सिनेमामा यहि डिसेम्बर २२ बिहिवारका दिन हुने उक्त समारोहका लागि ८ वटा एनिमेटेड चलचित्र बिच अन्तिम प्रतिस्पर्धा हुदैछ।

अन्तिम प्रतिस्पर्धाका लागि मनोनयनमा परेका ८ चलचित्र यस प्रकार छन्ः–

नलेज

निर्देशक : अंकित के.सी.

निर्माण संस्था : एडिएन

अवधि : ७ मिनेट ५० सेकेन्ड

छोटो एनिमेटेड चलचित्र ‘नलेज’ एक किशोरको पढ्ने चाह र उसको बाध्यताका कारण गर्नुपर्ने मजदुरीको कथा हो। आफू स्वयम गिटी कुट्ने बाल मजदुरका रुपमा काम गर्नु परेपनि अर्को बालकका निम्ती उसले गर्ने सहयोगलाई एनिमेशनको माध्यमबाट उतार्न खोजेको छन् निर्देशक अंकित के.सी. ले ‘नलेज’ मा। “बालबालिकाका निम्ति शिक्षा नै सबभन्दा महत्वपूर्ण कुरा हो” भन्ने सन्देशलाई प्रस्तुत गर्न खोजिएको छ ‘नलेज’ मा ।

सेरु

निर्देशक : दिपक लिम्बु

निर्माण संस्था : स्केप एनिमेशन स्टुडियो

अवधि : ७ मिनेट ७ सेकेन्ड

छोटो एनिमेटेड चलचित्र सेरु एउटा कुकुर र मान्छे विचको साँचो मित्रताको कथा हो। ‘सेरु’ र ‘फ्रिक’ दुई वास्तविक चरित्रको प्रतिनिधित्व गर्दै ति दुईको मित्रता र मायाको क्षणलाई एनिमेशनका माध्यमबाट पर्दामा उतार्ने प्रयास गरिएको छ ‘सेरू” मा ।

एनिमेशनमा चाहिने रोमान्चकतालाई मध्यनजर गर्दै निर्देशक लिम्बुले सेरुलाई शारिरीक रुपमा एक आम कुकुर भन्दा भिन्नको रुपमा प्रस्तुत गरेर दर्शकलाई एउटा भिन्न संसार देखाउने प्रयास गरेका छन् तर आम मानिसको दैनिकीको नजिक रहेर।

Sweet 16

स्वीट सिक्स्टीन

निर्देशक : उज्ज्वल नन्द बज्राचार्य,

निर्माण संस्था : क्रियटिभ फ्याक्ट्री,

अवधि : ३ मिनेट ५५ सेकेन्ड

१६ घण्टे लोडसेडिङबाट मर्माहत जनतालाई स्विट १६ मार्फत् एउटा गुलियो ‘चास्नी’ पस्कने प्रयास गरेका छन् निर्देशक बज्राचार्यले यस छोटो एनिमेटेड चलचित्रमा । ‘लोडसेडिङको विकल्प के हुन सक्छ ? ‘यो पिरलोले मानिसलाई सपनामा समेत छोडदैन अनि विपनामा बढ्दो लोडसेडिङको अर्को ‘नयाँ तालिका’ यही यथार्थलाई हल्का र फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको छ ‘स्विट सिक्स्टीन’ मा ।

द टल टेल

निर्देशक : गो ! थ्री-डी

निर्माण संस्था : गो थि्रडि

अवधि : ५ मिनेट ३३ सेकेन्ड

छोटो एनिमेशन चलचित्र द टल टेल एउटा मुसा र कछुवाको चतुरताको कथा हो। जातक कथामा आधारित ‘द टल टेल’ मा एनिमेशन मार्फत दर्शकहरुलाई जनावरहरुको संसारमा डोर्‍याउने प्रयास गरिएको छ। एनिमेशन विधामा बिशेष महत्व राख्ने कलर, लाइटिङ्ग र सिन सेटपमा विशेष ध्यान दिएको यस चलचित्रमा “जस्तालाई त्यस्तै …..” भन्ने नेपाली उखान लाई दर्साउन खोजिएको छ ।

व्याड डे

निर्देशक : सुबिज्ञ रत्न तुलाधर

निर्माण संस्था : बिग फुट प्रोडक्सन

अवधि : ३ मिनेट २५ सेकेन्ड

कार्टुनिक क्यारेक्टर र कार्टुनिक प्रस्तुतिकरणका साथ छोटो एनिमेटेड चलचित्र ‘व्याड डे’ ले दर्शकलाई हास्य टुक्का प्रदान गर्ने प्रयास गरेका छ।

एक युवतीको युवक प्रतिको प्रेम, उक्त युवकको अर्की युवती प्रतिको लागव अनि ति युवती सितको ‘डेटिङ्ग’ मा घट्ने घटना ‘व्याड डे’ को मुल कथा हो। ‘व्याड डे‘ मा एक युवतीको प्रेमलाई वेवास्ता गर्दै अर्की युवतीलाई प्रभावित तुल्याउन ती युवकले गरेको प्रयासमा टिभी सपिङ्गको प्रसंगलाई रोचकतापुर्वक जोड्दै प्रस्तुत गरेको छन् निर्देशक तुलाधरले ।

नो लाइट

निर्देशक : शन्देस प्रधान

निर्माण संस्था : क्युरेन एनिमेशन स्टुडियो

अवधि : ७ मिनेट ५८ सेकेन्ड

लोड सेडिङ्गका कारण अस्तव्यस्त दैनिकी, लोडसेडिङ्गका कारण मानिसले आफ्नो कार्य तालिकामा मिलाउन खोजेको तारम्यता अनि यसका बावजुद आईपर्ने समस्यलाई चित्रण गरिएको छ छोटो एनिमेटेड चलचित्र ‘नो लाइट’ मा ।

लोडसेडिङ्ग तालिका अनुरुप मानिसहरुको जीवनयापनको प्रयासलाई निर्देशक प्रधानले ‘नो लाइट’ मा एनिमेशन मार्फत दर्शाउने प्रयास गरेका छन्। लोडसेडिङ्गको तालिका अनुरुपमा चल्न मानिसले जति नै जुक्ति निकालुन तर दैनिकी त कष्टकर नै छ यो कुरा दर्शाउन खोजेको छ नो लाइटमा एक युवकको एक दिनको दैनिकीबाट।

आशा

निर्देशक : प्रभाकर क्षेत्री

निर्माण संस्था : डण्डी बियो प्रोडक्सन

अवधि : ४ मिनेट ५१ सेकेन्ड

स्कुले केटी आशा को साहसको कथा हो प्रभाकर क्षेत्री निर्देशित छोटो एनिमेटेड चलचित्र ‘आशा’। तीन सय बर्ष अघि राजधानीका दरबार क्षेत्रहरुमा राखिएका ढुंगाका गरुड तथा सिंहहरूलाई त्यसबेला जसरी शैतानबाट दरबारलाई जोगाउन भनि थपना गरिएको थियो तीनै गरुड तथा सिंहले विध्वंस गर्दै गरेका एलियनबाट देशलाई जोगाएको काल्पनिक युद्ध कथा मार्फत निर्देशक क्षेत्रीले ‘आशा’ मा दर्शकहरूलाई नेपाली सम्पदा र संस्कृतिको अर्थ पनि बुझाउन खोजेका छन् ।

Apotheosis

एपोथिसिस्

निर्देशक : पुजेश जोशी

निर्माण संस्था : फ्रयाक्टल

अवधि : ३ मिनेट १९ सेकेन्ड

एक आदिम शिकारीको आवारा तीरबाट शख्त घाइते योद्धाले मृत्युको मुखमा पुगेर मनन गर्ने आध्यात्मिक देवीकरणलाई साइकेडेलिक प्याटर्न, रंग संयोजन, ध्वनि र एनिमेशनको माध्यमबाट प्रस्तुत गरिएको छ छोटो एनिमेटेड चलचित्र ‘एपोथिसिस्’ मा । प्राचिन युनानी सभ्यताको एउटा पाटो ‘एपोथिसिस्’ निर्माणमा निर्देशक जोशीले एकदमै सादा मोडलिंग र दृश्य डिजाइनको साथ मिलाएर सीमित एनीमेशन दृष्टिकोण लागू गरेका छन् ।

1 comment :

  1. Dada, milcha bhane after the competition please try to upload these movies in Youtube hai

    Aashish @ Nepali Movies

    ReplyDelete