पछिल्लो समयमा आएर धेरै साथीहरुको गुनासो छ, ब्लग अपडेट भएन । ब्लगमा किन नयाँ केही नलेखेको? मेरो पनि यही गुनासो छ, ब्लग किन अपडेट भएन?
अफिसका कारण समय छैन, शनिबार र आइतबारको दिन पनि काममै बित्छ । कहिले बत्ति हुँदैन त कहिले इन्टरनेट । कहिले थकाइ लागेको हुन्छ, त कहिले लेख्ने मुड हुँदैन, आदि आदि ।एउटी साथीको गुनासो पनि छ, हिजोआज च्याटमा पनि भेटघाट हुँदैन । फुर्सद त पहिले पनि हुँदैनथियो, तर पनि बोल्न त भ्याइन्थ्यो, अहिले त त्यो पनि छैन । कुनै दिन दह्रो झटारो हानाहान पर्ला जस्तो छ, च्याट मै ।
कहिलेकाँही सोच्छु, कहिँ म चाहिने भन्दा बढि नै व्यस्त भइरहेको त छैन । कतै म आफैँसँग बहानाबाजी त गरिरहेको छैन । खै, तर किनकिन आफूसँग फुर्सदको समय नै छैन जस्तो लाग्छ । जुनबेला फुर्सद छ जस्तो लाग्छ, त्यतिबेला बत्ति हुँदैन । जब बत्ति हुन्छ, तब इन्टरनेट हुँदैन । अनि फेरि अल्छिपनाले छोप्दै ल्याउँछ, यसरी एउटा फुर्सदको समयपनि त्यसै हराएर जान्छ । बत्ति र इन्टरनेटबिच तालमेल नमिल्दा पनि, मोबाइलबाट बेलाबेलामा ट्विटरमा चियाउन चाँहि भ्याइरहेकोहुन्छ । खै, यो कस्तो व्यस्तता?
हिजो र आज पानी नपरेको भए, अनि आज मैले एनसेल कनेक्ट रिचार्ज नगरेको भए, सायद माथिका २-३ प्यारा मेरा मनभित्रै रहन्थेहोलान् । राती १२-१ बजे आउने लाइन, पानी परेका कारण ३-४ घन्टा अघि नै आइदियो, यसैले यी मेरा गन्थन यहाँ पोखिन आइपुग्यो । नाफामा पाएको बिजुलीको सहारा लिँदै लेखिएकोले यो ब्लगपोष्ट मलाई नाफाको ब्लग झैँ लाग्दैछ ।