Skip to main content

मिसिंग मामाघर [कथा]

'बाँदराखुइ, ह्याँ आएर पिँढीमा बसो, अब पनि चकचक गरेको देखें भने भालेसँग थुन्दिन्छु'

हामी मामाघर जाँदा हजुरबुबाको 'वार्निङ' सँधै यस्तै हुन्थ्यो। मामाघरमा हजुरबुबा, हजुरआमा र लक्ष्मी दिदी थिए। मामा माइजु 'इन्डिया' बस्नुहुन्थ्यो। हाम्रो घरबाट हाम्रो मामाघर आधि घण्टाको दुरीमा थियो, शुक्रबार हुने बित्तिकै हामी दाजुभाइ मामाघर दगुर्थ्यों। मामाघर नपुग्दासम्म हजुरबुबाको केहि याद आउँथे'न, गौँडो कट्ने बित्तिकै हजुरबुबाको चर्को अवाज सुनिन्थ्यो अनि हामी दाजुभाइका पाइला रोकिन्थे। 'यी बाँदराचोद आए पछी घराँ कैल्यै शान्ति'सँ बस्न दिन्नन्, चकचक चकचक मात्रै गर्छन'। यस्ता गाली सुनेपछि हामीलाई हजुरबुबा पटक्कै मन पर्दैनथ्यो। उहाँको बोली साह्रै खरो थियो, बोली सुन्ने बित्तिकै हामी डरले तैं चुप मै चुप हुन्थ्यौं अनि पिँढीमा बसेर उड्कुसी मुड्कुसी खेल्थ्यौँ। ​हेर्दा पनि निकै नराम्रो हुनुहुन्थ्यो हाम्रो हजुरबुबा, कालो न कालो हुनुहुन्थ्यो, कहिल्यै हाँस्नु हुँदैनथ्यो, खाली बाँदराखुइ र बाँदराचोद भन्दै गाली गर्नुहुन्थ्यो। केट'केटी हुँदा हामी त्यो भनेको के हो बुझ्दैनथ्यौं, ठूला भएपछि थाह पायौं, 'इन्डियन' गाली रहेछ, अलि 'मोडिफाई' भएको रहेछ।
हामी मामाघर पुग्दा सँधै पिँढीमा रेडियो बजिराखेको हुन्थ्यो, हजुरबुबा कहिले डोको बुन्दै, कहिले भालेलाई मकै खुवाउँदै, अनि कसै न कसैसँग ​बाझ्दै ​बसेको भेटिनुहुन्थ्यो, कहिले भालेले गाली खाइरहेको हुन्थ्यो, कहिले रेडियोले, हामी पुगेपछि गाली खाने हाम्रो पालो हुन्थ्यो। मामाघरमा एउटा अजंगको भाले थियो, हामीलाइ देखे पछि ठुंग्न आइपुग्थ्यो, मामाघरमा हजुरबुबा पछि सबभन्दा धेरै डर त्यसैको लाग्थ्यो। तर पनि लक्ष्मी दिदीसँग भेट्न पाइने लोभले मामाघर जान मनलाग्थ्यो।

हाम्रो मामाघरका पाखामा सिजन अनुसारका फलफुल पाइन्थे, अनि बाँदर निकै आउंथे, हामीलाइ बाँदर लखेट्न खुब रमाइलो लाग्थ्यो। सुन्तला, नासपाती, बेलौंती, राता बोक्रा हुने खालका केरा, कटहर, आरु, निबुवा फल्थे तर हामीलाई यी फलफुल त्यति मन पर्दैनथे। हामीलाई त ऐंसेलु, दहिचामल, काफल, कालीगेडी, अंगेरी मन पर्थे। मुठ्ठी भरि ऐसेलु जम्मा भैसक्दा हातभरी पुरै काँडाले चिथोरिएका हुन्थे, अंगेरी खाएर मुख काला हुन्थे, कहिले गाँडे ऐसेलु र दहिचामलका पात मिसाएर चपाऊँदा पान खाए जस्तै मुख राता हुन्थे; हामी यिनै 'प्रुफ' लिएर फर्किन्थ्यौं। त्यसपछि मामाघरको पिँढीमा हजुरबुबाको सामुहिक गाली खानुपर्थ्यो।

'समाचार दिनदिनै बजाऊँछन् बाँदराखुइहरु, नाटक सुन्न शनिबारै कुर्नुपर्छ' हजुरबुबाले रेडियोलाई सँधै गर्ने यो गाली अझै याद आऊँछ। बिहानको शंखध्वनि देखि बेलुका प्रसारण बन्द नहूँदा सम्म मामाघरको रेडियो पिँढीमा 'फुल भोल्युम'मा बज्थ्यो, वरिपरीका चार घरले सित्तैंमा सुन्न पाउँथे। शनिबार बिहानको ठिक दश बजे हजुरबुबाका हातबाट हामी केटकेटीको निकै निर्ममतापुर्वक ट्याङ्किकओ चिसो पानीले धुवाई हुन्थ्यो। हजुरबुबाका कठोर हातले हाम्रा कलिला पाखुरा र खुट्टा मिँचींदा असह्य पीडा हुन्थ्यो, त्यसमाथि अघिल्लो दिन चकचक गर्दा पाछेका हातगोडामा साबुनको पिरोले पोल्दा आँशु झर्ने गर्दथे,  काम्दै कटकटिएको मैलो पखालिने पालो कुरेर बस्थ्यौं।

रेडियोमा पाण्डव सुनुवारको एउटा कार्यक्रम बज्थ्यो, हामी त्यसबेला तेल घसिंदै गरिएका हुन्थ्यौं, खुबै आनन्द लाग्थ्यो। सुरिलो स्वरमा बोल्ने ती पाण्डव सुनुवार आफ्नै मामा जस्तै लाग्थ्यो। दिउँसो रेडियो नेपालमा नाटक सुन्थ्यौं, वरिपरिका पनि मानिस नाटक सुन्न झुम्मिन्थे, नाटक सुन्न खुब रमाइलो लाग्थ्यो, गा.बि.स.मा बाहेक अरुतिर टि.भी थिएनन्, त्यहाँ बिहिबार रामायण मात्रै देखाउँथे। हजुरबुबाले गाली गरेको सुन्दा र त्यसरी चिसो पानीले नुहाउनु पर्दा हामी दाजुभाइ अर्को हप्ता मामाघर नआउने सल्लाह गर्दै फर्किन्थ्यौं, तर मङ्गलबार बुधबार देखी लक्ष्मी दिदीको यादले सताउन थाल्थ्यो अनि कहिले शुक्रबार आउला र मामाघर जाउँला भन्ने हुन्थ्यो।

मामाघरको पिँढी गजबको जंक्सन थियो, पँधेरा जाने हुन् या बेसीबाट फर्किने हुन्, मामाघर कै आँगन भएर हिंड्थे र धेरैजसो पिँढि ा एकछिन बिसाउँथे। दुइटा गुन्द्री सँधै बिछ्याइएका हुन्थे। मामाहरु इन्डियाबाट आउँदा पिँढि  सानोतिनो साडी पसल नै जस्तो देखिन्थ्यो। अरुबेला पनि कम्तिमा दुईजना बुढीमाऊ कहिले टपरी गाँसीरहेका, कहिले बत्ति कातिरहेका हुन्थे अनि आपसमा सासले केके बोल्थे, हामी बुझ्दैनथ्यौं, सायद बुहारीहरुका कुरा काट्दा हुन। हप्तैपिच्छे गइने भएकाले मावालीलाई नमस्ते गर्ने भनेको दशैं, श्राद्ध र चाडवाडमा टिका लगाएर दक्षिणा थाप्दा मात्रै थियो।

पुग्नेबित्तिकै दिदी कता छे भनेर खोज्न हिंड्थ्यौं । लक्ष्मी दिदीको खुबै माया लाग्थ्यो, दिदीले पनि हामीलाई खुबै माया गर्थी, यो साँच्चिकै मेरी आफ्नै दिदी भैदिएको भए जस्तो लाग्थ्यो। दिदी किन नपाकी भनेर आमालाई सँधै गुनासो पोख्थें, तैं छोरी भएर किन जन्मिनस् त भनेर आमा भन्नु हुन्थ्यो । दिदिले शुक्रबारै ट्याङ्कि भर्थी, हप्ता भरिका कपडा धोएर भ्याउँथी, कहिले काहीं हाम्रा कपडा पनि थपिन्थे, खुशी साथ धोइदिन्थी। खुब रहरलाग्दो गरेर घाँस काट्थी, दिदी घाँस काट्दै हुन्थी हामी ऐसेलु, अंगेरी या काफल के फलेका छन्, खोज्दै हिँडथ्यौं। हामीले टिप्न नसके दिदीलाइ बोलाउँथ्यौं, दिदीले हँसियाले तानेर भए पनि टिपेर खुवाउँथी। अनि बेलुका पिँढिमा हजुरबुबा हजुरआमा अनि छिमेकी गफिंदै हुन्थे, हामी फुच्चा फुच्ची उड्कुसी मुड्कुसी खेल्थ्यौं। राती सुत्ने बेलामा दिदीले किचकन्नी र मुर्कट्टाका कथा सुनाउँथी, यति भयानक तस्विर आँखा अगाडी आउँथे कि हामी डराएर खुट्टा सिरक भित्र लुकाउथ्यौँ। रंगेली खोला र ऐसेलीको कुवामा साँच्ची कै मुर्कट्टा छन् भन्ने हामीलाई लाग्थ्यो । त्यसैले दिउँसो पनि एक्लै मामाघर जाने आँट आउँदैनथ्यो। घर फर्किँदा बाटोमा मुर्कट्टा देखिने पो हो कि भन्ने डरले दौडिने गर्थ्यौं। गोजीमा कम्तिमा ५ रुपैयाँ हजुरआमाले हाल्दिनु भएकै हुन्थ्यो, अनि बाटोभरी आफ्नो पैसा कसरी खर्च गर्ने र भाइको पैसा कसरी उछिट्याउने भनेर प्लान बन्थे ।

मैले यो उमेरसम्म हजुरआमा रिसाएको देखेको छैन। हजुरबुबालाई एकदम माया गर्नु हुन्थ्यो। हजुरबुबा निकै बुढो हुनुहुन्थ्यो, हजुरआमा त्यत्ति बुढी देखिनु हुँदैनथ्यो। दिदीहरु भन्थे, बिहे गर्दा हजुरबुबा २२ बर्षको, हजुरआमा ९ बर्ष कि हुनुहुन्थ्यो रे। हजुरआमाले सँधै हजुरबुबाको खुट्टा धोएर जल पिउनुहुन्थ्यो। म अचम्म मानेर हेर्थें। मोटो चस्मा लगाउने हजुरआमा मामा माइजु आउँदा तामिलमा फररर बोल्नु हुन्थ्यो। उहाँहरु निकै समय इन्डिया बस्नु भएको थियो। हजुरबुबा नभएको मौका परेर म हजुरआमाको कोठामा पुग्थें। त्यो कोठामा बेग्लै खालको मिठो बास्ना आउँथ्यो । खाटमुनी मद्रासी मसला र दालमोठ फिँजाईएका हुन्थे। मलाई इन्डियन स्वीट सुपारी खान मनपर्थ्यो। मामा माइजु बर्ष बिराएर मात्र आउनुहुन्थ्यो। मलाइ मामाहरु आउँदा भन्दा जाँदा रमाइलो लाग्थ्यो। जानेबेलामा मामाले सँधै केहि आइसीका नोट खल्तीमा हालेर बस चढ्नुहुन्थ्यो। मलाई मामाको बस कतिखेर जाला र पैसा गनुँला जस्तो हुन्थ्यो। आमा हजुरआमाहरु रुँदै बिस्तारै फर्किंन्थे, हामी दाजु भाइ हर्षले दौडिन्थ्यौं।

हामी अलिकति ठुला भयौं। दिदीले एसएलसी दिनेबित्तिकै दिदीको बिहेको कुरा चल्यो। चितवन दिने कुरो भो। जुँगा भएको मान्छेसंग दिदीको बिहे आँटे। मलाई त भिनाजु मन परेन। गाउँघरको चलन चल्ती अनुसार राम्रैसँग बिहे भो। दिदी बेहुलीका शृंगारमा निकै राम्री देखिएकी'थी। दिदीलाइ अन्मायौं। ट्याक्सी चढेपछि दिदीले रूँदै हेरी, मेरा भक्कानो छुट्यो, बाट-बाटै रूँदै फर्कें। मामाघर आएर पनि निकै बेर रोएँ। यता मामा रूँदै हुनुहुन्थ्यो, उता माइजु। निम्तालुहरु जम्मै एक एक गर्दै बिदा माग्दै गए। हजुरबुबाले सबैलाइ टिका लगाएर दक्षिणा दिनुभयो। बिस्तारै कोहि पनि रहेनन् त्यहाँ। अघिसम्म पन्चे बाजा घन्कीरहेको त्यो करेसा, खुट्टा राख्ने ठाऊँ नभएको त्यो आँगन अहिले उजाड देखिन्थ्यो। रित्तो आँगन भरी टपरी, अक्षता र फुल छरिएका थिए, ध्वजा भुइँमा लतारिएका थिए, जग्गेबाट फुस फुस धुवाँ आइरहेको थियो, लावा अझै पड्किँदै थिए। साँच्चै चेली अन्माएको घर उराठलाग्दो हुने रहेछ। मेरा हिक्का अझै रोकिएका थिएनन्। पहिलोचोटी मलाई मेरो मामाघर एकदम नरमाइलो लाग्यो। आमाले ‘भोलि स्कुल जानुपर्छ बाबु घर जा’ भन्नु भो, झन् नरमाइलो लाग्यो।

त्यसपछी मामाघर जान मन लाग्न छोड्यो। दिदी थिइन, हजुरबुबाको गाली खान मात्र के जानु? कहिले काहिँ जाँदा निकै उराठ लाग्थ्यो, पाकेर कालै भैसकेका काफलले पनि मन लोभ्याऊँदैनथे। पिँढीमा रेडियो घन्किन छोडेको थियो, रेडियोलाई टिभीले बिस्थापित गरिसकेको थियो। दिन बित्दै गए, दिदी बिर्सींईदै गई।

एस.एल.सी. दिएर क्याम्पस पढ्ने लाठे भएँ म। मामाघर त कहिलेकाँही त्यो पनि चाडवाड पर्दा मात्र जान्थ्यौं। कहिलेकाही जाँदा हजुरबुबा पहिलेको जस्तो लाग्थेन। हामीलाई गाली गर्नुहुन्थेन, बोल्न खोज्नुहुन्थ्यो। सायद उहाँलाई पनि आजकल घरमा कोहि नहूँदा न्यास्रो लाग्दो हो। म सानोतिनो जागिर खान थालेको थिएँ, त्यसैले हजुरबुबा हजुरआमा कहिलेकाहिँ अस्पताल जान आउनु हूँदा मात्र भेटहुन्थ्यो। “हामी बुढा बुढीलाई तिमीहरुले माया मार्यौ” भनेर गुनासो पोख्नुहुन्थ्यो। तर नातिले इलम गरेको खुब सह्राउनुहुन्थ्यो। म मासिक १५ सय रुपैँया तलवको जागिर खान्थें, त्यति पैसा तेल खर्च, खाजा मै ठिक्कहुन्थ्यो। उहाँहरुलाई नातीले कति कमाउँछ भन्ने कुरामा केहि चासो थिएन। नातिले इलमको बाटो समायो भन्ने कुरा मात्रैले खुशी हुनुहुन्थ्यो। अहिले पो अनुभव हूँदैछ, कति निस्वार्थ थियो उहाँहरुको माया अनि त्यो सम्बन्ध। ती अब कहिल्यै दोहोरिँदैनन् । हामीलाई सम्बन्धको महत्व थाह हुन नपाउँदै ती कहाँ कहाँ हराईसक्दा रहेछन्। महत्व पहिल्यै थाह भैदिनु कि, बुद्धि पहिल्यै आइदिनु बरु। निस्ठुरी पो हुँदो रहेछ समय।

हजुरबुबा बेलाबेलामा बिरामी पर्न थाल्नु भएकोथियो। उच्च रक्तचापको बिरामी हुनुहुँदोरहेछ, त्यो चर्को डाको, ती गाली हजुरबुबाको रोगले गर्दा रहेछ भन्ने थाह भयो मलाई। त्यसपछि पुराना कुरा बिर्सिन थालियो, हजुरबुबाको माया लाग्न थाल्यो। हजुरबुबा हजुरआमा हामीलाई निकै इज्जत दिएर बोल्नुहुन्थ्यो। अब मामाघर जान फेरी खुशी लाग्न थाल्यो। ऐसेलु, काफल, अंगेरी लगभग भुलिसकिएको थियो। पिँढीमा भलादमी भएर बसेर सुन्तला छोडाएर, नासपाती खुर्केर खाने भइएको थियो। कहिलेकाँही म सोच्ने गर्थें, यी बुढा बुढी सँधै जसो २ जना मात्रै हुन्छन, के गफ गर्दा हुन? हामी हूँदा त फर्मल्ली बोल्छन, हामी नहूँदा हाँसेर रोमान्टिक कुरा गर्लान कि गर्दैनन् होला? आफ्नो भर्खर भर्खर लभ पर्दै थियो, त्यसैले टिप्स खोज्दा खोज्दै जाँदा यस्तै यस्तै कुरा दिमागमा आउँथे। त्योबेला घरमा सँधै एउटा न एउटासंग टर्म बिग्रेकै हुन्थ्यो। घर छोडेर हिँडौ कि जस्तो झोँक चल्थ्यो। अनि घरमा टर्म बिग्रिँदा खाना खान मामाघर पुग्थेँ। आफ्नो उमेर नै त्यस्तै थियो, पढ्न जस्तो गार्‍हो केहि लाग्थेन्। सिकाउनेहरु फेरी उत्तिकै हुन्थे। मामाघर गयो, कसैले केही भन्दैनथ्यो। आनन्द।

एकदिन बिहान अचानक हजुरबुबालाई पक्षघात गर्‍यो। सोहि रात आफैँले सबैलाई ' …हजुरबुबा अब हुनु हुन्न.... ‘ भनेर नराम्रो खबर दिनुपर्यो, आफ्नै आमालाइ उहाँको बुबा बित्नु भयो भनेर भन्नु जस्तो गाह्रो अरु केहि नहुँदो रहेछ। म उहाँहरुलाइ जस्तो सोच्छु उहाँहरु पनि आफ्ना आमाबुबालाई त्यस्तै सोच्नुहुन्छ। उता शव बहानको व्यवस्था गर, मृत्यु प्रमाणपत्र लिउ, अनेक झमेलाले एकछिन बिसाएर रुन पनि पाइन। सग्लै लागेको हजुरबुवाको लाश बोकेर फर्केको त्यो दिन मेरो जीवनको सबैभन्दा दुखद दिन थियो। हजुरआमाले 'मलाइ अन्तिम पटक उहाँको खुट्टाको पानी खान देउ' भन्दै बिलौना गर्दै खुट्टाको पानी पिएको दृश्य जस्तो हृदयबिदारक दृश्य सम्झिँदा आज पनि मेरो गला अबरुद्ध हुन्छ ।

हजुरबुबाको देहान्त पछि त्यो घरमा हजुरआमा मात्र बाँकी रहनुभयो। राता मद्रासी सारीमा सँजिने मेरी हजुरआमालाइ बेरंगी बस्त्रमा देख्दा मन कुंडीएर आयो। अनि त्यसै त्यसै मामाघर जान मन लाग्न छोड्यो। हजुरआमा एक्लै हुनुहुन्छ, जानु पर्छ भन्ने बुद्धि पनि आएन। छोरा बुहारी सँधै विदेश, नातीनातिना बिराना भए, माया मारे भन्ठान्नु हुन्छहोला। आजकल मनमा धेरै कुरा खेल्छन। मामाघरको खुब याद आउँछ, बालापन सम्झिन्छु, हजुरबुबा हजुरआमा सम्झिन्छु, हजुरआमाले पकाएको अचार सम्झिन्छु, ती राता खालका केरा सम्झिन्छु, काफल सम्झिन्छु, हजुरबुबाको गाली सम्झिन्छु, त्यो रेडियो सम्झिन्छु, त्यो भाले सम्झिन्छु। अनि हरेक सम्झनाको माया लागेर आउँछ।

सुन्छु हजुरआमा आजकल त्यति कान सुन्नु हुन्न रे, सुन्छु अझै पनि लटरम्म फलफुल फल्छन रे, तर चोरेर केही बाँकी राख्दैनन् रे, सुन्छु बाँदर उस्तै आउँछन् रे, बुढीमान्छे के धपाउन सक्नु होला र? आफै पकाएर एक्लै खाँदा के मिठो हुँदो हो? बिरामी पर्नु हुँदो हो, सन्चो बिसन्चो सोध्दिने कोही छैन। बिरामी पर्दा पँधेराबाट कसले पानी ल्याईदिँदो हो? हजुरबुबाको कति याद आउँदो हो, अनि एक्लै कति रुनु हुँदो हो? जब यस्ता कुरा मनमा खेल्न थाल्छन, अनि अहिल्यै गैदिउ झैँ लाग्छ। तर के गरूँ, टाढा छु, विवश छु। आजकल हजुरआमालाई देख्न एकदम मन लागेको छ, हजुरआमासँग दिनभर बसेर उहाँका मनका ब्यथा सुन्न मन लागेको छ, उहाँले बनाएको खान मन लागेको छ। बाँदर लखेट्न मन लागेको छ। एकपटक फेरी त्यहि समय जिउन मन लागेको छ। कता कता डर लागेर आउँछ कतै ढिलो पो हुन्छु कि भनेर।

- N®B

(यो कथा निशांक रानाभाटले लेख्नु भएको हो । उहाँले यस अघि लेख्नुभएका कथा र अनुभुतिहरु यहाँ गएर पढ्न सकिन्छ । उहाँलाई ट्विटरमा (@being_nrb) फलो गर्न सकिन्छ !)

Comments

  1. Enjoyed reading the whole thing, but the last sentence touched me.

    ReplyDelete
  2. धेरै मिठो लाग्यो पढ्दै जादा मेरा आफ्नै मामाघरका दिनहरु संझनामा आए ।

    ReplyDelete
  3. धन्यबाद सुजन :)

    ReplyDelete
  4. Sanjeev PokharelMay 2, 2013 at 10:17 AM

    तपाईंको लेखन शैली असाध्यै राम्रो लाग्यो । लेख्दै गर्नुहोला । :)

    ReplyDelete
  5. धन्यबाद सन्जीब सर!

    ReplyDelete
  6. मलार्इ पनि मामाघर जाने गरेको दिनको निकै याद भो, हामी पनि दुर्इभार्इ नै हौं, दिदीबैनीबिनाको । फरक दुर्इवटा पाएँ यहाँको र हाम्रो कथामा - मेरोमा चाँहि हजुरआमा मात्र हुनुहुन्छ, हजुरबा हुनुहुन्थेन र लक्ष्मी दिदी पनि थिइँनन् । मात्र बोर्इ, अनि मामा पनि जागिरको शिलशिलामा बाहिर हुनुहुन्थ्यो ।
    यो कथा पढ्दा कताकता आफ्नै कथा पढे जस्तै लाग्यो ।

    ReplyDelete
  7. यो मामाघर भन्ने ठाउँ र त्यहाँका पात्रहरू यसरी दिमागमा पस्छन कि ति विशेष र समय सँगै विस्तारै विलिन पनि हुन्छन्। सम्झना पाना पल्टाईदिनु भएकोमा धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  8. NGAWANG YG SHERPAMay 9, 2013 at 3:05 PM

    "नातीले कति कमाउँछ भन्ने कुरामा केहि चासो थिएन। नातिले इलमको बाटो समायो भन्ने कुरा मात्रैले खुशी हुनुहुन्थ्यो। अहिले पो अनुभव हूँदैछ, कति निस्वार्थ थियो ।" पढ्दै जाँदा यी लाईनमा आईपुग्दा धेरै भावुक भएँ । हजुरबाको गाली गर्ने तरीक़ा मन पर्यो । आख़ीर मा़या जस्लाई गरीन्छ, गाली उसैलाई गरीन्छ । लेखले मन छोयो ।।।

    ReplyDelete
  9. मामाघरको बारेमा त्यति खेर नै पनि खुब चर्चा सुने थिएँ तर पढ्न भ्याईराखेको थिएन | एकपटक बाहिर निस्कदा अफलाइनमा सेभ गरेर पढ्छु भनेर सेभ पनि गरि हिडेको थिएँ तर सेभ नै नभएको रहेछ , त्यति खेर पनि त्यस्तै भएर पढ्न पाईन तर आज चै सम्झेर आकार पोस्टमा खोजेर तपाईको " मामाघर " को कथा पढें | एकदम राम्रो लाग्यो | कथा कस्तो मजाले सरर बगेको , कतै रोकिनै मन नलाग्ने :) |

    तर कथा पढी रहंदा म भ्रममा रहेछु | म त यो कथा हाम्रो आकार ब्रो कै हो कि भन्ठानेको थिएँ , उहाँलाई नै मुख्य पात्र बनाएर पढीरहेको थिएँ तर हैन पो रैछ | लास्टमा आएर पो थाहा भो ! कथा त @being_nrb ब्रोको पो रहेछ :)

    ReplyDelete
  10. मेरो भान्जाहरुको र बुवा -आमाको याद आउने बनायो | तपाईंको लेखन शैली मलाई एकदमै मन पर्यो | काल्पनिक भन्दा पनि यथार्थपरक लाग्यो यो कथा |

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post