'नेपथ्य' पछ्याउँदै नेपालगन्जसम्म

"एक्लै एक्लै, कतातिर लाग्यौ?" नेपथ्यको एउटा बहुचर्चित गीत 'हिमाल चुचुरे'को यो टुक्रा प्रश्नलाई मेरो उत्तर थियो - नेपालगन्ज।

'छेक्यो छेक्यो', 'रेशम', 'यो जिन्दगानी' जस्ता निकै चलेका गीतहरु पस्केर लगभग दुई दशक अघिदेखि हाम्रो मनमा बसेको छ, नेपथ्य। यो ब्याण्डले 'शान्तिका लागि शिक्षा' भन्ने नाराका साथ देशका विभिन्न ठाँउहरुमा लाइभ कन्सर्ट गर्दैछ भन्ने थाहा पाउने बित्तिकै खुशी लागेको थियो। तर त्यसमा आफ्नो ठाँउ 'नारायणगढ' नदेखेपछि भने मन खिन्न भयो। तैपनि 'मै नाचे छमछम', 'तालको पानी', 'स-कर्णाली' जस्ता गीतहरु अमृत गुरुङको स्वरमा प्रत्यक्ष सुन्ने र गीतको तालसँगै झुम्ने मौका भने खोजीरहेको थिएँ म।

Nepathya's Amrit Gurung Concertमलाई नेपथ्यका केही कुराहरु असाध्यै मन पर्छन् ।

एउटा हो, यसका गीतहरुमा नेपालीपनाको मिठास सधैं पाइन्छ। नेपालका कुनाकुनाका माटोबाट यसका गीतहरु जन्मेका छन्, यसका गीतहरुमा नेपालीका जीवनहरुका पीडा, माया, दु:खको रस घुलेको पाइन्छ। 'लोक रक'लाई आफ्नो मुलधार मान्ने यो ब्याण्डले नयाँ पुस्तालाई मनपर्ने शैलीमा गाँउगाँउका लोकभाकालाई प्रस्तुत गर्ने गरेको छ। त्यसैले पनि यो बच्चाबच्ची, युवायुवती, बुढाबुढी सबैको माझ उत्तिकै लोकप्रिय छ। यो व्याण्ड नेपालसँगसँगै बगेको छ भन्दा फरक नपर्ला। अर्थात् नेपालको दु:ख सुख, पीडा खुसी समयसँगै यसका गीतहरुमा सुन्न र अनुभव गर्न पाइन्छ। 'घटना' एल्वमले तत्कालीन नेपाललाई जकडेको संघर्ष, त्यसले आम नेपालीलाई पारेको दु:ख पीडालाई यति मार्मिक ढंगमा पेश गरेको छ की सुन्नेको आँखा नरसाई रहनैसक्दैन। लगभग आधा घण्टा जतिनै लामो 'घटना' शिर्षकको गीतमा द्वन्दकालमा भएको मैनापोखरीको घटनालाई संगीत र शब्दका मार्फत ज्युँदो बनाइदिएको छ। विश्वविख्यात रक ब्याण्ड 'पिन्क फ्लोइड'को 'अनदर ब्रिक इन द वाल'को सम्झना दिलाइदिने यो गीत कानले सुन्ने मात्र गीत होइन, यसलाई त मनले सुन्नुपर्छ, महसुस गर्नुपर्छ। त्यस्तै 'समसाँझैमा' गीतमा युद्धले पीडित र आजीत भएका आम नेपालीको पीडा, आशालाई पोखिएको छ।

Nepathya's Peace Music Tour

समयको कुरुप छाँया हिमालमा परेजस्तो छ,

दुनैको रगतमा त रोल्पाको घाउमा,

शिरानीमा फूल सिउरी निदाउन म सक्दिन,

छताछुल्ल पोखिएर दुखपीडा अंगाल्दै,

आउसँगै बसेर एक अर्कालाई बुझौं,

यो रात छिचोल्ने एक मधुर गीत गाउँ।

यस्तो लाग्छ नेपथ्यको त्यो एल्बमले त्यतिबेलाको नेपालको कथा भनेको छ, त्यो बेलामा आत्तिएको नेपाली मनहरुको पीडा समेटेको छ। त्यस्तै छ एल्बम 'मेरो देश' पनि।Amrit Gurung in Concert

दिन छदैं बादलुले हिमाललाई छेके के भो,

आखिर भोली उजेली त हुनु छदैंछ,

मन बाझ्ने कुराहरु आपसमा धेरै होलान् आफ्नै सम्झी बिर्सिदिनु,

मिर्मिरेमा निस्केजस्तै दिनभरी कर्म गर्दै साँझ घर फिर्न पाउँ,

तिमी हामी मरेर गए पनि यो देश सधैं रहिरहोस्।

यसका गीतहरुमा नेपालीको मनको आवाज सुन्न सकिन्छ, नेपालीको चाहना, नेपालीको भावना गुन्गुनाउन सकिन्छ। नेपाली मन भएको र नेपाली मनपराउने जो कोहीलाई पनि यसका गीतहरु मनपर्ने गर्छन्।

अर्को मनपर्ने कुरा भनेको समयको एकदम पक्का छ, यो समूह। यो कुरा धेरैलाई थाहा नहुनसक्छ। कान्तिपुर टिभीको कल कान्तिपुर कार्यक्रममा होस्ट सुरजिसंह ठकुरीसँग गायक अमृत गुरुङ हाम्रो मानसिकताप्रतिको आफ्नो असन्तुष्टि पोख्दै थिए- "कति बजे भेट्ने भनेर सोध्यो भने इङ्लिस टाइम कि नेपाली टाइम भन्छन्। टाइम पनि कही इङ्लिस र नेपाली भन्ने हुन्छ र? टाइम भनेको टाइम हो नि। हाम्रो कार्यक्रममा जो टाइमको सम्मान गरेर समयमा आउनुभएको हुन्छ, जति नै थोरै संख्यामा भएपनि, उहाँहरुको समयप्रतिको सम्मानको कदर गर्नु हाम्रो जिम्मेवारी हो। त्यसैले हामी जहिले नि ठिक टाइममा कार्यक्रम शुरु गर्छौं। ३ बजे भनेपछि ठिक ३ बजे।"

Nepathya's Concert - Nepalgunjर भयो पनि त्यस्तै, ३ बज्नु अगाडी नै अलिअलि भिड जम्मा भैसकेको थियो। हल करिब १५ मिनेट अगाडी खुल्यो र पर्दामा थियो घडी, जसले त्यतिखेरको समयमात्र देखाइरहेको थिएन, जो समयमा त्यहाँ पुगेका थिए उनीहरुको सम्मान गरेको थियो र समयमा चल्नुको महत्व पनि बताइरहेको थियो। ठिक ३ बजे पर्दामा घण्टाघरको घडी देखियो र त्यसमा तीनको घण्टी बजेर कार्यक्रम शुरु भयो। नेपाली कार्यक्रम नेपालमा र विदेशमै पनि यत्तिको ठिक समयमा शुरु हुनु भनेको आफैंमा ठूलो कुरा हो। यसले मलाई न्युयोर्कको मेट्रोरेलको याद दिलाइरहेको थियो, जुन १ मिनेट मात्रै ढिलो हुँदा पनि ठुलो समाचार बन्ने गर्छ। यो देखेर मलाई के लाग्यो भने चाह्यो भने हामी पनि त्यस्तै समयको महत्व बुझ्ने, ठिक समयमा चल्ने समाजको निर्माण गर्न सक्छौं। खाली आवश्यकता छ, हाम्रो मानसिकता, दृष्टिकोण र एट्टीच्युडमा परिवर्तनको।

Nepathya's Amrit Gurungनयाँ एल्बम 'ऐना झ्याल'को शिर्षक गीत, जुन राष्ट्रकवि माधवप्रसाद घिमिरेले आजभन्दा करिब ५६ वर्ष अघि रचना गर्नुभएको हो, सँगै शुरु भएको कन्सर्ट 'जोगले हुन्छ भेट', 'यस्तो ठाँउमा' हुँदाहुँदैं 'छेक्यो छेक्यो', 'जोमसोमै बजार'मा पुग्न थालेपछि पूरै तात्न थाल्यो र तात्न थाले, हाम्रा गायक अमृत गुरुङ पनि। नेपथ्य ब्यान्डको मनपर्ने अर्को कुरा पनि यहि हो- गायक अमृत गुरुङको व्यक्तित्व। संगीतप्रतिको लगनशीलता, देश, भाषा र नेपालीप्रतिको आत्मीयता उनको गीतहरुमा पूरापूर देख्न र सुन्न पाइन्छ। त्यस्तै अरुबेला प्राय: शान्त रहने उनी स्टेजमा संगीत शुरु हुने वित्तिकै झुम्न थाल्छन्, रमाउन थाल्छन् र आफू मात्र नभइ सबै स्रोताहरुलाई उनकै तालसँगै नचाउन सक्छन्। यो कुरा नेपालगंजको कन्सर्टमा पनि प्रष्टै देखिएको थियो। साराका सारा हलभरीका दर्शकहरु, केहीलाई छोडेर, उनको 'तालको पानी', 'स-कर्णाली', 'मै नाचे' जस्ता गीतहरुमा झुम्दा व्यवस्थापकहरुलाई झन्डैझन्डै गाह्रों परेको थियो।

त्यस दिन उनले 'घटना' एल्बमका दु:खले भरिएका कुनैपनि गीत गाएनन्। किनकी उनी भन्दै थिए- "लडाईंहरु धेरै लडिसक्यौं, जे भयो भयो, त्यसलाई एउटा नराम्रो सपना सम्झेर बिर्सिदिउ, देशलाई आवश्यकता भएको बेलामा तपाईंहामी हाम्रो गाँउगाँउबाट उठेका थियौं र देशलाई आवश्यकता पर्यो भने हामी फेरी उठ्नुपर्छ हइई... त्यस्तै नेताहरुलाई चाँडै संविधान बनाइदिन पनि आग्रह गर्दैथिए र सबैलाई विधालयलाई शान्ति क्षेत्र बनाउन, राजनीतिबाट टाढा राख्न र मिलेर मुठ्ठी भएर बस्न काम गर्न अनुरोध गदैं थिए, त्यो पनि गाँउघरको बोलीमा।

हाम्रा विद्यार्थीहरुलाई एउटा उज्यालो समृद्ध भविष्य दिनुस् हइई...

हाम्रो चन्द्रसूर्य अंकित झण्डा हिमाल जसरी सधैंसधैं फहरीराखोस् हइई...

टुक्राटुक्रा भयो भने केही नि हुदैंन, सब्बैजना मिल्यो भने त बलियो मुठ्ठी बन्छ हई... मुठ्ठीले ठुलाठुला काम गर्न सक्छ, त्यसैले तपाईंहामी सब्बैजना मिलेर बसौं हइई...

Amrit Gurung

मलाई गीतसंगीत मनपर्छ, हुन त संगीत मननपराउने को नै होला र। तर म कुनै पनि एकैखालको संगीतको डाईहार्ड फ्यान भने होइन। पुराना लोकगीत, नयाँ पप गीतहरुदेखि लिएर इङ्लिस कन्ट्रि संगहरु, 'पिन्क फ्लोइड', 'निरवाना'का रक गीतहरुदेखि लिएर हिन्दी फिल्मी गीतहरु, गजलहरु सबैखालका गीतहरु म मुड अनुसार सुन्ने गर्छु, यदी संगीत वा शब्द मध्ये कम्तीमा कुनै एक राम्रो छ भने। तर पनि एउटा कन्सर्टकै लागि त्यति टाढा पुगिहाल्ने, मरिहत्ते गर्ने मान्छे नि म होइन। त्यसैले त नेपथ्यको कन्सर्टकै लागि त्यत्रो टाढा नेपालगंज पुग्दा धेरै साथीभाइहरुले अचम्म माने र मलाई नेपथ्यको ब्राण्ड एम्बेसेडर भएको, नेपथ्यको लागि काम शुरु गरेको हो कि क्या हो पनि भन्न भ्याए। तर कन्सर्ट मात्रैको लागि भन्दा पनि यो मेरो लागि पश्चिम नेपालको पहिलो यात्रा हुनेवाला थियो, साथै 'शान्तिको लागि शिक्षा' भन्ने पवित्र नाराको लागि एउटा सहयोग हुनेवाला थियो, त्यस्तै व्यस्त र एकैखालको दैनिकीबाट छुटकाराको लागि एकप्रकारको 'क्रेजी मुभ' हुनेवाला थियो। र सोचे अनुरुपको सबै आशाहरुमा यो यात्रा खरो उत्रियो पनि। र, आखिरमा यो जिन्दगानीमा पछिसम्म याद रहने, मीठो सम्झना भैरहने भनेकै यस्तै खालका क्रेजी मुभहरु त हुन् नि, हैन र? किनकी जिन्दगानी भनेकै सुखदु:ख, हाँसोरोदनको मिठो सम्झना त हो नि, कि कसो?

यो जिन्दगानी, यो जिन्दगानी, यो जिन्दगानी, यो जिन्दगानी....

With Nepathya's Amrit Gurung

- डा. समीर लामा ( @mesam0620)

(लेखक डा. समीर लामा, भरतपुर अस्पताल चितवनमा कार्यरत हुनुहुन्छ ! उहाँ  'स्वस्थ नेपाल Healthy Nepal', हाम्रो स्वास्थ्यका कुरा अब हाम्रै भाषामा..’ ब्लग लेख्ने गर्नुहुन्छ ! )

2 comments :

  1. Nepathya.. my best Nepali Band.. Thanks for this beautiful article.

    ReplyDelete
  2. Thank u Aakar for publishing it in a beautiful way. liked the arrangement of the pictures, couldn't be better than this.

    ReplyDelete