Skip to main content

प्लस टु कलेजको लहर [Plus Two College]

केही साता अघिसम्म एसएलसीको चर्चा र परिचर्चा थियो । करिब १० दिन जति पहिले एसएलसीको रिजल्ट निस्कियो, पोहोरको भन्दा अलि धेरै विद्यार्थी असफल भएछन्, असफल हुने केहीले आत्महत्या गरे । घर, परिवार अनि समाजले एसएलसीलाई फलामे ढोका (Iron Gate) भनेर भन्ने गरेकाछन्, अनि पास हुनेलाई संसार जिते झैँ हुन्छ अनि फेल हुनेलाई संसार सकिए झैँ लाग्छ । असफल हुँदा कति, कति गाह्रो हुन्छ भन्ने कुरा, जसले भोगिरहेकोहुन्छ, उसले मात्रै थाहा पाउनसक्छ । फेल भएकाहरुले त फेरि परिक्षा देलान् अब तर पास भएकाहरुलाई पनि अर्को चटारो थपिएकोछ, कुन कलेज पढ्ने, के पढ्ने?

प्लस टु कलेजका विज्ञापनहरुले अहिले नेपालका सबै मिडियाहरु भरिएकाछन् । च्याउसरी कलेज खुलिरहेकाछन्, आकर्षक फोटो राखेर विद्यार्थी तान्ने कसरतमा सबै जुटिरहेकाछन् । कलेजका नामपनि थरिथरिका छन्, अनि सबैको दावी छ, गुणस्तरमा नम्बर १ कलेज हो । अरुलाई कस्तो लाग्छ भन्न सक्दिन, तर अहिले मलाई चाँही ति विज्ञापन र कलेजहरु देख्दा पारो तातेर आउँछ । कुनै पनि पत्रिका पढियो वा टिभि हेरियो भने अधिकांश ‘स्पेश’ प्लस टु का विज्ञापनहरुले खाइरहेकाछन् । बाहिर एकदम राम्रो भनेर देखाउन, निकै आकर्षक फोटो राखिएकोहुन्छ, सबै विद्यार्थीको दिमाग भुट्ने काइदा । फेरि ति कलेजहरुको ‘फि’को कुरा गर्ने हो भने पनि, लरोतरोले त आँटै नगर्दा हुने किसिमको छ ।

collegeकरिब ७-८ वर्ष पहिले र अहिलेमा प्लसटुमा पढाइको स्तर एकै होला तर प्लसटु को सङ्ख्यामा भने उल्लेख्य वृध्दि भएकोछ । प्लसटुका शिक्षक नै पिच्छे आफ्नै कलेज खोल्ने एउटा लहर चलेकोछ । केही समय कुनै कलेजहरुमा पढाएपछि ४-५ जना मिलेर एउटा नयाँ कलेज खोलिहाल्ने परिपाटिको विकास भएकोछ, किनकी उनीहरुले बसी बसी पैसा आएको देखेकाछन्  । नेपालमा सबैभन्दा धेरै नाफा कमाउने संस्था कुन हो भनेर, प्रश्न सोधियो भने ‘प्लसटु’ कलेज भन्ने जवाफ भेटिन्छ होला । सिक्ने, सिकाउने भन्दा पनि, विद्यार्थी किन्ने र बेच्ने होड बढ्दै गरेको देखिन्छ, र यो कुनै पनि हिसाबले जायज होइन।

म एसएलसी पछि मात्र काठमाडौँ छिरेको हुँ, यसअर्थमा कि एसएलसी दिनु भन्दा पहिले म काठमाडौँ त आएको थिँए तर १-२ दिन बसेर फर्किने गरेको थिँए । त्यही भएर एसएलसी पछि प्लस टु पढ्न भनेर काठमाडौँ हान्निएको थिँए । मलाई आफ्नो जिवनकालमा घटेका विभिन्न घटनाहरुले ‘इन्जिनियरिङ’ पढ्ने भुत चढेको थियो, त्यसको लागि ‘प्लस टु’ मा ‘विज्ञान’ पढ्नुपर्ने थियो तर एसएलसीमा आएको अंक देखेर, प्राय: सबैले मैले रोजेको विषय पढ्न सक्दैन भन्ने अड्कल काटे । तर म जसरी नि विज्ञान विषय नै पढ्ने अठोटमा पुगेँ । मैले आफू विज्ञान पढ्छु भनेर, कक्षा ६ देखि नै एउटा ‘नोटबुक’ बनाएको थिँए । त्यो नोटबुकमा ६ देखि १० कक्षा सम्मका विज्ञानका सबै कुराहरु लेखेकोथिँए, अहिले त्यो नोटबुक कहाँ छ त भन्न सक्दिन तर यति भन्न सक्छु, त्यो नोटबुक हेर्ने हो भने, आफूले बुझ्न र पढ्नको लागि काफी थियो ।

दिनहुँ पत्रिकामा कलेजका ठूला ठूला विज्ञापन लेखेको देखिन्द्थ्यो, आफू त विज्ञापन हेरेरै नर्भस भइन्थ्यो । यस्तो कलेजमा कहाँ पढ्न सकिन्छ, घरको ‘आर्थिक स्थिति’ नि हेर्नै पर्यो । फेरि आफू नेपाली स्कुलबाट आइयो, यहाँ त सबै अंग्रेजी बोर्डिङबाट आएका होलान् । १६ वर्षको काले-काले, अलि दुब्लो केटो थिँए म, घरभन्दा बाहिर खासै नगएको काठमाडौँ शहरमा आइपुगेको थिँए । अहिलेको स्थिति हेर्ने हो भने, हामीलाई ‘प्लस टु’ कलेजको विज्ञापन देखेर पारो तात्छ, अनि एसएलसी सकेको विद्यार्थीको नजरबाट हेर्ने हो भने, उनीहरु कुन कलेज छान्ने भनेर अलमलमा हुन्छन्, धेरै त विज्ञापन हेरेरै नर्भस हुन्छन् ।

प्लस टु कलेज खोज्ने चिन्ता, त्यसमा पनि अलि सस्तो शुल्क भएको कलेज हेर्नुपर्यो । एसएलसीमा ‘डिस्टिङसन’ आउनेहरुलाई त सबै कलेजले बोलाउने, थरिथरिका ‘स्कलरसिप’ स्किम नि दिने तर म जस्ता सत्तरी नि नल्याउनेको त कुनै भ्यालु नै नदिने । प्लस टु कलेज मात्र होइन, प्सलटु कलेजले लिने गरेको इन्ट्रान्स परीक्षा फेरि अर्को टाउको दूखाइ, ब्रिज कोर्स गर्ने कि, इन्ट्रान्स प्रिपेरेसन क्लास लिने, आदि इत्यादि चिन्ताले खाएको हुन्थ्यो । घरका अभिभावक सँगै आएर, ल यो कलेजमा भर्ना भएर पढ भनेर भर्ना गर्दिएको भए नि सजिलै हुन्थ्यो होला तर जहाँ जे गर्नुपर्ने हो, त्यो आफैँले गर्नुपर्ने बाध्यता थियो । एसएलसीको रिजल्ट निस्किसक्यो, समय कुदिरहेकोछ, तर विज्ञापन हेरेरै, म यो कलेजमा पढ्न सक्दिन होला, म त्यो कलेजमा पढ्न सक्दिन होला भन्ने निरासाले डोर्याउँथ्यो ।

करियर फेयरका निहुँमा भृकुटि मण्डपमा नि छिरियो । काठमाडौँका प्राय सबै नाम चलेका ‘कलेज’हरु त्यहाँ भेला भएका थिए । चिटिक्क पारेर सजाइएको स्टल, अनि सर्ट पाइन्ट या भनौँ कलेज ड्रेसमा सजिएका केटा-केटीहरु, आफ्नो कलेज राम्रो छ भनेर नथाक्ने उनीहरु, कसैलाई नेपालीमा कसैलाई अंग्रेजीमा खरर आफ्नो कलेज र ‘फि’को बारेमा बताइरहेकाहुन्थे । त्यो भिडमा आफू छिर्दा, यति बैराग लागेको थियो, अहिले त सम्झन पनि मन लाग्दैन । तर मलाई विश्वास छ, अहिले पनि बाहिरबाट पढ्न भनेर काठमाडौँ छिरेकाहरु यस्तै समस्याबाट गुज्रीरहेकाछन् । करियर फेयर नि घुमियो, एउटा कलेजको स्टलमा फर्म नि भरियो, उनिहरुले भनेका थिए, सर्लाही कै एउटा साथी छ, १२ मा पढ्दैछ । नाम पनि सुने झैँ लागेको थियो, यो भिडमा कसैले सर्लाहीको कुरा गरेपछि, कम्तिमा त्यो दाइलाई चिन्छु होला, अलि सजिलो होला भन्ने सोचेर मन रमायो । इन्ट्रान्सको फर्म भर्न त्यो कलेज आफैँले खोज्दै खोज्दै गएँ, कलेज पुगियो । मैले सर्लाहीको त्यही दाइको नाम लिएर, को हुनुहुन्छ भनेर सोध्न लगाएँ, पालेदाइले घरको माथिल्लो तलार्तफ ईशारा गर्दै सोधिदिए । कलेजको माथिल्लो तलाबाट सर्ट, पाइन्ट अनि टाइ लगाएको, अनि ४-५ जना केटीहरुले घेरिएको एउटा केटा रुष्ट स्वरमा बोल्यो, के हो भाइ ? मैले सोचेको र चिनेको मान्छे, त्यो रहेनछ, केही होइन मैले भनेँ । उसको हाउभाउ देखेर, मलाई लाग्यो, म गलत ठाउँमा आएछु, यो कलेज मेरो लागि होइन। सायद उसले आफू सिनियर भएको जताउन खोजेको थियो होला, तर मलाई भने साह्रै गाह्रो परेको थियो ।

college-plustwoजसोतसो त्यही कलेजमा फर्म बुझाएँ, परीक्षा नि दिँए, नाम निस्कियो नि भने, प्रिन्सिपलले बोलाएर कुरा नि गरे । अब ‘फि’मा बार्गेनिङ हुन बाँकी थियो, उनले यस्तो उस्तो भन्ने देखाउँदै दोब्बर तेब्बर बनाइएको शुल्कबाट ४० प्रतिशत ‘फि’ मिनाहा गर्दिन्छु भने तर अन्तिममा उक्त कलेजमा पढिएन । कलेजका ड्रेस अनि ती केटा-केटीहरुको रवाफ र सान देखेर, आफूलाई निर्धो महशुश भयो, त्यसले आफूभित्र निराशाको मात्रा बढाउन मद्दत गर्यो । घरभन्दा पर रहेकोले ‘होम सिक’ नि भइयो । साँच्चै भन्ने हो भने, एसएलसी पास गरेर प्लसटु भर्ना हुन्जेलको समयमा निकै हतास र निराश भएको थिँए । प्लसटु कलेजको भर्ना हुने मिती सकिँदै गइरहेको थियो, तर न आफूले ब्रिज कोर्स गरियो, न इन्ट्रान्स क्लास गरियो, न कुनै आफूलाई सुहाउँदो र भनेजस्तो कलेज नै भेटियो । तर एकजना अंकल भन्नुहुन्थ्यो, चिन्ता नगर भतिज, दशैँसम्म नि लिन्छन् प्लसटुले भर्ना, त्यसबेला आफूलाई पत्यार लाग्दैन थियो, अहिले त पत्यार लाग्छ, दशैँमात्र के, परिक्षाको मुखैमा गए पनि भर्ना लिन्छन् प्लस टु कलेज ले।

यस्तैमा एकदिन अंकलले, एउटा कलेज सुझाउनु भयो । त्यो कलेज अंकलको पनि अंकलको साथिको रहेछ, अत: अंकलको पनि अंकल सँग म उक्त कलेजमा गएँ । अंकलले यस्तो, उस्तो भनेर गफ हान्दिनु भयो, १० हजार भन्दा बढि रहेको भर्ना शुल्क नि मिनाहा गराइदिनु भयो, महिना 'फी’मा पनि हल्का बार्गेनिङ गरिदिनु भयो । कलेजको बिल्डिङ नि अरुको तुलनामा धेरै ठूलो भन्न नमिल्ने किसिमको थियो, यसमा चाँही एडजस्ट हुनसक्छु जस्तो लाग्यो । यसरी चौधरी सर प्रिन्सिपल रहेको कलेजमा, विज्ञान विषयमा पहिलो ब्याचको विद्यार्थी भएर भर्ना भएँ। पहिलो ब्याचको विद्यार्थी भएका कारण, सिनियर कोही थिएनन्, सबै साथीहरु मात्र थिए, कोही दाइ र दिदी थिएनन् । कलेजका सुरुका केही दिन गाह्रो लाग्यो, पछि विस्तारै बानी लाग्दै गयो । अनि ‘टर्म’ परीक्षाहरुमा निकै राम्रो गर्दै जान थालियो । मासिक/त्रैमासिक परीक्षाको रिजल्ट हुने दिनमा सबै साथिहरु अभिभावक सँग कलेज आउँथे प्रिन्सिपलको गालि मजाले खान्थे, आफू एक्लै गइन्थ्यो, परिक्षामा राम्रो अंक ल्याएर पास भइएकोहुन्थ्यो, प्रिन्सिपल सँधै ‘घिमिरे सर’ भन्दै सबैको सामुन्ने खुबै प्रशंसा गरिदिनुहुन्थ्यो । त्यसले अर्कै किसिमको उर्जा थपिदिएको हुन्थ्यो । प्रिन्सिपल सरले सँधै मलाई ‘घिमिरे सर’ नै भनेर बोलाउनु भयो, ११ मा खासै वास्ता नगर्ने सरहरुले १२ मा पुगेपछि भने धेरै ध्यान दिनुभयो । एसएलसी भन्दा ११ राम्रो भयो, ११ भन्दा १२ राम्रो भयो । यसरी नाइटिंगेल उच्चा मा वि, कुपन्डोलबाट राम्रो अंक ल्याएर प्लसटु पास गरियो ।

अहिले पनि कलेजका ती ठूला ठूला विज्ञापन हेर्दा, आफूले भोगेका र महशुस गरेका कुराहरु आँखा अगाडि आउँछन् । कति विद्यार्थीहरु मेरै जस्तो हालतमा होलान् जस्तो लाग्छ । कलेजमा अनावश्यक तडकभडक देखाउने, अनावश्यक सान देखाउने, धेरै विद्यार्थी र कलेजहरु छन् । ती भड्किला लाग्ने कलेजहरुमा नजाँदा नै वेश हुन्छ जस्तो लाग्छ । जसले जे भने पनि, पढ्ने आफूले हो। फलाना र चिलाना कलेजमा पढ्दैमा केही हुने होइन । पत्रिकाम देखिएका कलेजहरुका ठूला ठूला विज्ञापनको पछाडी नलाग्दा नै उत्तम हुन्छ । हाम्रो देशमा शिक्षालाई अनुगमन पर्ने आवश्यकता देखिँदै गएकोछ । हस्पिटलको विज्ञापनमा बन्देज भएझेँ, कलेज स्कुलको विज्ञापनमा नि बन्देज लगाइदिए हुन्थ्यो जस्तो लाग्छ ।

Comments

  1. सामान्य तर दमदार पोष्ट । अचेल त बर्षैपिच्छे खुल्ने कलेजका नाम पो रमाइलो हुन्छ ।

    ReplyDelete
  2. very nice write up and encouraging for the students. man paryo.

    ReplyDelete
  3. अहिलेको कलेजको विज्ञापन देख्दा लाग्छ.. पत्रिकाम! देखिएका कलेजहरुका ठूला ठूला विज्ञापनको पछाडी नलाग्दा नै उत्तम हुन्छ । हाम्रो देशमा शिक्षालाई अनुगमन पर्ने आवश्यकता देखिँदै गएकोछ । हस्पिटलको विज्ञापनमा बन्देज भएझेँ, कलेज स्कुलको विज्ञापनमा नि बन्देज लगाइदिए हुन्थ्यो जस्तो लाग्छ ।

    ReplyDelete
  4. It is going to get worse... (I hope not) :(

    ReplyDelete
  5. अहिलेको कलेजको विज्ञापन देख्दा लाग्छ...धन्न आफू पास भइ सकियो ....अनि छोरीलाई पढाउने बेला भा छैन ... :)

    ReplyDelete
  6. नेपालाँ शिक्षा, स्वास्थ्य, र राजनितीमा गरेको लगानीमा जहिले नि फाइदै हुन्छ नि तै भ र होला स्कुल भन्दा धेर कलेज खुलेका !!

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post