हेर हेर यसबेला सम्म यस्तो भुइँमा नि कस्तो सुत्न सकेको होला? पक्कै प्लास्टिक सुँघेर कि केही खाएर सुतेको हुनुपर्छ। अचेल यो बसपार्क एरियामा ट्यापे पनि कति हुन? खलाँसी हुन कि ट्यापे हुन चिन्नै सकिन्न। चोरेरै अत्त्याए बा। हुँदा हुँदा स्पेयर टायर समेत जोगाउन धौ-धौ भैसक्यो। कुन दिन इन्जिन खोलेर लाने हुन भन्ने डर छ। बसपार्क भन्नु मात्रै को छ, केही कुरोको सुरक्षा छैन। कतै पकेट मारे भनेर प्यासेन्जर रोएको देखिन्छ कतै समान चोरे भनेर ड्राइभर रोएको देखिन्छ। चाढबाढको बेलामा त पुलिस सुलिस बसेर यसो कडाइ गरे हूने नि। जसलाई जे भए पनि अन्तिममा दोष चाँहीं हामी ड्राइभरलाई आऊँछ। नेपालमा अब ड्राइभर भएर बाँच्न सकिन्न। तर कहाँ जाऊँ म, जहाँ जाऊँ भने पनि लाख रुपैयाँ साथमा नभइ कुरा चलाऊनु बेकार छ, आफु यहाँ बुढीलाई फरिया किन्न नसकेको बेलामा लाख लाख कहाँबाट ल्याउनु। बरु यसो स-सानो लगेज पाउन पाए यो तीज त उम्किन्थ्यो। न साहुलाई दिनु पर्ने, न खलाँसीलाई नै। टक्क सिट मुनी पोको लुकाएर लैदिने हो, भित्र जे सुकै होस बाल मतलब? आफु यहाँ भोकै मरियो भने हामीलाई कसले बाल दिन्छ र? तर अचेल साना लगेज पाउन नि गाह्रो भैसक्यो। संकटका...