नियात्रा : घान्द्रुक को घुमाइ - ३

दोस्रो दिन

विहान खाजा खाएर सबै जाना घोरेपानि यात्राको लागी तयार हुँदा ८:०० बजिसकेको थियो। होटलमा आफूले खाएको र सुतेको पैसा तिरियो। पोखरामा २००० रुपैयाँ खर्च भएको थियो। तिखेढुङ्गामा रु.२०० मात्र खर्च भयो। खर्च भएको पैसाको भिन्नता देख्दा हासो लाग्यो। सबै प्रकारले सर्वसुलभ पोखरा र नयाँपुलबाट एकदिनको खच्चर ढुवानीबाट सामान ल्याउनु पर्ने तिखेढुङ्गा। अच्चमको भिन्नता।

तिखेढुङ्गाबाट घोरेपानी ६ घण्टाको ठाडो उकालो हो भन्ने थाहा थियो मलाई। समुन्द्र सतहबाट १५४० मिटर उचाईमा रहेको तिखेढुङ्गाबाट २७५० मिटरमा रहेको घोरेपानि पुग्दै थियौं हामी। उकालो जति भएपनि घोरेपानि हाम्रो गन्तब्य भएकाले हामी उकालो चढ्न तर्फ लाग्यौं। ढुङ्गा छापेर बनाइएको सिंडी जस्तो बाटोभरि सामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरको मलमूत्र देखिन्थ्यो। कहिले काहिँ उकालो चढ्दै गर्दा ओरालो झरिरहेका खच्चरलाई बाटो छोड्दा ‘जनावर’को बाटो नछेक्नुनै उत्तम हो भन्ने पाठ सिकियो। उकालो ठाडो थियो। अगाडी बढ्न निकै गाह्रो भइरहेको थियो। मलाई बल्ल आफूले भारि झोला बोकिएछ भन्ने भान भयो। झोलालाई कर्तब्य ठानि बोकेर हिडिरहें म। कहिं थकाई मार्थे, कहिँ पानि खान्थें। हिड्दा जति दु:ख भएपनि गन्तब्यको नजिक पुगिरहेको आभास मात्रले पनि मनभरि आनन्दको अनुभुति प्रवाह हुन्थ्यो। निधारबाट थोपा-थोप गरि निस्किएको पसिनाले मलाई म पैरख गर्न सक्षम छु भन्ने भान गराइरहेको थियो। जीवनको यात्रामा पनि म मेहनत, पैरख गरेर सफल हुन्छु भन्ने आत्मविश्वास मन भित्र प्रगाढ भइरहेको थियो। उकालो ओलारोमा परिणत हुने क्रम जारी थियो। पहाडको टुप्पोलाई छोएर उडेका बादलहरु नजिकै देखिन थालिसकेका थिए। बादलहरु त्यति नजिकै देख्दा कसको मनमा आनन्द आउँदैन होला र?

हामी हिडिरहेको उकलोलाई उल्लेरीको उकालो भन्दा रहेछन् स्थानिए ब्यक्तिहरुले। उल्लेरी मात्रचाहिँ त्यस ठाउँको नाम रहेछ। करिब २ घण्टाको उकालो यात्रापछि हामीले उल्लेरीको उकालोलाई उल्लेरीको ओरालो बनायौं। अझै करिब ४ घण्टाको यात्रा बाँकि रहेपनि अब बाटो सरल छ भन्ने थाहापायौं हामीले। मेरो लागि उल्लेरीको उकालो उक्लीनु एउटा जीत थियो। मेरो आफ्नो मनमाथिको जीत। मलाई यस्तै लाग्यो।

घोरेपानिको होम्रो यात्रा एउटा पसलमा आफैंले लगेको दालमोट चिउरा खाएपछि फेरी प्रारम्भ भयो। अर्काको पसलमा बसेर आफैंले लगेको खाजा खायौं हामीले। तर चिया चाहिँ पसलकै खाएका थियौं। चुरोटपनि किनियो त्यही पसलमा। ए साँच्ची, फोनपनि गरेका थिए साथीहरुले घरतिर, त्यहि पसलको सि.डि.यम.ए फोनबाट। एक कलको रु.१० मात्र।

केहि खानुपर्दा, कुनै निर्णय गर्नपर्दा सबै साथीहरु भेला हुन्थ्यौं हामी। अघिको पसलमा जस्तै। अनि यात्राको समयमा चाहिँ दुईदेखि तीन जनाको समुहमा हिड्थ्यौं। कहिले एक्लैपनि हिडिन्थ्यो। एक्लै हिड्दापनि कहाँ एक्लै हुइन्थ्योर। मनसँग अनेक कुराहरु गर्थें म। कहि भूतकालका कुरा, केहि भबिष्यका कुरा। योजनाहरु बुनिन्थ्यो जीवनको। कहिलेकाहिँ अनायासै खित्का छुट्थ्यो कुनै रमाइलो घटना सम्झँदा अनि कहिले आफैंले गरेका गल्तीहरु सम्झँदा दु:ख लाग्थ्यो। म वरिपरिको प्रकृतिको मनोरम दृश्य, पहाड, अलिअलि देखिन थालेको हिमाल सबैले मेरो खुसीलाई अझ बढाइरहेका थिए भने मेरो जीवनका नरमाइलो घटनाहरुको असरलाई कमपनि गराइरहेका थिए। जीवन भनेको सुख र सन्तुष्टि बाड्ने एउटा मञ्न न हो। त्यहि गर्नु छ मलाईपनि। यही नै मेरो लक्ष्य हो।

हिड्दा हिड्दै अब त आफूले झोला बोकेको छु भन्ने यादपनि हराउन थाल्यो। झोला त जीउकै एउटा अभिन्न अङ्गै जस्तो भइसकेको थियो। मान्छेको जीउलाई जे गरेपनि हुनेरहेछ। काम गराए काम गर्छ, अल्छी लगाए सुतेर बस्छ। मानिसको जीउ हैन; मन, मनोबल र इच्छा महत्त्वपूर्ण हो भन्ने पाठलाई अझै प्रष्टसँग बुझ्न सहयोग गर्दै थियो घान्द्रुक पदयात्राले मलाई।

दिउँसो १:१० बजेतिर नाङ्गेथाँटी पुगें म। मसँग प्रेम र गैरब थिए। हामी नाङ्गेथाँटी पुग्दा साथीहरु सबै त्यहाँ पुगिसकेका रहेछन्। कोही १० मिनेट अगाडि त कोही १५ मिनेट अगाडि। झरनामा फोटो खिच्नलाग्दा हामीलाई केही ढिलो भएको थियो। नाङ्गेथाटीमै दिनको खाना खाने निधो भएकाले र खाना नपाकिसकेकाले हामीले नाङ्गेथाँटीमा केहीबेर बस्नुपर्ने भयो। खाना पर्खदा हाम्रो भेट केही नेपाली गाइडहरुसँग भयो। उनीहरुले बताए अनुसार घोरेपानि अब १ घण्टाको पैदल दुरिमा थियो। त्यसैले समयको चिन्ता नगरि हामी ती नेपाली गाइडसँग कुरा गर्न थाल्यौं।

नेपाली पदयात्रीहरु देख्न पाउँदा उनलाई निकै खुसी लागेको रहेछ। ‘आठ बर्षअघि गाइडको पेसा सुरुगर्दा पदयात्रामा हिड्ने नेपालीहरु विरलै भेट्टाउथें मैले तर आजकाल नेपालीहरुले पनि पदयात्राको महत्त्व बुझेछन्। पदयात्रा भनेको बरालिएर हिड्नु हैन शारिरिक र मानसिक कसरत हो’ भन्दै थिए ती गाइड। दिनको १५-२० डलर कमाउँछु भन्दैगर्दा उनले पर्यटनले धेरैलाई रोजगारी दिएको छ नेपालमा भनेर भन्न छुटाएनन्। ‘अझै नयाँ रुट र गन्तब्यहरु बनाउनुपर्छ र पर्यटकलाई आकर्षित गर्नुपर्छ’ उनले आफ्नो धारणा सुनाए। खाना पाकिसकेको थियो। हामी खाना खान थाल्यौं। ती गाइड टुरिष्ट लिएर घोरेपानि गए।

Ghandruk Trek           नेपाली गाइडसँग कुरा गर्दै                                                                               फोटो: प्रेम शेर्पा

नाङ्गेथाँटीबाट तीन बजेमात्र हामी घोरेपानिका लागि रवान भयौं। घोरेपानि हाम्रो पदयात्राको रुट मध्येको सबैभन्दा उच्च ठाउँ थियो। त्यसैले हामी घोरेपानिसँग नजिकहुँदै जादा चिसो बढ्न थालेको अनुभव भइरहेको थियो। हिमालसँग संङ्गत गरेर आएको हावाले हामीलाई न्यानो लुगा लगाउन आदेश दिइरहेको थियो। हावासँग जुँगा लडाई गर्दागर्दै हामी ४:३० बजे घोरेपानि पुग्यौं।

घोरेपानीमा हामीलाई थाहाभयो विदेशीले साच्चैनै नेपालीले भन्दा धेरै पैसा खर्च गर्दारहेछन। यसको उदाहरणका लागि होटेल साकुराकी भाउजुले हामीसँग कुरा गर्दा-गर्दै आफूले चिनेको विदेशी पाहुँनालाई, हामीलाई नै विर्सेर गरेको स्वागतबाट थाहा भयो। त्यतिहुँदा पनि हामीले होटल साकुरामानै बस्ने निधो गर्यौ। अरुतिर ठाउँ खोज्न जाँदा अहिले पाएको ठाउँपनि गुम्ने डर थियो हामीलाई र थकाइपनि मज्जाले लागिसकेको थियो।

तिखेढुङ्गाजस्तै घोरेपानिमा पनि हामी खाना नखाउन्जेलसम्म कुरा गरेर बस्यौं र खाना खाएपछि सुत्न गयौं। सुत्न जाँदा करिब १० बजेको थियो होला। भोलि विहानै उठेर सूर्योदय हेर्न पुनहिल जाने कार्यक्रम थियो। त्यसैले मैले ४:०० बजेको समयसुचक आवाज मोबाइलमा लगाएको थिएँ। पदयात्राभर मोबालले संचार यन्त्रको काम नगरेपनि घडिको कामचाहिँ गरेको थियो।

क्रमश...

- अमोल आचार्य
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

0 प्रतिक्रिया :

Post a Comment