नर्बिसिने त्यो दिन [सन्दर्भ: लोकतन्त्र दिवस]

Leave a Comment

Narendra- SimBhanjhyang
नरेन्द्र रौले
मेरा लागी बैशाख ९ गते एउटा नमिठो अतित बोकेर आइदिन्छ । स्मृतिमा गहिरोसँग बसेको त्यो दिन मनबाट कहिल्यै हराउने छैन । सधैँ सम्झाइरहने चिनो छ म संग । जो कहिल्यै मेटिने छैन । अनि सधैँ याद दिलाइरहने चोट छ म सँग जो कहिल्यै निको हुने छैन ।

यिनै बैशाखि दिनहरुमा पाँच वर्ष अघि सडक बेस्सरी तातेको थियो । स्थायी शान्ति, आशा र परिबर्तनको पक्षमा नेपाली जनताहरु शसक्त रुपले जुर्मुराएका थिए । गाउँ देखी शहर गहिरो निद्राबाट ब्युँझिएको थियो । नयाँ नेपाल बनाउने सपना बोकेर परिबर्तनको पक्षमा मुठ्‍ठिहरु उठेका थिए । सारा नेपालीहरुको आवाज शान्ति र गुमेका आफ्‍ना अधिकारका पक्षमा बुलन्द रुपमा गुञ्जिएको थियो । त्यही आशा, सम्भाबना र परिबर्तनको राजमार्गमा म पनि थपिएको थिएँ।

बैशाखको चर्को गर्मी निकै बढेको छ । सारा जनताहरु सडकमा ओर्इरिएका छन्‍ । एकातिर तत्कालिन बिद्रोहि शक्ति माओबादी र अर्कोतिर राजाको प्रत्यक्ष निरंकुश शासनबाट जनताहरु आजित बनेका छन्‍ । दिनदिनै हत्या, हिंसा, बढ्‍दो छ । उकुसमुकुस हुने यस्तो परिस्थीतिबाट नागरिकहरु मुक्ति खोजिरहेका छन्‍ । त्यसैले मनमा परिबर्तनको बलियो अठोट र चाहनाको हुरी चल्दैछ । भोक, तिर्खा, पानी कुनै चिजको पर्वाह छैन । जनआन्दोलनको भेलमा सडकमा पाइलो राख्ने ठाउ समेत छैन ।

जोशिला नारा लगाउदै, हौसिदै, उफ्रिँदै त्यही हुलमा म अघिअघि सर्दैछु । त्यही जोशमा बैशाख ९ गते त्रिपुरेश्वर पुग्दा स्थिति भिन्नै छ । बानेश्वर र कालीमाटीबाट त्रिपुरेश्वर आइपुगेको विशाल जुलुश रत्नपार्कतिर सोझिन खोज्दैछ । एक्काशि भिड तितरबितर हुन्छ । गोलीको वर्षा सुरु भयो । मेरो बायाँ हातमा तातो भएको महशुष भयो । तर तत्काल हेर्नै सर्किएन । पछाडी गोली र पुलिसका लाठीहरु बर्सिरहे । त्यसलाइ छल्दै आँखा अस्पताल आइपुग्न आधा घण्टा लाग्यो । यस्सो फर्किएर आफ्‍नै हात हेर्छु, रगत बगिरहेको छ । पुरै लुगाहरु रक्ताम्य भर्इसकेका छन्‍ । रेडक्रसको गाडीले अस्पताल पुर्‍याउछँ । दस दिन लामो उपचार पछि म डिस्चार्ज हुन्छु ।

समयले ठूलो कोल्टे फेर्‍यो । मृत्युसँग जितेर आएको पाँच वर्षपछि आज ति दिनहरु आँखा अघि प्रगाढ बनेर आर्इरहेका छन्‍ । संघर्षका अनेक रोमाञ्चकारी क्षणहरु स्मृतिमा आइदिन्छन्‍ । अतिततिर फर्किन्छु, आफू हिंडेको बाटो कति कठोर रहेछ भनेर सम्झिन्छु । एतिहासिक जनआन्दोलनले दिएको घाउ कहिल्यै निको नहुने गरी बल्झिँदैछ । सधैँका लागी नमिठो अतित बनेर पछि सम्म मलार्इ यसले बल्झाइरहनेछ । हामीमाथी बर्सिएका गोली र लाठीहरुले दिएका चोटहरुमाथी आफै मलम लगाउदैछौं । र, आफ्‍नै सुदूरभविष्यका लागी बाटो बनाउदैछौं ।
Jana-Aandolan-62-63ऐतिहासिक जनआन्दोलनमा गोली, लाठी, अश्रुग्यास कुनै चिजका सामु जनताहरु झुकेनन्‍ । दिनरात न्याय, शान्ति र परिबर्तनका पक्षमा लडिरहे । आज नेपाली जनताहरुले बगाएको रगत, पसिनाको उचित सम्मान भएन । नेताहरुले जनताकै काँधमा टेकेर सत्ता र शक्ति स्वाद लिए । देश, विदेश सयर गरे । चिल्ला र मीठा आश्वासन बाँडे । सपना र भ्रमको खेती गरे । तर जनआन्दोलनका योद्धाहरुलार्इ अहिले चटक्कै बिर्सिदिए । शहिदहरुको अबमूल्यन भएको छ । बुलन्द रुपमा उठेको नया नेपालको सपनामाथी पूरै कुठाराघात भएको छ । योद्धाहरु यो भीडमा हरार्इसकेका छन्‍ । देशमा अराजकता र दण्डहिनता बढ्‍दो छ । मुलुकमा गणतन्त्र आएपनि लुटतन्त्र र मनपरितन्त्रको राज छ । सिंगो नेपालीहरुको आवाजलार्इ कुल्चिएको अबस्था छ ।

जनआन्दोलनका घाइतेहरुलार्इ पुरै वेवास्ता गरिएको छ । राहत, क्षतिपूर्ति, स्वास्थ्य उपचार लगायत अन्य सुबिधा केवल नारामा मात्र सिमित छन्‍ । नेपाल सरकारको गृह मन्त्रालयले प्रदान गरेको घाइते परिचयपत्रको खासै कुनै उपयोगिता नै छैन । तत्कालिन समयमा नेपाल सरकारको मातहतमा गठन गरिएको 'जनआन्दोलनका घाइतेको उपचार निर्देशन तथा व्यबस्थापन समिति अहिले पूरै निस्कृय बनिसकेको छ । सुरुमा स्वास्थ्य मन्त्रालयले घाइतेहरुको उपचार गर्ने, आर्थिक सहायता प्रदान गर्ने जिम्मेवारी लिएपनि अहिले उनीहरुका लागि काम गर्ने कुनै सरकारी निकाय छैन । शान्ति तथा पुननिमार्ण मन्त्रालय अन्तर्गत राहत तथा पुन स्थापना इकाइ, बबरमहलले घाइतेहरुका लागी काम गर्न चाहे पनि सरकारले यस तफ खासै चासो दिएको छैन । मुलुकले लोकतन्त्र दिबस मनाइरहदा ऐतिहासिक जनआन्दोलनका घाइतेहरुको योगदानलार्इ पनि सम्झिनुपर्छ । मुलुकलार्इ यस स्थिती सम्म ल्याइपुर्‍याउन उनीहरुको ठूलो योगदान रहेकाले उचित सम्मान तथा राहतका कार्यतक्रम ल्याउने तफ सोच्नैपर्छ ।

(लेखक नरेन्द्र रौले, पेशाले पत्रकार हुनुहुन्छ ! उहाँ ६२-६३ को जनआन्दोलनमा घाइते हुनुभएको थियो! उहाँलाई ट्विटरमा (@NRaule) फलो गर्नसक्नुहुन्छ !)
तस्विर: द हिमालयन टाइम्स

0 प्रतिक्रिया :

Post a Comment