यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ ।
मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा !
माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवान राम का सेवक हनुमानको हो । मैले मुर्तिहरु को बारेमा परिचय त दिएँ, तपाईँले केही कुरा याद गर्नुभयो त ! यी कुराहरु कसले बनाउन लगाएका रै’छन् पत्ता लगाउनु भयो त?
पहिलो मूर्ति हो, गणेश को । भगवान गणेशको ऋद्धी र सिद्धी नाम गरेका दुईवटा श्रीमती थिए । मुर्तिहरुमा ऋद्धीलाई गणेशको दायाँ तिर र सिद्धीलाई गणेशको वायाँ तिर राखिएको हुन्छ । तर यस मुर्तिमा गणेशसँग उनकी श्रीमती सिद्धी मात्र छिन् । अत: बुझ्नुहोस पहिलो मुर्ति ले भन्छ, “सिद्धी” !
दोस्रो मुर्ति भगवान विष्णु को नरसिंह अवतार हो । विष्णुले नरसिंह रुप लिएर हिरण्यकश्यपुको बध गरेका थिए । अत: बुझ्नुहोस् दोस्रो मुर्ति ले भन्छ “नरसिंह” ।
तेस्रो मुर्तिमा भगवान राम का सेवक हनुमान को मुर्ति छ । हनुमान राम का सेवक मात्र नभइ, एक मुक्केवाज/पहलमान पनि हुन्, उनी परम्परागत मल्लयुद्दमा पोख्त थिए । अत: तेस्रो मुर्तिले भन्छ “मल्ल” ।
अब तिनवटै मुर्तिले भनेका कुराहरु जोडेर हेरौँ ।
“सिद्धी” + “नरसिंह” + “मल्ल” = सिद्धी नरसिंह मल्ल
ती मुर्तिहरुले भनिरहेकाछन्, “सिद्धी नरसिंह मल्ल” ! पाटन दरवार को निर्माण राजा सिद्धी नरसिंह मल्ल ले गराएका हुन् । जब ती मुर्तिहरुका अर्थ थाहा पाएँ, म छक्क परेको थिँए । मंगलबजार को बाटो हिँड्दा यो मुर्तिहरु केयौँ पटक देखेको थिँए तर कहिले यसबारेमा बुझेको रहेनछु । मलाई यसबारेमा बताउनु हुने सोमेस दाइलाई हार्दिक धन्यवाद !