काठमाडौँमा फोहोर को समस्या नयाँ होइन । अनि सहरको यही फोहोर व्यवस्थापन गर्नु महानगरपालिको लागि सँधै टाउको दुखाइ को विषय बन्दै आएको छ । अझ झन् हामी काठमाडौँवासीको प्रवृति नै यस्तो छ कि, आफ्नो घरको फोहोर सँधै अरुलाई अप्ठ्यारो गर्ने गरी व्यवस्थापन गर्छौँ ।
काठमाडौँको बाटो दैनिकरुपमा नाप्दा बाटोमा विभिन्न किसिमका कुराहरु देख्न पाइन्छन् । बाटोमा देखिने कुराहरु कुनै रमाइला हुन्छन्, कुनै अप्रिय हुन्छन्, अनि बाटोमा देखिने केही कुराहरुले हामी मानवजातीलाई नै जिस्क्याइरहेका हुन्छन्, झस्काइरहेका हुन्छन् ।
अफिस जाने आउने क्रममा दशैँअघि बाटोमा यसप्रकार को सूचना देखेको थिँए । “कृपया यहाँ फोहोर फाल्न सख्त मनाही छ” , “सभ्य नागरिकको परिचय दियौँ” । एकव्यक्तिको घरसँगै रहेको पर्खालको छेउमा फोहोर फाल्ने गरिएको रहेछ । घरको पर्खालको छेवैमा फोहोर थुपारिएको थियो, अनि सायद घरधनीले हुनुपर्छ, फोहोर फालिएको स्थानलाई घेरेर, फोहोर नफाल्न आग्रह गरेको सूचना टाँसेका थिए ।
अस्तिको दिन (तिहार पछि) अफिसबाट घरतिर फर्किँदै थिँए । मेरो आँखा फेरि त्यही फोहोर फालिएको स्थानमा टाँसिएको सूचनामा गएर अड्कियो । फोहोर फाल्ने स्थान उसैगरि प्लास्टिकले घेरिएको थियो, फोहोर पनि पहिलेकै झैँ नै थियो, तर सूचना भने फेरिएको थियो । सूचनामा लेखिएको थियो, “यहाँ फोहोर फाल्ने कुकुरको छोरा हो । के गर्नु सभ्य भाषा पच्दैन।”
जति नै फोहोर नफाल्न आग्रह गरिएपनि, अरुले फोहोर ल्याएर थुपारिदिएपछि, घरधनी आजित भएर यसप्रकारको सूचना निकाल्न बाध्य भएछन्, तर यति भन्दा पनि कसैले पर्वाह गरेको भने देखिएन । फोहोर फाल्नेहरु फोहोर फालिनै रहेकाछन्, छिमेकीलाई मात्र होइन, बाटोहिँड्ने बटुवालाई पनि सास्ती दिइरहेकाछन् । खै के भन्ने यी सभ्य भाषा नपच्नेहरुलाई ?