Skip to main content

सातवटा छोटा कथाहरू #short #stories

१.

उसका बा ले नयाँ रेडियो किनेर ल्याएका थिए । ३ वटा ठूलो ‘साइज’ को ब्याट्री लाग्ने ‘इण्डियन’ रेडियो को आवाज पनि ठूलै थियो । एफएम ब्याण्ड लाग्ने भएपनि, उसका बा रेडियो नेपाल मात्र सुन्थे । उ भर्खर ८ कक्षामा पढ्दै थियो भने, उसका बा ले पढेकै थिएनन् । त्यही पनि उसका बा सामान्य  नेपाली अक्षर भने पढ्न सक्थे ।

रेडियो मा गित बजिरहन्थ्यो तर उसका बा लाई केही मतलब लाग्दैन थियो । उसका बा रेडियो ध्यान दिएर सुन्दैनथे तर हरबखत रेडियो बजाइ नै रहन्थे । टाँइ, टुँई, साईँ, सुँई गरेर पनि रेडियो नेपाल बजिरहन्थ्यो ।story बिहान उठेर गोबर सोहर्ने, धन्दापात गरे देखि बजेको रेडियो राती अबेरसम्म बजिरहन्थ्यो, कहिलेकाँही उसका बा ले रेडियो बन्द गर्न बिर्सिँदा त रातभरि रेडियो स्याँ गरेको सुनिन्थ्यो ।

उसका बा रेडियो का सौखिन थिए तर पनि उसलाई थाहा थियो, उसका बा ले, रेडियो मा बजेका कार्यक्रम खासै बुझ्दैनन् र बुझ्नलाई खासै जोड पनि दिँदैनन् । बा ले रेडियो बजाएको देखेर कहिलेकाँही उसलाई साह्रै झर्को पनि लाग्थ्यो । बेलुका को ७ बज्दै थियो, टुकी बत्ति को उज्यालो मा, उ आफ्नो परीक्षा को तयारी गर्दै थियो ।

रेडियो नेपाल मा ८ बजेको संकेत आउँदै समाचार को धुन बज्न थाल्यो, एकैछिन मा एउटी केटी अंग्रेजीमा समाचार भट्याउन थाली । जाँच को टेन्सन, त्यसमाथि रेडियो बजेको, झनै गाउँ भर मै कसैले नबुझ्ने अंग्रेजी भाषा, उसले रेडियो बन्द गर्यो ।

गोठमा भैँसी दुहुँदै गरेका उसका बा कराए, “हैन ए ! रेडि’या कस्ले बन्द गर्यो?” । उ बोल्यो, “मैले गर्या, सुन्ने कसैले होइन, बुझ्ने कसैले होइन, किन बजाउनु पर्यो” ? उसका बा गोठै बाट कराए, “तँलाइ, रेडि’या बन्द गर्नु पर्या छ, खुरुक्क ब’जा त” । उ बोल्यो, “अंग्रेजी समाचार आइरा’छ” । उसका बा च्याँठ्ठिए, “सुन्दै गए पो अंग्रेजी बुझिन्छ” । उसले लुरुक्क परेर फेरि रेडियो बजाइदियो, रेडियो अंग्रेजीमा समाचार फलाकिरहेको थियो, उसका बा भैँसी दुहीरहेका थिए । उसलाई लाग्यो, सायद उसका बा अंग्रेजी बुझ्छन् क्या’र !

************************************************************************

२.

जाडो मौसम र निरन्तर को शितलहर, तराईले केही दिन देखि घाम को मुखै देख्न पाएको थिएन । जाडो छल्नलाई केही केटाहरुले गाउँमा घुर ताप्ने व्यवस्था गरेका थिए । घुर ताप्दै उसको बारेमा केटाहरु बिच छलफल चल्दै थियो । उ चोरी को आरोप मा बारम्बार पिटिएको थियो, केयौँ पटक जेल को चिसो छिँडि मा रात बिताइसकेको थियो । अपराधिक मानसिकताहरु बाट प्रेरित उसका हर्कतहरु ले उसको परिवार मात्र हैन, गाउँ नै आजित भइसकेका थिए। तर खै, किन हो, उ बिग्रिएको थियो । उमेर ले १६ पनि नकाटदै, धेरै पटक चोरी गरिसकेको थियो ।

एउटा ले भन्यो, “त्यो नपढेर बिग्रिएको हो” । अर्कोले पहिलोको कुरा काट्दै भन्यो, “हैन, त्यो बिग्रिएर नपढेको हो” । फेरि अर्कोले थप्यो, “त्यो त पढ्दै थियो नि हैन र ? स्कुल त गइरहेकै थियो” । उसकै कुरा मा सही थप्दै अर्को बोल्यो, “हो हो, स्कुल त जान्थ्यो” । एकपटक उसले भनेको थियो, “दाइ मैले आज जाँच मा चिट चोरेँ नी” । “के चोरिस् तैँले”, उ माथि प्रश्न वर्षिएको थियो । उसले जवाफ दिएको थियो, “आज अंग्रेजी को जाँच थियो, मैले आफ्नो नाम अंग्रेजी मा लेखेर चिट लगेको थिँए” । 

*********************************************************************

३.

उ एक समय को चर्चित चलचित्रकर्मी थियो । उ नेपाली चलचित्रहरु को चलेको खलपात्र थियो । उसले दर्जनौँ चलचित्रहरु मा आफ्नो अभिनय देखाएको थियो । पछिल्लो पटक त उसले चलचित्र को निर्माण मा समेत हात हालेको थियो । उसले चलचित्र निर्माण मा उड्ने, गुड्ने, उफ्रने, हामफाल्ने लगायत का दृश्यहरु समावेश गरिएको हुन्थ्यो । उसको आफ्नै सिनेमा हल पनि थियो ।

धेरै पछि, आज उसलाई सडकमा  देखियो । पत्याउन पनि गाह्रो पर्ने रहेछ त्यो मान्छे त्यही नै हो भनेर । कहाँ त्यो, पहिले को उ र आज को उ । उसले मदिरा पिएरै मोटरसाइकल चलाएको थियो । उसले पुल छेउ का ढुंगालाई पनि सडक नै देखेको थियो । उ घर नजिकै आउँदै थियो, बाटो सबै उसलाई थाहा थियो । उ यसरी सडक मा पछारिएको थियो कि, बाँच्ने सम्भावना थिएन । तर उसको धुकधुकी बाँकी नै थियो, घर खेत, गरगहना, सिनेमा हल, सबै सक्याएर भएपनि, उ बाँच्यो । उ मरेर बाँच्यो, तर उसको होस ठेगान मा छैन । खुट्टा ठाउँमा टेकिँदैनन् । उसका हात, खुट्टा र टाउको निरन्तर हल्लिरहन्छन् । उ हिँड्न सक्छ, बोल्न सक्छ । तर उ सँग अब केही बाँकि छैन । उ अरु को सहारा विना, हिँड्न सक्दैन । उसलाई चिन्नेहरु ले पनि, उसलाई चिन्न छोडेका छन् । देशमा दर्जनौँ, कलाकार संघ छन्, दर्जनौँ कला प्रतिष्ठान छन् । तर उसलाई कुनै संघ संस्था ले नचिन्ने भएका छन् ।

केही हप्ता को अन्तराल मा देशले ३-४ जना कलाकार गुमाइसकेको थियो । उनीहरुको मृत शरीर अगाडी उभिएर श्रद्धान्जली दिँदै, कलाकार का लागि हरसम्भव सहयोग गरिने, सरकार र संघ संगठन का मान्छेहरु भट्याइरहेका थिए । अनि उ ती दृश्यहरु टिभि मा देखेर, सोचिरहेको थियो, उसले सहयोग कहिले पाउँछ ? मरेर जाने त गै’गए, उ त अहिले सम्म जिवित नै छ ।

****************************************************************

४.

उ धेरै पछि आफ्नो पुर्ख्यौली थलो घुम्न गएको थियो । अजंग का पहाडहरु २-३ दिन लाएर हिँडेर जानुपर्ने, उसको पुर्ख्यौली थलो मा अब गाडी बाट एकै दिन मा पुगिने भएको थियो । उसको लागि पहाड को पुर्ख्यौलीथलो, विरानो हुँदै थियो । तर यातायात को सुविधा पुगे सँगै, कोदो पनि नफल्ने पाखोबारीहरु को मुल्य छुनै नसक्किने गरि अक्कासिएको थियो ।

उसले सोचेभन्दा निकै भिन्दै पाएको पुर्ख्यौली थलो का डाँडाहरु मा यत्रतत्र बाटो देखिन्थे । प्रत्येक गाउँ मा मोटर चल्ने बाटो पुर्याइएको थियो । ती मोटरबाटोहरु पनि ‘पिच’ हुँदै थिए । बाँदर लड्ने भिर मा समेत मोटर गुड्न थालेका थिए । वर्षेनी खेत बगाउने खोला को बगर मा ट्याक्टर, ट्रिपर र मोटरसाइकलहरु कुदिरहेका हुन्थे । केही वर्ष अघि सम्म असम्भव लाग्ने र कल्पना भन्दा बाहिर का कुरा लाग्ने, ती खोला मा कुदेका ट्याक्टर, ट्रिपर र मोटरसाइकलहरु देखेर उ छक्क परेको थियो । अचम्म लागेर उसले बोलेको थियो, “लौ, खोला मा पनि मोटरसाइकल कुदाउन थालेछन्” । प्रत्युत्तर मा उसले ठट्यौलो जवाफ सुनेको थियो, “आ ! मोटरसाइकिल ता’ वेपत्तै  पो’ दौडाउँछन्, त भेट्न सकिँदैन” ।

*******************************************************************

५.

उ मौन नै बसे पनि उसले, उसलाई वर्षदिन अघि देखि देखिरहेको थियो । उ, उ सित कहिले बोलेन तर उ उसलाई मन पराउँथ्यो । उ, उसको अगाडि पर्न डराउँथ्यो तर लुकीलुकी उसैलाई चिहाउँथ्यो । उ अरुहरुलाई भन्थ्यो, “त्यो मेरी हो” । उ सँधै, आज चाँहि पक्कै बोल्छु भन्थ्यो । अनि भन्थ्यो, “भोलि त भन्छु, भन्छु” । उसलाई अरुले ढिला नगर्न सुझाउँथे । उ, ‘तिमीहरु हतार नगरन’ भन्थ्यो । कहिले काँही चिया पसल मा आमने सामने हुँदा, उ टाउको लुकाउँथ्यो, नदेखे झैँ र वास्तै नगरे झैँ गरिदिन्थ्यो । उ पढ्न भन्दा, उसैलाई चिहाउन लाइब्रेरी धाउँथ्यो । उसले धुइँपत्ताल खोजेर, उसको नम्बर पत्ता लगाएको पनि थियो तर उसलाई फोन गर्ने कहिले हिम्मत आएन । उ भित्र भित्रै उसैप्रति आकृष्ट भएको थियो तर आफ्नो मन को कुरा भन्न त के, एकचोटि ‘हेल्लो’ भन्न समेत उसले सकेको थिएन । देख्दा देख्दै, उसको उ, अर्कै सँग देखिन थालेकी थिइ । उसलाई यो कुरा पनि थाहा थियो, अरुले पनि भनेका थियो । उसले आत्तिनु पर्ने केही छैन भन्दै आएको थियो ।

उसले ‘फेसबुक’ लाई सम्बन्ध को मानक मानेको थियो । तिन चार पटक को प्रयास र भनसुन पछि, उसले उसलाई ‘फ्रेन्ड’ को रुप मा ‘फेसबुक’ मा स्विकारेकी थिइ । उ त्यो दिन निकै खुशी भएको थियो । उसले त्यो दिन आफ्ना साथीहरुबाट फेसबुक को ‘वाल’ मा थुप्रै बधाइ सन्देशहरु पाएको थियो । उसले खुशी हुँदै, सबै साथीहरुलाई खाजा पनि खुवाएको थियो । फेसबुक बाट पनि, उ सँग बोल्न उसले निकै प्रयास गरेको थियो । फेसबुक ‘च्याट’ मा हुँदा पनि उसले कहिले ‘हाइ’ को ‘रिप्लाइ’ पाउन सकेन । भन्थ्यो, “के भनेर बोल्ने, जब उ एउटा हाइ को रिप्लाइ समेत फर्काउँदिन” ।

फेसबुक मा उनको ‘स्टाटस’, ‘सिङ्गल’ बाट ‘रिलेसनसिप’ मा गइसकेको थियो । तर उ अझै आशा मा थियो, एकदिन त उ सँग बोल्ने हिम्मत आउला नि । उसले आज पनि फेसबुक च्याट मा देखिएकी उसलाई ‘हाइ’ भनेको थियो र उसको “रिप्लाइ” कतिबेला आउला भनेर कुरीरहेको थियो । फेसबुक ‘होमपेज’ मा ‘एक्टिभिटि’ देखिने कारण उसलाई अर्को साथीले “भाउ खोज्ने केटीलाई बाल छैन” भन्ने फेसबुक “पेज” “लाइक” गर्न ‘सजेसन’ पठाइरहेको थियो ।

*****************************************************************************

६.

उनीहरुले सानै देखि आफ्नो जोडी बनाएका थिए । स्कुल सँगै गएका थिए, कलेज सँगै गएका थिए । सुख दु:ख साट्ने असल साथीहरु थिए । फोन मा घन्टौँ गफ गर्थे, सिनेमा हेर्न पनि प्राय: सँधै सँगै हुन्थे । उनीहरु को मित्रता उनीहरु बिच मात्र सिमित थियो । बाहिरी दुनियाँलाई उनीहरु को बारेमा थाहा थिएन । उनीहरु को मित्रता अघोषित रुपमा प्रेम मा परिणत भएको थियो । उनीहरु एक अर्कालाई आफ्ना प्रेमी को रुप मा देख्न थालेका थिए । जात पनि मिल्ने कारण, उनीहरु झनै उत्साहित थिए र आफ्नो भविष्य को बारेमा निश्चिन्त थिए ।

बाहिर को कुरा देखेर, सुनेर, थाहापाएर उनीहरु आज आफ्नो गोत्र पत्ता लगाउने कोशिश मा थिए । उनीहरुले, गुगल मा गोत्र बारे ‘सर्च’ गरेका थिए । पहिलो सर्च नतिजा पच्छ्याउँदै उनीहरु गोत्रबारे लेखिएको ‘विकिपेडिया पेज’ मा पुगेका थिए । नसोचेको कुरा त्यहाँ लेखिएको थिए । थर फरक भएपनि, गोत्र एउटै थियो । उनीहरुलाई थाहा थियो, यो गोत्र को नियम उनीहरुले तोड्नु हुँदैन । घरबाट पनि उनीहरुलाई प्रस्टै भनिएको थियो, बरु ‘इन्टरकास्ट’ हुन्छ तर एकै गोत्र भएकोमा सम्बन्ध गाँस्न हुँदैन । गोत्र एउटै हो भन्ने थाहा पाएपछि उनीहरु धेरै रोएका थिए । पिडा मा डुबेका उनीहरुले सम्बन्ध अघि नबढाउने सहमति गरेका थिए । गोत्र बारे लेखिएको ‘विकिपेडिया को पेज’लाई उनीहरु ले आफ्ना कम्प्युटर को ब्राउजरमा ‘बुकमार्क’ गरेर राखेका छन् रे !

****************************************************************

७.

उ हदै को सौखिन थियो । उ सामानहरु प्रयोग गर्न भन्दा पनि, कोठा को, घरको शोभा हुन्छ भनेर, सामानहरु किन्ने गर्थ्यो । सायद उसलाई सबै सामान को नाम थाहा छैन र त्यसको प्रयोग पनि थाहा छैन । तर उसका कोठामा दर्जनौँ किसिम का क्रिम का बट्टाहरु, स्प्रे का बट्टाहरु देखिन्छन् । उसले टाउको मा जेल र तेल लगाएको थाहा छैन तर तेल र जेल का बट्टाहरु उसको कोठाको ‘सो’ भएर रहेकाछन् । उसले प्रयोग गर्न नजान्दै, डेस्कटप कम्प्युटर किनेको थियो र अहिले पनि उसले झुक्किएर कहिले काँही कम्प्युटर ‘अन’ गर्छ । टिभि कार्ड किन्न सुझाउँदा, कोठामा ‘सो’ हुन्छ भनेर उसले टिभि र ‘डिभिडि प्लेयर’ किनेर राखेको थियो। धन्न उसले किन्डल र आइप्याड जस्ता उत्पादन बारे थाहा पाइसकेको छैन । डेस्कटप छाडेर, अब उ ल्यापटप किनेर कोठा को शोभा बढाउने योजना मा छ ।

Comments

  1. nice stories. no1 and no6 are special. Lively !

    ReplyDelete
  2. Liked it. UA.

    ReplyDelete
  3. एक से एक छन् । कलाकार को सम्मान सम्बन्धि को कथा अझ विशेष लाग्यो ।

    ReplyDelete
  4. nice stories. no1 and no6 are special. Lively !

    ReplyDelete
  5.  nice stories .........
    ..aafule lekheka laghu kathaharu k ma/(kun patrikama) prakashan garna sakinchha???..

    ReplyDelete
  6. छोटा-छोटा तर पूर्ण र पुष्ट कथा। सिमित शब्दहरुमा असिमित भावदशा र सामाजिक स्थितिलाई दर्शाउन सफल छन सबै कथा । लघुकथा भित्रका 'हाइ-टेक' परिवेशहरु पनि एकदमै प्रासंङ्गीक छन :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मुगु अनुभव - यात्रा

...सुर्खेतमा (हुन त नेपालगन्जबाट पनि सिधा हवाइ सम्पर्क छ, मुगुमा) टिकट पाउने लम्बेतान संघर्ष(?) पछी मुगूको लागि उडान निश्चित हुन्छ । कपडा र आवश्यक केही सरसामानहरुको गह्रुङ्गो झोला सहितको काउन्टर चेक इन पछी डिपार्चर रुम मा छिर्न पाउनु खुबै आनन्द लाग्दो हुन्छ किनकी अब टिकटको लागि हिजो जस्तो संघर्ष गर्नुपर्ने छैन । डिपार्चर रुम को बातावरण पनि रोचक छ । बिमान कम्पनिहरुले दिने १५ किलो को तौल सिमिततालाई छल्न कैयनले अनेकौँ पत्र कपडा लगाएका हुन्छन र कोहिले मुगुमा पाइन्न भनेर लहलहाउँदा रायोका साग र कतिले ब्रोइलर कुखुराका मासु कोसेलिका रुपमा बोकेका हुन्छन । ...एउटी जरखरिएकी एअरहोस्टेस औपचारिक स्वागत गर्छे र सबैलाई सिटबेल्ट बाँध्न निर्देश गर्छे अनी नजानेका यात्रुलाई हप्काइको भाषामा बाँध्न पनि सिकाउँछे । म भने सिटको अघिल्तिर राखिएको आपतकालिन सुरक्षा निर्देशिकाको सानो पन्ना पल्टाउँदै एअरहोस्टेसको ब्यबसायिकताको बारेमा सोच्न लाग्छु । एअरहोस्टेस 'यती एअरलाइन्स' लेखिएको खोलले बेरिएको चकलेट र कपासका टुक्राहरु किस्तिमा बोकेर आउँछे । धन्यवाद सहित म एउटा चकलेट र दुई टुक्रा कपास निकालेर कानमा राख्छ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

चित्र बनाउने सजिलो तरिका

चित्र बनाउन भनेपछि, सबैलाई गाह्रो लाग्छ । हुन पनि हो, चित्र कोर्नलाई गाह्रो नै छ, सबैले गर्न सक्दैनन् । म केही पहिलेसम्म स्केच कोर्थेँ, तर अहिले तिनै स्केच कोर्न पनि म नसक्ने भएको छु, अत: चित्र कोर्न निरन्तर अभ्यास जरुरी छ भन्ने लाग्छ । आज यहाँ यस्तो 'टेक्निक' को चर्चा गरिएको 'टेड' भिडियो राख्दैछु, यो भिडियो हेरिसकेपछि जस्तोसुकै व्यक्तिले पनि चित्र कोर्न सक्नेछन् । चित्र कोर्ने भन्ने बित्तिकै, एकदम 'पर्फेक्ट', जेसुकै, जुनसुकै कुराको पनि चित्र बनाउन सकिन्छ भनेको चाँहि होइन, त्यसको लागि त निरन्तर अभ्यास नै आवश्यक पर्छ । तर यति चैँ भन्न सकिन्छ कि, यो भिडियो हेरिसकेपछि तपाईले 'अल्बर्ट आइन्सटाइन'को स्केच चैँ सजिलै बनाउन सक्नुहुन्छ । वाँयाबाट दाँया क्रमैसँग । कागज र कलम तयारी अवस्थामा राखेर, चित्र बनाउन सिकाउने तलको टेड टकको भिडियो हेरौँ । टेड टक'को यो भिडियोमा ग्राम स्‌ ले भनेजस्तै सजिलै चित्र कोर्न सकिन्छ । एकपटक अवश्य बनाउनुहोस् ।

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Subscribe to Aakar Post