Skip to main content

गुगल अर्थको नयाँ संस्करण सार्वजनिक - अब गुगल अर्थ क्रोम ब्राउजरमै चलाउन मिल्ने


गुगल अर्थ हेर्नको लागि कम्प्युटरमा अब गुगल अर्थ सफ्टवेयर डाउनलोड गर्नु नपर्ने भएकोछ । गुगल अर्थको पछिल्लो संस्करण सँगै, अब सिधै क्रोम ब्राउजर मार्फत गुगल अर्थ हेर्न/चलाउन सकिन्छ । यो हप्ता आउँदै गरेको पृथ्वी दिवस (अर्थ डे) को अवसर पारेर क्रोम ब्राउजर तथा एन्ड्रोइड मोबाइलको लागि गुगल अर्थको नयाँ संस्करण सार्वजनिक गरिएको हो ।


गुगल अर्थको नयाँ संस्करणमा प्रयोगकर्ताले ब्राउजरमै थ्रिडीमा हेर्न पाउनेछन् भने 'म भाग्यमानी महसुस गरिरहेको छु' (आइ एम फिलिङ लक्की) बटन थिचेर गुगलले विशेष रुपमा तयार पारेको विभिन्न ठाउँहरुको भ्रमण गर्न सक्नेछन् । 'आइ एम फिलिङ लक्की' मार्फत नसोचेको, नसुनेको ठाउँको यात्रामा निस्किन सकिन्छ (तल फोटोमा देखाए झैँ, आइ एम फिलिङ लक्की थिचेर म एक्कासी अन्नपूर्णमा पुगेँ, हिमालहरु थ्रिडीमा साह्रै गज्जब लाग्ने रहेछन्)। स्थानसँगै आउने 'ज्ञान कार्ड' (नलेज कार्ड) मार्फत उक्त ठाउँबारे जानकारी लिन सजिलो छ।


'भोयाजर' (Voyager) खण्डमा चलचित्रकर्मी, वैज्ञानिक आदि विभिन्न व्यक्तिहरुले निर्माण गरेका अन्तरक्रियात्मक यात्राहरु (इन्टर्‍याक्टिभ टुर) हेर्न सकिन्छ । गुगलका अनुसार, तान्जानियाको राष्ट्रिय निकुञ्ज देखि लिएर बिबिसीले निर्माण गरेको प्लानेट अर्थमा समावेश भएका विभिन्न छ वटा ठाउँहरु सहित पचास भन्दा धेरै यात्राहरु 'भोयाजर' खण्डमा समावेश गरिएकोछ । भोयाजर साप्ताहिक रुपमा अद्यावधिक गरिँदै जानेछ ।

नेपालका अग्रणी पर्वतारोही कान्छा शेर्पा । तस्विर: स्टोरीसाइकल

'भोयाजर'को 'दिस इज होम' खण्डमा नेपालका अग्रणी पर्वतारोही कान्छा शेर्पाको घर समेटिएको छ । कान्छा शेर्पा, सन् १९५३ को सर एडमण्ड हिलारी तथा तेन्जिङ नोर्गे शेर्पा सम्मिलित पहिलो सगरमाथा आरोहण दलका एकमात्र जिवित सदस्य हुन् । कान्छा शेर्पा मार्फत 'दिस इज होम' खण्डमा 'शेर्पाहरुको घर'को बारेमा चर्चा गरिएकोछ । प्रयोगकर्ताहरुले स्ट्रिट भ्यु मार्फत कान्छा शेर्पाको घरभित्र डुल्न-घुम्न सक्छन्, कान्छा शेर्पाको यात्रा अनुभव सुन्न सक्छन्, शेर्पा समुदायको घरबारे जानकारी लिन सक्छन् ।


गुगल'ले दुई वर्ष पहिले नाम्चेबजार तथा खुम्बु क्षेत्रलाई स्ट्रिट भ्यु'मा समेटेको थियो । गुगल अर्थ आउटरिच कार्यक्रमले स्टोरीसाइकल तथा आप्पा शेर्पा फाउन्डेशन सँगको साझेदारीमा सगरमाथा क्षेत्रका स्थानहरुलाई गुगल म्यापमा राख्दै आएकोछ।

सगरमाथा होस् वा ग्रान्ड क्यानन्, गुगल अर्थमा सबै स्थानहरु थ्रिडीमा हेर्न सकिन्छ । गुगल अर्थमा विभिन्न ठाउँ सर्च गरेर हेर्न त छँदैछ, यसमा प्रयोगकर्ताले पनि आफ्ना ठाउँहरु राख्न सक्छन् । गुगलले दुई वर्ष लगाएर बनाएको गुगल अर्थको नयाँ संस्करण गुगल क्रोम मार्फत कम्प्युटरमा र एन्ड्रोइड एप मार्फत मोबाइलमा चलाउन सकिन्छ । गुगल अर्थको आइफोन एप आउन भने केही समय लाग्नेछ ।

वेबमा गुगल अर्थ
एन्ड्रोइडमा गुगल अर्थ

Comments

Subscribe to Aakar Post