Skip to main content

जिमेल अब नेपाली भाषामा

फोन होस् वा इन्टरनेट, नेपाली भाषामा चलाउन खोज्ने, देवनागिरी लिपी मात्र बुझ्ने प्रयोगकर्ताहरुको सङ्ख्या नेपालमा उल्लेख्य मात्रामा छ । नेपाली भाषा प्रेमीहरुलाई खुशीको खबर, जिमेल अब नेपाली भाषामा उपलब्ध भएकोछ ।

हिजोबाट जिमेल नेपाली लगायत अन्य १२ वटा भाषामा उपलब्ध भएको हो । यो सँगै, जिमेल अब ७१ वटा भाषाहरुमा उपलब्ध भएको कुरा जिमेलले आफ्नो ब्लगमा उल्लेख गरेकोछ । नेपाली स्वयंसेवकहरुको महिनौँको मेहनत पछि जिमेल नेपालीमा उपलब्ध भएको हो, गतवर्ष डिसेम्बरमा गुगल ट्रान्सलेटमा नेपाली भाषा समावेश गरिएको थियो ।

जिमेल नेपाली भाषामा कसरी प्रयोग गर्ने?
१) जिमेलमा 'साइन इन' गर्नुस्
२) दायाँ छेउको 'गियर आइकन' क्लिक गर्नुस्
३) सेटिङ्स छान्नुस्
४) सेटिङ्स पेजको माथिल्लो भागमा 'जिमेल डिस्प्ले ल्याङ्गवेज' लेखिएको हुन्छ, त्यहाँको 'ड्रप डाउन' मेनुबाट 'नेपाली' भाषा छान्नुस्
५) पेजको तलको बटनबाट सेटिङ सेभ गर्नुस्


अब तपाईको जिमेल एकपटक रिलोड हुनेछ, त्यसपछि जिमेल नेपाली भाषामा प्रयोग गर्नसक्नुहुन्छ । जिमेल नेपाली भाषामा भन्नुको मतलब तपाईले जिमेलमा सिधै नेपालीमा लेख्न सक्नुहुन्छ भनेको भने होइन है । जिमेलको आवरणमा भएका अंग्रेजी शब्दहरु मात्रै नेपाली भाषामा परिवर्तन हुने हो । जस्तो कि, 'कम्पोज ईमेल',  नयाँ सन्देश भनेर देखिने छ, 'च्याट'को सट्टा 'कुराकानी' भनेर देखिनेछ ।
जिमेल नेपाली भाषामा आउनु स्वागतयोग्य कुरा हो, तर पनि केही अंग्रेजी शब्दहरुलाई नेपालीमा सोझै उल्था गरेर राखिएकोले, बुझ्नलाई कठिन हुनसक्छ र कतिपय अवस्थामा अमिल्दो पनि देखिएकोछ ।

जस्तो, ईमेलमा फोटो 'एट्याच' गर्नुलाई, 'तस्विर घुसाउनुस्' भनेर लेखिएकोछ, यसको सट्टा 'तस्विर संलग्न गर्नुस्' भनेर लेख्न सकिन्छ वा अन्य यस्तै अर्थ दिने शब्द राख्न सकिन्छ । अंग्रेजी शब्दलाई सोझै नेपालीमा उल्था गर्नुभन्दा पनि, सोही किसिमको भाव दिने नेपाली शब्दहरु प्रयोग गर्नुपर्ने देखिन्छ । 

आशा गरौँ, हिजो नेपाली भाषामा सार्वजनिक गरिएको जिमेल आगामी दिनमा सुधार हुँदैजानेछ । 

Comments

  1. This is very good news for those using Nepali language

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post