खबर हिजो सोमबार कै रहेछ, तर ट्विटर को ट्विटलाई पच्छ्याउँदै जाँदा, आज मंगलबार को दिन खबर थाहा भयो ।
खबर दुबै दुर्घटना का थिए अनि दुवै अप्रिय थिए । एउटा बसले बालिकालाई ठक्कर दिँदा, बालिका को मृत्यु भएछ, त्यही घटना को बहाना मा, बस का चालकलाई अराजकहरु को भिड ले कुटपिट गरेर, नदीमा बगाइदिएछन् (बसले बालिका किचेपछि ड्राइभर भेरीमा बगाइए – नागरिक) ।
३ वर्षे बालिका को बस को ठक्कर बाट मृत्यु हुनु अत्यन्त दुखद घटना हो । दूर्घटना भन्ने कुरा जहाँकहिँ पनि हुनसक्छ, कहिँ गाडि चालक को लापरवाही देखिन्छ त कहिँ अरुहरु को, तर दोष सँधै ठूलो गाडिलाई मात्र जान्छ, यदि बस र बाइक, ठक्कर खाए थोरै ले मात्र बाइक को लापरवाही देख्छन् ! हिजो को दूर्घटना मा पनि सायद, बस चालक कै लापरवाही थियो, किनकी सानी ३ वर्षिय बालिका को बस को ठक्कर बाट मृत्यु भएको थियो । दूर्घटना बाजा बजाएर आउँदैन, त्यसलाई हामीले आकस्मिक दुर्घटना मान्नै पर्छ । तर त्यसपछि त्यहाँ का अराजक भिडहरु ले जे गरे, त्यो अति नै खेदपुर्ण र दानविय छ ।
नागरिक का अनुसार, “बसले किचेर बालिकाको मृत्यु भएपछि सुर्खेत राकमका बासिन्दाले बस चालकलाई कुटपिट गरी भेरीमा बगाइदिएका छन्। सोमबार साँझ नदीमा फ्याँकिएका चालक वकिल बुढाथोकीको अवस्था अज्ञात छ।” घटना दुवै अप्रिय छन् तर बालिका को मृत्यु को कारण जति त्यहाँ का स्थानिय प्रति सहानुभुति जागेको थियो, त्यति नै, उनीहरु ले देखाएको दानविय प्रवृत्ति ले गर्दा उक्त चालक प्रति सहानुभुति जागेको छ ।
यस्ता घटनाहरु, हामी मान्छेका लागि सुहाउने घटना पक्कै होइन । ‘खुन को बदला, खुन’ भन्ने कुरा कुनै चलचित्र मा मात्र राम्रो देखिन्छ, वास्तविक जिवन मा होइन ! त्यसै पनि नेपाल मा कानुनीराज्य को पालना नभइरहेको सन्दर्भ मा यस घटना ले कानुनीराज्य को ठाडो उपहास गरेको छ । हामी मा संवेदना हराउँदै गएको कुरा पनि यस्ता घटनाहरुले गरिरहेकाछन् । खै, यस्ता निकृष्ट कार्यहरुप्रति खेद जनाउन केही शब्द पाइरहेको छैन !
ती मृत्यु भएकी बालिका, चालकलाई कुटेर खोला मा बगाउँदैमा त फर्केर आउँदिनन्, त्यही पनि त्यहाँ का स्थानियहरु किन त्यति धेरै अराजक भए, सोच्न निकै बाध्य बनाएको छ । किनकी, यस्ता घटनाहरु को जति नै भत्सर्ना गरे पनि कमै हुन्छ ।
समाचार मा प्रहरी ले यस घटना का सम्बन्ध मा केही स्थानियहरुलाई पनि पक्राउ गरेको उल्लेख छ भने, चालक को अवस्था अझै अज्ञात रहेको छ । अनि चालकलाई भेरी नदी मा बगाइएको विषयमा यातायात मजदुरले सोमबार छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध पारेका छन् । बन्द को कारण सल्लीबजारदेखि, सुर्खेत, छिन्चु, नेपालगन्ज, काठमाडौं आवतजावत गर्ने सवारी साधन चलेका छैनन्।
लौ, के गर्ने हो यस्ता अराजक तत्वहरुलाई ? बदला को बदला हुन सक्दैन र यो समाधान पनि होइन ! अहिले मेरो दिमाग मा बस को ठक्कर बाट बालिका को मृत्यु भएको घटना भन्दा पनि, ती अराजकहरुले गरेको दानविय व्यवहार को चित्र मस्तिष्क मा बसेको छ । प्रश्न आफैँलाई हामी कहिले सुध्रिने ? कहिले देखि हामी देश का अराजकहरुको भिड भन्दा टाढा असल नागरिक भएर बस्ने ? साँच्चै, हामी कहिले देखि सुल्टो सोच्ने ?
image : 21stcenturymed.org