चानचुन पैसो, फर्पिङको यात्रा [फोटो सहित]


"आज मसँग चानचुन भएन, चिया खानुपर्नेथियो?” एकजना बूढाबा आफू बसेको कुर्सी नजिकै आएर नजाँनिदो किसिमले 'चानचुन' दिन आग्रह गर्छन् । उनको 'चानचुन'को आग्रह सुनेर हामीबिच हाँसोको फोहोरा छुट्छ, काकाबाले ती बुढाबालाई केही चानचुन दिनुहुन्छ, हामी फेरि 'चानचुन' बाको कुरा काट्दै चिया सुरुप्प पार्छौँ । चानचुन'बा पनि अघिल्लो महिना इन्द्रदह हाइकिङ जाँदा भेटिएका 'कान्छा काका' बिर्साउने किसिमका रहेछन्, तर उनलाई हामीले धेरैबेर अल्मल्याएनौँ ।

पावर हाउसबाट पोखरी जाने उकालो सिँढि चढ्दै गर्दा केही अघि तिनै बूढाबा भेट भएका थिए । ती बूढाबा ओरालो झर्दैथिए, हामी उकालो चढ्दै थियौँ । ३ घन्टा घाममा सेकिँदै हिँडेका हामीलाई भोक लागिसकेको थियो, काकाबाले ती बूढाबालाई सोध्नुभयो, “यता खाने ठाउँ कता छ?” । ती बूढाबाले हातले ईशारा गर्दै, 'एउटा उ तल छ, एउटा यता घर माथि छ' भने । चित्तबुझ्दो जवाफ नभेटेकोले उनका कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदियौँ । १० – १२ वटा खुड्किलो के चढिएको थियो, ती बूढाबाले घरपछाडी भनेर ईशारा गरेको घरको पछाडी देखियो, भोज भतेरको लागि धमाधम पकाउँदै रहेछन् । यो देखेर काकाबा र म फेरि एकपटक मरीमरी हास्यौँ । ती बूढाबाले हामीलाई त्यही भोजमा आएको सम्झिएछन् ।

खोकनाबाट बुङमति हुँदै फर्पिङ जाने प्लान थियो, तर हामीलाई बाटोले जता माग्यो हामी त्यतै गइदियौँ । खोकनाबाट तोरी फुलेका बारी हुँदै ओरालो झर्यौँ, बुङमतीलाई परतिरै छोडेर । फर्पिङ पुग्न बाग्मती तर्नुपर्ने थियो, हामीले अनुमान गरेका झोलुंगेपुल अलि तलतिरै छुटिसकेका थिए, हामी अनुमानका भरमा खोला तर्ने प्रयासमा थियौँ । धन्न केही तल फड्के भेटियो, बाग्मतीको फोहोर हेर्दै, फड्के तरेर अघि बढियो ।

खाजा अब अगाडिको ठाउँमा खाने भनेर हिँड्दा हिँड्दै, चिया खान फर्पिङको पोखरीमा पुगिएको थियो, जहाँ चानचुन बासँग भेट भएथ्यो । हुन त बिहान हिँड्दा नयाँबजार चोकमा चिया र आलु मज्जाले खाइएको थियो । त्यसै दिन थाहा भयो, नयाँबजार चोकमा मिठो आलु पाइँदो रहेछ भनेर । पागलबस्ति दाइ १ घन्टा ढिलो आएर पनि होला, आफूले मात्रै ३ प्लेट आलु खाइयो । "गोलढुंगे"ले ढिलो गरे, काकाबाको प्रतिक्रिया थियो ।


पोखरीसम्म पुग्दा, खाजा खान किर्तिपुरको नेवारी खाजाघर 'लहना' जाने सहमति गरिसकिएकोथियो, त्यही भएर पोखरीको डिलमा प्याजको चप र चिया खाइयो । पोखरीको डिलैमाथि बसेर चिनापर्ची गरियो, पछाडी एउटा "पिकनिक" ग्याङ थियो । पिकनिङको ग्याङ तिर हेर्दै सुरज दाइको भनाइ थियो, 'एउटा ब्लग आउनेभो अब' ।

बस चढ्न रोडमा पुगियो । पन्ध्र जनाको समूह देखेर हो कि के हो, कसैले बस रोकेर हामीलाई चढाउने हिम्मत गरेनन् । हुन त बस यसै प्याक थियो, खुट्टो टेक्ने ठाउँ भएको भए त चढिन्थ्यो पनि होला । दुई तिनवटा बसले नै हामीलाई बाल नदिएपछि हिँड्नुको विकल्प थिएन । तर ति बसहरुले गर्दा हाम्रो 'लहना'को योजना पनि चकनाचुर भयो । किर्तिपुर नभए, टौदह छँदैछ नि भन्ने कुरा भयो ।

टौदहमा खाजा खाइसकेपछि, अघिसम्म चुप 'किरण दाइ' चम्किनुभयो । एक दिन 'कम्पनी' र 'मेरो ट्विट' हेरेर किरण दाइ, झन्डै झन्डै मुर्छा नै पर्नुभएछ हाँसेर । एकछिन ट्विटरकै चर्चा भयो, यसले यस्तो ट्विट गर्यो, उसले यस्तो, मैले फलो गरेँ, मैले ब्लक गरेँ, मैले अनफलो गरेँ ।'आज हाइकिङ नआको भए त यो रमाइलो सबै छुट्ने रहेछ, ट्विटर टाइमलाइनको कुरा यता आज अफलाइनमा हुँदैछ' किरण दाइले यसो भन्दा सबैको हाँसो छुट्यो ।

ट्विटरका कारण बनेको हाम्रा समूहरु पनि निकै गज्जबका छन् । कहिलेकाँही सोच्छु, हामीकहाँ जस्तै बाहिर पनि यस्तै किसिमका सक्रिय ट्विटर ग्रुपहरु होलान्?






0 प्रतिक्रिया :

Post a Comment