जरुरत: काम हुन्जेल भाँडो, काम सकिएपछि…

राजु, मिना अनि उनीहरुको मोती नाम गरेको कुकुर ! उनीहरुको जिविका धान्न कुकुरले ठूलो मद्दत गरेको छ, उनीहरु सडकमा गएर तमासा देखाउँछन्, कुकुरले विभिन्न खेल देखाउँछ, उनीहरु यसैबाट आम्दानी गर्छन् । उनीहरुको घरको अभिन्न सदस्य मोती पनि हो ।

केही समयपछि राजु र मिनाको जोडीले कवाली देखाउने काम पाउँछन् । उनीहरु सडकबाट अब घरघरमा पुगिरहेका हुन्छन्, जसले बोलाउँछ उसकोमा गएर नाच देखाउँछन् । उनीहरुको आम्दानीको स्रोत अब नाचगान हुन्छ । एकदिन नगरपालिकाको गाडी आएर उनीहरुको कुकुरलाई लिएर जान्छ । नगरपालिकाले कुकुर लगेकोमा राजु दुख मनाउ गर्छ तर मिना “अब हामी नाचगानबाट कमाइ गर्छौँ, त्यो कुकुरको के जरुरत” भनेर प्रश्न गर्छे ।

Mera-Naam-Joker “जरुरत” भन्ने शब्दले राजु झस्किन्छ ! मिना भन्छे अब त्यस कुकुर को कुनै जरुरत छैन, हामी कवाली नाचेर आम्दानी गरिरहेकाछौँ । केही समयपछि उनीहरुलाई थिएटरमा नाच्ने प्रस्ताव आउँछ । मिना भन्छे, अब हामी थिएटरमा नाच्ने भइसक्यौँ, कवालीको के जरुरत ! अब मिना थिएटरबाट चलचित्रमा पुग्छे, केही समय पहिले उसको आवश्यकता रहेको त्यही थिएटर अब जरुरत बन्न पुग्छ ।

मिनालाई साथ दिँदै आएको राजु आफ्नै पुरानो बाटोमा फर्किन्छ, मिना थिएटरबाट चलचित्रमा प्रवेश गर्दै, चलचित्रकै क्षेत्रको व्यक्ति सँग विवाह गर्छे । कुकुर, कवाली, थिएटर हुँदै मिनाको जिवनमा अब राजुको पनि कुनै जरुरत रहँदैन । मिना जरुरत हुन्जेल प्रयोग गर्छे, अनि जब जरुरत हुँदैन तब बिर्सिन्छे, उसलाई ती सबै झिना मसिना कुरा लाग्छन् ।

सन् १९७० मा बनेको राज कपुरको चलचित्र “मेरा नाम जोकर” मा रहेको तेस्रो कथाले यसै भन्छ । जोकर बनेको राजु अर्थात राज कपुर मिनाको साथ दिँदा दिँदै फेरि पनि जोकर नै बन्न पुग्छ, तर मिना भने देशको प्रतिष्ठित कलाकार बन्छे । मिनालाई राजुको याद आउँदैन, किनकी उसको लागि राजुको अब जरुरत छैन । उसको लक्ष्य चलचित्रको नायिका बन्ने थियो, मिना नायिका त बन्छे तर उसलाई त्यस ठाउँसम्म आउन सहयोग गर्ने र हरदम साथ दिने, राजु कहिँ अँध्यारोमा हराउँछ ।

आज धेरै दिनपछि फेरि राज कपुरको चलचित्र “मेरा नाम जोकर” हेरियो । चलचित्र हेर्दै गर्दा मलाई “जरुरत” भन्ने शब्दले खुबै झस्कायो, चलचित्रमा पनि यो “जरुरत” शब्द बडो महत्वका साथ राखिएको पाएँ । यस संसारमा यस्ता मिना जस्ता पात्र खोज्न टाढा गइरहन पर्दैन, हाम्रै वरिपरि देखिन्छन् । अनि कतिले त आफ्नो जिवनमा देखेकै र भोगेकै होलान् । प्राय: टुप्पाबाट पलाएकाहरुले आफ्नो धरातल बिर्सिरहेका हुन्छन् । आफूलाई काम पर्दा हजुर हजुर भन्दै आउने, अनि आफ्नै मान्छे झैँ गर्नेहरु, काम सक्किएपछि या भनौँ जरुरत सक्किएपछि कुनै वास्ता राख्दैनन्, उनीहरुलाई चिन्न पनि इन्कार गर्छन् ।

प्राय: जसो यस्ता “व्यहोर” भएका मान्छेहरुले विपत्तिमा सँधै तपाईलाई सम्झिन्छन् तर सुखमा एक निमेष पनि सम्झदैँनन्, देखे पनि नदेखे झैँ गर्छन्, चिने पनि नचिने झैँ गर्छन् किनकी अब तपाईको जरुरत उनीहरुलाई पर्दैन । उनीहरु आफ्नो धरातल बिर्सन्छन्, सँधै यस्तै भइराख्छ भन्ने सोच राख्छन् । तर जब फेरि उनीहरुलाई कुनै दुखको अनुभुति हुन्छ तब फेरि उनीहरु तपाईलाई प्रयोग गर्न आइपुग्छन् ।

भन्ने गरिन्छ, “बैगुनीलाई गुनले मार्नुपर्छ” तर मलाई लाग्छ यस्ता जरुरतमा मात्र खोज्नेहरुलाई गुन लगाइराख्नुपर्दैन। जसरी “हिरा काट्न हिरा नै चाहिन्छ” अनि “फलाम काट्न फलाम नै चाहिन्छ”, त्यस्तै त्यस्ता जरुरतमा मात्र खोज्नेहरुलाई “बाल” दिनु हुँदैन । यसो भन्दैमा “बदलाको लागि बदला” लिनु पर्छ भनेको पनि होइन । तर कुरो यही हो कि, जरुरतमा मात्र आफ्नो भन्नेहरु जिवनको कुनै पनि मोडमा आफ्ना मित्र हुनसक्दैनन् ।

1 comment :

  1. Kasto Ramro Lekhnu BHayo Yaar..

    ReplyDelete