ट्विटर प्रयोगकर्ताहरु सबैको आ-आफ्नै रुची हुन्छ, अनि त्यही रुची अनुसार ट्विटर चलाउँछन् । मलाई विशेषत प्रविधिमा रुची छ । #SocialMedia #SEO, #Technology, #Apps र #Nepal को बारेमा ट्विट गर्छु र प्राय: यही विषयका ट्विटहरु पच्छ्याउँछु । यसै विषयमा अन्तरक्रिया गर्ने र ट्विट गर्नेहरुलाई प्राय: पच्छ्याइरहेकोहुन्छु ।
हिजोआज ट्विटरमा धेरै सुनिने गुनासो भनेको, फलानाले फलोब्याक गरेन, फलानोले फलोब्याक गरेन अनफलो गर्छु, फलानाले भाउ खोज्यो त्यसलाई ब्लक हान्छु ! गुनासो सबैको आ-आफ्नै ठाउँमा छ, तर पनि बुझ्नुपर्ने कुरा के हो भने, ट्विटर चलाउनु भनेको फलो गर्नेलाई फलोब्याक गर्नैपर्छ भन्ने होइन । ट्विटर चलाउनेहरु आ-आफ्नै रुची अनुसार ट्विटर चलाउने हुँदा, रुचीका विषयमा ट्विट गर्नेहरुलाई प्राय: ले फलो गर्छन् । चिनेका साथीभाइ वा कुनै महत्वपुर्ण ब्रान्ड र व्यक्ति भएका हिसाबमा पनि फलो गर्लान् तर पनि प्राय: ले रुचिकै आधारमा फलो गर्छन् । फलो गर्ने, कहिले केही कुरा नगर्नेहरुलाई फलो गरेकै आधारमा निकै थोरैले मात्र फलोब्याक गर्छन् ।
तर हामी जानेर पनि नजानेर पनि ट्विटरमा पनि फलाना र चिलाना भन्दै बस्छौँ, आफ्नो बारेमा भने सोच्दैनौँ । आफूलाई प्रविधिमा रुची छ भने, प्रविधि सम्बन्धि ट्विट गर्ने एकाउन्टहरुलाई फलो गर्नुस्, उनीहरु सँग अन्तरक्रिया गर्नुस्, उनीहरुले अवश्य फलोब्याक गर्नेछन् । आफूलाई राजनितिमा रुची छ भने, राजनितिक ट्विट गर्नेलाई फलो गर्नुस्, उनीहरु सँग अन्तरक्रिया गर्नुस्, उनीहरुले फलोब्याक गर्नेछन् । हाँसी मजाक गर्नेहरुको बेग्लै जमात होला ! मेडिकल सम्बन्धि ट्विट गर्नेहरुको बेग्लै जमात होला ! फुटबलसम्बन्धि कुरा गर्ने साथिहरुको आफ्नै समूह होला अनि क्रिकेटसम्बन्धि कुरा गर्ने साथिहरुको आफ्नै समूह होला । आफू ट्विटर के-का लागि चलाउँदैछु भन्ने कुरामा पहिले आफू प्रस्ट हुनुस् ।
फलोब्याकको आशा राखेर, भएभरको एकाउन्ट फलो गर्दैमा, कसैले फलोब्याक गर्दैन । त्यसबाहेक हाम्रो अर्को नराम्रो बानी भनेको, पहिले आफ्नो रुची अनुसार भएभरको एकाउन्ट फलो गर्ने, अनि पछि फलानाले यस्तो ट्विट गरेर दिक्क लायो भन्ने, ढिस्कानाले फलो गरेन भन्ने, आफूले ट्विटरमा आफ्नो उपस्थितिको बारेमा नसोच्ने तर अरुलाई गालि भने गर्नेगर्छौँ । अरुले फलो गरोस् भन्ने चाहना राख्ने साथीहरुले उस्तै उस्तै रुचि भएका साथिहरुको सर्कल बनाउनु सक्नुहुन्छ । आफ्नो रुची नै नभएको एकाउन्ट किन फलो गर्नु? अनि फलोब्याक गरेन, अनि त्यही एउटा कुरा सम्बन्धि मात्रै ट्विट गर्यो भनेर किन टाउको दुखाउनु ? प्रविधिसम्बन्धि रुचि छैन भने, त्यो विषयमा ट्विट गर्नेलाई फलो नगर्दाहुन्छ, तर हाम्रोमा के छ भने, भएभरकालाई फलो गर्ने, अनि पछि आफैँ उफ्रिने, फलानाका ट्विटले टाइमलाइन भरियो, 'पुङ न पुच्छर'का नबुझ्ने ट्विट गर्यो आदि इत्यादि ।
ट्विटरमा आफ्नो पेशा, काम अनुसार नि फलो गर्ने गरिन्छ । सबैको रुची एउटै, अनि सबैको सोचाइ एउटै भएको भए, संसारमा फरक विचार भन्ने नै हुँदैन थियो । पत्रकारहरुले प्राय: पत्रकारहरुलाई फलो गरिरहेका हुन्छन् । साथै, म पत्रकार होइन तर पनि म पत्रकारहरुलाई फलो गर्छु, मेरो अभिष्ट भनेको कहिँ पनि घटेको घटना, समाचार छिटो, ट्विटरमै थाहा पाउन सकियोस् भन्ने हो ! मैले फलो गरेँ भन्दैमा अब पत्रकारहरुले मलाई पनि फलो गर्नुपर्ने जरुरी छैन अनि मैले त्यो आशा पनि गरेको छैन । तर उनीहरुसँग अन्तरक्रिया हुँदै जाँदा, उनीहरुलाई लौ यसले नि महत्वपुर्ण ट्विट गर्दोरहेछ भन्ने लाग्छ भने फलोब्याक गर्न सक्छन् ।
माथि पनि भनिसकेँ, ट्विटर चलाउने कारण फरक फरक हुन्छन् । कोही हँसिमजाक र रमाइलो गर्न ट्विटर चलाउँछन् भने, कोहि आफ्नो कामको लागि ट्विटर चलाउँछन् । जस्तो मेरोलागि ट्विटरमा हँसिमजाक दोस्रो प्राथमिकतामा पर्छ, पहिलो प्राथमिकतामा प्रविधि सम्बन्धि कुराहरु पर्छन्, जसबाट म केही सिकिरहेकोहुन्छ, केही नयाँ कुरा थाहा पाइरहेको हुन्छ, त्यसबाट मेरो पेशामा पनि सहयोग पुगिरहेको हुन्छ । मैले फलो गरेका एकाउन्टहरुबाट मलाई खासै फाइदा भएन भने, म जुनसुकै समय जोसुकैलाई अनफलो गर्नसक्छु ! फलोब्याकको लागि मात्र नै फलोगर्नेहरु मलाई मनपर्दैन ।
फलोब्याकको बारेमा सधैँजसो कुरा उठाइरहने साथीहरुलाई सुझाव: आफ्नो रुची भएका विषयमा कुरा गर्ने व्यक्तिहरुलाई मात्र फलो गर्नुहोस्, उनीहरु सँग अन्तरक्रिया गर्नुहोस्, उनीहरुले निश्चय पनि फलोब्याक गर्नेछन् । ट्विटरमा फलो गरेपछि फलोब्याक पाउनैपर्छ भन्ने मान्यता राख्नुहुन्छ भने, ट्विटर तपाईको लागि हुँदैन भन्दा पनि हुन्छ । तपाईका लागि फेसबुक उपयुक्त हुनसक्छ, फेसबुकमा दुबैले एक-अर्कालाई एड गर्नुपर्ने हुन्छ, तर त्यो बाध्यता ट्विटरमा भने छैन । ट्विटर र फेसबुक बिचको फरक जान्न चाहनुहुन्छ भने प्रभात दाइको ब्लगमा रहेको फेसबुक र ट्विटरबारेको ब्लग पनि पढ्नुहोस् ।
तस्विर साभार: yunoguycomic.com