बर्खामास तामझामले खेत रोपियो
छाँट देखेर छिमेकी छक्कै परे
अब महिना दिन बाँकी छ बालि भित्र्याउन,
सार्है पिर लागेको छ,
कतै धानै नफल्ने पो हो कि भनेर !!
भर परेर जस्तालाइ नि खेताला पठाइयो
गोड्न छोडेर मुलाहरु हिलो छेप्दैमा भुलेछन
अहिले खेतैभरि जम्मै झार छपक्कै छ
शंकै लागेको छ,
कतै धानै नफल्ने पो हो कि भनेर !!
पल्लो गर्होमा लह लह बाला झुलेका छन्
तल्लो गर्होमा झन् के भन्नु खै, उत्पातै छ
मेरै गर्होमा भने पसाएको पनि छैन
मन सार्है पोल्दै छ,
कतै धानै नफल्ने पो हो कि भनेर !!
त्यत्रो दुखले खेत फिर्ता पाइयो
ऋण धन खर्चेर बालि लाइयो
तर बुद्धि पुर्याउन सकिएन कि मल कुन्नि?
एकदम डर लागेको छ,
कतै धानै नफल्ने पो हो कि भनेर !!
एकदम डर लागेको छ,
संविधानै नबन्ने पो हो कि भनेर !!