आज देखि नयाँ वर्ष २०६९ लागेकोछ ! हुन त दिन, हप्ता, महिना उनै हुन् ! बिहान, दिउँसो, बेलुका अनि रातीको आफ्नो ‘टाइमटेवल’ पनि उही नै हो ! तर पनि नयाँ वर्ष भन्ने बित्तिकै, आजको शुक्रबार अन्य शुक्रबार भन्दा पृथक र विशेष छ । यो शुक्रबार नयाँ वर्षको दिनमा परेको छ !
मान्छे उही नै हुन्, सोच उनै हुन् तर पनि नयाँ वर्ष लागेपछि हामी केही राम्रो सोच्ने प्रण गर्छौँ, राम्रो गर्ने प्रण गर्छौँ ! आफ्ना आशा र विश्वासलाई अझ दरिलो पारेर, अघि बढ्ने कुरा नै हुने गर्छन्, वर्षको पहिलो दिनमा ! तर वर्षको अन्त्य सम्म आइपुग्दा, आफूले सोचेका – नसोचेका अनगिन्ती कुराहरु हुन्छन् ! अनि वितेको वर्षलाई नियाल्दा, कुनै कुरा राम्रा लाग्छन्, अनि कुनै कुरा आफैँलाई झुर लाग्छन् ।
सायद नयाँ वर्ष, आफूले गरेका कामहरुलाई फर्किएर हेर्ने स्थान पनि होला, अनि सकरात्मक सोच्ने समय होला । २०६८ मेरा लागि निकै महत्वपूर्ण वर्ष रह्यो ! २०६८ मा इन्जिनियरिङ पास गरियो, पहिलोपटक रेल अनि जेट चढियो, पहिलोपटक नै बेङ्लोर गइयो, इन्टर्नसिपको लागि ! हुन त जिन्दगीमा गरिने सबै कुराहरु पहिलोपटक नै हुन्छन्, तर पनि पहिलोपटक कुनै काम गरियो भने त्यसको बेग्लै खुशी लाग्ने रहेछ ! जिवनमा पहिलोपटक “जागिर” खाने देखि लिएर, पोखरामा हावामा कावा खाँदै प्याराग्लाइडिङ नि गरियो । अनि पहिलोपटक ‘व्यस्तता’ भनेको के रहेछ, भन्ने कुरा पनि अनुभव गर्न पाइएको छ ! धेरै कुरा गर्न मन लाग्छ तर यति व्यस्त भइएकोछ कि, यही ब्लगमा लेख्ने काम पनि निकै पातलिँदै गएको छ !
नयाँ वर्षमा यो नै गर्छु भन्ने योजना बनाइएको छैन ! जे हुन्छ राम्रै को लागि हुन्छ, भन्ने कुरामा प्राय: विश्वास गर्छु ! अन्जानमै गरिएका कुराहरुलाई पनि निरन्तर अभ्यास गर्दै जाँदा, सिक्दै र सुधार गर्दै जाँदा, गरेका प्राय: कुराहरुमा सफल भइने रहेछ भन्ने लाग्छ । आफूले जानेका साना साना कुराहरु अरुलाई पनि बाँड्दै जाँदा आफूमा आत्मविश्वास पनि बढ्दोरहेछ ! धुलिखेलको ४ वर्षे बसाइ पछि, फेरि काठमाडौँ फर्किएको छु ! ४ वर्ष अघि विश्वविद्यालय छिर्दा र गतवर्ष विश्वविद्यालयबाट बाहिर निस्कदाँ आफूमा आकास-पातालको फरक पाएको छु ।
नयाँ वर्ष लागि नै सकेको छ, बितेको समय फर्केर आउँदैन तर त्यस समयमा गरिएका गल्तिहरुलाई सुधार्दै, त्यसै गल्तिबाट सिक्ने प्रयास गर्दै अघि बढ्नेछु । आफ्नो ठाउँ र सामर्थ्यले भ्याएसम्म, अनि आफ्नो ब्रम्हले देखेसम्म सबैको भलो हुने कुरा गर्न नै कोशीस गर्नेछु !
“आकार पोष्ट” ब्लग पढ्नुहुने, “आकार अनिल” भनेर चिन्नुहुने, माया र सहानुभुति दर्शाउनु हुने, देश विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना ! तपाईहरुको पल शुभ बितोस् ! “Happy New Year 2069” !