Skip to main content

“सिक्स क्यारेक्टर्स इन सर्च अफ एन् अथर” को असफल यात्रा

आज हामीले एकजना साथि “राजन कठेत” को ६ दिन को डायरी लिएर आएका छौँ ! पढ्दा लामो लाग्नसक्छ भनेर मैले सबै डायरीलाई बेग्ला बेग्लै प्रकाशन गर्ने योजना अघि सारेको थिँए । तर राजन ले भन्यो, एउटै मा प्रकाशन गर्दा राम्रो ! मैले फेरि एकपटक पढिहेरेँ, आफूलाई पनि त्यस्तै लाग्यो, कारण यो सबै आपस मा सम्बन्धित छन् । अत: केही लामो भएपनि सबै डायरीलाई एकैपटक प्रकाशन गरेको छु है ! यो ब्लग मा एउटा गर्न लागिएको नाटक, कसरी गर्ने सुर कसियोम अनि के गरियो, कसरी नाटक पुरा भएन भनेर राजन को अनुभव लेखिएको छ ।

वैचारिक व्दन्द

अगस्ट २२, २०१० आइतबार

आखिर “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को अभ्यास भोलिबाट सुरु हुने नै भो । महान् नाटककार पिरान्डेलो अब काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको प्रयासमा पुनर्जिवित हुने हुन् वा उनको खराब मृत्यु हुने हो त्यो त भविष्यमा हाम्रो पासुलामा देखिने लगावले सूचित गर्ने नै कुरा हो ।

सुरुमा पिरान्डेलोको यो नाटकको मञ्चन गर्ने कुरा उठ्दा धेरै जना तातेका थियौँ । म जति धेरै सायदै कोही तातेको थियो होला । जताततै हल्ला फिजाएको थिएँ । फुरफर नै भा’को थिएँ । तर उत्साहमा समय र परिस्थितिले धमिरा लाउँदो रहेछ । अभ्यासको घडीले ढोका ढक्ढक्याउँदा हामी लगभग सेलाउन लागिसकेका थियौँ । सबै आ-आफ्नै दुनियाँ र कामहरुमा व्यस्त हुन थालिसकेका थियौँ । त्यो सुरुको जोस इतिहास हुने कुरा लगभग निश्चित जस्तै बनेर गिज्ज्याउन थालिसकेको थियो । फेरी नाटक संयोजनको अभिभारा मेरो थाप्लामा परेकाले मलाई ठूलै टाउको दुखाइ थियो ।

साथीहरु खासै गम्भिर देखिएका थिएनन् नाटकप्रति । सुरुसुरुमामा त फुरुक्क थिए तर काम गर्ने दिन आएपछि प्रायजसो टाँगोले तानेको बाँसजस्तै देखिन थालेका थिए । फेरी कोही के काममा व्यस्त थियो कोही केमा । सबैजना सबैकुरा भ्याउन चाहन्थे । नाटक गर्ने हो भने कि नाटक छाड्नुपर्ने अनिवार्यता थियो कि त काम । यो 6charactersimageकुरामा धेरैजसोको मुख हेर्न लायक नहुनु त शङ्काको विषय नै थिएन । “ल छोरा बल्ल बल्ल एउटा काम गर्न थालेको थिइस अब छोड्नु पर्ने नै भो तैँले”- मेरो मनले मलाई इसारा मात्र हैन आज्ञा नै गर्यो । केही मित्र आफ्नो कामप्रति शूरो र बफादार बन्न खोजे । कोही खिन्न र निराश हुन थाले सम्भावना न्यून देखिन थालेपछि ।

“अब थिएटरको सपनालाई यहिँ तुहाइदिने हो? क्यानसिल गरिदिने हो त ?”- सबैलाई यहि थियो मेरो प्रश्न । दोधार र प्रश्नचिन्हबाहेकका अरू सकारात्मक भावहरू कसैको अनुहारमा प्रस्फुटन हुने सङ्केत देखिएन । यो जोस मरेर गए फेरी पलाउने आधार कमै थियो । क्यान्सिल गरिहाल्न पनि गाह्रो थियो यसकारण । गर्ने भनेर तातिएपछि नछोडौँ । यो त एउटा मौका हो । यो मनको आवाज थियो यथार्थमा समस्याहरु यथावतै रहेता पनि । फेरी हामी कोही कोही त चौथो वर्षका विद्यार्थी । काठमाडौँ विश्वविद्यालयमा रङ्गमञ्चको अवसर हाम्रा लागि यति मात्रै थियो ।

लगभग क्यानसिल गर्ने पक्का भएपछि नाटक गर्ने नै निधो भयो । नतात्नु तातिहाल्यौँ अब नसेलाउँ । यहि निचोड निक्लियो अन्तिममा पुगेर । फेरी काठमाडौँ विश्वविद्यालयमा छँदा-रहँदा यस्तो अवसर र जोसको आगमन न्यून नै देखियो । आखिर भोलिको दिनबाट नै सुरु हुने भो कामकुरो । हाम्रो टिम र जोसलाई आउँदो दिनका लागि शुभकामना !

(९ पि.एम्.)

फजा भि है जवाँ जवाँ

अगस्ट २३, २०१० सोमबार

म आफ्नो समय नाटकलाई सुम्पिन तयार भन्नेहरुको जत्था आज दिउँसो ४.१० मा केयूमा भेला भयो । लगावले निरन्तरता पाएमा आगामी दिनमा यो जत्था कलाकार कहलिनेछन् भन्दा घमन्ड गरेको आरोप नलाग्ला । तर आगामी दिन भन्ने कुरो कति पर छ ! १३ जनाको यो जोसिलो टिमले इकोग्रस्त कोठामा लगभग दुई घण्टा वार्म अप गर्यो । नाटकको सारांशमाथि नजर गरियो । गुरू सुमन रायमाझी अर्थात साथी सुमनले संवादहरूको परिचयगत अभ्यास गराउनुभयो ।

आज ठूलो कुरा खासै केही पनि गरिएन । लछारपाटो लाउनु पर्ने कुरा नै के थियो र ? आज पहिलो दिन भएकाले गधा बन्न तयार हामीलाई गह्रुङ्गो भारी बोकाउनु जायज हुने थिएन । भोली सोही स्थानमा भेट हुने प्रण गर्दै सबैजना बिदावारी भइयो ।

रामदाईकोमा चियाको प्यास, पेटको भोक र केही दिनअघिदेखि लगातार जोतिइएको ज्यानको थकान कम गर्न बसेँ म पनि । चुराटमा मुख टाँस्न हड्बडाउन छाडेको मलाई मित्र शैल श्रेष्ठले द.कोरियाबाट ल्याएको मालबोरो चुरोटको धुवाँले पनि साथ दिन तयार भयो । मेरो मुखमा मालबोरो नसुहाएको भएतापनि मैले निष्फिक्रीसाथ मुखलाई जानीनजानी कोणकोणमा बङ्ग्याएर धुवाँ उडाइदिएँ ।

खलासीको भाषामा भन्नुपर्दा धुलिखेलदेखि काठमाडौँ जाने ‘लास्ट बस’मा चढ्यौँ हामी । ल यो गीत सुन भन्दै सँगै सिटमा बसेको साथी सुमनलाई म “फजा भि है जवाँ जवाँ” भन्ने हिन्दी गीत हिँजोसमेत गरेर दोस्रो चोटी सुनाउँछु । उसले काठमाडौँ पुगेर आ-आफ्नो बासस्थानका लागि नछुट्टिउन्जेल सम्म यही गीत लगातार बजाउन आग्रह गर्यो । यो गीत अत्यन्त मनगडा छ । असाध्यै मनछुने गीत । हिन्दी शब्दहरुमा चुर्लुम्म डुब्न नसकेपनि सङ्गीत र अनौठो स्वरमा म हराउन सक्छु आफूलाई । अरू यात्रीलाई डिस्टर्ब भए खबर गरिहाल्लान् । लज्जा त भन्दै मैले नि यो गीतलाई ‘रिपिट मोड’ मा राखिदिएँ ।

(१० पि.एम्.)

स्कृप्ट् रिडिङ्ग्

अगस्ट २५, २०१० बुधबार

बज्दै होला कतै वनमा मनै हर्ने गीत

मेरो वन त छाडीहाली मेरी मनचरीले

यो एक हरफ अनायासै फुरिदिएको छ । आफूलाई पनि साह्रै मन पर्ने यो हरफ नफुर्नु फुरिहाल्यो । यसलाई गीतको रूप दिनखोजेँ तर मन छुने सिर्जना हुन सकेन । अब सोचेर लेखेको कुराले मनलाई बिझाउन र रूझाउन हिम्मत गरेन । शब्दहरूको ताँती लाग्यो तर गीत बनेन । यो अपूरो हरफ थाती भोलीको दिनलाई ।

हिँजो आफ्नो डेरामा फर्किन नसकेकोले गर्दा मेरो यो पिरान्डेलो-दैनन्दिनी एक दिनले बासी हुन पुगेको छ । राति फर्किँदा अबेर भा’कोले गर्दा साथी शैल श्रेष्ठकोमा नै बसेँ । हाम्रो रिहर्सल आइत, सोम र मङ्गलबार मात्र हुन्छ । आज अर्थात बुधबारबाट शनिबारसम्म रिहर्सल हुँदैन । त्यसैले सजिलोको निम्ति भएपनि म हिँजोलाई आज भनेर सम्बोधन गर्दैछु ।

आज “सिक्स् क्याराक्टर्स् इन सर्च अफ एन अथर” को ‘स्कृप्ट रिडिङ्ग्’ गर्यौँ । नाटकको रिहर्सल् अर्थात अभ्यास थाल्नुअघि नाटकको विषयवस्तु बुझ्नको लागि यो अध्ययन त अनिवार्य नै भयो । ६३ पेजको पढाइलाई लगभग साँढे तीन घण्टा लाग्यो । आज एउटी साथीले हिम्मत हारी । वा उसको समय नमिलेको नि हुनसक्छ । उसले म आउँदिन भनेर खबर पठाएकी थिई । हिमालको बीचसम्म चढेर आत्तिन थाल्नु भन्दा चढ्नु अघि नै हिम्मत नगरेको बेस । यो सबैको हितकारी निर्णय थियो । ल ठीकै छ यो पनि ।

आजकाल हामी नेपाङ्ग्रेजी बोल्छौँ । कोही कोही त नेपाहिङ्ग्रेजी पनि बकी हिँड्छौँ । पिराण्डेलोको यो नाटक जीवन र कलामाथि बनेको छ । मूल नाटक इटालिएन/ फ्रान्सेली भाषामा छ । हामीले यो नाटक इन्टरनेटबाट अङ्ग्रेजी भाषामा प्राप्त गर्यौँ । र अब हामीले मञ्चन गर्न लागेको यो नाटक नेपालीमा अनुवादित छ । समस्या नै यहि हो । जिजुबाको समयको यो नाटक अब स्पष्ट नेपाली भाषामा मञ्चन गर्नु पर्ने छ । नत्र यो नाटकले तेस्रो वर्गको नौटङ्कीको रुप धारण गर्न सक्छ ।

स्कृप्ट पठनको समयमा नै ताराहरू निक्लेको भान हुन थालेको थियो । आधुनिकीकरण भनौँ वा पश्चिमीकरण नै । बोल्दा जानी नजानी भए पनि बीचमा अङ्ग्रेजी त घुसाइहाल्नु पर्छ । हामीले नेपाली प्रष्ट बोल्न हिच्किचाउँदा हिच्किचाउँदै बोल्न नै बिर्सिन लागि सक्यौँ । नेपाली केबल निरक्षर मानिसहरूसँग बातचित गर्न मात्र प्रयोग हुन थालेको छ । धन्य हाम्रा विद्यालयका पाठ्यक्रम !

अब पिरान्डेलोले हामीलाई नेपाली भाषा अघाउँजी आस्वादन गर्ने मौका दिन लागेको छ । मञ्चको ‘कपुरी क’ पनि नजानेको हामीले पिरान्डेलोबाट सुरुवात गर्दैछौँ । गुरु सुमन हाम्रो आँट हो । उसले यो नाटक निर्देशन गर्न लागेको छ । उसले हिँजोका दिनमा यो क्षेत्रमा सफलता हासिल गरिसकेको छ । उसले पेशेगत कलाकार नभई अन्धा र कैदीका बच्चाहरू लिएर ‘ग्रीन फिङ्गर’ र ‘इनसाइड द ब्रेन,’ जस्ता सफल नाटक मञ्चन गरिसकेको छ । त्यसैले पिरान्डेलोको सामु सुमन हाम्रो आँट हो । तसर्थ पिरान्डेलोदेखि हामीलाई खासै डर भने लागेको छैन ।

नाटकको लागि करिब १९-२० जना कलाकार चाहिए पनि १४ जनाले काम चलाउने निर्णय भएको थियो । तर अब १२ जनाले नाटक धान्नु पर्ने भएको छ । नाटकमा ३-४ जनाको मूख्य भूमिका रहेको छ । जसमा म पनि सामेल छु । साइडमा बसेर संवादका लामा- लामा अनुच्छेदहरुले गिज्याइराखेका छन् । फेरी भर्खर सुमनले मोबाइलमा ‘टेक्स्ट्’ गरेको छ- ‘डाइलग पढिँदैछ हैन त ?’ त्यसैले म समयलाई यताउता गर्न चाहन्न । आजलाई यति नै । बिदा !

(९ पि.एम्.)

बहाना, बानी र प्रवृति

अगस्ट ३१, २०१० मङ्गलबार

अहिले टि.भी.ले देशमा बढेको अराजकतालाई फुकिरहेको छ । डाबर नेपालको रियल जुसले उपभोक्तामाथि गरेको वेवास्ता र ठगीलाई मिडियाले खुबै वास्ता गरेको छ । एउटा भद्र सभासद् डि.बि.थापा इन्सपेक्टर बनाइदिने आश देखाउँदै घूस खाँदै गरेको अवस्थामा रङ्गेहात पकडिएछन् । नेपाल टि.भि.ले महजोडीको पोहोरसालको गाईजात्रे विशेष ‘अभिनन्दन’ दोहोर्र्याएर दिइरहेको छ । ‘अभिनन्दन’मा अन्तराष्ट्रिय चोर दिवसको अवसरमा एउटा नामी चोरको अभिनन्दन हुन लागेको छ ।

नेपालमा अराजकताबाट अछुत सायदै केही होलान् । मानवअधिकारवादी पनि शङ्काको घेराभित्र पर्छ । पशुपतिनाथभित्र अराजक तत्वहरुले भगवानसँग मण्डप बाँडफाँड गर्छन् । देश हाँक्ने साँचो लिएकाहरु जनताको आँखा छलेर आफैँ ब्रेक फेल गरिदिन्छन् भने गाडीमा राति स्टुडेन्ट कार्ड चल्दैन भनेर पूरै भाडा उठाउने खलासीलाई के गाली गर्नु ‘बेसोमतिको’ भनेर ।

आज रिहर्सलको कामकुरो अघि बढेन । हिँजो जस्तै आज पनि अघिल्लो दिन काम परेर वा बहाना गरेर नआएका साथीहरुलाई गुरु सुमनले एकदुई कप चिराइतोको झोल खुवाउनु भयो । कुरा ठीकै हो । गुरुबा- गुरुमाहरुलाई बच्चैदेखि ठग्दै आएका हौँ हामी । हिँजो क्लास किन नआएको भन्दा पूर्ण दृढताका साथ फर्काइदिइहाल्छौँ सञ्चो थिएन भनेर । किन क्लास ढिलो आ’को भन्दा सोच्नको लागि समय नै नलाई बहाना बनाइदिहाल्छौँ गाडीको जाम थियो भनेर ।

यो बानी प्रवृति बनेर हामी नेपालीमा विकास भइसकेको छ । हावी भइसकेको छ हाम्रो पहिचानको एउटा पाटो भनेर । हिँजो दैनन्दिनीलाई यही प्रवृतिले गर्दा निरन्तरता दिन सकिनँ । यही नै हो नेपाल जुगौँले पछि पर्नुको कारण । हामीले अरुलाई हेर्दा शिर उँभो पार्नुपर्ने कारण । अब भोली जो-जो आउनेछन् रिहर्सलको लागि उनीहरुले चिराइतोलाई औषधिको रुपमा ग्रहण गरेको देखिइहाल्नेछ ।

२८ किलो देखि कोटेश्वर ओर्लियौँ । कोटेश्वरबाट सुकेधाराको लागि बल्लबल्ल भेटिएको बसको ‘फुल-भाडा’ तिरेर कपनस्थित आफ्नो डेरामा आएँ ।

झरी परेको दिन

सेप्टेम्बर १, २०१० बुधबार

एउटा साथीलाई हिँजोको चिराइतोले बिसाएछ । हामी ११ जनाको फौजमा सिमित भयौँ । आज फाइनल स्कृप्ट रिडिङ्ग् भयो । अर्को चोटी ब्लकिङ् अर्थात रिहर्सलको फर्स्ट् ड्राफ्टको काम सुरु गर्ने आज निधो गरिएको छ । कृष्णाजन्माष्टमीको कारण आज सार्वजनिक बिदा भएकाले दिनभर जसो नै स्कृप्ट रिडिङ्को काम गरियो । अनुवादक सिपि अर्याल हामीमाझ थिए । त्यसैले आज स्कृप्ट सच्याउने काम पनि गरियो ।

आज मलाई बबिन प्रधानको ‘झरी परेको दिन’ ले कब्जा गरेको छ । हवाइजहाज दुर्घटनामा प्रेमिका गुमाएर यो मन सेर्ने गीत निर्माण गरेका बबिनले आज गीतका हरेक शब्दहरुमा मलाई फनफनी पारिरहे ।

झरी परेको दिन

आकाश हेरिरहेँ

तिमी आउने दिन भनि

कत्ति पर्खिएँ ।

कालो बादलले

निलो आकाश ढाकिदियो

तिम्रो मुस्कानलाई पर्खिरहेँ ।

समय बितिसक्यो

तर तिमी आएनौ

एकैचोटी म आत्तिएँ ।

कहाँ गएछ

त्यो विशाल चरी

मेरो मायालाई लिएर ।।

पहाडको माझमा

एक्कासी झस्क्यौ होला

सेतो हिमालको काखमा

एक्कासी बिउँझ्यौ होला

पहाडको माझमा

एक्कासी झस्क्यौ होला

तिम्रो मुस्कान अनि हाँसो

कसरी बिर्सूँ …………..

दिन बित्दै गयो

रात बित्दै गयो

तिमी आउँछ्यौ भन्ने आशा रहेन

कता जाउँ अब, कहाँ खोजुँ अब

छातीभरी व्यथा लिएर ।।

यो मन भन्ने कुरा नि अजीब छ । कसैले देखेको छैन यसलाई त्यहि पनि हाँकिरहेको हुन्छ गिदीका ठेला बोकेका भनिएका सारा मानवजातीलाई ।

नाटकको संवाद पढाइ र घोकाइमा बढि समय खर्चिनु पर्ने भएकाले यो दैनन्दिनीलाई चित्त बुझ्दोगरी लम्ब्याउन र बिट मार्न सकिरहेको छुइनँ । स्वच्छ मनलाई भगवानले कल्याण गरिरहुन् । शुभरात्री ।।

(मध्यरातको ठ्याक्कै १२ बजेर दुई मिनेट गएको छ)

गुडबाई पिरान्डेलो

सेप्टेम्बर १८, २०१० शनिबार

‘ए! साँची मेरो पिरान्डेलो दैनन्दिनी । त्यो त अपूरै पो छ गाँठे हो । केजाती ‘फाइलनेम्’ राखेर सेभ गरेको थेँ कुन्नि । हत्तेरी ! सायद डिलिट गरेको छुईँन होला ।’

अब बुन्ने काम थालेपछि राम्रो-नराम्रो जे भएपनि बिट चाहीँ मार्दिऊँ न त है । जे पर्ला पर्ला । शिर उच्चा गरेर, नाक ठूलो पारेर थालेको यो पिरान्डेलो विशेष अब कुनै पनि हालतमा अगाडि बढ्न सक्दैन । इज्जतको फलुदा हुने नै भो । विश्वविद्यालयमा फोटोकपी गरेर बस्ने दाईले पनि नाटक मण्डली भनेर गिज्याउन थालेका थिए । तर आँट थियो केही नभए पनि र त्यहि आँटलाई भए पनि सलाम ।

‘सिक्स क्याराक्टर्स इन् सर्च अफ् एन अथर’ संसारका विभिन्न मुलुकहरुमा धेरैचोटी मञ्चन भइसकेको छ । तर हामीले पिरान्डेलोको त्यो युगान्तकारी सिर्जनालाई हाम्रो संस्करणमा जीवन दिनबाट चुक्यौँ । सकिएन समय व्यवस्थापन गर्न । सकिएन त्यो काँचो जोसलाई मूर्त रुप दिन । कुन दिन क्यानसिल गर्यौँ त्यो नाटकको सपना मलाई ठ्याक्कै याद छैन । थुप्रै दिन भइसक्यो । तँगाराहरु तेर्सिन थालिसकेका थिए हामीतिर । एकातिर दशैँभन्दा अगाडि मञ्चन गरिसक्ने भन्ने योजना र अर्कोतिर दगुर्दै आइरहेको दशैँ । दशैँभन्दा अगाडि केयूमा हुन लागेको ‘युथ सोलिडारिटी फेस्टिबल’ । एकातिर कलाकारको अपुग र अर्कोतिर एउटा मूख्य भूमिका निभाउन लागेकी एक साथीको शारिरीक अस्वस्थता । रिहर्सल सँगसँगै गाँज्न थालिसकेको खर्चको भार । दिमागी पीडा त यथावतै छ । अन्तमा मुखको कुखुरा गुमाउनु पर्दा पुछार लुकाएर कान्ला कान्ला निदाउरो भएर जङ्गल फर्किन बाध्य १३ जना स्यालहरूको एउटा सजीव चित्र ।

फस्ट सेमेस्टरबाट थिएटरको भूत चढेको थियो । दुईचोटी त आफैँ नाटक लेख्न कम्मर कसेको पनि हुँ । फेरी निबन्ध लेख्न ढङ्ग नभएको मानिसले लेखेको नाटक । मलाई लाज लाग्यो । लाज सँगसँगै कतै कुनामा माउले त्यो नाटकलाई धुजाधुजा पारिदियो ।

गुरुकुल धाउँदा- धाउँदा रङ्गमञ्चप्रति खह्रो नै हुन थालेको थिएँ । हुन त ४-५ कक्षा छँदै एकपटक नाटक गर्न जोस चढेको थियो । जोस पनि धेरै आए तर सधैँ त्यस्तै त्यस्तै भयो । अब हिँजो जे भएपनि केयूमा छँदा एकपटक जसरी नि नाटक गर्ने भन्ने विचार थियो । छैटौँ सेमेस्टरमा त उखरमाउलो नै हुन थालेको थियो । तर यो पटक पनि भाग्यले साथ दिएन । सपना अलिक ज्यादै नै ठूलो देखिएछ क्यारे ।

अब मेरो केयू रङ्गमञ्चको यात्रा यहिँ समापन हुन्छ । केयूमा हुन्जेल त अब रङ्गमञ्च असम्भव नै छ । भविष्यमा अवसर जुरे या अवसर सिर्जना गर्न सकेमा आफ्नो धोको पूरा गर्नेछु । त्यतिसम्मलाई बिदा !

(८ पि.एम्.)

** इतिश्री **

 

image source: benchtheatre.org.uk

Comments

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post