नियात्रा : घान्द्रुक को घुमाइ - ४

तेस्रो दिन

विहानको ४:०० बजे लगाइएको समय सुचक आवाजले ब्युँझाउनु भन्दा तीन धण्टा अगाडीनै मेरो निर्दा खल्बलि सकेको थियो। रातभरी जाडो, गर्मी दुवै भइरह्यो; कहिले सिरक कम भएर त कहिले धेरै भएर। मलाई घोरेपानीमा बसेको ठाँउ अझै राम्रो लागेको थिएन। जेहेन-तेहेन ४: ५० मा म र शेखर भएर अरु साथीहरुलाई पछाडी नै छाडी सूर्योदय छुट्ला भन्ने डरले पुनहिल तिर हिडिहाल्यौ। विशेष गरेर मलाई र शेखरलाई सूर्योदय कुनैपनि हालतमा छुटाउन मन थिएन। त्यसैले अलि अल्छी गरिरहेका साथीहरुलाई छाड्नु पर्यो। रात पुरै नसकिएकाले उज्जयालो भइसकेको थिएन। हामीसँग बाटोमा चाहिने वा भनौ अध्यारोमा चाहिने बत्ति केहीपनि थिएन। तर हाम्रो यात्रा जुनको प्रकाशले सजिलो बनाइदियो। घोरेपानिमा तेसैत जाडो बढी हुने अझ तेसमापनि हामी हिमालतिरै लम्किरहेकाले होला जाडो एकदमै बढी भइरहेको थियो। जाडोले मेरा दाँतहरु बजिरहेका थिए। केही समयको उकालो चढाइपछि भने जाडो कम हुन थाल्यो, जीऊ तातेकाले। अलिमाथि पुगेपछि मानिसका हुलहरु सलबलाएको देखिन थाल्यो। सबै उकालो चढीरहेका थिए। हामी लम्किरहेको दिशाको ठ्याक्क पछाडी आकाशमा लाली लाग्न सुरु भइसकेको थियो। लाली बढ्दै जाँदा मलाई पुनहिलबाट सूर्योदय हेर्न नभ्याइने भयो जस्तो लागिरहेको थियो। पुनहिल तिरको आफ्नो वेग मैले अझै बढाएँ। झोलाहरु होटलमानै राखेर आएकाले होला मलाई उकालो चढ्न गाह्रो भएको थिएन।

sunrise                                                    सूर्योदय अघिको आकाश                                                            फोटो: प्रेम शेर्पा

पुनहिल तिरको मेरो वेग बढीनै रहेको थियो। शेखरले मलाई राम्रो साथ दिइरहेको थियो। लम्कदा लम्कदै हामी पहाडको टुप्पो पुग्यौं जहाँ करिब ४००-५०० जना पर्यटकहरु आकाशमा लाली देखिएको दिशातर्फ टाउको एकाग्र बनाएर हेरिरहेका थिए। बिश्वकै ठुलो लालीगुराँसको जंगल अनी समाजसेबी लाहुरे टेकबहादुर पुनले पुनहिलको टुप्पामै निर्माण गरी दिएको भ्यूटावर त मैले देखें तर यी सबै भन्दा महत्त्वपूण हामीले, १६ वटा हिमालले श्रृङ्खला बनाएर हामीलाई अगाडीबाट छेकिरहेको पायौं। श्रृङ्खला बनाउने हिमालहरुमा अन्नपूर्ण हिमश्रृङ्खला, धौरागिरी हिमश्रृङ्खला, नीलगिरी, हिमचुली, माछापुच्छ्रे आदी थिए। आकाशमा लाली अझै बढ्दै थियो। म घरी टावरबाट त घरी भुईंबाट लाली लागेको आकाशलाई हेरिरहेको थिएँ। यत्तिकैमा हामीले होटलमै छाडेका साथीहरुपनि आइपुगे। वातावरण अझ रमाइलो भयो। हामी नेपालले प्रकृतिबाट पाएको वरदानहरुको कुरा गर्न थाल्यौं।

मलाई कुनै हालतमा सूर्योदय नछुटोस भन्ने थियो। तर हो-हल्ला भएर, मानिस जम्मा भएर कराउँदैमा सूर्यकहाँ आउँदो रहेछ र? करिब दुई घण्टाको कुराई, त्यसमा पनि ५०-५० रुपैयाँको कालो चिया खाएपछि बल्ल सूर्यनारायणको आगमन होला जस्तो भयो। सूर्यको किरण सर्वप्रथम अन्नपूर्ण हिमालमा गएर ठोक्किएको देख्दा मलाई अलौकिक आनन्द प्राप्त भएको थियो। अलौकिक आनन्दलाई लौकिक शब्दहरुले वर्णन गर्न सकिदैन भनेर ऋषिमुनिहरुले भनेकाछन्। म पनि सक्दिन। तर म ऋषिमुनि हुनसकेको मानिसचाहिँ होइन। खाली यतिमात्र भन्छु- ‘सूर्यको किरण सेतो हिमालको शिरमा गएर ठोक्किदा स्वर्ग त्यहीँ बन्दोरहेछ’।

annapurna
                                            सूर्यको किरण अन्नपूर्ण हिमालमा                                   फोटो: प्रेम शेर्पा

आफ्नो आगमनको पूर्व सूचना अन्नपूर्ण र धौरागिरीलाई पठाएका सूर्यनारायण एकछिन स्वयंनै हाम्रा सामु उपस्थित भए। सधै देखिरहेको सूर्य भएपनि आज उसको महत्त्व बेग्लै थियो।

dhaulagiri from punahill
                                 पुनहिलबाट देखिएको धौलागिरी हिम श्रृङ्खला                         फोटो: प्रेम शेर्पा

हामीले पुनहिलमा करिब तीन घण्टा बितायौं। हिमाललाई छोएको जस्तो गरी फोटोहरु पनि खिचियो। मैले हवाईजहाजहरु आउँदै फरी एकैछिन पछि फर्केर जाँदै गरेको देखिरहेको थिएँ। सधै टाउको माथिमात्र उड्ने हवाईजहाजहरु आज पैताला भन्दा तल उडिरहेको देख्दा सुरुमा त मलाई पत्यार लागेन, मैले देखेको हवाईजहाजनै हो भनेर तर पछि साथीहरुसँग कुरा गर्दा थाहा पाएँ ‘माउण्टेन फ्लाइट’ भनेको त्यही हो।
पुनहिलबाट साकुरा होटल फर्किएर साथीहरुले खाजा, नास्ता खाएर घोरेपानिबाट घान्द्रुकको लागि हिड्दा विहानको ९:०० बजेको थियो। मलाईचाहिं खाजा खान मन नलागेकाले मैले खाजा खाइन।

पुनहिलको ‘वेस क्याम्प’ घोरेपानिबाट गुरुङ्गहिल हुँदै टाढापानिमा खाना खाएर घान्द्रुक पुग्ने हाम्रो योजना नयाँ थियो। पुरानो योजना अनुसार आज हामी टाढापानि बसेर भोलिमात्र घान्द्रुक जाने निर्णय भएको थियो। तर पैसाको कमीले गर्दा सबैजना पुरानो निर्णय बदल्न राजी भएका थियौं।

झरना, खोला, अग्ला पहाड, फेदी, देउराली, स्वच्छ हावा सबैको सङ्गत र सत्सङ्ग गर्दै हामी पदयात्रामा निरन्तर अघि बढीरहेका थियौं। घान्द्रुक पुग्ने उत्साहले यात्रालाई सरल र सरस बनाइरहेको थियो। मलाई जीवन झन धेरै रमाइलो, झन धेरै उत्साहपूर्ण लागिरहेको थियो। जीवनका लक्ष्यहरुलाई पनि पदयात्राको दैनिक गन्तब्य जस्तै स्पष्ट देख्न थालेको थिएँ मैले। अब फेरी जोस-जाँगरका साथ आफ्नो लक्ष्यको बाटोमा निरन्तर पाइला चाल्ने बाचा आफैंसँग गरे मैले।

घोरेपानिबाट देउराली, बानथाँटी हुँदै हामी टाढापानि पुग्दा दिउँसोको १:३० बजेको थियो। पूर्व योजना अनुसार हामी टाढापानिमा खाना खाँदै थियौं। सस्तो खानाको खोजमा एउटा कमसल देखिने दोकानमा खाना खाने निधो गर्यौं। बाहिरी आवरणमा दोकान कमसल भएपनि दोकाने दिदिको मन कमसल थिएन। दोकानको आवरण कमसल भएकाले होला दोकाने दिदिले खाना खाने ग्राहकको अपेक्षानै गर्नुभएको रहेनछ। भात, दाल, तरकारी सबैनै पकाउनु पर्यो। टाढापानिमा हामि ३:२० बज्दासम्म खाना खाइरहेका थियौं। खाना खाइसक्ने वित्तिकै म र प्रेम घान्द्रुक पुग्न ढिलो भयोभने कोठा नपाइने डरले घान्द्रुक हिंडिहाल्यौं।

टाढापानिबाट घान्द्रुकको दुरी तीन घण्टाको पैदल यात्रा हो। तर हामी एक घण्टा पैंतिस मिनेटमा नै घान्द्रुक पुगेका थियौं। ओरालो बाटो सुरु भएर होला हामीलाई घान्द्रुक पुग्न आधा समय कम लागेको। फेरी समयमा नै घान्द्रुक नपुगे कोठा नपाइने डर पनि थियो जसले हामीलाई निरन्तर चाडो हिडायो। घान्द्रुक पुगेर खाने, बस्ने सबै निधो गरेपछी बल्ल हामीले घान्द्रुकको बनोटमा आँखा डुलायौं। मलाई घान्द्रुक भनेको गुरुङ्गहरुको बसोबास भएको प्राचीनतम गाउँ हो भन्ने मात्र थाहा थियो। जे भएपनि घान्द्रुक घुम्ने कामलाई भोलीको पोल्टामा छाडि म र प्रेम चिया खान थाल्यौं। बिस्तारै साथीहरु आइपुग्न थाले। हामीले छानेको होटल बाटो छेउमानै परेकाले साथीहरुले अलमलिनु परेन हाम्रो खोजीमा।

रात पर्दै जाँदा हामी सवै, आगो बालेर, आगोको वरिपरी बसेर यात्राको बारेमा कुरा गर्न थाल्यौं। मलाई ‘मानिस र खोला दुवै सहर पुगेर मात्र प्रदुषित हुन्छ कि क्या हो?’ भनेर प्रश्न सोध्न मनलागेको थियो तर सोधिन। सबैलाई यात्राले भरपुर आन्नद प्रदान गरेको प्रतिकृया आयो। केही क्षण गौरबको कोकिल कण्ठका गीतहरु सुनेर खाना खायौं हामीले। निरन्तर ८ घण्टाको यात्राले थकाएपनि पदयात्राको प्रमुख गन्तब्य आइपुग्दा म उत्साहित थिएँ। कतिलाई भोलि पोखरा पुग्ने कुराले पनि उत्साहित बनाएको थियो होला। जे भएपनि पदयात्रा सफल हुन सकेकोमा हामी सवै खुसी भयौं र सुत्न आ-आफ्नो कोठा तर्फ लाग्यौं।
क्रमश...
- अमोल आचार्य
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

2 comments :

  1. 'मानिस र खोला दुवै सहर पुगेर मात्र प्रदुषित हुन्छ कि क्या हो?’ धेरथोर हो क्यार ।

    रमाईलो लाग्यो यात्रा बयान ।

    ReplyDelete
  2. घान्द्रुक घुमाइहरु धेरै पदयात्रा बर्णनमा पढेको अनी सुनेको हो, तर बर्णनकारले यात्रामा बजेटलाई पनि छुनुभएको यो शायदै पहिलो होला। खुशी लाग्यो । ति दिनहरु जहिले साथीहरुसँग यात्रा योजना बनाएर हिड्दा वास्तविकतामा बजेट अभाब हुँदै जाँदा यात्रा स्वत: छोट्याउनु पर्ने,सस्ता होटेल,खानाहरुमा आफुलाई समेट्नु पर्ने हुन्छ शायद यात्राको गन्तब्य बढी महत्वोपूर्ण भएर होला ...तिनै दिन आज दिमागमा फेरी आए। तस्बिरहरु पनि राम्रा छन। keep it up!!

    ReplyDelete