फेसबुक, इन्स्टाग्राम, फ्लिकर, पिकासा लगायतका साइटहरुमा दैनिक लाखौँ फोटोहरु अपलोड हुने गर्छन् । यसका अतिरिक्त इन्टरनेटमा अन्य सयौँ फोटो सेयरिङ साइटहरु पनि छन् । भर्खरै पनि फेसबुकले फोटो सेयरिङ मोबाइल एप्स इन्स्टाग्रामलाई महंगो मुल्य तिरेर किनेकोछ । हामीले खिच्ने प्रत्येक फोटोले कुनै न कुनै कथा बोकेको हुन्छ, चाहे त्यो प्रोफेशनल क्यामराले खिचिएको होस् वा साधारण मोबाइलबाट खिचिएको होस् । हामीले ती फोटोका कथाहरु फेसबुक, ट्विटर, फ्लिकर, पिकासा, मुभी मेकर, आईफोटो आदि विभिन्न साइट र विभिन्न टुलहरु मार्फत सेयर गर्ने गरेकाछौँ । यही फोटोहरुको कथा भन्ने भन्ने मेसोमा नेपाली सफ्टवेयर ‘पिकोभिको’ पनि थपिएकोछ ।
मुभी मेकर, पिकासा, आईफोटो आदि चलाइरहेका प्रयोगकर्ताहरुलाई भर्खरै बजारमा आएको नेपाली सफ्टवेयर ‘पिकोभिको’ (Picovico) बारेमा भने खासै जानकारी नहुन सक्छ ! पिकोभिको (Picovico) फोटोहरुलाई भिडियो (Photos to Videos) मा छिटो र छरितो सँग बदल्ने फ्रि “वेब वेस्ड एप्लिकेशन” (Web based Application) हो, जसबाट सजिलोसँग आफूले चाहेको थिम (theme), संगित (Music) र शब्द (Text) राखेर फोटोहरुलाई भिडियोमा बदल्न सकिन्छ । हामीले खिच्ने प्रत्येक फोटोको कथा हुन्छ र खिचिएका ती फोटोहरुलाई अझ परिस्कृत गर्दै भिडियोको रुपमा इन्टरनेटमा सहज र सरल रुपमा प्रस्तुत गर्नु नै ‘पिकोभिको’ को लक्ष्य रहेकोछ ।
फोटो सेयर गर्ने साइटहरु दर्जनौँ भएपनि, फोटोहरु हेर्न मिल्ने सही टुल्सहरुको अभाव देखेर पिकोभिको’को कन्सेप्ट आएको कुरा पिकोभिको’का संस्थापक द्वय मनिष मोदी र सुरज सापकोटा बताउँछन् । हामीसँगको कुराकानीमा उनीहरु अगाडि भन्छन्, “जब कसैले फेसबुकमा फोटो राख्छ भने, ती फोटोहरु हेर्नलाई हामीले ‘नेक्स्ट’ – ‘नेक्स्ट’ क्लिक गर्नुपर्छ, तर त्यसो गर्दा फोटो हेर्ने साथीलाई फोटोहरुले बाँधिरहन सक्दैन । अधिकांशले फेसबुकमा भएका फोटोहरु हेर्न नेक्स्ट - नेक्स्ट गर्दै क्लिक गर्न अल्छि र दिक्क मान्ने गरेकाछन् ! फेसबुक जस्ता साइटमा अपलोड गरिने फोटो एल्बमहरुले फोटो हेर्नेलाई बाँधि-नरहने कारणले गर्दा सजिलो तरिकाले फोटोहरु हेर्न मिल्ने टुल्सको आवश्यकता देखियो ! अनि हामीले पिकोभिको’को कन्सेप्ट ल्यायौँ, जसले फोटोहरुलाई भिडियोमा बदलिदिन्छ र विनारोकतोक सजिलै फोटोहरु हेर्न सकिन्छ । फोटोको अवस्था अनुसारको संगित र शब्दसँगै केही मिनेटमै पिकोभिकोबाट भिडियो बनाउन मिल्छ !”
पिकोभिको सार्वजनिक भएको दुई हप्तामै १० हजार भन्दा धेरै फोटोहरु पिकोभिकोमा अपलोड भइसकेकाछन् ! संस्थापक द्वय मनिष र सुरजको दुईजनाको समूहले करिब १ वर्षको मेहेनत लगाएर ‘पिकोभिको’ को निर्माण गरेकाहुन् । वाइ कम्बिनेटर (Ycombinator) जस्तै, भारतको ‘द मर्फस’ भन्ने स्टार्टअप एसिलेटर’ (startup accelerator - The Morpheus) ले पिकोभिको’लाई आर्थिक सहयोग गरेपछि, मनिष र सुरजको कन्सेप्टले पूर्णता पाएको हो । द मर्फस को सहयोग पाएर, पिकोभिको’को कन्सेप्ट लिएर, ग्लोबल बजारमा आफ्नो उपस्थिति जनाउने लक्ष्य सहित उनीहरु करिब १ वर्ष पहिले काठमाडौँबाट भारतको बेङ्लोर छिरेकाथिए ।
‘सिम्पलिसिटि’ अर्थात जो कसैले पनि सजिलैसँग फोटो, संगित र शब्दहरुको संयोजन गरेर केही मिनेटमै भिडियोहरु बनाउन सक्ने र बनाइएका भिडियोहरुलाई सहज तरिकाले सोसल नेटवर्कमा सेयर गर्ने सकिने कुराले गर्दा आफूहरु अन्य प्रतिस्पर्धी भन्दा राम्रो भएको, पिकोभिको’को ठम्याइ छ । यसका अतिरिक्त पिकोभिको’ले आफ्नो ‘फोटो टु भिडियो इन्जिन’ अन्य प्रतिस्पर्धिको भन्दा शक्तिशाली रहेको दावी गरेकोछ ।
फोटो, शब्द र संगितको संयोजन सहित फोटोहरुलाई क्षणभरमै भिडियो बनाउन सकिने पिकोभिको’मा हाललाई एउटा भिडियोमा ३० वटा फोटोहरु मात्र राख्न सकिन्छ । मार्च २५, २०१२ मा सार्वजनिक गरिएको पिकोभिकोमा दुई हप्ताको अन्तरालमा ५ सय बढि प्रयोकर्ताहरु, ४ सय भन्दा धेरै भिडियोहरु रहेकाछन् भने ३ हजार भन्दा धेरै पटक भिडियोहरु हेरिएकाछन् । र दिनहुँ थपिँदै गएका प्रयोगकर्ता, फोटो र भिडियोहरु र पाएका प्रतिक्रियाहरुबाट हौसिएको पिकोभिको टिम अब स्मार्टफोनको लागि पिकोभिको एप्स बनाउन लागिपरेकोछ । पिकोभिको टिमलाई शुभकामना !
पिकोभिकोबाट फोटोहरुको भिडियो कसरी बनाउने?
पिकोभिको चलाउन निकै सजिलो छ । पिकोभिकोबाट फोटोहरुलाई भिडियो बनाउन पहिले पिकोभिकोमा साइन अप गरेर आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ वा सिधै फेसबुक कनेक्ट मार्फत साइन इन पनि गर्न सक्नुहुन्छ । कम्प्युटरमा भएका फोटोहरुका अतिरिक्त फेसबुक वा फ्लिकरमा भएका फोटोहरुलाई पनि सिधै पिकोभिकोमा ‘इम्पोर्ट’ गरेर भिडियो बनाउन सकिन्छ। भिडियोमा आफ्नो आवश्यकता अनुसार, पिकोभिकोमा उपलब्ध विभिन्न थिमहरुको साथै संगित र फोटो क्याप्सनहरु राख्न मिल्छ । यसरी पिकोभिकोमा अपलोड भएका फोटोहरु केही क्षणमै पिकोभिको’को शक्तिशाली इन्जिनले भिडियोमा परिवर्तन गरिदिन्छ । यसरी तयार भएको भिडियो, पिकोभिकोबाट सिधै फेसबुक, ट्विटर, गुगलप्लस, युट्युब लगायतका सामाजिक सञ्जालहरुमा सजिलै सेयर गर्न सकिन्छ । आफूले बनाएको भिडियो, डाउनलोड पनि गर्न सकिन्छ ।
यदि तपाई यो ब्लग पढ्दै हुनुहुन्छ भने, पिकोभिको प्रयोग गरेर, यसबारेमा प्रतिक्रिया दिन आग्रह गर्दछु ।