मृत्युबाट अमर्त्यतिर

३० वर्षमा काठमाडौंले बीपी कोइराला, नारायणगोपाल, पारिजात, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालालाई अपार श्रद्धासहित अन्तिम बिदाइ गर्‍यो, जसमा ठूलो सङ्ख्यामा नेपालीहरू धुइरिनुले उहाँहरूले रचेको इतिहासको समकालीन मूल्याङ्कनलाई जनाउँछ।

आफ्नो समयको नेपाली राजनीतिको केन्द्रमा रहेका जङ्गबहादुर राणाका समकालीनहरू उनको उच्च मूल्याङ्कन गर्थे। तर, २५ फेब्रुअरी १८७७ मा पत्थरघट्टामा मृत्यु हुँदा तत्कालीन राजनीतिक दाउपेचका कारण काठमाडौंमा उनको अन्त्येष्टि हुन पाएन। उनलाई दागबत्ती दिने छोरा पद्मजङ्गले लेखेको जङ्गको जीवनी मा त्यो अन्तिम दिनको वर्णन छ। त्यस दिन तराईको वाग्मती किनारमा जङ्गबहादुरबाहेक अरू कुनै शासकको नाम नसुनेका ६ हजार मलामी जुटेका थिए। सती जान चितामा चढेका तीन श्रीमतीमध्ये हिरण्यगर्भकुमारीले आफ्ना पतिले सधैं देश र जनताको भलो चिताएको बताउँदै जीवनकालमा कदाचित् कसैलाई केही चोट पुर्‍याएका भए माफ गरिदिन विनम्र आग्रह गरिन्।

कोतपर्वमा चार दर्जनभन्दा बढी पुराना भारदार मारेका जङ्गको दृष्टिकोणमा त्यो अपरिहार्य घटना थियो, जसले भीमसेन थापाको मृत्युपछिको अस्थिरता, नेपाल दरबारमा बेलायती रेजिडेण्ट व्रायन हड्सनको हस्तक्षेप तथा पागल युवराज सुरेन्द्र, कमजोर राजा राजेन्द्र र महत्वाकाङ्क्षी महारानी लक्ष्मीदेवीबीचको टकरावबाट उत्पन्न दिशाहीनताबाट नेपाललाई बचाएको थियो। सुगौली सन्धि भएको दिनदेखि नै नेपालीहरूको चाहना जसरी भए पनि गुमेको भू-भाग फर्काउन् भन्ने थियो। जङ्गले त्यो काम गरेका थिए। नयाँ मुलुक फर्किएको उत्सव मनाउन अङ्ग्रेजसँग लडेका थुप्रै गोर्खाली योद्धा जीवितै थिए।

भीमसेन थापा मृत्युको समयमा लोकप्रिय थिएनन्। बाघ थुनिएको पिँजरा छेउमा निवास परिसरमै धरहरा र सुन्धारा जस्ता महँगा संरचना बनाएर शानका साथ बस्ने उनकै पालामा एकीकरण अभियानका योद्धालाई पाखा लगाउँदै आफ्नै नातेदारलाई सेनाको नेतृत्वमा ल्याइएको थियो, अङ्ग्रेजसँग धेरै भू-भाग गुमेको थियो, तिब्बत युद्धका नायक दामोदर पाण्डे काटिएका थिए। उता अमरसिंह थापा जस्ता युद्धवीर एकीकरण अभियानमा सैनिकका रूपमा योगदान नभएका भीमसेनलाई गन्दैनथे। काँगडा युद्धमा मद्दती फौजको नेतृत्व गरेर आएका भीमसेनका भाइ नयनसिंह थापा अमरसिंहको कुरा नसुनी किल्ला आक्रमण गर्न जाँदा भित्रबाट आएको गोलीले मारिएका थिए। काजी र मुख्तियारका भाइ नयनसिंह मारिँदा सेनाको मनोबल गिर्नु स्वाभाविक थियो। अमरसिंह यसको दोष भीमसेनलाई दिन्थे।

भीमसेनले शक्तिमा रहँदा विरोधीलाई सखाप पारे। तर, उनको अन्त्य दुःखद् भयो― लाश विष्णुमतीमा फालियो, न कोही मलामी गयो, न कसैले श्राद्ध गरे। तातो तेल खन्याएर मारिएका नेपाल आमाका अर्का सपुत बहादुर शाहको शव कतै जङ्गलमा फेला परेको थियो भनिन्छ। विरक्तिएका अमरसिंह गोसाइँकुण्डमा गएर मरेका थिए। उनका वीर छोरा रन्जोर सिंह कोतपर्वमा मारिए।

इतिहासकार फ्रन्सिस बुचानन ह्यामिल्टनका अनुसार पृथ्वीनारायण शाहको मृत्यु सबैको लागि हृदयविदारक थियो। उनी मरेको २० वर्षपछि नेपाल आएका ह्यामिल्टनले त्यस बेला पनि पृथ्वीलाई भारदारहरूले साह्रै सम्झेको उल्लेख गरेका छन्। मृत्युअघि उनले भनेका कुराहरू दिव्योपदेशमा समेटिए, देवघाटमा भएको मृत्यु र सद्गतिको चर्चा भने कतै भेटिएन। पृथ्वी जस्तै प्रतापि राजाहरू मणिमुकुन्द सेन र मानदेवको अन्तिम अवस्थाको विवरण पनि भेटिएको छैन।

नेपाल भूमिका सर्वथा पुज्य पुत्र गौतम बुद्धको अन्तिम अवस्था पनि अप्ठेरोमा बित्यो। इतिहासकार स्टिफन ब्याचलरका अनुसार शाक्यहरूले दासीलाई राजकुमारी भनेर बिहे गरिदिएको पोल खुलेपछि तीनदशक लामो समयका मित्र कोशल नरेश पासेनादीसँग उनको सम्बन्ध बिग्रिएको थियो। बाबु पासेनादीलाई सत्ताच्यूत गरेपछि तिनै दासीतर्फका छोरा विदुदभले बुद्धको अनुनय-विनयको बेवास्ता गर्दै कपिलवस्तुमा भीषण हमला गरे। विरक्त बुद्ध वर्षा लाग्नुअघि नै कोशलबाट वैशाली हुँदै राजगहतिर लागे। वैशाली गणतन्त्रमा पनि भर्खरैका बुद्धका पूर्व शिष्य सुनक्षतले त्यो गौतम बुद्ध भनेको को हो? भन्दै अनादर गरे।

राजगहमा राजा अजातशत्रुका प्रधानमन्त्री वशक्षरले बुद्धलाई वैशालीमाथि आक्रमण गर्न लागेको कुरो सुनाएपछि अहिंसाका पक्षधर बुद्धलाई आसन्न विनाशले झ्नै पीडित बनायो। सर्वत्र युद्धको विभीषिका देखेर निराश बुद्ध जीवनका अन्तिम दिन बिताउन आफ्नै जन्मस्थल फर्कंदै थिए,८० वर्षको उमेरमा भर्खरै ग्रीष्मकालीन कठोर यात्रा गरेको नश्वर शरीर निकै गलिसकेको थियो, राजगहबाट पाटलीपुत्र (पटना) हुँदै कपिलवस्तु फर्कने क्रममा जन्मस्थल भन्दा डेढ सय किलोमिटर परै कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे। यद्यपि, महापरिनिर्वाणका लागि बुद्धलाई संभवतः कुशीनगर नै उत्तम थियो। किनकि, त्यस बेला कपिलवस्तुस्थित उनका शाक्य आफन्तहरू भर्खरै कोशलराज विदुदभको महासंहारमा परेका थिए।

बुद्धको देहान्तको अवस्थाले त्यसभन्दा दुई/तीन सहस्राब्दीअघिका दार्शनिक तथा श्रीमद्भागवत गीताका रचयिता भगवान कृष्णले भोगेको नियतिको झ्ल्को दिन्छ। वंश संहार भएको अवस्थामा निधन भएका कृष्णको अन्त्येष्टि गर्ने कोही थिएनन्, बुद्धको मृत्युताका तक्षशिला विश्वविद्यालयमा सहपाठी रहेका उनका मित्र पूर्व कोशल सेनापति बन्धुलका परिजनहरू कुशीनगरमा शक्तिशाली थिएर तिनैले श्रद्धापूर्वक बुद्धको अन्त्येष्टि गरे। कृष्ण र बुद्धको उदाहरणले अन्त्येष्टिको भव्यता र व्यक्तिको इतिहासको मूल्याङ्कन फरक हुनसक्ने देखाउँछन्। तर, पछिका मानवहरूले यिनै महान् दुईलाई निर्गुण र निराकार परमात्माका रूपमा स्वीकार गरेका छन्।

- विश्व पौडेल / हिमालखबर पत्रिका

***************************************************************************************

ईतिहासले नायक र खलनायक ठहर्याएकाहरु को मृत्यु को दृष्टान्त दिएर लेखिएको  लेख राम्रो लागेर हामीले हिमाल खबर पत्रिका को सोही लेखलाई यहाँ फेरि प्रकाशित गरेका छौँ । कुनै कुनै प्रसंग मा चाँहि लाग्यो, ईतिहास का बारेमा मेरो बुझाइ कति गलत रहेछ ! अनि कहिँ चाँहि लाग्यो, सबैलाई राम्रो लागेको कुरा, सहि ठहर्याएको कुरा सबैलाई राम्रो लाग्छ नै भन्ने पनि नहुने रहेछ । अलिकति फरक तरिका ले सोच्यो भने, धेरै फरक भेट्न सकिँदोरहेछ ।

1 comment :

  1. फरक टेष्ट । आकारजी, राम्रो लाग्यो । मैले हिमालमा यो छापिएको अंक पढ्न छुटाएको रहेछु । त्यसै त इतिहास रुचीकर नलाग्ने । उहीमाथि पत्रिकामा आयो भने लेखमा कमै ध्यान जान्छ । तर, ब्लगमा मैले यसलाई पुरा पढेँ है । अनि इतिहासका वर्णनहरु पुरातनबाट सुरु भएर आधुनिक युगमा आइपुग्नुपर्नेमा जंगबहादुरबाट सुरु भएर बुद्धसम्म पुर्‍याइएको यहाँ पढ्न पाइयो ।

    ReplyDelete