बरहथवा बजार [फोटो]

गोरु किनबेच हुने बजार भएका कारण, सायद बरहथवा नाम रहन गएको होला । पूर्व-पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिणमा अवस्थित बरहथवा बजार (हाल नगरपालिका) मा हप्ताको दुई दिन बजार लाग्छ। राजमार्गबाट जम्मा १२ किलोमिटर भएपनि, यो बाटो छिचोल्न गाडीमा लगभग ४५ मिनेट देखि १ घन्टासम्म लाग्छ। सम्भवत सर्लाही जिल्लामा सबैभन्दा धेरै कारोबार हुने ठाउँ बरहथवा हो, तर मैले थाहा पाएदेखि बरहथवाको रुप लगभग उस्तै छ । केही नयाँ घर बनेका छन्, गाविस नगरपालिकामा परिणत भएको छ, केही थान बोर्डहरुमा मधेस सरकार थपिएको छ तर बाँकी कुरामा खासै केही फेरबदल देखिएको छैन ।

सम्भवत: पहिलो पटक बस मैले यहीँ बरहथवामा नै देखेँ हुँला, चढेँ हुँला । बिहानै दूध बोक्ने टायरमा बसेर २ घन्टाको यात्रा पछि, बरहथवा पुगेर धेरै पटक बस चढिएको छ । बरहथवा वरिपरिको भू-भाग/वस्ती कृषीको लागि उर्वर मानिन्छ, अनाज बेच्ने देखि लिएर, दैनिक उपभोग्य वस्तु किन्ने/बेच्ने, गाइवस्तु किनबेच आदि सबैको लागि बरहथवा नै एकमात्र बजार हो। बरहथवा बजारमा दुईवटा चलचित्र हल पहिले देखि नै छन्, सायद पहिलो फिल्म पनि यहीँ हेरियो होला । पहिलो पटक फोन पनि यहीँ देखियो होला । पहिलो पटक मेला नि यहीँ हेरियो होला । सबैभन्दा खड्किने कुरा चाँहि २५-३० सालमा बनेको बाटो अझै पिच भएको छैन, अधिकारको लागि भनेर देश नै धेरैपटक अस्तव्यस्त बनाए, तर बाटोको लागि भनेर यस्तो केही भएको थाहा छैन । थाहा छैन, गाली कसलाई गर्ने हो? सरकारलाई हो वा, सर्लाही जिल्लाबाट पटक पटक मन्त्री भएका महतो, ठाकुरहरुलाई हो? बरहथवासँग जोडिएका धेरै कथाहरु छन्, तिनीहरुलाई समय समयमा भन्दै गरुँला । यस ब्लगमा चाँहि, बरहथवाको केही फोटोहरु लिएर आएको छु ।

नयाँरोडबाट बरहथवा जानेबाटो: ५-६ वर्ष अघिसम्म यो रोडको दुबैतिर जंगल थियो, अहिले खेती गरिन्छ, थाहा छैन फेरि रुख रोपिन्छ या रोपिन्न । जंगल नाश भएको कारण होला, हालैका वर्षमा अत्याधिक गर्मी बढेको छ । कागजमा दर्जनौँ पटक यो बाटो पिच भएको हल्ला छ।

Nayaroad to Barahathawa

बरहथवा बजारको अघिल्लो चोकबाट नियाल्दा: केही नयाँ घर र साइन बोर्ड थपिएकाछन् ।

Barahathawa Sarlahi

लौ यसलाई पनि कालो झण्डा!

Barahathawa Road Network

कतिवटा सिलिन्डर चाहियो?

Gas cylinder in Barahathawa

धुलो उडे नि बाल हो । पकौडा यहीँको मिठो ।

Barahathawa street food

लौ, आयो हजुर पहाडी मस्तानी तेल ! हरेक किसिमका दुखाइएको लागि रे । (रमाइलो कुरो चैँ, हिजोआज स्पिकर बजाउन थालेछन्, भोजपुरी, नेपाली दुवै भाषामा बजाउने रहेछन्, ठ्याक्कै उल्था गरेर)

Pahadi mastani oil in Barahathawa

अझै पनि गोरुगाडा (टायर) को प्रयोग अधिक रुपमा हुन्छ, बजारबाट गाउँसम्म सामान ओसार्न, गाउँबाट अनाज/तरकारी ल्याउन।

Vibrant Barahathawa

मान्छेले तान्ने ठेला । बजारमा सामान ओसार पसार गर्न ।

Barahathawa

लबली स्विट्स ।

Barahathawa Sweets

चढ्नै परेपछि फेसबुक नै चढेर जाउँ काठमाडौँ ।

facebook deluxe Barahathawa

अनिश्चित बस सेवा । लोकल बस समयमा पाउनै मुश्किल, २ घन्टा कुर्नुपर्यो यसैपल्ट पनि ।

Barahathawa bus stop

दुईवटा हलमा यसै गरि सिनेमा लाग्छन्, हिन्दी, भोजपुरी, नेपाली । सहिष्णुता भनेको यही होला सायद, बरहथवा सबैका लागि ।

movies in Barahathawa

मेनरोड एरिया ।

Barahathawa main road

यही कठघेरा झैँ छ, बरहथवा । बाहिरबाट ढल्ला जस्तो देखिए नि, भित्र एकदम ब्यालेन्स छ।

Barahathawa Sarlahi

र केही पुराना ट्विटहरु !






0 प्रतिक्रिया :

Post a Comment