एकादेशको कुरा थियो, म बिहानै कान्तिपुर पत्रिका कुरेर बस्थे, जस्मा मैले एउटा छुट्टै सुगन्ध भेट्थे र पढ्दा छुट्टै आनन्द आउथ्यो। अनि आजभोलिको कुरा छ, मलाई कान्तिपुर हेर्न नपरे हुन्थ्यो जस्तो लाग्छ, तर पनि सबैले कान्तिपुरमा यो छाप्यो र त्यो छाप्यो भन्ने भएर हेर्न बाध्य हुन्छु। श्रृखलाबद्ध रुपमा जब कुनै नाम चलेको सबैले रुचाएको राष्ट्रिय दैनिकमा गलत समाचार, पहिलो हुने होडमा अफवाहहरु छापिन थाल्छन भने एउटा माया गर्ने पाठकको नाताले केहि कुरा भन्न मन लागेको छ।
आफ्नो साहुको भलोको लागि जब समाचार छाप्न थालिन्छ, लाख लाख मानिसको जिवनसँग खेलवाड गर्ने गरि जुसको व्यापार हुदाँ विज्ञापनको लागि कलम बन्द गरिन्छ भने पाठकको हिसाबमा न्यास्रो लाग्नु स्वाभाविक हो भन्छु म। पहिलो हुने निहुँमा सैनिक कु को अफवाहमा जनतामा आतङ्क फैलाउने काम हुन्छ भने खवरदारि गर्नु कर्तव्य ठान्छु म। पुराना गल्तिबाट हामि सबैले पाठ सिक्नु पर्छ; चाहे त्यो जो सुकै होस् यो कुरामा यो र उ भन्ने गुन्जायस हुनु हुदैन भन्ने मलाई लाग्छ। पुराना कुरा कोट्टाएर कोहिलाई फाईदा हुँदैन।
अब कुरा गरौँ भर्खर इन्टरनेट र छापामा छाएका तपाईका कुराहरु। सुरु मलाई छापाबाट नै गर्न मन लाग्यो। हजुरहरुले छाप्नु भो अनुजा नाम गरेकि महिलाले ९१ लाख र हिराको हार फेला पारेर फिर्ता गरिन। पैसा जँहाबाट आएको भनिएको थियो त्यँहाबाट पैसा झिकिएको थिएन। पैसा फिर्ता लग्ने मान्छेको पत्तो छैन। पुलिस प्रशासन सबै बेखवर छन। ९१ लाख सानो रकम पनि होइन। नेपालमा राम्रो मान्छे अझै बाकि रैछन, मानवता मरि सेकेको छैन भनेर आशा गर्न नपाउदै, मानवतालाई जबरजस्ति बचाउन खोजेको भान हुन पुग्यो। जे होस् राम्रो उद्देश्यले गरेको काम भनेर मन बुझाउन सकिन्थ्यो बुझाईयो पनि। के हजुरहरुले पत्रकारको धर्म राम्रोसँग निभाउनु भयो त शँका गर्ने ठाँउ त प्रशस्त भेटिए नि, होइन र? ल अब त्यो कुरालाई पनि थाँति राखौँ।
प्रविधिको जमाना छ, जताततै मान्छेहरु इन्टरनेटको कुरा गर्छन। हजुरहरुले पनि गर्नु भई राख्नु भएको छ। यो शुक्रबार ट्विटरको बारेमा डरलाग्दो कुरा लेख्नु भयो। ट्विटरको कारणले भएका सम्पुर्ण नराम्रा तथ्यलाइ उजागर गर्नु भयो। त्यहि लेखको कारणले ट्विटर तिर गएर साथिभाइको सहायताले केहि कुरा बुझ्ने अवसर मिल्यो। हजुरहरुको लेख पढ्दा त ट्विटर त गुण्डाहरुको बस्ति जस्तो भान भएको थियो डराई डराई ट्विटर छिर्दा त रमाईलो लाग्यो मलाई। ट्विटरमा त ज्यान लिने भन्दा ज्ञान दिने कुरा धेरै हुने रै'छ। धम्कि भन्दा रम्कि झम्कि बढि हुने रै'छ। तपाईहरु फेरि चुक्नु भयो नराम्रो सँग, हजुरहरुले नराम्रो भनेको ठाँउ त ग्यानको भण्डार भेटे मैले। हजुरहरुको सोधमा प्रयोग भएका शब्दहरुको त के बखान गरौँ र खै। लौ यँहा नेर हजुरहरुले नराम्रो इमेज बनाएको कुरा राम्रो भेटियो।
तपाईहरुले मनावता नभएको ठाँउमा जबरजस्ति मानवता उमार्न खोज्नु भयो। मनावताले भरिपुर्ण ठाँउमा मानवताको हत्या गर्ने गरि पाठकहरुलाई उत्तेजित बनाएर अनाव सनाब बकाउनु भयो। एउटा सोध्न मन लागेको प्रश्न हजुरहरुलाई, समाजलाई कता डोराउदै हुनु हुन्छ? हजुरहरु त समाजको पथ प्रदर्शक हुनु पर्ने होईन र? हजुरहरुकै तथ्याङ्कको आधारमा भन्नु पर्दा १० लाख पाठक भएको पत्रिकाले १० लाख जनतालाई कता डोराउदै हुनु हुन्छ? गल्ति सबैबाट हुन्छ, अनि पाठ पनि गल्तिबाटनै सिकिन्छ। हजुरहरुलाई पाठ सिक्न कति समय अभाव भएको हो। रफ्तारको जिवनमा हिड्दा हिड्दै हजुरहरुले सानो सानो कुरालाई नजरअन्दाज गर्न थाल्नु भयो। अब मानिस हो गल्ति हुन्छ, तर बिन्ति छ कान्तिपुरे साथिहरु हो, सक्नु हुन्छ सहि कुरा दिनुस् सक्नु हुन्न गलत सुचनाले हामिलाई सुसुचित नगरिदिनुस्। कृपया पशुपतिनाथको लागि भए पनि सहि बाटोमा हिडाउनुस् हामिलाइ।
अन्त्यमा मलाई एकजना प्रविधि सम्बन्धि मान्छेले भनेको कुरा भन्नु मन लाग्यो, कृपया हजुरहरुको प्रविधि सम्वन्धि लेखहरु बन्द नै गर्नुस रे, योग्य व्यक्ति राखेर लेख्न थाल्नुस रे, तिनिहरुमा यति धेरै त्रुटि हुन्छन् कि त्यो पढेर जान्ने मान्छे पागल हुन्छ रे। हामिलाई पागल नबनाईदिनुस्, सध्य त बनाउन सक्नु भएन।
हजुरहरुको सँधै भलो चाहने पाठक।
~ कृष्ण, कुपन्डोल !
मेरो भन्नु : दोस्रो अनुच्छेद मा लेखक कन्फ्युज देखिए झैँ लागेको छ । तत्कालिन समयमा कान्तिपुर ले विज्ञापन नपाएको प्रसंग उठेको थियो, त्यसपछि रियल जुस को बारेमा जमेर लेखिएको भन्ने सुनेको थिँए । त्यस समयमा, रियल जुसको भण्डाफोर गरेर कान्तिपुरले “वाहवाही” कमाएको थियो अत: यसलाई मिलाएर बुझिदिन हुन, आग्रह गर्दछु !