Skip to main content

सोसल नेटवर्किङ साइट लिङ्क्डइन २६ खर्बमा बिक्री


माइक्रोसफ्टले, ४३ करोड प्रयोगकर्ता रहेको प्रोफेशनल सोसल नेटवर्किङ साइट लिङ्क्डइन २६ अर्ब डलरमा (करिब २६ खर्ब नेपाली रुपैँया) किन्ने घोषणा गरेको छ । माइक्रोसफ्टका अनुसार, लिङ्क्डइन छुट्टै (आफ्नै) ब्रान्डको रुपमा रहनेछ । अहिलेका लिङ्क्डइनका सिईओ जेफ विनर नै माइक्रोसफ्ट अन्तरगत रहने लिङ्क्डइन सिईओको रुपमा रहनेछन् ।

माइक्रोसफ्ट प्रोफेशनल क्लाउड र लिङ्क्डइन प्रोफेशनल नेटवर्क भएको उल्लेख गर्दै, लिङ्क्डइनका सिइओ जेफ विनरले माइक्रोसफ्टसँग मिलेर अझै धैरै काम गर्न सकिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेकाछन् । लिङ्क्डइनका सिइओको ब्लगमा आएका कमेन्टहरु सर्सर्ती हेर्दा, लिङ्क्डइनका प्रयोगकर्ताहरु उत्साहित भएको देखिँदैन ।

सत्य नडेला माइक्रोसफ्टको सिइओ भएसँगै, माइक्रोसफ्टले मोबाइल, वेबमा आफ्नो पुरानो स्थान खोज्दै आएको छ ।  हालैका वर्षहरुमा आइफोन तथा एन्ड्रोइडमा रहेका पपुलर एप्सका साथै एन्ड्रोइड ओएस आदिमा लगानी गर्दै माइक्रोसफ्ट, मोबाइलमा छिरेको छ (माइक्रोसफ्टको आफ्नै मोबाइल सफल हुन सकेको भने छैन) । यसैलाई निरन्तरता दिँदै सोसल मिडिया मार्फत आफ्नो बजार बिस्तार गर्न माइक्रोसफ्टले लिङ्क्डइन किनेको हो । अघिल्लो वर्षमात्रै माइक्रोसफ्टले आफ्नो पहिलो ल्यापटप सर्फेस बुक सार्वजनिक गरेको थियो ।


२०१४ मा फेसबुकले ह्वाट्सएपलाई १९ अर्ब डलरमा खरिद गर्दा जिब्रो टोकिएको थियो । फेसबुक-ह्वाटस्एपलाई डिललाई अब माइक्रोसफ्ट - लिङ्क्डइन डिलले बिर्साउने भएको छ ।

लिङ्क्डइन, अन्य सोसल नेटवर्किङ साइट झैँ, प्रोफेशनलहरुका लागि बनाइएको सोसल नेटवर्क हो । लिङ्कड्इनमा बनाइने प्रोफाइलले कतिपय ठाउँमा 'सिभि/वायोडाटा' कै काम गर्छ । हिजोआज, जागिरका लागि लिङ्क्डइनबाट आवेदन दिने, लिङ्क्डइनबाटै छनौट गर्ने गतिविधि बढिरहेको छ ।

Comments

Subscribe to Aakar Post