मैन बत्ति पग्लिरहेछ

सानो कोठा, कोठाभरि अध्याँरोको साम्राज्य छ, सानो आँखिझ्यालबाट जुनका केही किरणहरु छिर्दै भित्रको अँध्यारोसँग जुधिरहेको थियो जसले त्यस आँखिझ्याल नजिकैका ठाउँमा अस्पष्ट आकृति देखिन्थे । अँध्यारो गुजुल्टोबाट केही बढीरहेको भान हुन्छ, त्यो आकृति त्यही आँखिझ्यालनिर रोकिन्छ । झट्ट हेर्दा कुनै पुरुषको जस्तो लाग्ने त्यो आकृति निकैबेर त्यहाँबाट चियाइरहन्थ्यो, कै’ले झोक्राएको त कैले आशुँ पुछेकोजस्तो लाग्थ्यो ।

ढ्याप्प आवाज आउँछ र केही छिनमा नै हातमा मैनबत्ति लिएर अस्वभाविक हिँडाइमा एक महिलाको प्रवेश हुन्छ । “सुत्‍नुभा’को”, यो आवाज सुनेर त्यो पुरुष झस्किन्छ । धेरै बेर पछि त्यो पुरुष ले जवाफ फर्काउँछ । “तिमीले भान्सा सकायौ, आज निकै अबेर भैसक्यो” ।

नजिकैको खोपीमा बलिरहेको सानो मैनबत्तिको कमजोर किरण र अध्याँरोको महासंग्राम भइरहेको बेला ती महिला र पुरुष आकृति अति चम्किला देखिन्थे । “आज हजुर, किन त्यसरी रिसाउनुभा’को, मेरो भाग्य यस्तै रै’छ, म अभागिनि ले गर्दा तपाई किन दु:ख पाउनु” एकैछिन मौनता छायो, यतिबेलासम्म मैनबत्ति वरिपरि स-साना किरा र पुतलीहरु आफ्नो मृत्युको लागि होडबाजी गरिरहेकाथिए ।

“तपाई, अर्की बिहे गर्नुस” वाक्य नसकिँदै एक थप्पडको आवाज सुनिन्छ, अनि सुँक्क सुँक्क गर्दै रोइरहेको पनि । “मलाई यति भन, के तिमी म संग खुशी छैनौ ? हो, विलासी जिवन दिन सकेन तर अग्नि साक्षी राखेर खाएको कसम कै’ले तोडेको छैन र तिमी आमा बन्न नसक्नुमा कसको दोष, के थाहा ?”

यतिबेलासम्म ती दुवैको आकृति छुट्याउन लगभग गाह्रो भैसकेको थियो, त्यो दुबै आकृति मिसिरहेको थियो ।

“भगवानमाथि विश्वास गर”, पुरुष आवाज सुनियो जसबाट अझै त्यहाँ झिनो आशा प्रतित हुन्थ्यो । सायद त्यही झिनो आशा लिएरै होला, आकृति साँघुरिँदै थियो, मानौँ तिनीहरु पग्लिरहेका थिए तर त्यो भन्दा अगाडि नै नजिकैको मैनबत्ति पग्लिसकेको थियो ।

-मुकुन्द “अनडेस्टिनी”
बायोटेक दोश्रो वर्ष, केयु

7 comments :

  1. nice short article.

    ReplyDelete
  2. सानो लेखमा मिठास छ सकिन्छ भने यसको अर्को भाग पढन पाए हुन्थ्यो ।

    ReplyDelete
  3. story has many parts,the very 1st part is this. in accordance to your supportive comment next part will be soon posted.
    please check http://aakarpost.blogspot.com/ within few weeks.
    thanks ......

    ReplyDelete
  4. अविनाशीNovember 11, 2008 at 11:14 AM

    रुन रुन मन लाग्ने जस्तो रैछ

    ReplyDelete
  5. very nice, heart touchi8ng.
    firstly, the introduction of the condition, the reference as a candle and then the fact has been precisely arranged and the story has a momentum...
    it's damn... good
    Subash

    ReplyDelete