चारैतिर झिलीमिली, ठुला ठुला सपिङ मलमा मानिसहरुको रौनक काठमाडौको विशेषता भएपनि लोडसेडिङ यहाँको वर्तमान वास्तविकता हो । लोडसेडिङ भन्ने बित्तिकै अन्धकार अँध्यारो पनि होइन । जेनेरेटर, इनभरटररले अन्धकारनै त कहाँ रहन दिन्थे र यो शहरलाई ? त्यसमा पनि विज्ञापनका ठुला ठुला होर्डिङ बोर्डको चमक नै बेल्लै । “अहिले केहि बूझिन पछि कल गर्छु है” म ४ मिनेट अघि देखिको फोन वार्ता टुङग्याउँछु । साँझ झमक्कै पर्न थालिसकेको थियो । सधैँजसो व्यस्त रहने असन क्षेत्रमा झन विवाहको मौसम भएकाले किनमेल गर्नेको चहलपहल बढि नै देखिन्थ्यो, त्यसमा पनि साँझको समय । मानिसहरुको भिड उस्तै बाक्लो सजिलै संग हिड्न सकिने अवस्थै थिएन ।
असनको व्यस्त गल्ली हुँदै बल्ल बल्ल म न्यूरोड गेट आईपूग्छु । “मोबाइलको घडीले त ६ पो बजाइसकेछ । अब गाडि पाईने हो कि होईन फेरी आफ्नो तिर धेरैबेर सम्म गाडि पनि चल्दैन” सोच्दै म हिँडाइको गति तीव्र पार्छु ।
सयौँ मानिस हिँडिरहेको सडक देख्दा त्यतीबेला मेरो मनमा जगजित चित्राको “हरतरफ हरजगह बेशुमारा आदमी” बोलको गजल मात्र आइरह्यो मोबाइल हातमै थियो अनि आँखा मोबाइलमा । त्यतीनै बेला अचानक एउटी केटीसँग म नराम्ररी ठोकिन्छु । “आँखा हेरेर हिँड्न सकिँदैन? ” केटी म तिर हेर्दै भन्छे “आई एम सरी” म गल्ती स्विकार्छु । गल्ती मेरै थियो मोबाईल झिकेर मैले समय मात्र हेरिन त्यति नै बेला फेसबुकमा उही गीत स्टाटस राख्ने सुरमा थिएँ म । बाक्लो भीड र व्यस्त बाटोको ख्याल नगरी ।
“ए तिमी? के छ हालखबर?” । नजिकै कानमा ठोक्किएको पुरुष आवाजले हिँड्नै लागेका मेरा पाइला टक्क अडिन्छन् । म टाउको फर्काउँदै केटातिर हेर्छु ।
म एकैपलमा एकोहोरो भएछु, “बाटोमा हिड्न नदेर के उभिरा हो?” पछाडिबाट रिसाउँदै कराएको एकहुल अधबैशै आइमाईहरुको रुखो आवाजले म तर्सन्छु । उनीहरु मलाई धकेल्दै अगाडि बढ्छन् । मेरा हातखुट्टा चिसा भइरहेका थिए । त्यो चहलपहल सबमा सन्नाटा छाएझैँ लागिरहेथ्यो । मुटू तेज तेज धड्किरहेको थियो । म न बोल्न सकेँ न हासेर त्यो प्रश्नको जवाफ नै फर्काउन सकेँ ।
केटी उसको देब्रे पाखुरामा दाहिने हात घुसार्दै आँखाले छिटो जाने इशारा गर्छे । “ल गएँ है” ऊ म तिर हेर्दै भन्छ । म फिस्स हाँस्दै स्वीकृति जनाउँछु । उनीहरु आफ्नो बाटो लाग्छन् ,म आफ्नो “तिमी चिन्छौ त्यसलाई” केटीले गरेको प्रश्न मेरो कानमा सिधै ठोकिन्छ तर उसले जवाफ के फकार्यो म प्रस्ट सुन्दिन ।
थोरै समयमा भए पनि, मैले त्यस केटीलाई पटक पटक गरी धेरै पटक हेरे । मेरो आँखा सिधै उसको सिउँदोमा सजिएको रातो सिन्दुरमा गएर अडियो । ऊ धेरै राम्री थिई ।
रत्नपार्क आईपुग्दा ६:१५ भएछ त्यत्तिकैमा कण्डक्टर कराउँछ ”ए दिदी जाने होईन लास्ट टिप हो है अर्को आउँदैन ।” म दौडदैँ जान्छु , सिट पाईने त आशै थिएन कोचिएर जानु बाहेक अरु विकल्प पनि थिएन ।
मेरो आँखा अघि त्यही तस्विर मात्र नाचिरह्यो । केहिबेर अघिम्मको व्यस्त र एक्लो जीवनबाट म एकैपलमा विगतमा धकेलिन्छु । त्यो मोड जहाँ म उसको प्रतिक्षामा हरेक दिन उभिने गर्थे । उसलाई परबाट आईरहेको देख्दा,मुटूको धड्कनले बेग्लै रफ्तार बढाउन थाल्थ्यो, ओठहरु आफै मुस्काउँथे । कहिले काँहि ढिलो हुदाँ त्यही मोडमा उसलाई प्रतिक्षारत देख्दा लाग्थ्यो यो संसारमा म जतिको खुसी सायदै कोहि होला । जब ऊ म सँग पहिलो पटक बोलेको थियो मलाई याद छ, मेरो त्यो रात छर्लङ्ग वितेको थियो ।
“अली भित्र जानुस ए दाई, तपाई यता फर्किनुस सबै मिलेर जानुपर्छ ” कण्डक्टर आफ्नै सुरमा कराईरहेछ “ओ गड आज गुन्दुक बनाउने भयो यार” भर्खरकी एउटी ठिटी बोल्छे, उ सँगै उभिएका अर्कि दुई खितीती हाँस्छन, अधबैसे अकंलहरु भने ठाउँ छैन देखिनस् भन्दै उल्टै थर्काउँदै छन् । ती सबै दृश्य आँखा अघि छरपष्ट थिए तर पटक पटक आँखामा उही दृश्य र कानमा उही वाक्य गुञ्जिरह्यो “ए तिमी के छ हालखबर ?”
“ठिक छ सबै” म भन्न चाहान्थेँ तर उसको प्रश्नमा म अनुत्तरित मात्र भईन मेरो ओठबाट वनावटी मुस्कान बाहेक अरु कुनै शब्द निस्केनन् । उसले पनि के छ भनेर त सोध्यो तर त्यसपछि खै के महशुस गर्यो, हाँस्न खोज्यो सकेन बोल्न खोज्यो सायद शब्द भेटेन ।
हरेक दिन उसको प्रतिक्षा गर्नु, मन व्यग्र पार्दै नजर घुमाउनु तर बोल्ने आँट नगर्नु, माया गर्न थालिसकेकी थिएँ मैले उसलाई । त्यहि मोडबाट हामी साथी बन्यौ, हाम्रो मायाको शुरुवात भयो, हामी नजिकिँयौ र हाम्रो मित्रता प्रेममा बद्लियो ।
त्यो पहिलो भेट, पहिलो कुराकानी, प्रेम प्रस्ताव, सँगै बिताएका पल, सबै मन र मस्तिष्कमा दौडन थाले । हाम्रा ती दिन कति रमाईला थिए, आज पनि हामी संगै हिडेका बाटोहरु उस्तै छन्, चिसो बिहानीमा चिया पिउने पसल त्यस्तै छ । आज पनि सँगै हिडेका बाटोमा एक्लै हिँड्दा उही पुराना दिनको याद आउँछ । कहीँ कतै केही बद्लिएको छैन, केवल समय बद्लियो ।
आज उ बाँचिरहेको छ आफ्नो जिन्दगी र म पनि बाँचिरहेको छु । तर मलाई आजसम्म याद छ हामी एकअर्काको अगाँलोमा बाँधिएर भन्ने गथ्र्यौ “म त तिमी बिना बाँच्न पनि सक्दिन” तर आज सोच्छु खै के हो त सत्य न उसको साथ बिना मैले नै आत्महत्या गर्न सकेँ न मेरो साथ विना उसले नै जीवन त्याग्न सक्यो । जब हामी प्रेमी प्रेमीका थियौँ तब लाग्थ्यो एक अर्का विना हाम्रो जीवन अर्थहिन छ तर आज जब त्यो सम्बन्धनै रहेन एकअर्का विना मर्छौँ भनि साहसका साथ भन्ने हामी दुवैलाई आ-आफ्नो जीन्दगीको माया लाग्न थाल्यो आफ्नै जीवन प्यारो भयो ।
घर आइपुग्दा पनि मन उस्तै दुखिनैरहेको छ । प्रश्न गर्छु आफैँलाई किन दुख्दैछु म? सबै समाप्त भइसक्यो । ऊ धेरै अघि बढिसक्यो, ऊ खुसी छ तर म किन आज बेखुस छु? उसलाई देखेर । उसको खुसी देखेर कतै मलाई इर्ष्या लागेको त हैन? म पनि त धेरै अघि बढिसकेँ जिन्दगीमा तर आज त्यो एकपलले आज किन यसरी मलाई बिक्षिप्त बनाइदियो?
भेट्ने दिन गन्दै बस्नु र भेट्दा रमाउनु, छुटिँदा निराश हुनु, रिसाउनु, फकाउनु अनि घूर्क्याउनु । एक आम प्रेमी प्रेमीकाको जीवन, हाम्रो दिनचर्या पनि त्यस्तै नै थियो । एकअर्का सँग नबोली दिन काट्न मूस्किल थियो, रातमा निदाउन । तर आजभोली दिन यसै वित्छन् रात यतिकै कट्छ । न रिसाउने कोहि छ न फकाउने । हामी दुवैको जीवनको नयाँ पाना पल्टियो तर फरक उसको नयाँ पानामा म छैन र मेरो नयाँ पानामा उ छैन ।
त्यस्तो पनि समय थियो, उसको मुखबाट कुनै केटीको नाम सुन्दा दनदनी बलिरहेको आगोमा होमिएको भान हुन्थ्यो । म रिसाउँथे, आफ्नो कसम खुवाउँथे र वचपना भरिएको आवाजमा भन्ने गर्थे । “तिमी अरुसंग नबोल, अरुलाई नहेर, तिमी मलाई माया गर, मलाई हेर, मै सँग हाँस।” मेरो कुरा सुनी उ मुस्काउँथ्यो । मेरो निन्याउरो मुहारमा झुकेर हेथ्र्यो र भन्थ्यो “तिमी नै त छौ मेरो साथी, मलाई अरु कोहि चाहिन्न ।”
समयले आज मलाई नराम्रोसँग जिस्कायो । त्यो साँझ जब उ कसैको हात समाती टाढिदै थियो त्यसबेला उसलाई न मैल आफ्नो कसम खुवाउन सके, न रिसाउनु मेरो अधिकारको विषय थियो । म अलि पर हटेँ उसको बाटोबाट, उनीहरु अघि बढे । मेरा आँखाहरु एकछिन टोलाईरहे,उ ओझिलिँदै गयो ।
टेबलको घडिले नि १२ बजाईसकेछ । “ काम भयो त मेरो? खबरनै गरेनौ भोली चाहि जसरी नि गरिदेउ है ” । मोबाइलमा ११ बजे आएको एस एम एस देख्ने बित्तिकै, म फेरी आफ्नो वर्तमानमा फर्किन्छु । एक व्यस्त जीवन जहाँ विगतका बारेमा हरपल सोचेर मुटु दुखाउने फुर्सद पनि छैन ।
यो जिन्दगी एउटा किताब र विगत एउटा पल्टिसकेको पाना जसबाट हामीले धेरै कुरा सिक्छौँ अनि बुझ्छौँ । मेरो विगतबाट पनि मैले धेरै कुरा सिकेको छु, बुझेको छु । जसरी एउटा कक्षा पास भएर अर्कोमा पुग्दा पुराना पाठ सरल लाग्दै जान्छ, समय सँगसँगै विगतका घाउमा पनि खाटा लाग्दै जान्छन् । विगतका व्यथा अनि चोट पनि सामान्य लाग्न थाल्छन् ।
जिन्दगीमा धेरै मोड आएर गए, धेरै मोड आउनेछन् । जीवनमा आएको हरेक नयाँ मोडमा नयाँ साथी भेटिन्छन्, नयाँ नयाँ सम्बन्ध गाँसिन्छन् । नयाँ नयाँ बाटोमा हरेक दिन नयाँ अनुहार देखिन्छन् । विक्षिप्त भएको मुटू पनि समय संगै सम्हालिदै जान्छ । धेरै धेरै कुरा बुझ्न, सिक्न र भोग्न त बाँकी नै छ ।
मैले जिवनमा पहिलो पटक साँचो माया गरेको थिएँ तर हुन सक्छ म उसको साँचो प्रेम बन्न सकिन । मलाई केहि गुनासो छैन न ऊ सँग न आफ्नो जीवनसँग । जे हुन्छ सायद त्यो पहिलै तोकिएको हुन्छ । कोहि मेरो भन्दैमा मेरो हुँदैन । संधै सबैजना आफ्नो साथ कहाँ हुन्छन् र? जिन्दगीमा अझ माइलौँ माइलको दुरीको यात्रा तय गर्न बाँकी नै छ । त्यो पल अब कहिल्यै फर्केर आउँदैन । सोच्दा सोच्दै आँखा पनि लोलाउन थालिसकेछन् । बाहिर सुनसान र कालो रात छिपिदैँ गइरहेछ, समय बेपर्वाह दौडिरहेछ आफ्नै गतीमा ।
~ (दृश्य-अदृश्य ब्लगबाट साभार)