बम पड्काएर परिवर्तन आउँदैन [सन्दर्भ: काठमाडौँमा बम विस्फोट]

केही हप्ता र महिना भएको थियो, पड्किएको, पड्काइएको खबर नसुनिएको तर आज फेरि एउटा दुखद घटना घट्यो ! पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्दिको बाहना देखाएर संयुक्त जातिय मोर्चाले केही निर्दोष व्यक्तिहरुको अनाहकमा ज्यान लिए ! जुनसुकै बाहनामा पड्काइएको भएपनि, यो अत्यन्तै निन्दनिय काम हो, यसै ब्लगमार्फत त्यस्तो जघन्य अपराधको घोर भत्सर्ना गर्दछौँ !Opposing War is not a Crime!

एकपटक मात्र पाइने मान्छेको जिवन सस्तो छैन, मान्छे जिवनको अगाडि त्यो पेट्रोलको मुल्य के नै छ र? तर होइन उनीहरुले पेट्रोल महंगो र मान्छेको जिवन सस्तो देखे ! मान्छे मारेर, कुनै क्रान्ति हुँदैन, कुनै विरोध हुँदैन, कुनै आन्दोलन हुँदैन, सहरमा बम र बारुद पड्काएर, मान्छे मारेर क्रान्ति गरेँ भन्नु मुर्खता मात्र हो ! सहरको बिचमा बम पड्काएर, मान्छेको जिवन हरेर, सान सँग आफूले पड्काएँ भन्छन् तर सोच्दैनन्, जो मारिए तिनका आफन्तलाई कति पिडा भएको होला !

जो मारिए, उनीहरु गइगए ! न उनीहरुलाई अब कुनै पिडा हुन्छ, न कुनै किसिमको दुख वा अभाव नै हुन्छ ! जति पिडा हुन्छ बाँच्नेलाई हुन्छ ! मान्छेका कति सपना अनि आशाहरु हुन्छन्, के सोचेर जिवनमा अघि बढिरहेकोहुन्छ तर अनाहकमा ज्यान जान्छ, फिस्स !

ती मारिएका व्यक्तिहरुको परिवारलाई जति पिडा हुन्छ, त्यसको अनुभव हामी अलिकति पनि गर्न सक्दैनौँ ! पड्काउनेका लागि एउटा मर्यो, आन्दोलन गरियो, हाम्रा लागि एउटा मान्छे बम विस्फोटनमा परेर मर्यो, सरकारले जनताको सुरक्षा गर्न सकेन, उसको परिवारको लागि सबैथोक सकियो, सबैथोक गुम्यो, आशा र सपनाहरुमा बज्रपात भयो ! सरकारको दोहोला काढिरहेका विपक्षी दलहरुलाई सरकार ढाल्ने एउटा कारण मिल्यो, पड्काउनेलाई युद्ध जितेँ भन्ने लागेकोछ, बाँकी जनतालाई आफू पनि त्यस्तैको शिकार भइने हो कि भन्ने डर पलाएकोछ ! आज उनीहरु मरे, उनीहरुको ठाउँमा म, तिमी, तपाई जो पनि हुनसक्थ्यौँ, र डर छ त्यस किसिमका कायरतापूर्ण घटनामा हामी पर्न पनि सक्छौँ !

जब पनि कसैले जनताको निम्ती भनेर केही सुरु गर्छ भने, त्यसको सिधा नकरात्मक असर जनतालाई नै परिरहेको हुन्छ ! भूपी शेरचनले भनेजस्तो, “बन्दैन मुलुक दुईचार सपूत मरेर नगए” भन्नेकुरा अब पुरानो भएकोछ ! हामी सबै मिलेर र जुटेर काम नगरे, एकले अर्कोलाई सहयोग नगरे, मुलुक बन्दैन भन्ने बुझ्नु जरुरी छ ! मान्छे मारेर, बम र बारुद पड्काएर, कुनै पनि हालतमा जनताको भलाइ हुँदैन, जित हुँदैन ! एकपटक मात्र पाइने जिन्दगी अनमोल छ, सबैलाई आफ्नो लागि जिन्दगी अमुल्य छ ! हत्याहिंसाको राजनितीले कसैलाई भलो गर्दैन, मान्छे मारेर कुनै कुराको समाधान पनि निस्किँदैन !

जनताको लागि भन्दै जनतालाई नै मारेर समस्याको समाधान कहिले हुनेवाला छैन ! जति जति पश्चिमी विश्व अघि बढ्दैछ, हामी भने उती उती पछाडि जाँदैछौँ ! विनाकामका निरर्थक मागहरु तेर्स्याएर, आन्दोलन र क्रान्तिको नाउँमा हामी आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्दैछौँ ! कहिलेकाँही सोच्छु, हाम्रो जिवनको अर्थ के हो? लुटेर, फुटेर र मारेर के हुनेवाला छ? भौगोलिक रुपमा हाम्रो देश धरै सानोछ, तर हामी आपसमा भने,  यति नजिकै बसेर पनि टाढा टाढा भएकाछौँ  । हामीलाई देशमा विकास चाहिएकोछ, चौबिसै घन्टा बिजुलीबत्ति चाहिएको छ ! मलाई लाग्छ, मन हुने र चाहने हो भने, यी सबै कुराहरु २-३ वर्ष भित्र पुरा हुन्छन्, संविधान १-२ हप्तामा तयार हुन्छ तर होइन हामी एउटा न एउटा अर्घेलो थापेर नै बस्छौँ ! एउटाले गरेको काम, अर्कोलाई मन पर्दैन, अनि जनताको नाम लियो, जनताकै नाममा बन्द गर्यो, मान्छे मार्यो !

पेट्रोलियम पदार्थको भाउ बढ्नु घट्नु स्वभाविक हो ! देशमा भ्रष्टचार र कुशासनका कारण, हामीले अभावको जिन्दगी बाँच्नु परेकोछ, यो सत्य हो तर यसको अर्थ यो होइन, कसैको हत्या गर्नुपर्छ ! हत्याबाट कुनै पनि कुराको समाधान निस्किँदैन ! देशमा जरा गाडेर बसेको भ्रष्टचारीतन्त्रका कारण पेट्रोलियम पदार्थबाट देशलाई घाटा भइरहेको कुरा कसैसामु लुकेको छैन ! ठाउँठाउँमा हुने चुहावट र भ्रष्टचार नियन्त्रण गर्ने अनि पेट्रोलियम पदार्थमा लगाइएको करहरुमा केही सहुलियत गर्ने हो भने पेट्रोलियम पदार्थ केही सहुलियतमा पाइन्छ होला तर यसको अर्थ यो होइन, पेट्रोलियम पदार्थको भाउ बढायो भनेर मान्छे मार्नुपर्छ । समस्या समाधानको उपायहरु धेरै छन्, काम गर्ने हो भने ! 

मारिने मारिइसकेकाछन् ! बाँच्नेलाई डर र त्रास थपिएकोछ !  र फेरि पनि भन्छु, मान्छे मारेर समस्याको समाधान कुनै पनि हालतमा हुन सक्दैन ! पड्काएर, मान्छे मारेर सभ्य समाजको निर्माण हुन सक्दैन, देश अघि बढ्न सक्दैन, फगत देश उधोँतिर नै धकेलिनेछ, जनताले नै सास्ती पाउनेछन् !

आजको घटनामा मारिने सम्पूर्ण व्यक्तिहरुको आत्माले शान्ति पाओस्, उनीहरुको परिवारलाई यस्तो जटिल घडिमा धैर्यधारण गर्ने साहस मिलोस्, घाइतेहरुलाई शिघ्र स्वास्थ्यलाभको कामना ! पड्काउनेहरुले चाँडो भन्दा चाँडो सजायँ पाउन ! यस किसिमको दुखद घटना फेरि नघटोस् !

आउँ हामी सबै मिलेर सभ्य समाज र समृद्ध राष्ट बनाउन लागिपरौँ, धेरै केही गर्नुपर्दैन मात्र आफ्नो क्षेत्रमा इमान्दार भएर काम गरौँ, आपसमा सहयोग गरौँ, आफू आफूमा भाइचाराको विकास गरौँ !

तस्विर: commondreams.org

1 comment :