अफरोड एक्सप्रेस

घडि ले साँढे ८ बजाइसक्यो, स्टप बाट अझै गाडी हिँडाउने चालचुल छैन । ८ बजे हिँड्ने भनेको टाटा सुमो, करिब ९ बजे रिङरोड, बल्खु छोडेर फर्पिङ जाने बाटो समाउँछ । २०० मिटर जति मात्र हिँडेको हुँदो हो, ड्राइभर ले गाडि घ्याच्च रोक्छन्, कर तिर्नु पर्ने रहेछ, बल्खु मै ! गाडि मा ड्राइभर समेत गरेर १२ जना छन् । पछाडि को सिट मा ४ जना, बिचको सिट मा ४ जना अनि ड्राइभर सँगै अगाडि ३ जना ! यो यात्रा मा आफू चाँहि खलासी बनिएको छ । म नओर्लिसम्म, गाडि का कोही ओर्लिन पाउँदैनन् अनि म नै अन्तिम मा चढ्नुपर्छ ।

बल्खु बाट हेटौँडा निस्कने यो बाटो म हिँडेको धेरै वर्ष नै भइसक्यो । टाटा सुमोहरु चल्न थालेदेखि, म प्राय: यही बाटो बाट हिँड्न थालेको छु, एक त बाटो छोटो छ, अनि चाँडो पुगिन्छ, त्यसमाथि बाटो छेउछाउ का डाँडाकाँडा पनि रमाइला छन् । अहिले को सिजन मा बाटोभरि नास्पाती फलेका देखिन्छन, अनि आरु पनि पाकिरहेको हुन्छन् । सुन्तला को सिजन मा सुन्तलाहरु ले नै भरिए झैँ लाग्छन सबै डाँडाहरु नै ! यो कति औँ यात्रा हो भन्न त सक्दिन, तर पनि आज रमाइलो लागिरहेको छ, सायद आफ्नो जन्मदिन को दिन मा यात्रा गरिरहेको भएर पनि यस्तो लागेको होला ! बेला बेला, मा स्नापटु खोल्छु नेटवर्क टिप्ने ठाउँ मा । अनि एकचोटि ट्विटर  र फेसबुक हेर्छु, शुभकामना को वर्षा भइरहेको छ ।

पानी को छिटा अनुहार मा पर्न थालेपछि थाहा हुन्छ, पानी परिरहेको छ बाहिर, म गाडिभित्र छु । झ्याल बन्द गर्छु, गाडि को अगाडि को वाइपर चलिरहेको छ, दाँया वाँया ! चोभार मा पनि सवारी कर तिर तिरेर गाडि अगाडि बढ्छ । गाडि को लास्ट सिट मा २ महिला र दुइ पुरुष छन् । अनि बिच को सिट मा पनि २ महिला र २ पुरुष छन्, एउटा सानो ३-४ महिना को बच्चा पनि छ, बेला बेला मा रोइरहन्छ । अनि ड्राइभर सँगै, अगाडि ३ जना छन्, उनीहरु मध्ये २ जनालाई चोरी को आरोप लागेको रहेछ । खसि चोरेको आरोप लागेका कारण, उनीहरु गाँउ जाँदैछन्, आफ्नो सफाइ दिन को लागि । उनीहरु चोरको हैन भन्दैछन्, विनाकारण आरोप लागेको बताउँदैछन् । पछाडि सिट मा बस्ने ले, चाइनिज मोबाइल मा भोजपुरी रिमिक्स घन्काइरहेकाछन्, उनी बिरगंज हिँडेका रहेछन् । अलि अलि भोजपुरी बुझ्ने मलाई भोजपुरी रिमिक्स को चाँहि केही भेउ पाउन सकिन ।

आफ्नै सिट पछाडि को ले, नबुझ्ने रिमिक्स घन्काएपछि, आफूलाई रिस उठ्छ तर मलाई नबजाउ भनिहाल्न मिल्दैन । बरु ड्राइभरलाई नै गाडी को म्युजिक सिस्टम बज्दैन भनेर सोध्छु, ड्राइभर अगाडि म्युजिक प्लेयर राख्ने ठाउँ तिर ङंगित गर्दै भन्छन्, यही हो म्युजिक सिस्टम ! म्युजिक सिस्टम के हुनु, निकालेर फालिसकेछन् । ड्राइभर भन्छन्, पछाडि बजिरहेको छ त, जसरी पनि सुन्नु त हो नि ! हैन, यो अलि बुझ्न गाह्रो पर्यो त्यही भएर । त्यसको एकछिन पछि, भोजपुरी रिमिक् बन्द भयो । आफ्नै मोबाइल निकालेर, इयरफोन घुसारेँ, बज्न थाल्यो, ‘बहारा, बहारा हुआ दिल, पहेली बार..’ तर एकछिन पछि फेरी पछाडि बाट चाइनिज मोबाइल मा दोहोरी घन्किनथाल्यो । चाइनिज मोबाइल किन भनिरहेको छु भने, तिनीहरु को आवाज निकै ठूलो  र चर्को हुन्छ । दोहोरी पनि आफूलाई मन नपर्ने, दोहोरी को नाम मा जस्तो पायो त्यस्तै कोठे गित आउनथालेदेखि मलाई दोहोरी भन्यो कि झर्को लाग्छ । तर म चुपचाप सुनि नै रहन्छनु, दोहोरी घन्किरहेको छ । अनि यात्राभर घन्किनै रहन्छ ।

फर्पिङ बाट हामी सिमखोला जाने नभइ माथिको बाटो समात्छौँ । केही परपुगेपछि अर्को कर तिर्नुपर्ने रहेछ । कर उठाउने मान्छे भन्छ, यता बाट नजाँदा नै ठीक होला, अहिलेसम्म कुनै गाडि यताबाट गएको छैन, हिजो पानी परेर अगाडि एक ठाउँ मा, बाटो बिग्रेको छ, हिलो बाट गाडि जान सक्दैन होला । ५ मिनेट जति हामी माझ खैलाबैला भयो, अब के गर्ने ? अगाडि जाउँ भने बाटो बन्द होला, पछाडि फर्केर सिमखोला को बाटो जाउँ भने नि फर्पिङ बाट केही अगाडि पुगिसकियो । एकछिन सोचेपछि ड्राइभर बोले, जे पर्ला पर्ला यतैबाट जाने, हिलो मा फस्यो नै भनेपनि ४-५ जना ले धकेलेरै निकालौँला, हिजो आएकै बाटो त हो । ड्राइभर ले नै त्यसो भनेपछि, त्यही बाटो बाटै अघि बढ्छौँ । अलि पर पुगेर, खाजा खान गाडि रोकियो । हामी ले त्यो हिलोलाई पार गरिसकेका थियौँ । साँच्चै त्यो हिले उकालो बाटो मा गाडि चिप्लिँदै अघि बढेको थियो । जे होस् हामीले भनिएको अवरोध पार गरिसकेका थियौँ ।

त्यसपछि हाम्रो गाडि एकैपटक देउराली पुगेर रोकियो । हामी कुलेखानी बाट निकै माथि आइसकेका थियौँ । कुलेखानी मा भएको पानी माथिबाट प्रस्टै देखिन्छ । देउराली मा खाना खाइयो, लेक भएकोले निकै चिसो थियो । देउराली बाट उत्तर तर्फ हेर्दा पर, कुलेखानी को ड्याम देखिन्छ, दक्षिण तर्फ हेर्दा पर चुरे को उत्तरी भाग देखिन्छ, घाम पनि लागिरहेको रहेछ, दक्षिण तर्फ चाँहि । कैयौँ घुम्ति पार गर्दै, भिमफेदी आइपुग्छौँ । भिमफेदी मा पनि कर तिरिन्छ, साथै माथि देउराली को उकालो चढ्दा पनि कर तिरिएको थियो । भिमफेदी मकवानपुर को पहिले को सदरमुकाम हो, बजार पसल छन् तर पनि सुनसान र उदास देखिए झैँ आभास हुन्छ । ड्राइभर ले गाडि को गति तेज गर्छन् । मलाई नि निन्द्रा लागे झैँ हुन्छ, झ्याल को सिसा तल झारेर टाउको झ्यालनेर पुर्याएर सुतिदिन्छु । २ बजे गाडि आएर हेटौँडा मा रोकिँदा, निन्द्रा खुल्छ । चर्को घाम लागेको छ, निकै गर्मी भएको आभाष हुन्छ, धुलिखेल मा त अहिले पनि सिरक ओढेर सुत्नुपर्ने कुरा सम्झिन्छु ।

हेटौडा पार गरेपछि गाडि को गति झनै तेज हुन्छ, चुरियामाइ को मन्दिर मा केहीले सिक्का पैसा गाडिबाटै हुत्याउँछन् । म पनि हात जोड्छु । तेज गति मा हाम्रो गाडि हुँइकिरहेको छ । अगाडी २ नम्बर पुल छेउ मा केही मिनेट पहिले यात्रुवाहक मिनिबस ले पेट्रोल ट्यांकरलाई पछाडिबाट ठक्कर दिएको रहेछ । पेट्रोल ट्यांकरलाई अलिकति केही पनि भएको छैन, तर मिनिबस को अगाडि को भाग त कच्याककुचुक नै भएको रहेछ । प्राय: सबै यात्रु  घाइते भएका थिए । कसैको कुइनो, कसैको निधार त कसैको चिँउडो र कसैको मुख बाट रगत बगिरहेको थियो । केही को दाँत पनि झरेछ, उनीहरु सबै त्रसित र भयभित देखिन्थे । कोहि बसबाट झोला निकाल्दै थिए । उनीहरु को त्यस्तो हालत देख्दा मन सिरिंग भएर आयो, धन्न सबैलाई सामान्य चोटपटक मात्र लागेको थियो । २ नम्बर पुल भनिने क्षेत्र सबैभन्दा बढि दुर्घटना हुने क्षेत्र हो । त्यस ठाउँ मा हप्ता र दिनैपिच्छे जस्तो सवारी दुर्घटना भइरहेको हुन्छ ।

खसी चोरी का आरोप लागेकाहरुलाई ड्राइभर निरन्तर जिस्क्याइरहेका थिए । कहिले तिमीहरु ले नै चोर्यौ होला भन्थ्यो त कहिले तिमीहरु ले चोरेको हैन होला भन्थ्यो, उनीहरु चुपचाप हाँसिरहेका थिए । गाडि ले बाग्मती नदि पार गरिसकेको थियो, निकै गर्मी थियो । चर्को घाम लागिरहेकै थियो । नयाँरोड पुगेपछि, गाडिबाट ओर्लिएर आफ्नोघर तिर लागेँ । उसै त रातो वर्ण को आफू, चर्को घाम का कारण आफ्नो अनुहार कालै भएको थियो । धन्न बिजुली रहेछ, पंखा चल्यो, शितलता को महशुस भयो । आफ्नो यात्रा वर्णन घरमा गर्न थालेँ ।

अब केही दिन घर नै बसिन्छ, बिदा मनाउनैपर्यो ! बिदा मनाउन को लागि विपी कोइराला का कथा संग्रह तथा उपन्यासहरु  चौथो पटक फेरि पढ्दैछु । जति नै पढेपनि, विपि का कथाहरु ले आजसम्म अघाउन सकिएको छैन, त्यसैले त यो बिदा पनि विपी कै कथा र उपन्यास को लागि समर्पित गरिएको छ, साथै मा कनकमणी दिक्षित को ‘देखेको मुलुक’ पनि पढ्दैछु । जहाँ दिक्षित ले  नेपाल का विभिन्न घटना र परिस्थितिहरुबारे आफ्नो तर्कहरु र विचारहरु  कडारुप मा पेश गरेका छन् ।  :)

4 comments :

  1. अविछिन्न बहाव र चिटिक्क बाक्यहरु !

    परिवेष र पात्र फरक थिए, तर त्यो बाटो को रमाईलो छ अझै मनमा !

    राम्रो प्रस्तुती को लागि धन्यबाद ।

    ReplyDelete
  2. राम्रो यात्रा बिवरण

    ReplyDelete
  3. AnuragFromDhulikhelJuly 30, 2010 at 4:37 PM

    wow...रमाइलो यात्रा बर्नण....!! फर्पिङ देखी कुलेखानी हुँदै जाने त्यो रमणिय सडकमा मैले कुलेखानी सम्म मात्रै यात्रा गरेको छु। तेस्पछी बाटो Google Map मा Map Sketch बनाउदा निक्कै गजबको घुम्ती नै घुम्ती भएको देखेको थिए । अनी त्यो रोड को नाम के हो आकार ब्रो ? कुन Highway हो त्यो ?

    ReplyDelete
  4. अविछिन्न बहाव र चिटिक्क बाक्यहरु !

    परिवेष र पात्र फरक थिए, तर त्यो बाटो को रमाईलो छ अझै मनमा !

    राम्रो प्रस्तुती को लागि धन्यबाद ।

    ReplyDelete