Skip to main content

टाढा टाढा जानुछ साथी, एकफेर हाँसिदेउ…

बिहान सबेरै उठियो, नुवाइ धुवाइ गर्नुपर्यो भन्ने प्लान बनाएको थिँए, धाराबाट साह्रै मसिनो ‘तिरतिरे’ पानी आइरहेकोथ्यो । पानी प्राय सँधै त्यस्तै आइरहन्थ्यो, त्यो दिन चाँहि साह्रै झर्कैलाग्ने पानी आएको थियो । मोटर जोड्नुको विकल्प थिएन तर हाम्रो टोलमा धारामा मोटर कसैले पनि नजोड्ने सहमती गरिएकोथियो, तर पनि सबैजना मोटरनै जोड्थे त्यही कारण आफूले नि सहमती “बाल” हो, भनेर कोठा भित्रै मोटर राखेँ, अनि पाइप धारामा लगेर जोडेँ, यसो गरेपछि मोटरको आवाज बाहिर आएन ।

“नोभेम्बर रेन” को निहुँमा अघिल्लो दिन साँझ केही पेग “खुकुरी रम”, सुकुटिको साथमा रित्याइएकोथियो । सहरमा मापसेको बिगबिगीछ, राती त खानै नहुने । हामी पनि कहाँ कम थियौँ र पुलिस नबस्ने एउटा गोप्य बाटो फेलापारेका थियौँ । अलि झ्याप भा’को दिन त्यही गोप्य बाटो हुँदै हुँइकिन्थ्यौँ । त्यो साँझ पनि त्यही गोप्य बाटो रोजियो, कसैले रोकेन, चेक गरेन, बाइक हल्का अनकन्ट्रोल भएपनि हामी कन्ट्रोलमा छौँ जस्तो आफूलाई लागिरहेथ्यो । पुलिसलाई आजपनि छक्याउन सकेकोमा दंग थियौँ ।

monkey-naughtyसाथिको जन्मदिनको लागि गिफ्ट लिनुपर्यो भन्ने सोच आयो । नजिकै गिफ्टस्टोर छ, पाँच मिनेटको दुरीमा ।  गिफ्ट मनपर्यो तर कुरा गएर दाममा अड्कियो । “प्राइस मिलेन”, उ भन्थ्यो फिक्स प्राइस हो दाइ, यो भन्दा कम गर्न मिल्दैन । उसले फिक्स प्राइस भनेर अड्डी कसेपछि, आफूले केही गर्न सक्ने स्थिति थिएन । बिलिङ गर्ने बेलामा फेरि मलाई सनक चढ्यो, अघि फिक्स गरेको मूल्यमा फेरि थप पैसो लेखेछ बिलमा भ्याट भन्दै । न यो गिफ्टको मलाई कसैले पैसो दिने, न कहिँ बिल पेस गरेर पैसो आउने, ह्या दाइ यति सानो कुरामा नि के भ्याट जोडिरा, मेरो किचकिच सुरु भो ! सँधै आइरहनेलाई के यो जोडिरा, यति सानो सामनाको नि। यो कर सर, नजोड्नु बरु मलाई बिल पनि बनाउनु पर्दैन भनेर मैले अलिबार किचकिच जारी राख्दै, सामान नै नलिइजान्छु जसरी घुर्की देखाएपछि, उसले भ्याट नजोडी पहिलेकै मुल्यमा उक्त गिफ्ट मलाई दियो । आफू पैसो जोगिएको दंग परेँ, मनमा आइरहेथ्यो, “यति जाबो सानो कुरामा नि भ्याट जोड्छन् सालाहरु” ।

नयाँ बानेश्वर पुग्नु थियो, अघिल्लो दिन पो साथिको बाइक थियो र मापसेलाई पनि छलिएकोथियो । आज त नेपाल यातायात चढ्नुको विकल्प थिएन । चढ्ने बित्तिकै सिट पाइयो, जुन नेपाल यातायातमा चढ्दा एउटा ठूलो उपलब्धी सरह हो । भाडा तिर्ने बेलामा आफ्नो म्याद गुज्रीसकेको विद्यार्थी आइडि कार्ड अघि सारेँ, अरुले सितिमीति थाहा पाउँदैन थिए, तर नेपाल यातायातका कन्डकटरले बोले, तपाईको कार्ड त एक्सपायर भइसकेछ दाइ । हिजो सम्म यही कार्डले काम गर्ने तर आज यो कन्डकटर धेरै बाठो बनेको देख्दा झोक चल्यो । आफूसँग नभएको रुखोपन देखाउँदै मैले आफ्नो कार्ड एक्सपायर नभएको दावी गरेँ । अंग्रेजी डेट लेख्या भएर तिमी झुक्किएछौ भाइ, अंग्रेजीमा डेट यसरी लेखिन्छ भनेर मैले नभएको नियम बताएँ । 12/12/011 लेखिएको कार्डमा मैले अड्डि कसेँ, त्यो “जिरो” प्रिन्ट मिस्टेक हो भाइ, यो अंग्रेजी डेट हो, २०१२ डिसेम्बर ११ तारिख सम्म यो कार्ड चल्छ । हिजो भर्खर कलेजबाटै आएको हो भाइ, भर्नाको रसिद हेर्छौँ? हाम्रो परिक्षा नै आउन बाँकी छ, तिमी कार्ड एक्सपायर भो भन्छौ, हुने कुरा पो गर्नु त । ४ रुपैँयाको लागि हाम्रो किचकिच १० मिनेटसम्म चल्यो, आखिरमा उसले आफ्नो हार स्विकार गर्यो, म दंग परेँ । कलेज नजाने अरुले नक्कली कार्ड बनाउँदै, यात्रा गर्छन् भन्ने सुन्या थिँए, आफ्नो कार्ड त सक्कली नै हो, हल्का मिती आफ्नै अनुकुल भनेको मात्र न हुँ । कलेज छाडेको वर्षदिन पछि पनि बसमा भयंकर छुट लिएर हिँड्ने गरिएकोमा आफैँ दंग छु, प्राय साथीहरुलाई भन्ने गर्छु, “तिनीहरुलाई कार्ड हेर्नै आउँदैन, यसो हेर्या जस्तो गरेर फिर्ता दिन्छन्” ।

साथी बाइक लिएर कृष्णा टावर अघि बसिरहेकोथियो । मलाई लोडसेडिङको समयमा इन्टरनेट चलाउन एउटा कम्पनीको डेटाकार्ड लिनुथियो । मैले उसलाई कुन इन्टरनेट सर्भिस लिँदा ठिक हुन्छ भनेर सोध्दा, उसले आधा दर्जन कम्पनीको नाम लिएकोथियो ! त्यसै सल्लाह अनुसार कृष्णा टावर पुगिएकोथियो । तर उसले यो पनि भनिदिएको थियो कि, यही मात्र चलाउने हो भने, अलि महंगो छ अनि रिङरोड बाहिर थ्रिजी खासै राम्रो चल्दैन । हैन त्यसमा कुनै समस्या छैन भनेर मैले यही सर्भिस रोजेको थिँए । तर सर्भिस लिएको भोलिपल्ट देखि नै मैले गाली गर्न सुरुगर्नुपर्यो । रिङरोड नजिकै बस्ने भएर मलाई थ्रिजी चलिहाल्छ नि जस्तो लागेको थियो तर विडम्बना मेरो कोठा रेन्जबाट हल्का टाढा परेछ, सायद मेरो कोठा अलि खाल्डोमा भएर पनि होला, न मोबाइलमा बोलेको राम्रो बुझिन्छ, न थ्रिजी नेटवर्ककै पकड छ । सबै कम्पनीहरु रिङरोड भित्र मात्र केन्द्रित भएका कारण साह्रै झोक पनि नचलेको होइन, मेरो यो झोकले गर्ने नै के थियो र? तर पनि सोसल नेटवर्कमा उनीहरुको सत्तोसराप गर्न छोडिँन ।

डेटाकार्ड लिएर साथीको बाइक पछाडी बसेर हुइँकियौँ । अगाडि नसोचेको जाममा फसियो । साथीले कहिले सडकपेटि त कहिले रङसाइडबाट कुदाएरै भएपनि जाम पार गराए । हामी उम्किन सकेकोमा वा भनौँ जाममा नफसिएकोमा मख्ख थियौँ । मैले साथीको बाइक कुदाउने, जाम छलाउने कुराको तारिफ गरेँ । पछि, कफिसपमा एकजना भन्दैथिए, बाइकहरु तथा साना गाडीहरुले त्यसरी हतार गर्ने कारण नै जामको समस्या बढेको हो रे । जथाभावी युटर्न गर्ने, रङसाइडबाट ओभरटेक गर्ने, अर्को ठाउँमा पुग्न साह्रै हतार गर्ने, बाइकरहरुलाई ती व्यक्ति कफीसपमा गाली गर्दैथिए । काठमाडौँमा बाटो भन्दा धेरै गाडी भएर यस्तो भएको हो भन्दिउँ जस्तो लागेको थियो, तर साथीले दशैँमा २ हप्ता अघि मात्रै बाइक निकालेको र आफू पनि बाइक लिने सुरमा रहेकोले ती बुढालाई केही भन्ने आँट भएन ।

काठमाडौँमा बाटो काट्न साह्रै समस्या, जेब्रा क्रस प्राय देखिँदैन । तर आफूलाई त त्यही भएको जेब्राक्रस पनि चाँहिदैन । जुन ठाउँमा चाहियो, त्यहीँ ठाउँबाट बाटो काटिन्छ, विन्दास तरिकाले । काठमाडौँमलमा कफी खाएपछि साथी आफ्नो बाटो लाग्यो, आफू आफ्नो बाटो लागियो । आफूलाई गाडी चढ्न रत्नपार्क पुग्नुपर्छ, यो ‘ओभरहेड ब्रिज’ मा चढ्दा झर्दा नै ५-१० मिनेट बढिलाग्छ । ओभरहेड ब्रिजमा फेरि पसल राख्नेहरुले पनि दिग्दार लगाउँछन् । यसो हेरेँ, आज ओभरहेड ब्रिज तल ट्राफिकको जेल रैनछ । ट्राफिकलाई पनि के सुर चढ्छ कहिलेकाँहि, पुल तल बसेर अनेक काम गर्छन् भन्दै, ओभर हेड ब्रिजको छेउबाटै बाटो काटियो । बाटो काटेर महांकाल मन्दिर मात्र के पुगिएकोथियो, भैँसेपाटि चल्ने गाडी आइपुगेछ, तर हात दिँदा पनि गाडि रोकेन, अगाडि आउ भन्ने इशारा गर्यो । मनमनै लास्टै रिस उठ्यो, पाँच सेकेन्ड गाली स्लो गरिदिएकोभए त्यसको के बिग्रिन्थ्यो, तर गाडी भेट्न रत्नपार्क नै पुग्नुपर्यो । भैँसेपाटिको गाडी सलाईका डिब्बा जस्ता लाग्छन्, बस क्षणभरमै भरियो । सिट भरिँदा पनि मान्छेहरु भित्र कोचिएर उभिनको लागि तछाडमछाड गरिरहेकाथिए । एकजना महिला सानो बच्चा बोकेर बसमा छिरिन्, बच्चा बोकेर बसमा कोचिन गाह्रो हुने कारण, अन्तिम सिटमा झ्यालछेउमा बसेको म कराएँ, खै त्यो दिदीलाई बस्ने सिट दिएहुने नि । एकजना ६०-६५ का देखिने बुढाबाले लौ नानी बस भन्दै सिट छोडिदिए ।

रत्नपार्कबाट बस गुड्यो, एकैपटक थापाथलीमा गएर रोकियो, झर्ने कोही थिएनन् सबै चढ्ने मात्र थिए । बस फेरि कुपन्डोलमा गएर रोकिए, केही मान्छे फेरि बसमा चढे । अघि थापाथलीमा चढ्ने सज्जन कराए, हैन यो बस हो कि, भेडाबाख्राको खोर हो, कति चढाको मान्छे, यहाँ उभिने ठाउँसम्म पनि छैन, फेरि हरेक ठाउँमा के रोक्या हो । ती सज्जनका कुराले मेरो पारो झनक्क तात्यो तर त्यतिकैमा एउटा महिला स्वर सुनियो, के गर्नु त सबैलाई जानै परेकोछ । ती सज्जनले फेरि भने, यस्तो बस प्याक देख्दा देख्दै किन चढ्नु त । त्यसको जवाफ कसैले दिएको सुनिएन तर मलाई भने रिस उठ्दै उठ्दै आइरहेथ्यो । खलासी भाइ चिच्याए, पछाडी सर्नुस त पछाडी । ती थापाथलीमा चढेका सज्जन पछाडी भन्ने शब्द सुन्नसाथ के को पछाडी नि भन्दै थिए, खलासीले भने धेरै किचकिच नगर्नुस्, पछाडि नसर्ने भए यहिँ झर्नुस् । बाँकी यात्रु कराए, ह्या दाइ अलि पछाडी सर्नुस्, तपाईलाई मात्र पुगेर हुन्छ, अरुलाई चाँहि जानुपर्दैन । ती सज्जन लुरक्क परेर पछाडी सरे अनि त्यही पनि के के फत्फताउँदैथिए ।

आज लोडसेडिङ नहुने दिन परेछ । कोठामा पुग्दा लाइन आइरहेको थियो, एडिएसएल इन्टरनेट मन्द गतिमा चल्दै थियो । ट्विटर खोलेँ अनि करछल्ने संस्था, जथाभावि मापसे चेक गर्ने ट्राफिक, विद्यार्थि सहुलियत नदिने गाडी, रिङरोड बाहिर नचल्ने डेटाकार्ड दिने कम्पनी, जथाभावि गाडी रोक्ने ड्राइभर, जथाभावि बाटो काट्ने बटुवा अनि सडकपेटिबाट बाइक हुँइक्याउने बाइकरहरुलाई ‘क्लिष्ट’ शब्दहरु प्रयोग गर्दै ट्विट बर्साएँ । कमाल भो, सबै ट्विट १५ पटक भन्दा बढि पटक रिट्विट भो, कतिले ‘फेव’ गरे । लाग्यो, आज गतिलो ट्विट गरेछु । अनि झन् खोजी खोजी त्यसपछि केही समय अघि भेटिएको पत्रकार, डाक्टर, मिडियाहाउस, कलाकार, चलचित्रकर्मी, नेता, अभिनेता आदि इत्यादि अनि यो दशैँ-तिहार आदि चाडको पनि उछित्तो काट्दै ट्विट गरेँ ।  कार्यालय समयमा ट्विटर, फेसबुक र ब्लग चलाउने कर्मचारीको पनि ‘हुर्मत’ लिन बाँकी राखिँन । कार्यालयमा फेसबुक चलाउने त म देखि सहन्न भन्दा पनि हुन्छ । म आफैँलाई आफू मल्टिट्यालेन्टेड रै’छु जस्तो आभाष भयो, जुनकुरामा पनि बहस गर्न सक्ने क्षमता विलक्षण लाग्यो आफैँलाई । जुनसुकै विषयमा बहस गर्दा पनि हुने, हल्का ‘क्लिष्ट’ शब्द प्रयोग गरेर गाली गरेपछि, त्यसै हिट भइने । रिट्विट र मेन्सनको त बाढी नै आउने, त्यो साँझ त्यसै गरियो, त्यही सुरमा खाना पकाउन पनि अल्छि लाग्यो । ट्विटरमा यस्तो तातो बहस छोडेर को किचेनमा छिरोस् । त्यो साँझ त्यही ट्विटरमा ट्विट गर्दै, आएको मेन्सन, रिट्विट र फेव गन्दैमा बित्यो । शनिबार र आइतबार दुइदिनको बिदा पनि सकियो ! तिहार अघि अझै अफिस जानुपर्नेथियो ।

आज बिहान उठ्दा आठ बजिसकेकोथियो । हतार हतार मुख धोएर अफिस लागियो । हाजिर गरियो, २ कप चिया रित्याइयो । ट्विटर खोलियो, कार्यालय समयमा फेसबुक चलाएर सेवाग्राहीलाई मार्का पार्दिने, काम नगर्ने सरकारी कर्मचारीलाई कारवाही गरिएको विषयमा गरमा गरम बहस भइरहेको रहेछ । त्यही त काम गर्नुपर्यो नि, कर्मचारी जति फेसबुकमा झून्डिन्छन् अनि के हुन्थ्यो भन्ने आशयको ट्विट गरियो । एउटै ट्विटले बहस नै सुरु भो!

फेसबुकमा यसो हेरेको अरुहरुका दशैँका फोटोहरु अझै सकिएकारैनछन् । फेसबुक च्याटमा एउटीले आएर अल्झाइदिइ, महिनौँपछि च्याटमा भेटिएकी कुरा गर्नैपर्यो । लञ्चआवर भर्खर सकियो, अब आज बेलुका कता जाने भनेर प्लान सोच्दैथिँए, अघिकै महिला मित्र च्याटमा आएर हिजोआज त ब्लग नि लेख्दैनौ, कता हरायौ भनेर मलाई च्यालेन्ज नै दिए झैँ गरि ! त्यो फेसबुककी किरोलाई म ट्विटरमा हराएको छु भन्ने के थाहा, उसलाई त्यही फेसबुक मात्रै थाहाछ, सँधै ताइ न तुइका फोटो राख्छे, फेरि सबैमा ट्याग गर्दिन्छे, अनि कसैले ट्याग गर्यो भने, “थ्यांक्स फर ट्याग” भन्दिन्छे । आज अचानक उसले ब्लगको कुरा निकालेपछि, उसले मेरो ब्लग पढ्ने गर्यारै’छ भनेजस्तो लाग्यो। अनि लौ,  अब एकछिन मलाई डिस्टर्ब नगर है भन्दै हेडफोनमा गुञ्जीरहेको गितलाई नै लिएर यो ब्लगको शीर्षक टाइप गरेँ, “टाढा टाढा जानुछ साथी, एकफेर हाँसीदेउ…” ! ब्लग के विषयमा लेखौँ, निर्क्यौल गर्न अलि सकिएन ! अब, कसैसँग केही आइडिया छन् कि? भन्ने ट्विट गरेर ट्विटेहरुलाई सोध्ने विचार गर्दैछु…

तस्विर: worthstar.com

Comments

  1. लेखन शैली मन पर्यो|

    ReplyDelete
  2. Read something after a long time. It was well worth it.

    ReplyDelete
  3. Different shades of the same write.....wonderfull :-)

    ReplyDelete
  4. मुलाई नि मनपर्यो लेखनशैली ....

    ReplyDelete
  5. आफैं नियम मिच्ने र पछि त्यसैको बारेमा उछितो काढ्ने हाम्रो बानी "साझा बानी" नै हो ।

    ReplyDelete
  6. क्या यथार्थ। गजबको लेखन सैली, मन पर्‌यो। धन्यबाद यति सुन्दर पोष्ट पढ्न पाएकोमा

    ReplyDelete
  7. धन्यवाद दाइ ।

    ReplyDelete
  8. धन्यवाद परेश जी ।

    ReplyDelete
  9. धन्यवाद उमेश जी ।

    ReplyDelete
  10. A beautiful piece of satire to the day to day life of today's kathmanduties... well written aakar ji.

    ReplyDelete
  11. so nic malai kasai kasai ko yad aayo

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post