झण्डा, झगडा, झडप, झुण्ड, झण्डु हुँदै झण्डा नै बन्यो

देशमा गणतन्त्र आयो भन्दै, देशकै प्रतिनिधित्व गर्ने झण्डा पनि फेर्न उनीहरु पछि परेनन् । झण्डा जसरी व्याख्या गरे पनि मिल्ने रहेछ । झण्डा फेर्नुपर्छ भन्नेहरु ले पनि, झण्डा को विपक्ष मा निकै खोट देखाए । उनीहरुले झण्डा को आकार देखि रुप र रङ्ग अनि झण्डा मा भएका चिन्हहरु मा समेत खोट पाए । झण्डा मा रातो, सेतो र निलो रङ्ग को व्याख्या आफ्नो अनुकल गरिदिए अनि झण्डा मा भएका चिन्हहरु सूर्य र चन्द्र मा को सम्बन्धमा पहिले रहेको व्याख्यालाई पनि अतिरञ्जित बनाएर, झण्डा प्रति वितृष्णा फैलाउने व्याख्या गरिदिए ।

महिनौ को झगडा र अडान अनि बार्गेनिङ हुँदै मुलत काम्रेडहरु राष्ट्रिय झण्डालाई यथावत नै राखिने सहमति मा पुगे । राष्ट्रिय झण्डा यथावत हुने भएपनि, झण्डामा प्रयुक्त भएका र, रुप र चिन्ह को नयाँ व्याख्या गरिने भएको छ । नयाँ व्याख्या त गरिने भएको छ तर कसको व्याख्या मान्ने मा भने अझै झगडा होला भन्ने अनुमान छ । national flag nepalअब काम्रेडहरु भन्लान हाम्रो व्याख्या मान्नुपर्छ, उता कांग्रेसीहरु हाम्रो व्याख्या मान्नुपर्छ भन्लान, कमल थापाहरु पनि व्याख्या मा आफ्नो हिसाब खोज्न आउलान् ।

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ भनेझैँ झन्डा को विषयमा नचाहिने समय मा कुरा उठाइयो, अनि नचाहिने विषयमै झगडा पर्यो, त्यो भन्दा पर, दर्जनौँ मिटिङ, सिटिङ र बैठक मा पैसो उडाइयो, अनि आखिर मा झण्डा यथावत नै राख्ने सहमति भयो । झण्डा जस्ता को तस्तै हुने भएपछि, यसअघि गरिएका छलफल बेक्कार नै ठहरिएन र ? अझ भनौ, नचाहिने समय मा नचाहिने विषयमा कुरो उठाइयो, जबकी थाहा थियो, झण्डा फेर्छु भन्ने सपना देख्नु बेक्कार थियो । खैर जेहोस् झण्डा आखिर झण्डा नै बन्यो तर अब यस झण्डा को व्याख्या मा कति ले दावी गर्नेहुन् आफ्नो अनुकुल बनाउन ।

उहिले आफ्नो वंश जनाउन राजाहरुले चन्द्र र सूर्य अंकित गरे भनेर एकथरी ले व्याख्या गरेकाछन् ।  जो धर्म को नाममा राजनिति गर्न चाहन्थे, उनिहरुको व्याख्या थियो, चन्द्रमा र सूर्यले हिन्दुहरु को देवता जनाउँछ, अत: अरुका लागि यो स्विकार्य हुन सक्दैन । त्यसो त, झण्डामा चन्द्रमा माथि र सू्र्य तल हुनुलाई पनि केही ले अशुभ भनेर आफ्नो अनुकल व्याख्या गरिदिएका थिए, उनीहरु को तर्क थियो, यस्तो वैज्ञानिक युग मा पनि, सूर्य तल र चन्द्रमा माथी हुन्छ भन्ने अन्धविश्वास व्याप्त भएकोले, देश विकास हुन नसकेको हो, अत: झण्डा फेरिनु पर्छ । काम्रेडहरु  ले त, झण्डामा तारा नभई चन्द्रमा र सूर्य भएकोले देश अग्रगति तिर नगएको भन्दै, झण्डा फेर्नुपर्ने कुरा जोडतोड ले नै उठाएका थिए ।

फेरि हामी नेपाली पनि राष्ट्रियता को सवालमा साह्रै ‘सेन्टि’ भइदिने । आफ्नो ठाउँमा गर्नुपर्ने र गर्न नसकिने काम पनि नगर्ने तर अरुले केही भनिदियो भने साह्रै चित्त दुखाइदिने । नेपाली राष्ट्रिय झण्डा का सवाल मा पनि विभिन्न समयमा धेरै नेपालीहरु ‘सेन्टि’ भइदिए । कहिले विदेशमा नेताहरु ले, झण्डा मा मदिरा राखेर खाए भनेर नेपालीहरु ‘सेन्टि’ भए भने कहिले अरु कारण ले ‘सेन्टी’ भइदिए । तर ‘सिएनएन हिरो २०१०’ अवार्ड जित्दा अनुराधा कोइराला ले झण्डा प्रति देखाएको माया ले सबैलाई छोएपनि, निकै कम ले मात्र त्यस कार्य को खुलेर प्रशंसा गरे । प्रशंसा गर्न पनि कन्जुस्याइ गरियो, अझ कतिले त अनुराधालाई शाही काल की मन्त्री को रुपमा देखे । कसैले देशका चेलीबेटी अझै बेचिन्छन् भन्ने कुरा यो अवार्ड ले पुष्टी भएको भन्दै, यस घटनामाथि कुतर्क गरिरहे । बेला न कुबेला र कुठाउँ गरिने कुतर्क का कारण, अन्तराष्ट्रिय वृत मा झण्डा को चर्चा चल्दा र चलाइँदा पनि झण्डा, झण्डा हुन सकेन । तर हामी नेपाली ले फेरि झण्डा कै निहुँ मा ‘सेन्टि’ हुने काम भने गर्न छोडेनौँ । हामी मा एउटा संस्कार व्याप्त छ, त्यो के भने, “हामी खोट चाँहि जहिँतहीँ देख्छौँ तर प्रशंसा गर्नुपर्ने ठाउँमा भने सँधै बुझ पचाइदिन्छौँ या भनौँ सँधै चुक्छौँ” ।

खैर, विगत मा के भयो भन्ने चर्चा एकठाउँमा होला तर अब झण्डा को व्याख्या कसरी गरिनुपर्छ भनेर सोच्ने बेला आएको छ । पहिले कै व्याख्यालाई थोरै काँटछाँट गरेर, पुरानै व्याख्यालाई यथावत राख्न सकिन्छ भन्ने हाम्रो विचार छ । चन्द्र र सूर्यवंशी को कुरा निकालेर अरु व्याख्या यथावत राख्न सकिन्छ । झण्डा मा प्रयुक्त रातो, निलो र सेतो रङ्गलाई पहिले जसरी क्रान्ति, शान्ती आदि भनेर व्याख्या गरिएको छ, त्यही कुरालाई नै यथावत राख्न सकिन्छ भने चन्द्र र सूर्य ले,  चन्द्र सूर्य रहेसम्म देश रहन्छ, भन्ने  पूर्ववत व्याख्या नै राख्न सकिन्छ । संविधान बनाउनुपर्ने बेला, अब फेरि झण्डा को व्याख्या कसरी गर्ने भनेर झगडा गरेर, अल्मलिएर बस्नु उपयुक्त हुँदैन । लौ, गणतन्त्र मा राजतन्त्र को अवशेष को कुरै नगर्ने हो भने, चन्द्र र सूर्य वंश को कुरा हटाइदियो, कुरै खत्तम, हैन र ?

हामीलाई लाग्दैन, हाम्रो झण्डा मा कुनै जातिविशेष र धर्मविशेष या कुनै वंशलाई समेटिएको छ । झण्डा सबैको साझा हो तर यसो भन्दैमा, झण्डा मा सबैकुरा देखाउनुपर्छ भन्ने छैन र देखाउन पनि सकिँदैन । झण्डा त जात, धर्म, भाषा भन्दा धेरै माथि छ, हामी ले आफ्नो मुलुक को भलाइ चाहने हो भने, झण्डालाई जाती, भाषा, धर्म सँग जोडर व्याख्या गर्न छाड्नुपर्छ । झण्डा नेपाल र नेपाली को साझा हो र गौरव को विषय हो  भन्ने कुरा आत्मसात नगरेसम्म केही हुनेवाला छैन, नेपालीहरु विनाकाम मा ‘सेन्टि’ हुनुले कुनै अर्थ राख्दैन । अत: झण्डा को व्याख्या मा धेरै समय नअल्मलिउँ, जसरी व्याख्या गरेपनि आखिर झण्डा, झण्डा नै हो र नेपाली को एकता को प्रतिक हो ।

3 comments :

  1. जस्ले जे भने पनि नेपालको झन्डा ऐले जे छ तेही हुनु पर्छ भन्ने मलाई लाई रा छ । सबै पार्टी ले ऐले को झन्डा अथाबत राखने निर्नय गरेको मा मेरो पनि समर्थन छ । मलाई लग्छ ९५% जनतले एस्मा समर्थन गर्छन भन्ने भए हुन्छ । यो झहन्डा कसैको बाउले दिएको पेवा होईन । मन नलाग्दा फेर्ने र मन लाग्दा राखेन ।

    धन्यवाद सबै नेता हरुलाई
    बधाई सबै नेपाली हरुलाई

    ReplyDelete
  2. Sapkota_surendra2009August 1, 2012 at 11:45 AM

    के गरुन त हाम्रा देश का नेता हरू लाई झगडा र कुर्ची बांड्दै ठीक्क छ।
    ६०१ सवासत् लाई देश भर्मड गर्दै ठीक्क छ।
    अब अरु रका बाँकी २ ४ जाना लाई पनि कुर्ची चाईएको होला अनि अनेक बाहाना बनाऊछ्न,।
    कहिले झण्डा कहिले के कहिले के,।
    खै के खै के ,

    ReplyDelete
  3. nepali neta ko kam bhaneko parbirtan garnu ho. j hos paribartan dhekiyos, aru kura matlab chhaina. jhanda ko jhagada pani tehi ho.

    sathai euta farak prasanga: चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा पाल्नूहोला.

    ReplyDelete