Skip to main content

मिसिंग मामाघर [कथा]

'बाँदराखुइ, ह्याँ आएर पिँढीमा बसो, अब पनि चकचक गरेको देखें भने भालेसँग थुन्दिन्छु'

हामी मामाघर जाँदा हजुरबुबाको 'वार्निङ' सँधै यस्तै हुन्थ्यो। मामाघरमा हजुरबुबा, हजुरआमा र लक्ष्मी दिदी थिए। मामा माइजु 'इन्डिया' बस्नुहुन्थ्यो। हाम्रो घरबाट हाम्रो मामाघर आधि घण्टाको दुरीमा थियो, शुक्रबार हुने बित्तिकै हामी दाजुभाइ मामाघर दगुर्थ्यों। मामाघर नपुग्दासम्म हजुरबुबाको केहि याद आउँथे'न, गौँडो कट्ने बित्तिकै हजुरबुबाको चर्को अवाज सुनिन्थ्यो अनि हामी दाजुभाइका पाइला रोकिन्थे। 'यी बाँदराचोद आए पछी घराँ कैल्यै शान्ति'सँ बस्न दिन्नन्, चकचक चकचक मात्रै गर्छन'। यस्ता गाली सुनेपछि हामीलाई हजुरबुबा पटक्कै मन पर्दैनथ्यो। उहाँको बोली साह्रै खरो थियो, बोली सुन्ने बित्तिकै हामी डरले तैं चुप मै चुप हुन्थ्यौं अनि पिँढीमा बसेर उड्कुसी मुड्कुसी खेल्थ्यौँ। ​हेर्दा पनि निकै नराम्रो हुनुहुन्थ्यो हाम्रो हजुरबुबा, कालो न कालो हुनुहुन्थ्यो, कहिल्यै हाँस्नु हुँदैनथ्यो, खाली बाँदराखुइ र बाँदराचोद भन्दै गाली गर्नुहुन्थ्यो। केट'केटी हुँदा हामी त्यो भनेको के हो बुझ्दैनथ्यौं, ठूला भएपछि थाह पायौं, 'इन्डियन' गाली रहेछ, अलि 'मोडिफाई' भएको रहेछ।
हामी मामाघर पुग्दा सँधै पिँढीमा रेडियो बजिराखेको हुन्थ्यो, हजुरबुबा कहिले डोको बुन्दै, कहिले भालेलाई मकै खुवाउँदै, अनि कसै न कसैसँग ​बाझ्दै ​बसेको भेटिनुहुन्थ्यो, कहिले भालेले गाली खाइरहेको हुन्थ्यो, कहिले रेडियोले, हामी पुगेपछि गाली खाने हाम्रो पालो हुन्थ्यो। मामाघरमा एउटा अजंगको भाले थियो, हामीलाइ देखे पछि ठुंग्न आइपुग्थ्यो, मामाघरमा हजुरबुबा पछि सबभन्दा धेरै डर त्यसैको लाग्थ्यो। तर पनि लक्ष्मी दिदीसँग भेट्न पाइने लोभले मामाघर जान मनलाग्थ्यो।

हाम्रो मामाघरका पाखामा सिजन अनुसारका फलफुल पाइन्थे, अनि बाँदर निकै आउंथे, हामीलाइ बाँदर लखेट्न खुब रमाइलो लाग्थ्यो। सुन्तला, नासपाती, बेलौंती, राता बोक्रा हुने खालका केरा, कटहर, आरु, निबुवा फल्थे तर हामीलाई यी फलफुल त्यति मन पर्दैनथे। हामीलाई त ऐंसेलु, दहिचामल, काफल, कालीगेडी, अंगेरी मन पर्थे। मुठ्ठी भरि ऐसेलु जम्मा भैसक्दा हातभरी पुरै काँडाले चिथोरिएका हुन्थे, अंगेरी खाएर मुख काला हुन्थे, कहिले गाँडे ऐसेलु र दहिचामलका पात मिसाएर चपाऊँदा पान खाए जस्तै मुख राता हुन्थे; हामी यिनै 'प्रुफ' लिएर फर्किन्थ्यौं। त्यसपछि मामाघरको पिँढीमा हजुरबुबाको सामुहिक गाली खानुपर्थ्यो।

'समाचार दिनदिनै बजाऊँछन् बाँदराखुइहरु, नाटक सुन्न शनिबारै कुर्नुपर्छ' हजुरबुबाले रेडियोलाई सँधै गर्ने यो गाली अझै याद आऊँछ। बिहानको शंखध्वनि देखि बेलुका प्रसारण बन्द नहूँदा सम्म मामाघरको रेडियो पिँढीमा 'फुल भोल्युम'मा बज्थ्यो, वरिपरीका चार घरले सित्तैंमा सुन्न पाउँथे। शनिबार बिहानको ठिक दश बजे हजुरबुबाका हातबाट हामी केटकेटीको निकै निर्ममतापुर्वक ट्याङ्किकओ चिसो पानीले धुवाई हुन्थ्यो। हजुरबुबाका कठोर हातले हाम्रा कलिला पाखुरा र खुट्टा मिँचींदा असह्य पीडा हुन्थ्यो, त्यसमाथि अघिल्लो दिन चकचक गर्दा पाछेका हातगोडामा साबुनको पिरोले पोल्दा आँशु झर्ने गर्दथे,  काम्दै कटकटिएको मैलो पखालिने पालो कुरेर बस्थ्यौं।

रेडियोमा पाण्डव सुनुवारको एउटा कार्यक्रम बज्थ्यो, हामी त्यसबेला तेल घसिंदै गरिएका हुन्थ्यौं, खुबै आनन्द लाग्थ्यो। सुरिलो स्वरमा बोल्ने ती पाण्डव सुनुवार आफ्नै मामा जस्तै लाग्थ्यो। दिउँसो रेडियो नेपालमा नाटक सुन्थ्यौं, वरिपरिका पनि मानिस नाटक सुन्न झुम्मिन्थे, नाटक सुन्न खुब रमाइलो लाग्थ्यो, गा.बि.स.मा बाहेक अरुतिर टि.भी थिएनन्, त्यहाँ बिहिबार रामायण मात्रै देखाउँथे। हजुरबुबाले गाली गरेको सुन्दा र त्यसरी चिसो पानीले नुहाउनु पर्दा हामी दाजुभाइ अर्को हप्ता मामाघर नआउने सल्लाह गर्दै फर्किन्थ्यौं, तर मङ्गलबार बुधबार देखी लक्ष्मी दिदीको यादले सताउन थाल्थ्यो अनि कहिले शुक्रबार आउला र मामाघर जाउँला भन्ने हुन्थ्यो।

मामाघरको पिँढी गजबको जंक्सन थियो, पँधेरा जाने हुन् या बेसीबाट फर्किने हुन्, मामाघर कै आँगन भएर हिंड्थे र धेरैजसो पिँढि ा एकछिन बिसाउँथे। दुइटा गुन्द्री सँधै बिछ्याइएका हुन्थे। मामाहरु इन्डियाबाट आउँदा पिँढि  सानोतिनो साडी पसल नै जस्तो देखिन्थ्यो। अरुबेला पनि कम्तिमा दुईजना बुढीमाऊ कहिले टपरी गाँसीरहेका, कहिले बत्ति कातिरहेका हुन्थे अनि आपसमा सासले केके बोल्थे, हामी बुझ्दैनथ्यौं, सायद बुहारीहरुका कुरा काट्दा हुन। हप्तैपिच्छे गइने भएकाले मावालीलाई नमस्ते गर्ने भनेको दशैं, श्राद्ध र चाडवाडमा टिका लगाएर दक्षिणा थाप्दा मात्रै थियो।

पुग्नेबित्तिकै दिदी कता छे भनेर खोज्न हिंड्थ्यौं । लक्ष्मी दिदीको खुबै माया लाग्थ्यो, दिदीले पनि हामीलाई खुबै माया गर्थी, यो साँच्चिकै मेरी आफ्नै दिदी भैदिएको भए जस्तो लाग्थ्यो। दिदी किन नपाकी भनेर आमालाई सँधै गुनासो पोख्थें, तैं छोरी भएर किन जन्मिनस् त भनेर आमा भन्नु हुन्थ्यो । दिदिले शुक्रबारै ट्याङ्कि भर्थी, हप्ता भरिका कपडा धोएर भ्याउँथी, कहिले काहीं हाम्रा कपडा पनि थपिन्थे, खुशी साथ धोइदिन्थी। खुब रहरलाग्दो गरेर घाँस काट्थी, दिदी घाँस काट्दै हुन्थी हामी ऐसेलु, अंगेरी या काफल के फलेका छन्, खोज्दै हिँडथ्यौं। हामीले टिप्न नसके दिदीलाइ बोलाउँथ्यौं, दिदीले हँसियाले तानेर भए पनि टिपेर खुवाउँथी। अनि बेलुका पिँढिमा हजुरबुबा हजुरआमा अनि छिमेकी गफिंदै हुन्थे, हामी फुच्चा फुच्ची उड्कुसी मुड्कुसी खेल्थ्यौं। राती सुत्ने बेलामा दिदीले किचकन्नी र मुर्कट्टाका कथा सुनाउँथी, यति भयानक तस्विर आँखा अगाडी आउँथे कि हामी डराएर खुट्टा सिरक भित्र लुकाउथ्यौँ। रंगेली खोला र ऐसेलीको कुवामा साँच्ची कै मुर्कट्टा छन् भन्ने हामीलाई लाग्थ्यो । त्यसैले दिउँसो पनि एक्लै मामाघर जाने आँट आउँदैनथ्यो। घर फर्किँदा बाटोमा मुर्कट्टा देखिने पो हो कि भन्ने डरले दौडिने गर्थ्यौं। गोजीमा कम्तिमा ५ रुपैयाँ हजुरआमाले हाल्दिनु भएकै हुन्थ्यो, अनि बाटोभरी आफ्नो पैसा कसरी खर्च गर्ने र भाइको पैसा कसरी उछिट्याउने भनेर प्लान बन्थे ।

मैले यो उमेरसम्म हजुरआमा रिसाएको देखेको छैन। हजुरबुबालाई एकदम माया गर्नु हुन्थ्यो। हजुरबुबा निकै बुढो हुनुहुन्थ्यो, हजुरआमा त्यत्ति बुढी देखिनु हुँदैनथ्यो। दिदीहरु भन्थे, बिहे गर्दा हजुरबुबा २२ बर्षको, हजुरआमा ९ बर्ष कि हुनुहुन्थ्यो रे। हजुरआमाले सँधै हजुरबुबाको खुट्टा धोएर जल पिउनुहुन्थ्यो। म अचम्म मानेर हेर्थें। मोटो चस्मा लगाउने हजुरआमा मामा माइजु आउँदा तामिलमा फररर बोल्नु हुन्थ्यो। उहाँहरु निकै समय इन्डिया बस्नु भएको थियो। हजुरबुबा नभएको मौका परेर म हजुरआमाको कोठामा पुग्थें। त्यो कोठामा बेग्लै खालको मिठो बास्ना आउँथ्यो । खाटमुनी मद्रासी मसला र दालमोठ फिँजाईएका हुन्थे। मलाई इन्डियन स्वीट सुपारी खान मनपर्थ्यो। मामा माइजु बर्ष बिराएर मात्र आउनुहुन्थ्यो। मलाइ मामाहरु आउँदा भन्दा जाँदा रमाइलो लाग्थ्यो। जानेबेलामा मामाले सँधै केहि आइसीका नोट खल्तीमा हालेर बस चढ्नुहुन्थ्यो। मलाई मामाको बस कतिखेर जाला र पैसा गनुँला जस्तो हुन्थ्यो। आमा हजुरआमाहरु रुँदै बिस्तारै फर्किंन्थे, हामी दाजु भाइ हर्षले दौडिन्थ्यौं।

हामी अलिकति ठुला भयौं। दिदीले एसएलसी दिनेबित्तिकै दिदीको बिहेको कुरा चल्यो। चितवन दिने कुरो भो। जुँगा भएको मान्छेसंग दिदीको बिहे आँटे। मलाई त भिनाजु मन परेन। गाउँघरको चलन चल्ती अनुसार राम्रैसँग बिहे भो। दिदी बेहुलीका शृंगारमा निकै राम्री देखिएकी'थी। दिदीलाइ अन्मायौं। ट्याक्सी चढेपछि दिदीले रूँदै हेरी, मेरा भक्कानो छुट्यो, बाट-बाटै रूँदै फर्कें। मामाघर आएर पनि निकै बेर रोएँ। यता मामा रूँदै हुनुहुन्थ्यो, उता माइजु। निम्तालुहरु जम्मै एक एक गर्दै बिदा माग्दै गए। हजुरबुबाले सबैलाइ टिका लगाएर दक्षिणा दिनुभयो। बिस्तारै कोहि पनि रहेनन् त्यहाँ। अघिसम्म पन्चे बाजा घन्कीरहेको त्यो करेसा, खुट्टा राख्ने ठाऊँ नभएको त्यो आँगन अहिले उजाड देखिन्थ्यो। रित्तो आँगन भरी टपरी, अक्षता र फुल छरिएका थिए, ध्वजा भुइँमा लतारिएका थिए, जग्गेबाट फुस फुस धुवाँ आइरहेको थियो, लावा अझै पड्किँदै थिए। साँच्चै चेली अन्माएको घर उराठलाग्दो हुने रहेछ। मेरा हिक्का अझै रोकिएका थिएनन्। पहिलोचोटी मलाई मेरो मामाघर एकदम नरमाइलो लाग्यो। आमाले ‘भोलि स्कुल जानुपर्छ बाबु घर जा’ भन्नु भो, झन् नरमाइलो लाग्यो।

त्यसपछी मामाघर जान मन लाग्न छोड्यो। दिदी थिइन, हजुरबुबाको गाली खान मात्र के जानु? कहिले काहिँ जाँदा निकै उराठ लाग्थ्यो, पाकेर कालै भैसकेका काफलले पनि मन लोभ्याऊँदैनथे। पिँढीमा रेडियो घन्किन छोडेको थियो, रेडियोलाई टिभीले बिस्थापित गरिसकेको थियो। दिन बित्दै गए, दिदी बिर्सींईदै गई।

एस.एल.सी. दिएर क्याम्पस पढ्ने लाठे भएँ म। मामाघर त कहिलेकाँही त्यो पनि चाडवाड पर्दा मात्र जान्थ्यौं। कहिलेकाही जाँदा हजुरबुबा पहिलेको जस्तो लाग्थेन। हामीलाई गाली गर्नुहुन्थेन, बोल्न खोज्नुहुन्थ्यो। सायद उहाँलाई पनि आजकल घरमा कोहि नहूँदा न्यास्रो लाग्दो हो। म सानोतिनो जागिर खान थालेको थिएँ, त्यसैले हजुरबुबा हजुरआमा कहिलेकाहिँ अस्पताल जान आउनु हूँदा मात्र भेटहुन्थ्यो। “हामी बुढा बुढीलाई तिमीहरुले माया मार्यौ” भनेर गुनासो पोख्नुहुन्थ्यो। तर नातिले इलम गरेको खुब सह्राउनुहुन्थ्यो। म मासिक १५ सय रुपैँया तलवको जागिर खान्थें, त्यति पैसा तेल खर्च, खाजा मै ठिक्कहुन्थ्यो। उहाँहरुलाई नातीले कति कमाउँछ भन्ने कुरामा केहि चासो थिएन। नातिले इलमको बाटो समायो भन्ने कुरा मात्रैले खुशी हुनुहुन्थ्यो। अहिले पो अनुभव हूँदैछ, कति निस्वार्थ थियो उहाँहरुको माया अनि त्यो सम्बन्ध। ती अब कहिल्यै दोहोरिँदैनन् । हामीलाई सम्बन्धको महत्व थाह हुन नपाउँदै ती कहाँ कहाँ हराईसक्दा रहेछन्। महत्व पहिल्यै थाह भैदिनु कि, बुद्धि पहिल्यै आइदिनु बरु। निस्ठुरी पो हुँदो रहेछ समय।

हजुरबुबा बेलाबेलामा बिरामी पर्न थाल्नु भएकोथियो। उच्च रक्तचापको बिरामी हुनुहुँदोरहेछ, त्यो चर्को डाको, ती गाली हजुरबुबाको रोगले गर्दा रहेछ भन्ने थाह भयो मलाई। त्यसपछि पुराना कुरा बिर्सिन थालियो, हजुरबुबाको माया लाग्न थाल्यो। हजुरबुबा हजुरआमा हामीलाई निकै इज्जत दिएर बोल्नुहुन्थ्यो। अब मामाघर जान फेरी खुशी लाग्न थाल्यो। ऐसेलु, काफल, अंगेरी लगभग भुलिसकिएको थियो। पिँढीमा भलादमी भएर बसेर सुन्तला छोडाएर, नासपाती खुर्केर खाने भइएको थियो। कहिलेकाँही म सोच्ने गर्थें, यी बुढा बुढी सँधै जसो २ जना मात्रै हुन्छन, के गफ गर्दा हुन? हामी हूँदा त फर्मल्ली बोल्छन, हामी नहूँदा हाँसेर रोमान्टिक कुरा गर्लान कि गर्दैनन् होला? आफ्नो भर्खर भर्खर लभ पर्दै थियो, त्यसैले टिप्स खोज्दा खोज्दै जाँदा यस्तै यस्तै कुरा दिमागमा आउँथे। त्योबेला घरमा सँधै एउटा न एउटासंग टर्म बिग्रेकै हुन्थ्यो। घर छोडेर हिँडौ कि जस्तो झोँक चल्थ्यो। अनि घरमा टर्म बिग्रिँदा खाना खान मामाघर पुग्थेँ। आफ्नो उमेर नै त्यस्तै थियो, पढ्न जस्तो गार्‍हो केहि लाग्थेन्। सिकाउनेहरु फेरी उत्तिकै हुन्थे। मामाघर गयो, कसैले केही भन्दैनथ्यो। आनन्द।

एकदिन बिहान अचानक हजुरबुबालाई पक्षघात गर्‍यो। सोहि रात आफैँले सबैलाई ' …हजुरबुबा अब हुनु हुन्न.... ‘ भनेर नराम्रो खबर दिनुपर्यो, आफ्नै आमालाइ उहाँको बुबा बित्नु भयो भनेर भन्नु जस्तो गाह्रो अरु केहि नहुँदो रहेछ। म उहाँहरुलाइ जस्तो सोच्छु उहाँहरु पनि आफ्ना आमाबुबालाई त्यस्तै सोच्नुहुन्छ। उता शव बहानको व्यवस्था गर, मृत्यु प्रमाणपत्र लिउ, अनेक झमेलाले एकछिन बिसाएर रुन पनि पाइन। सग्लै लागेको हजुरबुवाको लाश बोकेर फर्केको त्यो दिन मेरो जीवनको सबैभन्दा दुखद दिन थियो। हजुरआमाले 'मलाइ अन्तिम पटक उहाँको खुट्टाको पानी खान देउ' भन्दै बिलौना गर्दै खुट्टाको पानी पिएको दृश्य जस्तो हृदयबिदारक दृश्य सम्झिँदा आज पनि मेरो गला अबरुद्ध हुन्छ ।

हजुरबुबाको देहान्त पछि त्यो घरमा हजुरआमा मात्र बाँकी रहनुभयो। राता मद्रासी सारीमा सँजिने मेरी हजुरआमालाइ बेरंगी बस्त्रमा देख्दा मन कुंडीएर आयो। अनि त्यसै त्यसै मामाघर जान मन लाग्न छोड्यो। हजुरआमा एक्लै हुनुहुन्छ, जानु पर्छ भन्ने बुद्धि पनि आएन। छोरा बुहारी सँधै विदेश, नातीनातिना बिराना भए, माया मारे भन्ठान्नु हुन्छहोला। आजकल मनमा धेरै कुरा खेल्छन। मामाघरको खुब याद आउँछ, बालापन सम्झिन्छु, हजुरबुबा हजुरआमा सम्झिन्छु, हजुरआमाले पकाएको अचार सम्झिन्छु, ती राता खालका केरा सम्झिन्छु, काफल सम्झिन्छु, हजुरबुबाको गाली सम्झिन्छु, त्यो रेडियो सम्झिन्छु, त्यो भाले सम्झिन्छु। अनि हरेक सम्झनाको माया लागेर आउँछ।

सुन्छु हजुरआमा आजकल त्यति कान सुन्नु हुन्न रे, सुन्छु अझै पनि लटरम्म फलफुल फल्छन रे, तर चोरेर केही बाँकी राख्दैनन् रे, सुन्छु बाँदर उस्तै आउँछन् रे, बुढीमान्छे के धपाउन सक्नु होला र? आफै पकाएर एक्लै खाँदा के मिठो हुँदो हो? बिरामी पर्नु हुँदो हो, सन्चो बिसन्चो सोध्दिने कोही छैन। बिरामी पर्दा पँधेराबाट कसले पानी ल्याईदिँदो हो? हजुरबुबाको कति याद आउँदो हो, अनि एक्लै कति रुनु हुँदो हो? जब यस्ता कुरा मनमा खेल्न थाल्छन, अनि अहिल्यै गैदिउ झैँ लाग्छ। तर के गरूँ, टाढा छु, विवश छु। आजकल हजुरआमालाई देख्न एकदम मन लागेको छ, हजुरआमासँग दिनभर बसेर उहाँका मनका ब्यथा सुन्न मन लागेको छ, उहाँले बनाएको खान मन लागेको छ। बाँदर लखेट्न मन लागेको छ। एकपटक फेरी त्यहि समय जिउन मन लागेको छ। कता कता डर लागेर आउँछ कतै ढिलो पो हुन्छु कि भनेर।

- N®B

(यो कथा निशांक रानाभाटले लेख्नु भएको हो । उहाँले यस अघि लेख्नुभएका कथा र अनुभुतिहरु यहाँ गएर पढ्न सकिन्छ । उहाँलाई ट्विटरमा (@being_nrb) फलो गर्न सकिन्छ !)

Comments

  1. Enjoyed reading the whole thing, but the last sentence touched me.

    ReplyDelete
  2. धेरै मिठो लाग्यो पढ्दै जादा मेरा आफ्नै मामाघरका दिनहरु संझनामा आए ।

    ReplyDelete
  3. धन्यबाद सुजन :)

    ReplyDelete
  4. तपाईंको लेखन शैली असाध्यै राम्रो लाग्यो । लेख्दै गर्नुहोला । :)

    ReplyDelete
  5. धन्यबाद सन्जीब सर!

    ReplyDelete
  6. मलार्इ पनि मामाघर जाने गरेको दिनको निकै याद भो, हामी पनि दुर्इभार्इ नै हौं, दिदीबैनीबिनाको । फरक दुर्इवटा पाएँ यहाँको र हाम्रो कथामा - मेरोमा चाँहि हजुरआमा मात्र हुनुहुन्छ, हजुरबा हुनुहुन्थेन र लक्ष्मी दिदी पनि थिइँनन् । मात्र बोर्इ, अनि मामा पनि जागिरको शिलशिलामा बाहिर हुनुहुन्थ्यो ।
    यो कथा पढ्दा कताकता आफ्नै कथा पढे जस्तै लाग्यो ।

    ReplyDelete
  7. यो मामाघर भन्ने ठाउँ र त्यहाँका पात्रहरू यसरी दिमागमा पस्छन कि ति विशेष र समय सँगै विस्तारै विलिन पनि हुन्छन्। सम्झना पाना पल्टाईदिनु भएकोमा धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  8. NGAWANG YG SHERPAMay 9, 2013 at 3:05 PM

    "नातीले कति कमाउँछ भन्ने कुरामा केहि चासो थिएन। नातिले इलमको बाटो समायो भन्ने कुरा मात्रैले खुशी हुनुहुन्थ्यो। अहिले पो अनुभव हूँदैछ, कति निस्वार्थ थियो ।" पढ्दै जाँदा यी लाईनमा आईपुग्दा धेरै भावुक भएँ । हजुरबाको गाली गर्ने तरीक़ा मन पर्यो । आख़ीर मा़या जस्लाई गरीन्छ, गाली उसैलाई गरीन्छ । लेखले मन छोयो ।।।

    ReplyDelete
  9. मामाघरको बारेमा त्यति खेर नै पनि खुब चर्चा सुने थिएँ तर पढ्न भ्याईराखेको थिएन | एकपटक बाहिर निस्कदा अफलाइनमा सेभ गरेर पढ्छु भनेर सेभ पनि गरि हिडेको थिएँ तर सेभ नै नभएको रहेछ , त्यति खेर पनि त्यस्तै भएर पढ्न पाईन तर आज चै सम्झेर आकार पोस्टमा खोजेर तपाईको " मामाघर " को कथा पढें | एकदम राम्रो लाग्यो | कथा कस्तो मजाले सरर बगेको , कतै रोकिनै मन नलाग्ने :) |

    तर कथा पढी रहंदा म भ्रममा रहेछु | म त यो कथा हाम्रो आकार ब्रो कै हो कि भन्ठानेको थिएँ , उहाँलाई नै मुख्य पात्र बनाएर पढीरहेको थिएँ तर हैन पो रैछ | लास्टमा आएर पो थाहा भो ! कथा त @being_nrb ब्रोको पो रहेछ :)

    ReplyDelete
  10. मेरो भान्जाहरुको र बुवा -आमाको याद आउने बनायो | तपाईंको लेखन शैली मलाई एकदमै मन पर्यो | काल्पनिक भन्दा पनि यथार्थपरक लाग्यो यो कथा |

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

कुखुरी जालैमा [Photo Story]

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक...

मेरो बिहे [कथा]

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए। “खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ । “एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो । “मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें । म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें । मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोल...

Subscribe to Aakar Post