बोत्तल पुराण !!!

बोतल र बोटल मा फरक होला, अन्यथा बोतल भन्ने बित्तिकै सबैले, त्यही खोयाविर्के, तिनापाने लोकल या भनौँ बियर र भोड्का सम्झिँदैन थिए होला । बोतल र बोटल, एउटालाई नेपाली र अर्कोलाई अंग्रेजी भनेर मान्छेहरु भन्लान, उच्चारण को मात्र फरक हो भनेर ! तर मलाई त लाग्छ, यो उच्चारण को मात्र फरक हुँदै होइन ! बोत्तल भन्ने बित्तिकै, मान्छेहरु रक्सी नै सम्झिन्छन्, बोटल भन्दा, खै के सम्झिन्छन् थाहा छैन । हुन त  बोटल का पनि साइज अनुसार का नाम छन् ! कुनै पेट बोटल, कुनै जार, त कुनै मात्रै बोटल !

कुरै गर्ने हो भने, औषधीहरु पनि बोतल मै हुन्छन् ! हामीलाई अत्यावश्यक पानी पनि त बोतल मै हुन्छ ! तर त्यसलाई प्राय: ले बोटल नै भन्छन् ! अझ नेपाल मा कोकाकोला उत्पादन गर्ने कम्पनि को नाम नै ‘बोटलर्स नेपाल’ छ ! बोतल उही हो, तर नाम चाँहि फरक, एउटा बोत्तल अर्को बोटल !  आफूले “बोत्तल पुराण लेख्ने तयारी मा ! यसो आइडिया दिएर हेल्प गरौँ न हो” भनेर फेसबुक मा लेख्याँ थिँए, सबैले उही ट्वाँट,रक्सी, जाँड कै मतलब लाग्नेगरि कविता र कथा फुराए !  यो बोटल को बारेमा अर्को दिन कुरा गरौँला, आजलाई चाँहि bottle2बोत्तलदेव  को महिमा गाइएको ‘बोत्तल पुराण’ तर्फ नै लागौँ होला ।

“के हो अहो अमृत यो सुर देव पान? 
रक्सी को नशा हो भनेर जान”

हे नपिउने मुर्ख हो ! एकपल्ट पिएर हेर
जागेको अभिनय गर्छौ; साँच्चै जिएर हेर

खादै खान्न छुदै छुन्न भन्ने मानिसहरु 
कति खान्छौ थाह हुन्छ, हातमा लिएर हेर

सपना लिएर आउने रातहरुलाई सलाम,

सपनी दिएर जाने प्रभातहरुलाई सलाम
मज्जा सँग जिउन त पाईएको छ,

रक्सी बनाउने हातहरुलाई सलाम !!

भन्ने श्लोक बाट बोत्तल पुराण सुरु हुन्छ । माथिका श्लोक को अर्थ बताइरहनु पर्दैन नै  होला । बोतल भनेको उहीले भगवान ले बनाइदिएको सुन्दर उपहार ! ‘God Must Be Crazy’ भन्ने अंग्रेजी चलचित्र मा यही बोतल कै कारण झगडा सुरु भएको थियो । भन्नु को मतलब, बोत्तल को प्रवेश सँगै, मान्छेहरुमा आपसमा झगडा सुरु भएको देखिन्छ ।

बोतल एउटा निर्जिव वस्तु, कुनै लाम्चो, कुनै चेप्टो, कुनै कालो, कुनै सेतो, कुनै हरियो त कुनै रातो हुन्छ । बोतलमा लाग्ने बिर्को नि फरक फरक का हुन्छन् । शहर मा र विदेश तिर, सिल प्याक,  बिर्को हुन्छ भने, गाउँघर तिर को बोतल मा ‘खोया’ को बिर्को हुन्छ । अत: केहीठाउँ मा गाउँतिर रक्सिलाई खोया बिर्के भनिन्छ, अनि खोया विर्के को पर्यायवाचि शब्द भनेको बोतल हो । बोतल मा कुनै रंग भएका, कुनै मा रंग नभएका झोल भरिन्छ, कुनैलाई रक्सि, कुनैलाई भोड्का, ब्रान्डि, वाइन आदि नाम दिइन्छ । नाम दिनु को नि कारण, नाम अनुसार दाम नि फरक हुन्छ ।

कुनै सुलुत्त परेका, कुनै प्वाक परेका पुड्का बोत्तलहरु, कुनै भुँडि ठूलो र घाँटि सानो भएका बोतलहरु ! जस्तोसुकै भएपनि बोत्तल जात एउटै हो ! बोत्तल को हल्का स्वरुप को बारेमा सर्सर्ति चर्चा गरिसकेपछि अब बोत्तल मा हुने कुरा र त्यसले गर्ने कुरा को बारेमा, बोत्तलदेव अगाडि भन्नुहुन्छ ।

कोही ले संस्कृति को नाम मा, कोही ले सोसोलाइज गर्ने निहुँ मा, बोत्तल संस्कृतिलाई अंगालिरहेका हुन्छन् । बोतल मा रक्सि, बियर, भोड्का, वाइन, जिन आदि हुन्छन् भने, भनिरहनु पर्दैन होला, बोटल मा औषधी, पानी, कोक जस्ता पेय पदार्थ आदि हुन्छन् । बोटल हुन्जेल सबै राम्रो मानिन्छ, मान्छेले बोटल छाडेर बोतल तर्फ पाइला चाल्न थालेपछि संसार नै अर्को हुन्छ ।

कोही रमाइलो को निहुँमा, कोही पिडा बिर्साउन, कोही सोसोलाइज हुन, कोही संस्कृति जोगाउन, कोही नशाको लागि, आदि विविध बाहाना मा मान्छेहरु बोत्तललाई ठाडो घाँटि लाइरहेका हुन्छन् । कसैले घरवारी सिध्द्याउँछन्, कसैले परिवार विचल्ली बनाउँछन्, कोहीले बाटो बाटो मा सुतेर दुनियाँ हसाउँछन् । कोहि रवाफ र सान देखाउन पिउँछन्, कोही प्रेमी र प्रेमीका ले धोका दिएको झोँक मा पिडा भुलाउन पिउँछन् । कोही नानी देखि लागेको बानी ले गर्दा पिउँछन् । जति र जस्तोसुकै बाहाना बनाएर नै पिइरहेका हुन्छन् । कोही खुशि साट्न पिउँछन्, कोही दु:ख भुलाउन पिउँछन्, कोही देखासिकी मा पिउँछन् । कोही चाख्ने बहाना मा पिउँछन्, कोही विदेशी लेबल को निहुँ मा पिउँछन् । पिउनेहरु हजार बहानाहरु बनाएर पिउँछन् ।  अत: बोत्तलदेव भन्नुहुन्छ, महादेव ले जोइन खा’को निहुँ मा साधुसन्त युवायुवतीहरु गजेँडि भएझैँ, बोत्तलदेव को निहुँ गरेर आखिर सबैले त्यही  बोत्तल भित्र कै झोल पिउँछन् ।

कसैले स्वाट्ट एकसट मै पिउँछन् । कोही पानी मिसाएर पिउँछन्, कोही गिलास मा हालेर पिउँछन्, कोही वाइन को गिलास भनेर, त्यही गिलास नै खोजेर पिउँछन् । कोही ठाडो घाँटि लाएर नै घटघट गरेर पिउँछन् । कोही वाइन को निहुँ मा पिउँछन् । गज्जब तब लाग्छ, धर्मभिरुहरु, आफूलाई शाकाहारी र सात्विक भोजन गर्नेहरु पनि अल्कोहलयुक्त रक्सी तन्काइरहेका भेटिन्छन् वाइन को नाम’मा ! कोही स्वाद मानेर पिउँछन्, कोही मूख नाँक र आँखा एकैठाउँमा कच्याककुचुक पारेर पिउँछन् । कोही स्टाइल सँग पिउँछन्, कोही स्टाइलविना नै पिउँछन् । कोही मकटेल, कोही ककटेल, कोही के कोही के को निहुँ मा आखिर त्यही बोत्तल नै पिउँछन् ।

कोही दिनभरि बाहुन, रातभरि डाउन को प्रवृत्ति भन्दै पिउँछन् । कोही जात ले पा’को भन्दै पाउँछन् । कोही भट्टि मा बसेर पिउँछन्, कोही बार मा पसेर पिउँछन्, कोही इष्टमित्र भेला गरेर पिउँछन्, कोही एक्लै लुसुक्क गएर पिउँछन् । कोही सित्तै मा पाएर पिउँछन्, कोही साथ दिने भनेर पिउँछन् । कोही सितन सँग पिउँछन्, कोही विनासितन पिउँछन् । कोही मौसम ले च्यालेन्ज गर्यो भन्दै पिउँछन्, कोही अरुलाई देखाउन पिउँछन् । कोही ऋणमा डुबेर पिउँछन्, कोही नाफा मा भएर पिउँछन् । फरक यत्ति हो, ऋणमा डुब्ने ले खोयाबिर्के पिउँछ, नाफा मा हुनेले, विदेशी लेबल लाइएका आकर्षक बोत्तलका पिउँछन् ।

कोही इनर्जीका लागि पिउँछन्, कोही हिम्मत बटुल्न को लागि पिउँछन् । कोही आवेग देखाउन को लागि पिउँछन्, कोही फुर्ति देखाउन पिउँछन् । हजारौँ हजार बहाना ले पिउँछन्, हज्जार तरिकाले पिउँछन्, आखिर जसरी नि पनि उही बोत्तल नै पिउँछन् । कोही पिएर चुपचाप सुत्छन्, कोही पिएपछि संसार थर्काउँला झैँ गर्छन् । कोही बाटो मेरो हो भन्दै बाटो मै लम्पसार परिदिन्छन्, कोही ‘तेरो बाउ को सम्पति खाइदेको छैन’ भन्नै अंग्रेजी फलाक्दै हिँडछन् ।

कोही लुकेर पिउँछन्, कोही लुकाएर पिउँछन् ! कोही देखाएर पिउँछन्, कोही देखेर पिउँछन् । कोही जुवा हारेर पिउँछन्, कही जुवा जितेर पिउँछन् । कोही कुर्सी पाएर पिउँछन्, कोही कुर्सी नपाएर पिउँछन् । कोही लोकल भनेर पिउँछन्, कोही इम्पोर्टेड भनेर पिउँछन् । कोही स्वदेशी भनेर पिउँछन्, कोही विदेशी भनेर पिउँछन् । कोही दशैँ भनेर पिउँछन्, कोही तिहार भनेर पिउँछन् । कोही जनता भनेर पिउँछन्, कोही नेता भनेर पिउँछन् । कोही सर्वहारा भनेर पिउँछन्, कोही बुर्जुवा भनेर पिउँछन् । कोही स्पोन्सर गरेर पिउँछन्, कोही स्पोन्सर गराएर पिउँछन् । संसार मा, यस्ता बहानाहरु पनि भेटिन थालिसके’की, कोही टुविटर भनेर पिउँछन्, कोही फेसबुक भनेर पिउँछन् । कोही फुटबल त कोही क्रिकेट भनेर पिउँछन् । कोही रक्सी भनेर पिउँछन्, कोही बियर भनेर पिउँछन् । कोही जिन भनेर पिउँछन्, कोही भोड्का भनेर पिउँछन् त कोही फलफूल को रस भन्दै वाइन घुट्क्याउँछन् । कोही इम्प्रेसन देखाउन पिउँछन्, कोही डिप्रेसन भएर पिउँछन् । कोही आफ्नो आफन्त को उपचार गर्न नसकेर पिउँछन् त कोही लालाबाला को हेरचाह गर्न नसकेर पिउँछन् ।

कोही,

“हार्ड भने नि सफ्ट भने नि, रक्सी भन्या रक्सी

मुसुक्क हाँस्दै रक्सि थप्छे होटलवाली पोक्ची”

भन्ने नारद खतिवडा को गित गाउँदै पिउँछन् त कोही नारायण गोपाल र भक्तराज का गित सुनाएर पिउँछन् । कोही मोहम्मद रफी देखि पंकज उदास सम्म का गित, सुनेर पिउँछन् । कोही शान देखाउन पिउँछन्, कोही मात्न पिउँछन् । जति जे बहाना गरेर भएपनि उनीहरु बोत्तल पिउँछन् ।

पिउने तौर तरिका र बाहाना को बारेमा कुरागरिसकेपछि, बोत्तलदेव पिउनेहरुका गुनासा वर्णगर्नुहुन्छ । पिउनेहरु का नि आफ्नै गुनासा हुन्छन् । पिउनेहरुलाई पियो भनेर, केही भन्नुहुँदैन, उनीहरु अनेकन बाहाना सुनाइदिन्छन् । पियक्कडहरु भन्छन्, “पियिस् मलाई भन्ने'हरु पिएर हेर.... त्यस्सै बिग्रिन्छ भन्ठान्या छौ हाम्रो मुख .... कम्ता गाह्रो छ पिउन ??? लाग्दो हो, म यशको लागि पिउँछु ......... तर हैन यसले बिगार गर्छ ......... अरुलाई बिगार नगरोस भनेर रित्याउन खोज्छु म ...... !!” अरुले जति नै सम्झाउन खोजेपनि उनीहरु कै कुरा माथि हुन्छन्, उनीहरुकै कुरा जायज लाग्छन् । अनि अरुले नि, जय बोत्तल भनेर, बोत्तल को महिमा गाउनथाल्छन् ।

पिउनेहरु महल बाट सडक मा आउनसक्छन् । पिउनेहरु, करोडपति बाट रोडपति बन्न सक्छन् । पिउनेहरु, अल्पायु मै सुँइकिन सक्छन् । पिएर हल्ला गर्दै हिँड्नेहरु, समाज का अराजक तत्व बन्न सक्छन् । पिउने लठैतहरु कुनै पार्टि का बफादार कार्यकर्ता बन्न सक्छन् । पिउने को सानो ग्याङ खोल्नेहरु, आफ्नो एरिया का दादा कहलिन सक्छन् । लुटेर खानेहरु, समाजसेवी बन्न सक्छन् । विदेशी लेबल पिउनेहरु, ठूलाठालु कहलिन सक्छन् । पिएर बाटो मै सुत्नेहरुलाई कुकर ले तुर्क्याउन सक्छन् । पिउनेहरु का घरपरिवार उजाड हुनसक्छ, सम्बन्ध बिग्रन सक्छ, तर बाल छैन उनीहरुलाई, उनीहरु त्यही बाहाना मा पिइदिन सक्छन् । कोही पिएर नशा मा लठ्ठ हुँदै, स्वास्नि र छोराछोरी कुट्न सक्छन् । बाहिर ठूला इज्जत भएकाहरु का पनि, बोत्तल का माध्यमबाट इज्जत जोख्न र तौलन सकिन्छ ।

कोही भन्छन्, “फोक्सोलाई नि लत बसिसकेछ....... अचेल त त्यै तितो नै मन पराउन थाल्या छ, कैले काहिँ भातको सिता मात्रै पर्दा नि तातो तेलमा तार्न हाल्या चपजस्तो च्वांईयय पो गर्छ” !

कोही अरुलाई बुझाउँछन्,“गिलाँसमै त आगो बल्छ झिल्को मात्रै पाए पनि, हामी भित्र भित्रै कति जलिराछौँ, कहिल्यै बुझ्ने कोशिस गर्या छौ ??”

कोही आफ्ना वेदना पोख्छन्,“बिहे भ'कै दिन देखि सहिद भई'या छ ..... लुगा धोउ आफै, भाँडा माझ आफैं, आइरन लगाउ आफै, भुरा छोड्न जाउ आफैं.... तलाई डंकिनी बेलुकीको ट्याम त मेरो मर्जीमा चल्न दे न, अनि चाख्छेस भने तलाई नि पुग्छ ....खान्छेस ??” 

बोत्तल भन्ने बित्तिकै रक्सी सम्झने हाम्रो बुझाइ पनि अचम्म को छ ! अनि बोत्तल रक्सी को पर्यावबाची शब्द नै सावित भएको छ । कहिले के निहुँ मा कहिले के निहुँ मा, बोत्तललाई साथ मा लिइन्छ ! बोत्तल पिउन को लागि हजारौँ बहाना बनेका छन् ! कोही रक्सी, कोही ट्वाँट भन्छन् । खानेहरुलाई अमृत को झोल लाग्ने अरु नखानेहरुलाई कुकुर को झोल लाग्ने यो बोत्तल महिमा पनि अजिव किसिम को छ । बोत्तल को महिमा जति भन्यो त्यति कमै हुन्छन् । बाँकि बोत्तल का महिमाहरु, सोच्ने जिम्मा तपाइँहरु कै !

इतिश्री ! बोत्तलपुराण !

अन्त्यमा,  हामी हाम्रा मित्रहरु, प्रमोद न्यौपाने, उद्धव सिलवाल, दिलिप खतिवडा, सुदर्शन गौतम लगायतलाई धन्यवाद नदिइरहन सक्दैनौँ ! जय ! बोत्तलपुराण !!!

5 comments :

  1. ha ha ha interesting......... padhda padhda malai nai piuna manlagyo......... :) :) :)

    ReplyDelete
  2. भैरब अर्यालको 'जय भुँडी' बाट साभार गरिएको जस्तो छ नि उही पुरानो ग्रन्थ..."Old wine in a New Bottle"...जय Botal/Bottle Post...:)

    ReplyDelete
  3. लेख्नु भन्दा पहिले, 'जय भुँडी' पढेर लेख्न बसेको भए, सायद म अन्त्यमा जय भुँडी पनि लेख्थेँ होला ! हा हा हा

    ReplyDelete
  4. भुँडी, आलु गर्दा गर्दै आज आएर बोत्तलको गुणगान पनि सुनियो बा! साह्रै मीठो लाग्यो बोत्तल पुराण आकरजी।
    अब म नि लागेँ, घुटु घुटु पिउनु... बोत्तलबाट पानी :)

    ReplyDelete
  5. ha ha ha interesting......... padhda padhda malai nai piuna manlagyo......... :) :) :)

    ReplyDelete