हामीकहाँ दैनिक लोडसेडिङ हुन्छ, तर लोडसेडिङ हुँदै गर्दा पनि विद्युतिकरणको कार्य भने रोकिएको छैन रे, रोकिनुपनि हुँदैन । लोडसेडिङ भइरहेको छ, अहिले त बिजुलीको माग धान्न सक्या छैन, अन्यत्र विद्युतिकरण किन गर्नुपर्यो भन्ने तर्क नि हुँदो हो । तर मेरो विचारमा विद्युतिकरण सँगसँगै हुँदै जानुपर्छ, हाइड्रोपावरहरुको निर्माण छिटो छिटो हुँदै जानुपर्छ ।
बिजुलीको खम्बा उभ्याइसकेपछि, तार टाँगिसकेपछि, लोडसेडिङ नै हुने भएपनि घरमा बिजुली बल्न कति समय लाग्ला? १ महिना, १ वर्ष ? तर होइन बिजुलीको खम्बा गाडेको दशौँ वर्ष पछि पनि बिजुली नबल्न सक्छ । हो, नबल्न सक्छ? कारण, हाम्रो नेताहरुको राजनितीक दाउपेच । “विकास” भन्ने कुरा, राजनितिक दल र नेताहरुको राजनितिक अस्त्र ।
माथि फोटोमा बिजुलीका खम्बा र तारहरु देख्न सक्नुहुन्छ । तपाईहरु अनुमान गर्नसक्नुहुन्छ? यो खम्बा कहिले गाडियो? किन गाडियो? निश्चय नै बिजुलीको खम्बा बिजुलीका लागि नै हो । तर बिजुलीको खम्बा गाडिनु चुनावमा भोट माग्ने काइदा रहेछ भनेर, म बल्ल बुझ्दैछु । यो कुरा कुनै दुर्गम गाउँको होइन, यो कुरा धेरै टाढाको पनि होइन । हप्ता दिन पहिले, घरजाँदा आफ्नो जन्मस्थान नि जान मन लागेकोले आफ्नो जन्मस्थान गइएको थियो । बिजुलीका खम्बा अनि तारहरु देख्दा आफ्नो जन्मस्थानमा नि बिजुली आइसकेछ भने जस्तो लाग्यो । तर होइन रहेछ, बिजुलीका खम्बा र तारहरु गाडिएका र टाँगिएका मात्र रहेछन् । यो कुरा देखेपछि, काठमाडौँमा बसेर मधेसी जनता वा भनौँ आम नेपाली जनता भन्दै भाषण ठोक्ने नेताहरु, अनि काठमाडौँ बसेर देश मैले देखेको छु भने जसरी लेख लेख्ने र ट्विटरमा आफ्ना गह्रुङगा प्रवचन दिने पत्रकारहरु प्रति टिठ लाग्यो । काठमाडौँ बसेर, देशका जनता भन्दै गफ हाँक्न जति सजिलो छ, त्यती सजिलो छैन जनताको जिवन । यदि जनताको कुरा सुनेका र बुझेका भए, व्यक्ति पिच्छेका आफ्ना दल हुँदैन थिए । हिजो मात्रै कान्तिपुरमा पढेथेँ, संविधान सभामा ६ वटा रहेका मधेसी दलहरु टुक्रा भएर अहिले १७ वटा भएका छन् रे।
२०५६ सालको आमनिर्वाचनमा भोट बटुल्नका लागि बिजुलीको खम्बा गाडिएको थियो । अहिले २०६९ साल हो । यस हिसाबले बिजुलीको खम्बा गाडेको लगभग १४ वर्ष भइसकेछ (चुनाव हुनु भन्दा छ महिना – एक वर्ष पहिले नै बिजुली आउँछ झैँ गरि, बिजुलीको खम्बा गाडिएको थियो, तारको तल पर्ने रुखहरु काट्न लाइएको थियो) । देशमा ठूला परिवर्तन भइसके, आमनिर्वाचन अघि गाडिएको बिजुलीको खम्बाको स्थिति संविधानसभाको चुनाव भएको ४ वर्ष पछि पनि उस्तै छ । तर जनता जनता भनेर नथाक्ने नेताहर, अनि दलहरुले सायद जनताको बारेमा सोचेको भए, २०५५ सालमा गाडिएको बिजुलीको खम्बा भएका गाउँमा १-२ वर्ष भित्रैमा बिजुली दिन्थे होला । बिजुली नभएर भनौँ भने, अझ त्यस बेला त लोडसेडिङ पनि थिएन ।
मलाई नेताहरु भोट माग्न घर घर गएको दिन अझै याद छ । नेताका पछि पछि सयौँ कार्यकर्ताहरु पनि घर घर छिरेका थिए । महन्थ ठाकुरले, घरैपिच्छे पस्दै नमस्कार गर्दै, भद्र शैलीमा आमनिर्वाचनको लागि भोट मागेका थिए । १० वर्षको फुच्चे म पनि उनकै पछि पछि १०-१२ घर डुलेको थिँए । गाउँमा चर्चा थियो, महन्थ ठाकुरले बाटो बनाइदिए, बिजुलीको खम्बा पनि गाड्न लाइसके, अर्को साल त यो ठाउँ झिलिमिलि हुन्छ । बिजुलीको कल्पनाले मात्रै पनि मन उडेर कहाँ कहाँ पुगेथ्यो । आमनिर्वाचन भयो, अत्याधिक बहुमत ल्याएर महन्थ ठाकुर हाम्रो क्षेत्रको सांसद भए । तर त्यसपछि उनी कहिले गाउँमा आएकाछन् भन्ने हल्ला भयो, न घरघरमा बिजुली नै बल्यो । आज जिल्लामा नेता आएकाछन् रे, भन्ने कुरा चाँही धेरै पटक सुनेँ ।
बिजुलीको खम्बा गाडिएको १४ वर्ष सम्म पनि जनताले बिजुली बाल्न पाएका छैनन् । अत: देश र जनताको बारेमा ठूला ठूला गफ हाँक्ने, आन्दोलनको ध्वाँस दिने नेता र दलहरु प्रति वितृष्णा जागेको छ । काठमाडौँ बसेर, राजनिती गर्ने, अझ भनौँ दलहरुको वकालत गर्ने युवा नेताहरु, पत्रकारहरु देखेर पनि साह्रै टिठ लागेर आउँछ र भन्न मन लाग्छ, एकपटक गाउँ गाउँ डुलेर हेर, जनतालाई के चाहिएको छ, आफैँ थाहा हुन्छ । जनतालाई १४ वर्ष अघि नै बिजुली बाल्न पाउने आश्वासन दिइएको थियो । तर खै, यति एउटा कुरा त १४ वर्ष सम्म पुरा भएको छैन भने, नेताले जनताको हक अधिकार भन्दै बन्द र विरोध गर्नुको कुनै औचित्य छैन । चाहे कांग्रेस होस् वा एमाले, माओवादी र मधेसी दल नै किन नहुन् सबै कुर्सीका पछि छन् । आफू मन्त्री र प्रधानमन्त्री मात्र हुने धुनमा छन् । अनि कांग्रेसको कुरा माओवादीलाई अपाच्य लाग्छ, माओवादिको कुरा अरुलाई अपाच्य लाग्छ ।
मैले राजनिती भन्नेकुरा थाहा पाएदेखि बुझेको कुरा, सबै राजनितिक दलहरु प्रधानमन्त्रीको कुर्सीमा को बस्ने भन्ने ध्याउनन्नमा मात्र लागेका छन् । एउटाको सरकार बनेको भोलिपल्ट, त्यसलाई कसरी छिर्के लाउन सकिन्छ भन्ने योजना बन्न थाल्छ । सरकार ढालिन्छ, अनि अर्को सरकार बन्न कसरत गरिन्छ । अर्को सरकार बन्छ, अनि फेरि अर्को सरकार बन्छ । सरकारहरु फेरिँदै जान्छन्, जनताको लागि नाराहरु घन्काइरहन्छन् तर जनता सँधैको जनता । जुनसुकै सरकार आएपनि, देशमा जे सुकै परिवर्तन भएपनि, जनतामा कुनै परिवर्तन आउँदैन ।