Skip to main content

हाम्रो पात्रो नयाँ डिजाइनमा

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा!

नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रोको नयाँ संस्करण गुगल प्लेस्टोरमा आजबाट उपलब्ध भएको छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल'ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले'को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् ।

डिजाइन

मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो'को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्याभिगेसन बारमा, समाचार, पात्रो, हाम्रो रेडियो, लोडसेडिङ, राशिफल आदि विविध कुराहरु राखिएको, जुन सजिलै एक क्लिक गरेर हेर्न सकिन्छ । यो एप् नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ, यसका लागि सेटिङस्‌मा गएर आफ्नो भाषा छान्नुपर्छ ।


ईन्फरमेसन कार्ड

एउटा पात्रोबाट सुरु भएको हाम्रो पात्रोमा, यहाँसम्म आइपुग्दा धेरै कुराहरु थपिएकाछन् । रेडियो, समाचार, बजार, मौसम, लोडसेडिङ आदि गरेर १५ भन्दा धेरै फिचर रहेको हाम्रो पात्रोमा, यो संस्करण देखि प्रयोगकर्ताको रुचि अनुसार देखिने ईन्फरमेसन कार्डहरु थपिएकाछन् । हाम्रो पात्रो टिमका अनुसार, प्रयोगकर्ताको मिती, समय, लोकेशन आदि हेरेर, त्यही अनुसारको कार्ड एप्‌को होमपेजमा देखाइन्छ । उदाहरणका लागि, बिहानको समयमा धेरैले राशिफल हेर्ने भएका कारण, राशिफलको कार्ड, बिहानको समयमा होमपेजमा माथि देखिन्छ भने बेलुकी समचार तथा रेडियो कार्ड माथि देखिन्छन् । हाम्रो पात्रो टिमका अनुसार, प्रयोगकर्ताको रुची, प्रयोग गर्ने शैलीको तथ्यांक हरेर ईन्फरमेसन कार्डमा समयानुकुल सुधारहरु गर्दै लगिनेछ । १५ वटा भन्दा धेरै फिचर भएको हाम्रो पात्रोमा, अहिले १० वटा ईन्फरमेसन कार्डहरु उपलब्ध छन् ।


दिवस / चाडपर्व बारे विस्तृत जानकारी

हाम्रो पात्रोमा, नयाँ थपिएको दिवस / चाडपर्वको विस्तृत जानकारी दिने फिचर मलाई मन परेको फिचर मध्येमा एक हो । कुन चाड/दिवस, कहिले, किन, कसरी मनाइन्छ भनेर हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ । आज यो चाड भन्यो, त्यो दिवस भन्यो, तर त्यो भन्दा धेरै जानकारी हामीसँग हुँदैन । यसअघिको हाम्रो पात्रोमा पनि, कुन दिन के चाड/दिवस छ भन्ने चाँहि देखिन्थ्यो तर त्यसबारे अरु केही कुरा थाहा पाउन सकिन्नथियो । अहिलेको संस्करणले हामीलाई फलानो दिन यो चाड हो भनेर मात्रै भन्दैन, त्यस चाडबारे'को सम्पूर्ण जानकारी पनि दिन्छ । जस्तो २ दिन पछि आउन लागेको कुशे औँशी / बुबाको मुख हेर्ने दिन, बारे जानकारी लिन, उक्त मितिमा क्लिक गरेपछि, कुशे औँशी के हो, कसरी मनाइन्छ भन्ने कुरा विस्तृतमा पढ्न पाइन्छ । विभिन्न चाडपर्व, महत्वपूर्ण तिथि/मिति, दिवस बारे विस्तृत जानकारी हासिल गर्न मिल्ने, यो हाम्रो पात्रो'को गज्जबको फिचर हो। दिवस/चाडपर्वको पूर्ण जानकारी दिनको लागि हाम्रो पात्रो टिमले गरेको प्रयास प्रशंसायोग्य छ ।


मौसम

एप्‌को यो नयाँ संस्करणमा, मौसम पनि थपिएको छ । हाम्रो पात्रो टिमका अनुसार, हाम्रो पात्रोमा ७ दिनको मौसम तथा १५ हजार भन्दा धेरै सहरहरु समेटिएकोछ । नेपाली भाषामा पनि सजिलो सँग हेर्न सकियोस् भनेर, करिब ५ हजार सहरहरुको नाम तथा मौसम सम्बन्धि गतिबिधि नेपालीमा उल्था गरिएकोछ । मौसम सँगै साहित्य/ब्लग सेक्सन पनि थपिएको छ, जहाँ हाम्रो पात्रो टिमले आफ्ना कुराहरु प्रकाशित गर्ने छ  । हालको लागि उक्त सेक्सनमा, महत्वपूर्ण टेलिफोन नम्बरहरु, चाडपर्वहरु, शुभ साइत आदि कुराहरु राखिएकोछ ।

५ गुना कम डाटा

हाम्रो पात्रो टिमले, हाम्रो पात्रो एप्‌को नयाँ संस्करणले ५ गुना डाटा बचाउने दावी गरेकोछ । पहिलेको तुलनामा यो संस्करणको एप्‌मा फोटोहरु छिटो लोड हुनेछन्, पहिलेको संस्करणमा सर्भरबाट एकै किसिमको (एउटै साइज/रेजलुसन) फोटो सबैको डिभाइसमा देखिन्थ्यो भने यस संस्करणमा, मोबाइल डिभाइसको स्क्रिन रेजलुसन अनुसार फरक फरक साइज/रेजलुसनका फोटोहरु देखिन्छन् । यसले इन्टरनेट डाटा बचाउने मात्र होइन, सिडिएन प्रयोग गरिएका कारण एप्‌मा फोटोहरु पनि छिटो लोड हुन्छ ।

समाचार

हाम्रो पात्रोमा पहिले देखि नै विभिन्न वेबसाइटमा प्रकाशित समाचारहरु पढ्न पाइन्थ्यो । त्यही कुरालाई नै परिस्कृत गरेर, यस संस्करणको, समाचार खण्डमा ताजा समाचार र पत्र-पत्रिका भनेर दुईवटा खण्ड बनाइएकोछ । हाम्रो पात्रोको यो संस्करणमा, अन्य वेबसाइट सँगै "आकार पोष्ट" पनि समेटिएको छ, अब "आकार पोष्ट" ब्लग, हाम्रो पात्रो भित्रै, पत्र-पत्रिका खन्डमा पढ्न सकिन्छ । ईन्टरनेटबाट एक पटक डाउनलोड भएका सामाग्रीहरु, ईन्टरनेट नभएको बेलामा पनि पढ्न सकिन्छ । अर्को राम्रो कुरा चाँहि, समाचारहरु अब विजेट्मा‌ पनि राख्न सकिने भएकोछ ।


हाम्रो पात्रोमा पहिले देखि भएका ई-कार्ड, नेपाली डिस्कनरी, मिति परिवर्तन, लोडसेडिङ आदि विविध फिचरहरु यथावत राखिएका छन् । भाषा, नोटिफिकेसन, जन्मदिन आदिको लागि सेटिङ्स‌मा गएर आफ्नो अनुकुल सेटिङ्स गर्न सकिन्छ । यसका साथै, एप्‌मा भएका विविध कुराहरु सजिलै फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ।

हाम्रो पात्रोको नयाँ संस्करणको लागि, हाम्रो पात्रो टिमलाई बधाई छ । हाम्रो पात्रोको नयाँ संस्करण आजबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । के तपाईले एप् अपडेट गर्नु भयो?

हाम्रो पात्रो एप् डाउनलोड गर्नुस् |
(आकारपोष्ट गुगल प्लेस्टोरमा उपलब्ध छ)

Comments

Subscribe to Aakar Post