मन

‘मन, किन रुन्छ यो मन’ भन्ने गित एकपटक प्राय: सबैले रुचाए । सायद सबैको कथा यो गित ले भनिदिएको थियो होला । कहिलेकाँहि सोच्छु, यो ‘मन’ भन्ने चिज किन बन्यो होला । हाँसिरहेको मन एकैछिनमा रोइदिन्छ अनि अघिसम्म रोइरहेको मन एकैछिनमा हाँस्न थाल्छ । मन किन यति सारो सन्कन्छ ?

मन प्राय: वशमा हुँदैन, संसारमा प्रकाश को गति सबैभन्दा धेरै छ तर त्यसभन्दा करोडौँ गुना मन को गति छ, एकछिन अघिसम्म पछारिएको मन, एकैछिनमा चन्द्रमा चुमेर अघि बढ्छ । सबैले महशुस गरेको हुनुपर्छ, मन दुईवटा हुन्छन्, एउटा राम्रो सोच्ने अनि अर्को नराम्रो सोच्ने । अनि यी दुई मनहरु बिच घमासान पर्दा, हामीहरु को मगज नै खल्बल्याइदिन्छ । प्राय: यी दुई को झगडामा नकरात्मक पक्ष ले सकरात्मक पक्षलाई चेप्ट्याइदिन्छ ।

हो पनि, कहिलेकाँहि एउटै कुरालाई हेर्दा पनि म दुईवटा अर्थ लगाउँछु, एउटा राम्रो अर्को नराम्रो । तर परिस्थिति यस्तो बनिदिन्छ की, नराम्रो भन्ने थाहा हुँदाहुँदै पनि नराम्रो पक्ष को जित हुन्छ, अनि त्यसले निम्त्याउँछ कलह । आज महशुस हुँदैछ, मेरो मन को खैलाबैला का कारण, “लहरो तान्दा पहरो गर्जिएसरी”, कलह निम्त्याएकोछ । मन देखि मन सम्म को दूरी बढेको छ ।

मन भनेको गज्जब को चिज रहेछ । अनि प्राय: एकान्तमा धेरै सक्रिय हुँदोरहेछ । एकान्तमा, फूर्सद हुँदा, मनमा अनगिन्ति कुराहरु खेल्न थाल्छन्, घमासान लडाइ पर्छ अन्त्यमा मुखबाट फुत्कन्छ अनि सबै स्वाहा । म सोच्छु, त्यसबेला मन ले किन राम्रो सोच्न सक्दैन । अनि लाग्छ, यो मन नै नभइदिने हो भने कति गज्जब हुन्थ्यो होला ।

यो मन कहिले चंगा जसरी उडिदिन्छ त कहिले नौनी सरी पग्लिदिन्छ, अनि कहिलेकाँहि चट्टान भन्दा पनि साह्रो बनिदिन्छ । आखिर किन यो हुन्छ ? मन किन कहिले यति कठोर अनि कहिले त्यती नरम बनिदिन्छ ? ब्याख्या आ-आफ्नै हुनसक्छन्, तर यो मन किन यस्तो हुन्छ ?

म आफैँ छक्क पर्छु, एउटा पाटो सोच्दा झनक्क रिस उठ्छ, अनि अर्को पाटो सोच्दा आफैँ ग्लानि ले पानी पानी हुन्छु । कहिलेकाँहि सबै कुरा एकदम बेक्कार लाग्छ, बेक्कार को दु:ख यही मन कै कारण, हुनु केही छैन, भएको केही छैन तर यही मन को घमन्ड अनि मन को तर्कनाले बेक्कारमा धेरै दु:ख दिन्छ । तर फेरी कहिलेकाँहि यो पुरै संसार नै मन भित्र अटाइदिन्छ । मन को कुरा अभिव्यक्त गर्ने तरिका गलत हुँदा पनि, कहिलेकाँहि पछुतो लाग्ने रहेछ । हुन त महशुस नगरिकन केही पनि गर्न सकिँदैन तर नकरात्मक लागेका कुराहरु भित्र पनि डुबुल्की मारेर हेर्ने हो भने, सकरात्मक कुरा देखिन्छन् । तर यी सबै कुरा को लागि पनि मन नै चाहिने ।

यही मनका कारण जिन्दगी मा ठूलो पाठ सिकिएको छ, अब मनलाई आफ्नो वशमा पार्ने कोशिस गर्दैछु । आशा छ, यो सिकेको पाठ आगामी दिन मा कामलाग्ने छ । धन्यवाद उनको मनलाई । तर पनि अन्त्यमा यशकुमार को गित मा सहि थप्दै भन्छु, ‘तिम्रो मन बदलिएछ…” । उनको मन पनि उही सपना श्री कै स्वरमा सही थाप्दै भन्दै होला, ‘तिम्रै मन बदलिएछ…” । कुनै मन ले आफ्ना गल्तिहरु स्विकार गरि, अब ती गल्ति कहिले दोहोर्याउँदैन भनेर कसम खान्छ भने, अन्तिम माफी भनेर त्यसको मनलाई माफी पो दिने हो की जस्तो पनि लाग्छ ?

हुन त जब मन ले घमण्ड गर्छ, जब मन ले म र मेरो स्वतन्त्रता भनेर घमण्ड गर्छ भने, त्यो मनलाई सम्झाउन बुझाउन सकिँदैन किनकी घमण्ड को उपचार छैन रे ! जिवनमा माफी दिन सक्दैन र जान्दैन भने, त्यस्तो मन को पनि केही काम छैन । त्यो मन सँग केबल घमण्ड हुन्छ र सँधै टेढो सोचिरहन्छ । मेरो मन वरिपरि धेरै मनहरु झुम्मिएका छन् भनेर कुनै मन ले दिउँसै सपना देख्छ अनि, नजिक का आफ्ना भनिएका मनहरु लाई कुनै वास्ता गर्दैन भने, त्यो मनलाई, त्यो मन भएकाहरुलाई ‘भिरबाट लड्ने गोरुलाई राम, राम भन्न सकिन्छ, काँधै हाल्न त सकिँदैन’ भन्नु सिवाय म सँग कुनै विकल्प छैन ।

आज सकरात्मक सोचिरहेको मन ले , एक्कासी नकरात्मक सोचिदिन्छ । म यही कुरा सोचिरहेको छु, यो मन भन्ने चिज के ले बनेको हुन्छ ? अनि मन किन यस्तो हुन्छ ? किन आफू माथि सहानुभुति राखीयोस् भन्ने सोच्छ मन, आखिर उनीहरु, तिनीहरु, तिमीहरु, तपाईहरु, हजुरहरु को नै हो र ? जय होस्, ‘मन’ को !

6 comments :

  1. हो है ? यो मन भन्ने अचम्मको जिनिस नभै'दिया भे कस्तो हुँदो हो मान्छेको जुनी !
    तर धन्यवाद त्यो मनलाई, जसको बदलिनुले यति सरल र सरस लेख जन्मियो ।

    ReplyDelete
  2. जे गर्छ यो मनले नै गर्छ-तर, यसले आफुलाई वशमा पार्नुअघि यसलाई आफ्नो वशमा राख्ने कला सिके धेरै राम्रो! :)

    ReplyDelete
  3. मन लाइ बसमा राख्ने कला सिक्नु मात्र को कुनै अर्थ छैन त्यसलाई प्रयोगमा ल्याउनु ब्यबहारमा ल्याउनु ठुलो कुरा हो, सिक्न सजिलो छ तर ब्यबहारमा ल्याउन नै कठिन छ | हामी मध्ये धेरैलाई थाहा छ मनलाई बसमा राख्न के गर्नु पर्छ भनेर तर ब्यबहारमा हामी कति जनाले उतारेका छौ त ?

    ReplyDelete
  4. बश मा छैन मेरो मन.....;)

    ReplyDelete
  5. hummmm. Yo lekh rahechha,

    Tan bhitra ko mann
    jati bujhna khojyo
    uti gahirincha jhan-jhan......

    Here I recalled the song, "Yo bujhani nasakine maanish ko jivan, jivan bhanda gahiro meri premika ko mann..............."

    :-)

    J

    ReplyDelete
  6. मन लाइ बसमा राख्ने कला सिक्नु मात्र को कुनै अर्थ छैन त्यसलाई प्रयोगमा ल्याउनु ब्यबहारमा ल्याउनु ठुलो कुरा हो, सिक्न सजिलो छ तर ब्यबहारमा ल्याउन नै कठिन छ | हामी मध्ये धेरैलाई थाहा छ मनलाई बसमा राख्न के गर्नु पर्छ भनेर तर ब्यबहारमा हामी कति जनाले उतारेका छौ त ?

    ReplyDelete